अमेरिकाबाट नेपाल फर्किएका नेपाली आफ्ना साथी तथा परिवारसँग रमाउन चाहन्छन् । अमेरिकामा कमाएको पैसा नेपालमै घरघडेरी जोडेर सुखी जीवन बिताउने उनीहरूको योजना हुन्छ । यद्यपि डाक्टर सुन्दर शर्मा अर्थात् डा. एसएस शर्मा यो मामिलामा अलिक भिन्न छन् । अमेरिकालाई ससुराली देश बनाएका एसएस श्रीमतीको निधनपछि सामाजिक काम गर्न नेपाल फर्कन्छन् । पैसाको लगेज बोकेर सामाजिक काम गर्न नेपाल आएका शर्मा आफूले सोच्दै नसोचेको काम गरेर चित्त बुझाउँछन् ।
झट्ट हेर्दा यो कुनै फिल्मको सुटिङजस्तो देखिए पनि यो दृश्य नाटक ‘विकास भर्सेस निकास’को हो । राजधानीस्थित सर्वनाम थिएटरमा असार १३ गतेदेखि प्रदर्शन भैरहेको यो नाटक विदेशबाट स्वदेश फर्किएका एक पात्रको सामाजिक भोगाइमा केन्द्रित छ ।
नाटकको शुभारम्भ एसएस नेपाल फर्किएपछि विमानस्थलमा उनको स्वागतको दृश्यबाट सुरु हुन्छ । विमानस्थलमा उनलाई खादाले स्वागत गर्दा उनी ‘मैले नेपालमा सिन्को भाँचेको छैन । मलाई किन सम्मान ?’ भन्दै खादा अस्वीकार गर्छन् । विमानस्थलबाट जन्मथलो गोरखा पुगेका एसएसलाई स्थानीय बासिन्दाले स्वागत गर्दा उनी जति प्रफुल्लित हुन्छन् समाजको वातावरण देखेर उति नै आजित हुन पुग्छ । हातमा पैसाको लगेज बोकेका एसएस स्थानीय शिक्षकको अनुरोधमा एउटा विद्यालयमा पुग्छन् । शिक्षकले २ सय विद्यार्थी पढ्छन् भनेको सुनेर खुसी भएका एसएस विद्यालयमा १३ जना विद्यार्थी मात्र नियमित पढ्न आउँछन् भन्ने जानकारी पाएर दुःखी हुन्छन् ।
शिक्षापछि उनले स्वास्थ्यमा सहयोग गर्ने चासो देखाउँछन्, तर स्वास्थ्य चौकी नर्स र उनका श्रीमान्को भरमा चलेको देखेर अचम्मित हुन्छन् । नर्सबाट स्वास्थ्य चौकीमा औषधिको अभाव, राजनीतिक हस्तक्षेप आदि कुरा थाहा पाएपछि उनको मन कुँडिन्छ ।
नाटकमा एसएसको भूमिकामा देखिएका कलाकार दीपक आचार्यको अभिनय अब्बल छ । यो नाटकको प्रमुख आकर्षण भनेको दीपकको न्यारेसन हो । न्यारेसन अर्थात् उनी नाटकमा अभिनय गर्दा अब कता जान्छन् भन्ने कुरा दर्शकलाई पहिले नै थाहा दिन्छन् । दीपकबाहेक अन्य कलाकारले आफूलाई दिइएको चरित्रप्रति न्याय गरेका छन् । स्थानीय नेताको घमण्डिपन, विद्यालयमा विद्यार्थीहरूको अवस्था, ठाँटिएर गाउँमा कोही पुग्यो भने गाउँलेहरूले गर्ने उसको चाकडी–चाप्लुसीलाई नाटकले प्रष्टसँग देखाएको छ ।
यति हुँदाहुँदै नाटकभित्र केही कमजोरी पनि छन् । आफूलाई स्वागत गर्न गाउँमा सम्मान कार्यक्रम राख्दा एसएसले दिएको भाषण निकै लामो लाग्छ । नाटकमा होटल, स्वास्थ्यचौकी, मन्दिर, विद्यालय आदि चित्रण गरिए पनि त्यसका लागि चाहिने ‘प्रोपर्टी’ भने देखाइएको छैन, जसका कारण दर्शकले खल्लो महसुस गर्नुपर्छ ।
कलाकार रामबाबु रेग्मीको लेखन तथा निर्देशनको यो नाटकमा दीपक आचार्य, प्रकाश कट्टेल, अजय रेग्मी, मिलन गुरुङ, विक्रम माझी, गौरव सापकोटा, सन्दीप घिमिरे, उमाकान्त सापकोटा, अमृता श्रेष्ठ, सुरज केसी, सशांक उप्रेती, प्रियना आचार्य तथा प्रेम अर्यालको अभिनय छ । रंगकला गोरखाले निर्माण गरेको यो नाटक असार २८ गते शनिबारसम्म मञ्चन हुने बताइएको छ ।