साप्ताहिक संवाददाता
‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो’ गीतमार्फत गीतकारका रूपमा स्थापित भएका भूपेन्द्र खड्का पुनः गीत रचनामा सक्रिय भएका छन् । गीतकार खड्काले ‘मरिहत्ते...’ गीतमार्फत आफ्नो लेखनको दोस्रो इनिङ प्रारम्भ गरेका छन् । गायिका प्रसन्ना पाण्डेले केही अघि उक्त गीत हरि लम्सालको संगीत निर्देशनमा रेकर्ड गराएकी थिइन् ।
हाल छायांकनमा रहेको दीपेन्द्र के खनालको चलचित्र ‘आमा’ का गीतहरू पनि गीतकार खड्काले नै रचना गरेका छन् । नेपाल आइडलका उप–विजेता विक्रम बरालले खड्काको शब्द तथा हरि लम्सालको संगीतमा ‘माया मारिदे...’ शीर्षकको गजल रेकर्ड गराएका छन् । गायिका रेखा शाहले पनि खड्काकै शब्दमा एउटा टप्पा शैलीको गीत रेकर्ड गराइसकेकी छिन् ।
यसबाहेक गीतकार खड्काले गायक सुगम पोखरेलसंग पनि नयाँ गीति यात्राका लागि सहकार्य गरिरहेका छन् । खड्काकै शब्दमा सुगमले ‘सिंजा है जाउँला...’ रेकर्ड गर्दैछन् । गीतकार खड्काका गीत संगीतकार अर्जुन पोखरेल, सुवास भुसाल तथा कल्याण सिंहले संगीतबद्ध गर्ने चलचित्रका गीतमा समेत समेटिँदैछन् । ५० को दशकको उक्तरार्द्धदेखि गीति लेखनमा सत्रिय गीतकार खड्का चार वर्षको लेखन विश्रामपछि पुनः सक्रिय भएका हुन् ।