बलिउडकी लोकप्रिय गायिका नेहा कक्कड यो साता काठमाडौं आएकी छिन् । उनले शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स (एलओडी) मा प्रस्तुत हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागिता जनाएकी छिन् । इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर तथा कुणाल पण्डितसहित काठमाडौं आएकी गायिका कक्कडले नेपालमा हुने आफ्नो पहिलो कन्सर्टमा केही गीत प्रस्तुत गरेकी छिन् । उनलाई आयोजक संस्था पारामाउन्ट इन्टरटेन्मेन्टका प्रमुख तथा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे तथा एलओडीका सञ्चालक जनार्दन ढुंगेल (जेडी) ले काठमाडौंमा प्रस्तुत गरेका हुन् । सन् २००६ मा सम्पन्न इन्डियन आइडल सिजन–२ बाट सांगीतिक यात्रा प्रारम्भ गरेकी नेहा आजको मितिमा बलिउडकै नम्बर एक गायिकाका रूपमा सक्रिय छिन् । पछिल्ला लोकप्रिय डान्सिङ नम्बरहरूमा नेहाकै स्वर सुन्न सकिन्छ । आमदर्शकमाझ आफ्नो फरक अन्दाजका कारण लोकप्रिय रहेकी नेहा पछिल्लो समय इन्डियन आइडलको जजका रूपमा समेत सक्रिय थिइन् । हालसम्म १ हजारभन्दा बढी कन्सर्ट दिइसकेकी नेहाको क्रेज युवा–युवतीहरूमाझ अझ बढी छ । उनको आवाज मात्र होइन, युवा–युवतीहरू उनको स्टाइलका कारण पनि उनलाई फलो गर्छन् । नेपाल आएर आफ्नो प्रस्तुती दिएकी नेहासँग साप्ताहिकका कृष्ण भट्टराईले अनलाइनमार्फत गरेको कुराकानी :
के छ हालखबर ?
एकदमै ठिक छ । नेपाल आए । शनिबार तपाईंहरूको सहर काठमाडौंमा आयोजना भएको लाइभ कन्सर्टमा सहभागी भएँ ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
म गीत रेकर्डिङमै व्यस्त छु । त्यसबाहेक कन्सर्टहरूमा पनि उत्तिकै सहभागिता जनाइरहेकी छु । बिहानदेखि साँझसम्म नै स्टुडियोमा बितिरहेको छ ।
नेपालमा कन्सर्ट दिने वातावरण कसरी बन्यो ?
नेपालबाट त्यहाँका मोडल दीपक घिमिरेजी मुम्बई आउनुभएको रहेछ । मुम्बईमै हाम्रो भेट भयो । उहाँले नै मलाई काठमाडौंमा आयोजना गरिने कन्सर्टमा सहभागिता जनाउन आग्रह गर्नुभयो । डेटहरू हेरेपछि उपयुक्त समय पारेर कन्सर्टका लागि तयार भएँ ।
नेपालको कन्सर्टका लागि कसरी तयार हुनुभयो ?
आयोजक पारामाउन्ट इन्टरटेन्मेन्टले विगतमा गरेका कार्यक्रमहरूका बारेमा पनि अध्ययन गरें । कुमार सानुसहितका कलाकारलाई नेपाल लगेर सफलतापूर्वक कन्सर्ट गरिसक्नुभएको रहेछ । उहाँहरूले सुरक्षालगायतका सम्पूर्ण कुरामा सुनिश्चिता दिलाएपछि कन्सर्टका लागि तयार भएँ ।
नेपालको कन्सर्टको तयारीचाहिं कस्तो थियो ?
कन्सर्टमा मलाई इन्डियन आइडल सिजन–१० का दुई जना प्रतिभाशाली गायक विभोर परासर तथा कुणाल पण्डितले साथ दिए । उनीहरूसहित कन्सर्टमा हामी करिब १८ जना संगीतकर्मी तथा सहयोगीहरूको समूहका साथ काठमाडौं आएका थियौं । लाइभ ब्यान्डमा कन्सर्ट दिनुपर्ने भएकाले वाद्यवादकहरू पनि यतैबाट लिएर आए ।
कुन–कुन गीत गाउनु भयो ?
दर्शक तथा श्रोताहरूले मन पराएका आफ्ना प्रायः सबै गीत प्रस्तुत गरे । मिले हो तुम हमकोदेखि कोलाकोला र आँख मारे...सम्मका डान्सिङ नम्बर प्रस्तुत गरेर नेपाली दर्शकहरूलाई नचाए । डान्सिङ नम्बरबाहेक मलाई मन परेका केही रोमान्टिक गीत पनि प्रस्तुत गरे ।
अहिलेसम्म कुनै नेपाली गीत रेकर्ड गराउनुभएको छ कि ?
मैले अहिलेसम्म त्यो सौभाग्य पाएकी छैन ।
नेपाली गीत गाउने कुनै योजना छ कि ?
गायक–गायिकाहरूमा प्रायः सबै भाषाका गीत गाउने इच्छा–चाहना हुन्छ । मेरो पनि त्यस्तै चाहना छ ।
नेपाली गीत–संगीत सुन्नुभएको छ कि छैन ?
सुनेकी छु । भारतीय रियालिटी शोहरूमा नेपाली कलाकारहरूले दिएको प्रस्तुतिका क्रममा नेपाली गीतहरू सुन्ने मौका पाएकी छु ।
तपाईंको लोकप्रियताको कारण के हो ?
मेरो मेहनत नै त्यसको कारण हो । यसबाहेक अभिभावकहरूको आशीर्वाद तथा ठूली दिदीको साथ र सहयोगले पनि मैले यो ख्याती आर्जन गर्न सकेकी हुँ ।
परिवारबाट कस्तो सहयोग पाउनुभयो ?
मलाई आज पनि सम्झना छ, जब म एउटा रियालिटी शोबाट बाहिरिएकी थिएँ । त्यसपछि म दुई दिनसम्म रोएँ । त्यति बेला मेरी दिदी सोनू कक्कडले मलाई ‘तिमी मभन्दा पनि राम्रो गाउँछौ । यसरी रोएर आफैंलाई कमजोर नबनाऊ भनेर सम्झाउनुभयो । उहाँले भन्नुभयो— बितेका पलहरूलाई बिर्सिदेऊ र आफैंलाई योग्य बनाऊ । आफ्नो अभ्यासलाई निरन्तरता दिएर सही समयको प्रतिक्षा गर ।
त्यसपछि के गर्नुभयो ?
त्यसपछि करिब तीन–चार वर्षसम्म मैले अति नै मेहनत गरें । करिब तीन वर्षपछि नै मैले गायक सुखविन्दर सिंहसंग गीत रेकर्ड गराउने मौका पाएँ । त्यसपछि म सफलताको सिंडी उक्लन थालें । मैले भन्न खोजेको कुरा के हो भने जसले आफूभन्दा ठूलाको आदर गर्दैनन्, उनीहरूको सल्लाह मान्दैनन्, उनीहरू गलत हुन् । त्यसो गरेर उनीहरूले आफैंलाई हानि पुर्याइरहेका हुन्छन् । मैले पनि त्यति बेला आफ्नी ठूली दिदीको कुरा नमानेकी भए शायद म राम्रो गायिका बन्न सक्दिनथेँ ।
सामाजिक सञ्जाललाई पनि आफ्नो सफलताको कारक मान्नुहुन्छ ?
अवश्य पनि । मलाई लोकप्रियता दिलाउनेमा सेल्फी भिडियोको ठूलो हात छ । आज लाखौं–करोडौं मानिसले मलाई सेल्फी भिडियो अपलोड गर्न आग्रह गरिरहन्छन् । मैले एकपटक बोतल खोल गीतको सेल्फी भिडियो छायांकन गरेर त्यसलाई युट्युबमा अपलोड गरेकी थिएँ । त्यसपछि त्यसलाई यति धेरैले सेयर गरे कि त्यो मेरो आमा–बुवासम्म पुगेछ । त्यही बेलादेखि मैले सेल्फी भिडियो छायांकन गर्न थालेकी हुँ । अहिले अवस्था कस्तो आइसकेको छ भने चलचित्रका निर्देशकले नै गीतको सेल्फी भिडियो अपलोड गर्न आग्रह गर्न थालेका छन् । म चाहन्छु, म जसरी गाउँछु, श्रोताहरूले पनि मलाई त्यसरी नै सुनून् । जस्तो देखिन्छु, त्यस्तै देखून् । म बनावटी रूप बनाएर मानिसहरूबीच जान चाहन्नँ ।
आफ्ना बारेमा थोरै जानकारी दिनु न ?
मेरो जन्म भारतको उत्तराखण्डको ऋषिकेशमा ६ जून १९८८ मा भएको हो । मेरी आमाको नाम नीति तथा बुवाको नाम ऋषिकेश कक्कड हो । मैले चार वर्षको उमेरदेखि नै गीत गाउन थालेकी थिएँ । म आफ्नी दिदी सोनु तथा परिवारका सदस्यहरूसँग देवी जागरण तथा माताकी चौकीमा भजन गाउँथें । पछि म दिदी र परिवारका सदस्यहरूसहित दिल्ली सिफ्ट भएँ । दिल्लीको न्यू होली पब्लिक स्कुलबाट विद्यालयको अध्ययन पूरा गरें । स्कुलमा अध्ययनरत छँदै मैले इन्डियन आइडलमा सहभागिता जनाएँ । यद्यपि इन्डियन आइडल–२ (२००६) मा धेरै अगाडिसम्म पुग्न सकिनँ ।
अन्त्यमा, आफ्ना नेपाली फ्यानहरूलाई के भन्न चाहनुहुन्छ ?
संगीतको कुनै भाषा हुँदैन । संगीत भनेको सुर हो, लय हो, भाका हो । त्यसैले हामी कलाकारहरूलाई यसरी नै माया गरिदिनुस् ।
.