साप्ताहिक संवाददाता
बत्तीसपुतली, काठमाडौंकी स्थायी बासिन्दा प्रदिप्ता अधिकारीले मिस नेपाल वर्ल्ड–२०१९ मा मिस नेपाल युनिभर्स–२०१९ को उपाधि जितेकी छिन् । नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत प्रदिप्ताले उपाधिसँगै मिस युनिभर्स–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएकी छिन् ।
मिस नेपाल युनिभर्सको उपाधि जितेपछिको अनुभव कस्तो रह्यो ?
यतिबेला म अत्यन्त खुसी छु । आफूले जुन उद्देश्य लिएर प्रतियोगितामा सहभागिता जनाएकी थिएँ, त्यो पूरा भएकोमा उत्साहितसमेत छु ।
प्रतिस्पर्धा कत्तिको टफ रह्यो ?
मैले सोचेभन्दा बढी टप रह्यो । हामी पच्चीसै जना प्रतिस्पर्धी योग्य थियौं । सबैमा केही न केही विशेषता थियो । हामी अलग–अलग क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा आएकाले सबैमा आफ्नै प्रकारका खुबी थिए । त्यसकारण पनि यो प्रतिस्पर्धा अत्यन्त रोचक रह्यो ।
प्रशिक्षणको अवधिलाई कसरी सम्झनुहुन्छ ?
मिस नेपालको सबैभन्दा आकर्षक पक्ष भनेकै यसको प्रशिक्षण हो । ६ हप्ता लामो प्रशिक्षणले हामीलाई जीवनभर काम लाग्ने कुरा सिकाएको छ । सबैभन्दा महत्वपूर्ण कुरा त उक्त प्रशिक्षणले हामीमा आत्मविश्वास जगाउन ठूलो भूमिका निर्वाह गर्यो । साथीहरूसँग कसरी मिलेर बस्ने, दुःख परेका बेला पनि कसरी हाँसी–हाँसी अघि बढ्ने जस्ता कुराले मेरो जीवन नै परिवर्तन गराएको अनुभव गररेकी छु ।
मिस नेपालका पाँच उपाधिमध्ये तपाईंको लक्ष्य कुन थियो ?
आयोजक संस्थाले मिस नेपालका पाँचवटै उपाधि उत्तिकै महत्वपूर्ण भएको बताइसकेको छ । त्यसैले मैले जितेको उपाधिप्रति म सन्तुष्ट छु । यद्यपि, मेरो लक्ष्यचाहिं मिस नेपाल वर्ल्ड थियो, तर मिस नेपाल युनिभर्सलाई पनि मैले उत्तिकै महत्वका साथ ग्रहण गरेकी छु ।
मिस युनिभर्स–२०१९ को तयारी प्रारम्भ भैसकेको हो ?
करिब–करिब प्रारम्भ भैसकेको छ भन्दा फरक पर्दैन । उक्त प्रतियोगिताका लागि मैले विभिन्न प्रकारका रिसर्च थालिसकेकी छु । त्यसका लागि म स्वास्थ्यसँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहेकी छु । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने अभियानको थालनी गर्दैछु । सानो जनचेतनाबाटै हामी बाल–मृत्युदर घटाउन सक्छौं भन्ने कुरालाई जिल्ला–जिल्लामा पुगेर जानकारी गराउने तयारी गरिरहेकी छु ।
मिस युनिभर्स–२०१९ मा तपाईंबाट कस्तो आशा राख्न सकिएला ?
उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय झन्डा फहराउँदै नेपाललाई अहिलेसम्मकै उत्कृष्ट उपलब्धि दिलाउने प्रयास गर्नेछु ।
मिस नेपालमा तपाईंलाई कुन कुराले सफल बनाएजस्तो लाग्छ ?
मैले इमान्दारितापूर्वक देखेको सपना, त्यो सपनालाई पूरा गर्ने गहिरो आत्मविश्वास तथा कडा परिश्रमले नै मलाई सफल बनाएको हुनुपर्छ ।
तपाईं मेडिकलकी विद्यार्थी सौन्दर्य प्रतियोगितामा कसरी रुचि जाग्यो ?
म सानैदेखि वादविवाद प्रतियोगिताकी राम्री प्रतिस्पर्धी रहँदै आएकी थिएँ । विद्यालयमै छँदा मैले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड, सिंगापुर, नेदरल्यान्डजस्ता देश पुगेर अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागिता जनाइसकेकी थिएँ । त्यही प्रेरणाले मलाई मिस नेपाल मेरा लागि उपयुक्त हुन्छ भन्ने लागेर सहभागिता जनाएकी थिएँ । मेडिकलकी छात्रा सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएर सफल हुनुलाई धेरैले राम्रो मानेका छन् ।
एक वर्षपछिको तपाईंको यात्रा कसरी अघि बढ्नेछ ?
मेरो भविष्य स्वास्थ्य क्षेत्रकै वरिपरि घुम्नेछ । अर्को वर्ष म एमबीबीएसको चौथो वर्षमा हुनेछु । एमबीबीएस तथा एमडीको अध्ययन पूरा गरेपछि स्वास्थ्यकर्मीका रूपमा सक्रिय हुनेछु । भविष्यमा चाहिं विश्व स्वास्थ संगठनको उच्च पदमा पुगेर नेपालको नाम अझ उचाइमा पुर्याउने प्रयास गर्नेछु ।
कत्तिको राम्री हुनुहुन्छ ?
ठीकै छु । भनिन्छ नि, फूलको आँखामा फूलै संसार...मलाई हेर्ने व्यक्तिले कुन नजरले हेर्छ, मेरो सौन्दर्य त्यसमै निर्भर गर्छ ।
परिवारमा को–को हुनुहुन्छ ?
बुवा, आमा, दाजु, भाउजू, भदासहितको परिवारमा रमाइरहेकी छु ।
चलचित्रमा आउने सम्भावना कत्तिको छ ?
चलचित्र मेरो रुचि र रहरको क्षेत्र होइन, त्यसैले अभिनयमा आउने सम्भावना छैन ।
तपाईंका रुचिका क्षेत्र के–के हुन् ?
म पूर्वनेसनल डिबेटर रहिसकेकी छु । मलाई नृत्य, योग तथा यात्रामा रुचि छ ।
तपाईंको सकारात्मक पक्ष ?
अनुशासन तथा स्पष्ट धारणा नै मेरा सकारात्मक पक्ष हुन् ।