रंगमञ्चका दर्जनौं नाटकमा अभिनय तथा निर्देशन गरेर चलचित्रमा आएका कलाकार हुन् सम्राट सापकोटा । थुप्रै चलचित्रमा अभिनेता तथा खलनायकको भूमिकामा प्रस्तुत भएका सापकोटा पहिलो पटक निर्देशकका रुपमा दर्शकमाझ आउन लागेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘कप्स : सत्य सेवा सुरक्षणम’ यसै साता प्रदर्शनमा आउँदैछ । नेपाल प्रहरीको साहस र क्षमतामा आधारित चलचित्र निर्माण गरेर निर्देशकका रूपमा भाग्य परीक्षण गरिरहेका निर्देशक सापकोटासँग साप्ताहिकको कुराकानी :
अभिनयमा रमाइरहेको कलाकार, निर्देशक बन्ने योजना कसरी बन्यो ?
हरेक कलाकारको सपना हुन्छ–भविष्यमा निर्देशक बन्ने । विगतमा रंगमञ्चका नाटकहरू निर्देशन गर्दा नै मैले भविष्यमा चलचित्र निर्देशक बन्ने सपना देखेको थिएँ । आज आएर त्यो सपना पूरा भएको छ ।
निर्देशक बन्न कति समय तयारी गर्नुभयो ?
ठ्याक्कै यति नै समय भन्न मिल्दैन । केही वर्षदेखि स्क्रिप्टमा काम गरिरहेको थिएँ । म आफ्नै लगानीमा चलचित्र निर्माण एवं निर्देशन गर्ने योजनामा थिएँ । चलचित्र फ्लोरमा जाने बेलामा मेरा नजिकका साथी राम शाक्यको साथ पाएँ । उहाँको साथले चलचित्र निर्माण सहज भयो ।
कप्सः सत्य सेवा सुरक्षणम’ कस्तो चलचित्र हो ?
यो प्रहरीको परिवेशमा आधारित एउटा व्यवसायिक चलचित्र हो । यो चलचित्रमा हामीले ट्रिपल पी अर्थात् पुलिस, पब्लिक र पोलिटिक्सलाई मुख्य विषय बनाएका छौं ।
यो चलचित्रको रोचक पक्ष के हो ?
यो मुलुकको वर्तमान परिस्थितसँग अत्यन्त नजिक रहेको चलचित्र हो । यो चलचित्रलाई समाजमा घटिरहेका घटना तथा परिघटनाको यथार्थ चित्रण हो भन्दा फरक पर्दैन ।
प्रहरीको विषयमा चलचित्र निर्देशन गर्नु आफैंमा चुनौती होइन र ?
कुनै पनि सुरक्षा संगठनको विषयमा चलचित्र बनाउनु आफैंमा चुनौतीपूर्ण कुरा हो । त्यसकारण कप्सको निर्माण पनि चुनौतीपूर्ण थियो । अति नै संवेदनशील विषयमा हामीले सूक्ष्म अध्ययन गरेर चलचित्र निर्माण गरेका छौं । गाह्रो विषय भएकाले हामीलाई नेपाल प्रहरीको साथ र सहयोग अपरिहार्य थियो । हामीले सोचे जस्तै प्रहरी संगठनबाट प्रसस्त साथ र सहयोग पाएका छौं ।
कलाकारबाट निर्देशक बन्ने क्रममा कस्तो फरक महसुस गर्नुभयो ?
कलाकारका रूपमा अभिनय गर्दा आफ्नो भूमिका र चरित्रमा ध्यान दिए पुग्थ्यो, निर्देशक भएपछि मुख्य अभिनेतादेखि स्पटब्वाइसम्मलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने रहेछ ।
प्रचार–प्रसारका क्रममा कलाकारको साथ पाइएन भन्ने चर्चा चल्यो नि ?
छायांकन अवधिभर मलाई कलाकारहरूले साथ दिएका थिए । प्रमोसनका बेला उहाँहरूको आफ्नै व्यस्तताले समय दिन नपाउनु भएको होला । अभिनेत्री सन्दिपा लिम्बु भने छायांकन सम्पन्न भए लगत्तै सम्पर्कविहीन भएकोमा दुःख लागेको छ ।