साप्ताहिक संवाददाता
शैली थिएटरले द्वन्द्वपीडितहरूको अवस्थालाई चित्रण गर्ने नाटक ‘अझै दुख्छ घाउ’ मञ्चन गरेको छ । महिला, कानुन र विकास मञ्चले आयोजना गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा उक्त नाटक मञ्चन गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको पाँचदिने ऊक्त कार्यत्रममा नाटक मञ्चनसँगै द्वन्द्व र द्वन्द्वपीडितसम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शन तथा छलफलसमेत चलाइएको थियो ।
नाटकमा राधिका (प्रियंका चौधरी) तथा उनका बुवा लोकबहादुर (देवेन्द्र बब्लु) कुनै गाउँमा सरल जीवन बाँचिरहेका हुन्छ्न । देशमा द्वन्द्व चलिरहेका बेला गाउँमा बस्न गाह्रो हुँदै जान्छ । लोकबहादुरलाई चन्दा नदिएको नाममा पटक–पटक धम्की दिने काम हुन्छ । राधिका पनि स्कुल जान पाउँदिन, उनका साथीहरूलाई कार्यक्रममा सहभागी गराउने नाममा जङ्गल लगेर बन्धुक बोक्न लगाइन्छ । राधिका त्यसमा भागेर बाँच्छिन् । यता उनका बुवा लोकप्रसादलाई भौतिक कारबाही गरिन्छ । बुवालाई खोज्ने क्रममा राधिकालाई प्रशासनले समात्छ र बुवाले विद्रोहीलाई सहयोग गरेको नाममा जेलमा राखिन्छ । जेलमा पटक–पटक उनको बलात्कार हुन्छ । राधिकाको अवस्था नाटकमा कवितामार्फत प्रस्तुत गरिएको छ ।
देशमा शान्ति स्थापना भएपछि बुवा–छोरीको भेट हुन्छ । बुवा दुवै खुट्टाले काम नगर्ने अवस्थामा बैसाखी टेकेर आउँछन् भने छोरी राधिका अर्धबेहोस हुन्छिन् । उनीहरू न्याय माग्दै विभिन्न कार्यालय धाउँछन् । त्यस क्रममा द्वन्द्व व्यवस्थापन आयोगकी अध्यक्ष (करिश्मा केसी) ले उनीहरूलाई सहयोग गर्ने वाचा गर्दै भन्छिन्, ‘किन चुप लागेकी राधिका ? मनको कुरा खोल ।’ मौन रहेकी राधिका झस्कन्छिन् अनि उनी भन्छिन्, ‘म खोल्दिनँ । अब खोल्दिनँ मेरा कपडा । मैले भनें त, मसँग बम छैन ।’
नाटकले द्वन्द्वका क्रममा मानसिक सन्तुलन गुमाएकी राधिका र तहसनहस भएको उनको परिवारको पीडा प्रस्तुत गरेको छ । शैली थिएटरका कार्यक्रम संयोजक नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको यो नाटकमा प्रियंका चौधरी, देवेन्द्र बब्लु, सुवास सुवेदी, रोबिन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भीक भट्टराई, रूपक काफ्ले तथा प्रकृष्ट रेग्मीले अभिनय गरेका थिए ।