साप्ताहिक संवाददाता
थिएटर मलको कीर्तिपुर रंगमञ्चमा नाटक ‘निर्मल थोपाहरू’ मञ्चन भएको छ । पानी र जनजीवनका सम्बन्धमा तयार पारिएको उक्त नाटक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मञ्चन गर्ने क्रममा कीर्तिपुरमा मञ्चन गरिएको हो ।
अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (अक्रु)–नेपालले पाटन अस्पतालसँगको सहकार्यमा तयार पारेको उक्त नाटक वन वर्ल्ड थिएटरले प्रस्तुत गरेको हो । यो नाटकको सातौं मञ्चन हो । नाटक निर्मल थोपाहरू मानव जीवनको अपरिहार्य र महत्वपूर्ण पानीले दैनिक जीवनमा खेल्ने भूमिका र पानी दूषित हुँदा त्यसले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावमा केन्द्रित छ ।
लन्डनस्थित सेसस युनिभर्सिटीका अनुसन्धानकर्ता सैन जेट्टे Sain Zette ले काठमाडौं उपत्यकाका दरबार स्वायर क्षेत्र वरिपरीको पुरानो बस्तीमा रहेका पानीका स्रोतहरूको परीक्षण तथा अनुसन्धानबाट आएको रिपोर्टका आधारमा नाटकको विषय उठान गरेको लेखक तथा निर्देशक राजकुमार पुडासैनीले बताए ।
पानी दूषित हुने कारण, दूषित पानीका कारण हुने रोगहरू तथा त्यसको असरलाई नाटकीय स्वरूपमा देखाउँदै सहभागी दर्शक तथा स्थानीय बासिन्दाहरूसँग अन्तर्क्रिया समेत गरिएको थियो । अन्तर्क्रियामा डा. अभिलाषा कार्की एवं डा. सविना डंगोलले सहभागीहरूको जिज्ञासाको उत्तर दिएका थिए ।
पानी जीवनको मुख्य कुरा हो, तर त्यही पानी खराब हुँदा मानव स्वास्थ्यमा कतिसम्म असर पर्छ भन्ने कुरा बुझाउन अभियानका रूपमा नाटक मञ्चन गरेको अक्रुका जनसम्पर्क अधिकृत सुनिता दास शाक्यले बताइन् । उनले नाटक ‘निर्मल थोपाहरू’ भक्तपुर र पाटनमा गरी ६ पटक मञ्चन गरिसकेको र कीर्तिपुरको मञ्चनसँगै काठमाडौंमा मञ्चन थालेको जानकारी पनि दिइन् ।
यो नाटकमा लुनिभा तुलाधर, अविरल बहादुर मानन्धर, समापिका गौतम, गुञ्जन दीक्षित, सविना गोपाली, एना देउजा तथा अमृत दाहालले अभिनय गरेका छन् ।