साप्ताहिक संवाददाता
भक्तपुरमा जन्मिएकी २३ वर्षीया मीरा कक्षपति मिस नेपाल इन्टरनेसनल–२०१९ की उपाधि विजेता हुन् । ५ फिट ४ इन्च अग्ली मीराले यो उपाधिसँगै अक्टोबर २५ मा जापानमा सञ्चालन हुने मिस इन्टरनेसनल–२०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साप्ताहिकसँगको भेटमा मीराले आफ्नो सफलताका बारेमा बेलिविस्तार लगाएकी छिन् ।
मिस नेपाल इन्टनरनेसनल–२०१९ को उपाधि जितेपछि तपाईंमा के–कस्तो परिवर्तन आयो ?
मिस नेपालको ग्रान्ड फिनाले अघि म एमसी मीरा कक्षपतिको नामले मात्र चिनिन्थें, अहिले मेरो नामको अगाडि मिस नेपाल इन्टनरनेसनल थपिएको छ । ममा आएको पहिलो परिवर्तन नै यही हो । यो उपाधिले आफू थप जिम्मेवार भएको अनुभव गर्न थालेकी छु ।
यो उपलब्धिलाई कसरी ग्रहण गर्नुभयो ?
ग्रान्ड फिनालेको दिन उपाधि ग्रहण गर्दा मैले टाइटल नै पाइसकें भन्ने कुरामा विश्वास नै गर्न सकिरहेकी थिइनँ । सबै कुरा अचानक नै भयो भन्ने लागिरहेको थियो । भोलिपल्ट नेपाल टेलिभिजनलाई दिएको अन्तर्वार्ताको एउटा क्लिप इन्स्टाग्रामको स्टोरीमा राखेकी थिएँ, त्यसमा आएको प्रतिक्रियापछि मात्र मैले त ठूलै उपलब्धि हासिल गरेकी रहेछु भन्ने अनुभव गरें ।
के थियो त्यो क्लिपमा ?
म मेडिटेसनकी छात्रा हुँ । करिव चार वर्षदेखि म ध्यान गरिरहेकी छु । उक्त क्लिपमा मैले नेपालमा विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मेडिटेसनको शिक्षा दिनुपर्छ । त्यसपछि मात्र देशले, समाजले जिम्मेवार नागरिक प्राप्त गर्न सक्छ भन्ने धारणा व्यक्त गरेकी थिएँ ।
मेडिटेसनले वास्तवमै त्यस्तो परिवर्तन ल्याउँछ ?
हामी हरेक व्यक्तिको दिमागमा विभिन्न प्रकारका विचार आउँछन् । विचारले भावना जन्माउँछ अनि भावनाले प्रतिक्रिया जनाउँछ । हामीले जनाउने प्रतिक्रियाहरूले हाम्रो चरित्रलाई दर्साउँछ । चरिक्रले हामी कस्ता व्यत्ति हौं भन्ने जनाउँछ । मानिसले गर्ने अति नै राम्रो अथवा नराम्रो काम उसको चरित्रले निर्धारण गर्छ, त्यो उसको सोचमा भर पर्छ । सोचलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मेडिडेसनले निर्धारण गर्छ । यदि बाल्यकालदेखि नै मेडिटेसन गर्न थाल्ने हो भने व्यक्ति ठूलो भैसकेपछि उसले कुनै पनि नराम्रो काम गर्न सक्दैन । उसले देशका लागि समेत राम्रो काम मात्र गर्छ । त्यसैले यो अति नै महत्वपूर्ण कुरा हो भन्ने मेरो बुझाइ छ ।
भन्नाले अब तपाईं यही विषयमा खुलेर अभियान सञ्चालन गर्नुहुनेछ ?
मलाई पहिलेदेखि नै यो विषयमा काम गर्न मन थियो । मिस नेपालमा मैले पाएको सफलतासँगै मैले यो क्षेत्रमा अझ खुलेर काम गर्न सक्छु भन्ने विश्वास पलाएको छ । मिस नेपालको उपाधिले मलाई एउटा प्लेटफर्म दिएको छ ।
तपाईं आफूचाहिं ध्यानप्रति कसरी आकर्षित हुनुभयो ?
चार वर्षअघि मलाई कसैले ‘मीरा, लभ योर सेल्फ’ भनेको थियो । त्यो भन्दा अघि मैले लभ योर सेल्फ भन्ने वाक्य सुनेकी थिइनँ । पहिलो पटक सुनेपछि म उक्त वाक्यप्रति यति आकर्षित भएँ कि ध्यान र मेडिटेसनलाई आफ्नो जीवनकै अंग बनाएँ ।
लभ योर सेल्फलाई कसरी अर्थ्याउनुहुन्छ ?
लभ योर सेल्फ भनेको जीवनकै महत्वपूर्ण पाटो हो । हामीमा जे जति कमजोरी छन्, त्यसलाई पनि माया गर्नुपर्ने रहेछ । पहिले ममा धेरै नकारात्मक सोच आउँथे, धेरै बोल्न नसक्ने थिएँ । कसैले मेरो मतलब गरिरहेको छैन जस्तो लाग्थ्यो । वास्तवमा धेरै नबोल्न पनि पाइने रहेछ । अरूले मतलब नगरेर के भयो त ? भन्ने कुरा महत्वपूर्ण रहेछ । आफूमा भएका कमी–कमजोरीलाई पनि स्वीकार गर्न सक्नुपर्ने रहेछ । अरुसँग तुलना गर्ने बानी आजैदेखि त्याग्नुपर्ने रहेछ । तुलना गर्ने हामी हरेकको बानी हुन्छ । यद्यपि त्यो बानीले कसैलाई फाइदा पुर्याउँदैन भन्ने कुरा बुझ्न अनिवार्य रहेछ । म अहिले कुनै पनि कुराको टेन्सन लिन्नँ । जे भैरहेको छ, त्यसलाई भैरहन दिन्छु । जीवन छोटो छ, पीर र चिन्ता गरेर यसलाई किन निरस बनाउने ?
उपाधिसँगै कत्तिको खुसी हुनुहुन्छ ?
म त अति खुसी छु । यो खुसी मिस इन्टरनेसनल–२०१९ को रंगमञ्चसम्म जारी रहनेछ । मिस इन्टरनेसनल प्रतियोगिताको नारा नै ‘एम्बेसडर फर पिस, गुडविल एन्ड लभ’ छ । उक्त नारा मेरो उद्देश्यसँग ठ्याक्कै मेल खाने भएकाले पनि म उत्साहित भएकी हुँ ।
मिस इन्टरनेसनलको तयारी कसरी थाल्दै हुनुहुन्छ ?
मानसिक रूपले त तयारी थालि नै सकें । सैद्धान्तिक रूपले भने अर्को हप्तादेखि प्रशिक्षण प्रारम्भ हुँदैछ ।
उपाधि जितेपछिका दिन कसरी बिताउनुभयो ?
छ हप्ता लामो प्रशिक्षणले हामीलाई एकोहोरो जस्तै बनाएको थियो । त्यसैले ग्रान्ड फिनालेपछिका केही दिन खाने र सुत्ने बाहेक अरु केही पनि गरिनँ । त्यसबीच साथीभाइ तथा परिवारसँग खुसीयाली साटासाट गरें । सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिएँ ।
उपाधिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
नढाँटि भन्ने हो भने मलाई त सुपरनेचुरलको उपाधि जित्ने मन थियो । पूर्व मिस नेपाल सुपरनेचुरल महिमा सिंहबाट उक्त प्रतियोगिताका बारेमा विभिन्न कुरा सुनेपछि मैले उक्त उपाधिलाई लक्ष्य बनाएकी थिएँ । यद्यपि, मिस नेपाल इन्टननेसनलको उपाधिले पनि मलाई उत्तिकै उत्साहित तुल्याएको छ ।
प्रशिक्षणबाट के–के कुरा सिक्नुभयो ?
सबैभन्दा महत्वपूर्ण कुरा समयको व्यवस्थापन गर्न सिकें । म अति नै ल्याङ्फ्याङ् स्वभावकी थिएँ । बिहान ९ बजेसम्म सुत्ने बानी थियो । यो प्रशिक्षणले मलाई बिहान ५ बजे उठ्न मात्र होइन, निर्धारित समयभन्दा १५ मिनेट अघि नै पुग्ने बानी समेत बसायो ।
तपाईंको भविष्यको लक्ष्य ?
मलाई लाइभ कोच तथा मोटिभेसनल स्पिकर बन्ने मन छ । त्यसबाहेक ध्यान र जनचेतनाको क्षेत्रमा पनि काम गर्ने इच्छा छ । युवापुस्तालाई ध्यानको महत्वका बारेमा धेरै कुरा बुझाउने चाहना छ ।