साप्ताहिक संवाददाता
असार र साउनको झरीमा चलचित्र तथा म्युजिक भिडियोको दृश्य खिच्नु छायाँकारका लागि निकै चुनौतीपूर्ण हुन्छ । झरीको समयमा क्यामेराको फ्रेमिङदेखि लिएर कलाकारको अभिनय एवं नृत्यलाई क्यामेरामा कैद गर्नु छायाँकारका लागि चुनौती नै हो । चलचित्र तथा म्युजिक भिडियोको छायांकनमा सक्रिय छायाँकार हरि हुमागाईं, अर्जुन तिवारी तथा पुरुषोत्तम प्रधानले साप्ताहिकसँग आ–आफ्नो झरीको सुटिङ अनुभव साटेका छन् ।
नेपालमा झरीमा खिच्ने क्यामेरा छैन
झरीका बेला म क्यामेरालाई छाता वा प्लास्टिक ओढाएर खिच्छु । यसले केही डिस्टर्ब त गर्छ । यसरी खिच्दा केही गाह्रो पनि हुन्छ । हामी मोबाइलमा मौसमको अवस्था हेरेर छायांकन गर्छौं । यस्तो अवस्थामा कलाकारलाई तयारी अवस्थामा राखेका हुन्छौं । नेपालमा झरीमा खिच्ने क्यामेरा छैन । त्यसको मूल्य पनि महँगो छ । म युट्युब हेरेर पानी परेका बेला कसरी खिच्ने नयाँ–नयाँ आइडिया सिक्छु । सुटिङको समय–तालिका मिलाएर आउटडोर–इन्डोर खिच्ने गरेकाले पनि पानीले खासै डिस्टर्ब गरेको छैन ।
पुरुषोत्तम प्रधान
करेन्ट लाग्ने सम्भावना हुन्छ
पानी–झरीमा कसरी खिच्ने भन्ने कुरा क्यामेराम्यानको काम गर्ने तरिकामा पनि भर पर्छ । पानी परेका बेला राम्रो दृश्य निकाल्नुपर्यो भने राम्रो लाइटको आवश्यकता हुन्छ । यस्तो बेला बढी लाइट राखेर काम गर्यो भने करेन्ट लाग्ने सम्भावना हुन्छ । असारे झरीमा सामान्य किसिमले खिच्ने हो भने छाता ओढाएर खिच्नुपर्छ । नेचुरल पानीमा खिचियो भने आफू पनि भिजिन्छ । पानीमा म भरसक कमै मात्र लाइट प्रयोग गर्छु, जसले गर्दा करेन्ट लाग्ने सम्भावना हुँदैन । मनसुनमा आउटडोर सुटिङ गर्दा त्यहीअनुसारको माइन्डम्याप बनाउँछु । कहिलेकाहीं खुलेको मौसममा सुट गर्न जाँदा अचानक पानी परिदियो भनेचाहिँ नयाँ कन्सेप्ट बनाउन समय लाग्छ ।
हरि हुमागाईं
समयअनुसार सुटिङ गर्नुपर्छ
झरीमा भिडियो खिच्न एकदमै गाह्रो कुरा हो । केही दिनअघि पनि एउटा भिडियोको आउटडोर सुटिङ पानीकै कारण इन्डोरमा गर्नुपर्यो । यस्तो बेला गीतको सुटिङ गर्न निकै समय लाग्छ । एक दिनमा सकिने काम दुई–तीन दिनसम्म लाग्छ । पानी परेका बेला क्यामेरा जोगाउने माध्यम छाता वा प्लास्टिक नै हो । क्यामेरामा केही भयो भने त्यसले सुटिङ नै रोकिन्छ । निर्माता एवं कलाकारको समयअनुसार सुटिङ गर्नुपर्छ । वर्षात् र हिउँद केही भन्न पाइँदैन । किनभने उनीहरूले जुन समयमा फुर्सद मिलाउँछन्, त्यही समयमा खिच्नुपर्ने हुन्छ ।
अर्जुन तिवारी