सुगम संगीत संगीतको सदावहार विधा हो । सुगम संगीतको महत्व बेग्लै छ । यी गीत कालजयी हुन्छन्— अजर–अमर हुन्छन् । सुगम संगीतको आफ्नै टेस्ट हुन्छ, सधैं सुनिरहौं जस्तो । पछिल्लो क्रममा विभिन्न खालका गीत आइरहेका छन् । यसरी आउने गीत क्षणमा आउने अनि क्षणमै बिलाएर जाने खालका हुन्छन् । यस्ता गीतका कारण श्रोता–दर्शकको मन–मुटुमा बस्न सफल सुगम संगीत ओझेलमा परेको हो कि भन्ने आशंका हुनु स्वभाविक हो ।
यसै क्रममा सुगम संगीतको उत्थान तथा प्रवर्द्धनका निम्ति २०७३ सालमा पोखरामा स्थापना भयो— ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ । सुगम संगीतका क्षेत्रमा जिवन अर्पण गरेका महिलाहरूसँग सहकार्य गर्दै सुगम संगीतको यात्रा र क्षेत्रलाई लामो एवं फराकिलो वनाउने लक्ष्य यसले लियो ।
‘सुरुदेखि नै सुगम संगीतको एउटा कार्यक्रम गर्ने लक्ष्य थियो, पहिले परिवारमा कुरा राखे, अनि गायिका कौशल्या गुरुङ, रुवी गौलीसँग कुरा भयो, कुराकानीकै क्रममा महिला गायिकाहरू मिलेर एउटा कार्यक्रम गरौ भन्ने भयो, अनि जन्मियो हार्मोनी ।’ संस्थाकी अध्यक्ष इतु जोजीजुले भनिन् ।
यही संस्थाले गत शनिबार पोखरा सभागृहमा एउटा बृहत् कार्यक्रमको आयोजना गर्यो— ‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ शीर्षकमा । यो संस्थाले आयोजना गरेको तेस्रो बृहत कार्यक्रम थियो । यसअघि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’ तथा ‘टेस्ट अफ हार्मोनी’ शीर्षकमा दुई कार्यक्रम सफलतापूर्वक सम्पन्न भैसकेका थिए ।
कार्यक्रम हेर्न पुग्ने दर्शकको अपेक्षा एउटै थिएन, फरक–फरक थिए । एकथरीले पुराना गीत सुन्दै आफ्ना युवा दिन सम्झिएँ, केहीले आफ्नो बाल्यकालमा रेडियो मार्फत सुनेका गीतलाई स्मरण गरे । केही भने नयाँ पुस्ता थिए । उनीहरूले पुराना गीतका बारेमा जाने, सुने अनि ती गीतका बारेमा आ–आफ्ना धारणा बनाए । त्यहाँ दिइएको प्रस्तुति एवं दर्शकको साथ हेर्दा सुगम संगीतको आफ्नै क्रेज छ भन्ने स्पष्ट झल्कन्थ्यो ।
नेपाली सांगीतीक फाँटका सफल स्रष्टा स्वरकिन्नरी तारादेवी तथा स्वरसाम्राज्ञी अरुणा लामाप्रति समर्पित ऊक्त कार्यत्रमको सुरुवातमा स्वर साम्राज्ञी अरुणा लामाको ‘नेपाली गौरव गर्छौं आफ्नै पनमा’ गीतलाई १२ जना पोखरेली गायिकाले सामुहिक स्वरमा प्रस्तुत गरेका थिए । त्यसपछि लगातार तीन घण्टासम्म अरुणा लामा तथा तारादेवीका गीत पोखरेली गायिकाहरूको आवाज गुन्जियो ।
हार्मोनीले सुगम संगीतका क्षेत्रमा रुचि भएका तर अवसर तथा विभिन्न परिस्थितिका कारण आफ्नो कला प्रस्तुत गर्न नपाएका महिला गायीकाहरूलाई प्रोत्साहित गर्न स्टेज प्रदान गर्दै आएको छ । यसै क्रममा पहिलो पटक गृहिणी रुमा तुम्रिहाङ राईले आफ्नो प्रस्तुति दिइन् । राईले भनिन् ‘मेरो घरमा त मैले गीत गाउँछु भन्ने थाहा पनि छैन ।’
कार्यक्रमपश्चात् आयोजक संस्थाका अध्यक्ष इतु जोजिजू भनिन्— कलाकारहरूलाई सहजता प्रदान गर्ने, सुगम संगीतका कार्यक्रमलाई निरन्तरता दिने हाम्रो लक्ष्म हो । सुगम संगीतको उत्थानका लागि महिला गायिका मात्र संगठित भएको यो नेपालमा पहिलो र एसियामा दोस्रो भएको साहित्यकार प्रकाश सायमीले बताए ।