साप्ताहिक संवाददाता
पाँच वर्षको उमेरदेखि आजको मितिसम्म शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेकी गायिका हुन्– सोना अमात्य । संगीत सिकेर कहिल्लै नसकिने विधा भएको बताउँदै यी गायिका आज पनि संगीतकर्मी शशीविक्रम थापासँग हरेक दिन बिहान केही घन्टा शास्त्रीय संगीत सिकिरहेकी छिन् । पाँच वर्षकै उमेरमा राष्ट्रयव्यापी बाल गायन प्रतियोगितामा उत्कृष्ट भएकी सोनाले यो अवधिमा केही दर्जन गीत रेकर्ड गराइसकेकी छिन् ।
पल पल, किन आत्तिनु, म त खुल्ला छु, तिम्रो र मेरो सम्बन्ध तथा हालै मात्र डाली चरी गरी आफ्नो आधा दर्जन गीतका म्युजिक भिडियोमार्फत दर्शकमाझ आइसकेकी गायिका हुन्– सोना । सोनाले युट्युबको आफ्नै च्यानलमा हिन्दी गीत अगर तुम साथ हो..को कभर भर्सन गाएर भिडियो समेत अपलोड गरेकी छिन् । पल पल तथा सोनाज शीर्षकका दुईवटा एकल एल्बम सार्वजनिक गरिसकेकी सोना विज्ञापन व्यवसायी हुन् ।
केही चलचित्र तथा टेलिश्रृंखलामा पार्श्व गायनसमेत गरेकी सोनालाई शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्दको म त खुल्ला छु...गीतले स्थापित गरेको थियो । हालै सार्वजनिक डाली चरी गीतको म्युजिक भिडियो दर्शकले मन पराएपछि उत्साहित सोना संगीतको हरेक विधामा सक्रिय हुने चाहना राख्छिन् ।