दृश्य–१ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग इन्डोनेसियाको बालीमा रमाइरहेकी थिइन् । त्यसबीच बालीमा साम्राज्ञी प्रेमी देवांशको अँगालोमा कस्सिएर अधरपान गरिरहेका तस्बिरहरू सार्वजनिक भए । इन्स्टाग्रामबाट सार्वजनिक भएका ती तस्बिर केही समयमै ट्विटर, फेसबुकजस्ता सामाजिक सन्जाल तथा अनलाइन पोर्टरहरूका लागि हटकेक बने । समुन्द्री किनारको बालुवामा रोमान्स गरिरहेको अवस्थाका ती तस्बिरको तीव्र आलोचना भैरहेकै बेला प्रेमीसँग कारमा अधरपान गरिरहेको साम्राज्ञीको अर्को तस्बिर सार्वजनिक भयो ।
दृश्य–२ : अभिनेत्री प्रियंका कार्की तथा अभिनेता एवं मोडल आयुष्मान देशराज जोशीको इन्स्टा वालमा पनि बेला–बेलामा उनीहरूको रोमान्सका दृश्य सार्वजनिक भैरहेका हुन्छन् चाहे त्यो स्वीमिङ पुलमा होस् वा कुनै क्याफेमा वा विदेशी भूमिमा । जहाँ यो जोडीले खुलेर रोमान्स मात्र गरिरहेको देखिँदैन, त्यसलाई उनीहरू खुल्लमखुल्ला सेयर पनि गरिरहेका हुन्छन् । केही समय गुपचुप रहेको प्रियंका र आयुष्मानको प्रेम अहिले खुल्ला आकाशमा विचरण गरिरहेको छ ।
दृश्य–३ : गत जेठमा अभिनेत्री मलिना जोशीले प्रेमी सुशान्त प्रधानसँग थाइल्यान्डमा होलिडे मनाएको तस्बिरहरू पनि मिडियामा खुबै छाए । फिटनेस ट्रेनर प्रेमी सुशान्तसँग रोमान्स गरेको दृश्य मलिना स्वयंले आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरिन् । त्यसपछि उनको प्रेमका बारेमा अनेकन गसिप बने ।
कुनै समय प्रेमी–प्रेमिका लुकाउने, आफ्नो निजी सम्बन्धलाई सार्वजनिक आँखीझ्यालबाट अलग्गै राख्ने, त्यसमा सकेसम्म पर्दा हाल्ने नेपाली मनोरन्जन संसार अहिले कसरी खुलिरहेको छ भन्ने कुराको उदाहरण हुन् माथिका यी तीन दृश्य । सुरुमा यस्ता सम्बन्धहरू सार्वजनिक हुँदा करिअर नै चौपट हुने डर हुन्थ्यो । एक समय त प्रेमी सार्वजनिक हुँदा मनोरन्जन संसारमा टिक्न सकिँदैन भन्ने बलियो विश्वास पाइन्थ्यो अभिनेत्रीहरूमा । अभिनेताहरूमा पनि प्रेमिका सार्वजनिक गर्दा आफ्ना महिला प्रशंसक घट्लान् भन्ने चिन्ता हुन्थ्यो ।
त्यस्तो चिन्ता अहिले पनि केही अभिनेता तथा अभिनेत्रीहरूमा विद्यमान छ, तर पछिल्ला केही वर्षयता नयाँ पुस्ताका युवा अभिनेता/अभिनेत्रीहरूको व्यवहारले बिस्तारै त्यस्तो पुरातन मान्यतामा ठूलो प्रहार गरेको छ । केही वर्षअघिसम्म आफ्नो प्रेम–सम्बन्धलाई गुपचुप राख्ने मलिना आफ्नै वालबाट प्रेमी सुशान्त प्रधानसँगको थाइल्यान्डमा रोमान्स गरिरहेका श्रब्य/दृश्य सेयर गर्ने आँट गर्न सक्ने अवस्थामा पुग्नुले नेपाली समाजमा देखिएको खुलापन र स्वतन्त्रताको बयान गर्छ ।
नेपाली समाज पूर्वीय दर्शनमा आधारित बन्द समाज हो । जहाँ कसैसँग हिँड्नु नै चियोचर्चोको विषय हुन्छ । उसको पछिल्तिर नानाथरी कुरा काटिन्छ । त्यही समाजमा २३ वर्षीया अभिनेत्री साम्राज्ञीका अन्तरंग तस्बिर सार्वजनिक भएपछि उत्पन्न तरंगले बजार गर्माए पनि उनलाई त्यसले केही फरक पार्दैन, बरु उनी सहजै भनिदिन्छिन्— ‘हात्ती चले बजार, कुत्ता भुके हजार ।’
केही वर्षदेखि निरन्तर चर्चामा रहेको जोडी हो— अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको जोडी । यो जोडी आफ्ना रोमान्सका क्षणहरूलाई क्यामेरामा कैद गरेर सामाजिक सन्जालमार्फत सार्वजनिक गर्न रुचाउँछ । चाहे त्यो स्वीमिङ पुलको दृश्य होस् वा बालीको समुद्र तट । अभिनेत्री प्रियंका र अभिनेता आयुष्मानको इन्स्टाग्राम र फेसबुकमा प्रेमालापका त्यस्ता दर्जनौं तस्बिर फेला पर्छन् ।
साम्राज्ञी, प्रियंका र मलिनाको खुला र स्वच्छन्द व्यवहार बदलिँदो नेपाली समाजको तस्बिर हो, जसलाई सहज र सामान्य तवरमा पचाउन नेपाली समाजलाई अझै केही वर्ष पक्कै लाग्नेछ । होइन भने उनीहरूको अन्तरंग सम्बन्धका त्यस्ता दृश्य तथा बिकिनी अवतारले बजार तात्नुपर्ने कुनै कारण थिएन । सामाजिक सन्जाल तथा अनलाइनहरूमा यस्ता दृश्य कतिपयलाई पच्न सकिरहेको छैन । त्यसमा सकारात्मक तथा नकारात्मक प्रतिक्रियाहरू आउने क्रम जारी छ, तर ती सबै किसिमका प्रतिक्रियाले न उनीहरूलाई प्रभावित गरेको छ, न त उनीहरूले आफ्नो व्यक्तिगत जीवनमा अरू कसैको ‘इन्टरफेयर’ नै रुचाएको देखिन्छ ।
यी तीन प्रतिनिधि अभिनेत्रीको व्यवहारले नेपाली मनोरन्जनको दुनियाँलाई मात्र प्रतिनिधित्व गर्दैन, अपितु उनीहरूको व्यवहारले नेपालको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्छ । त्यसले नयाँ पुस्तामा खुलापनको भोक र त्यसप्रतिको चाहनालाई मात्र दर्साउँदैन, प्रेम, रोमान्स र यौनजस्ता विषयमा नेपाली समाजको बदलिँदो चरित्रलाई समेत इंगित गर्छ । कुनै समय यस्ता कुरामा चियोचर्चो गरेर नथाक्ने नेपाली समाज अहिले आधुनिक र खुल्ला व्यवहारसँग अभ्यस्त हुन थालिसकेको छ । अहिलेको अवस्थामा नेपाली समाजले प्रेम र यौनका विषयमा पनि आफ्नो अनुदार छविलाई बदलिरहेको देखाउँछ ।
नेपाली समाजमा कल्पना नै गर्न नसकिने लिभिङ टुगेदर, विवाहपूर्व युवायुवतीको हिमचिम, विवाहपूर्व युवायुवतीको एक–अर्काको घरमा आवतजावत, प्रि वेडिङ घुमघामजस्ता व्यवहार सामान्य हुन थालेका छन् । समाजशास्त्री निर्मला ढकाल आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा देखिएका परिवर्तनलाई यसको कारण मान्छिन् । ढकाल भन्छिन्– ‘युवापुस्ताको बदलिँदो व्यवहारको कारक आर्थिक आत्मनिर्भरता, वैश्वीकरण, सञ्चारमा भएको अभूतपूर्व विकास आदि हुन् ।’
ढकालका अनुसार हुर्किने वातावरण, व्यक्तिगत स्वतन्त्रताको फराकिलो दायरासँगै शिक्षादीक्षाले पनि यसमा निर्णायक काम गरेको छ ।
मनोविद् करुणा कुँवर यसलाई युवापुस्ताले अलि बढी स्वतन्त्रता खोज्दै गएको रूपमा अर्थ्याउंछिन् । कुँवरका अनुसार हाम्रो सामाजिक, सांस्कृतिक संरचनाले बिस्तारै नयाँ कुरा स्वीकार गर्ने क्षमता अभिवृद्धि गर्दै लगेको देखिन्छ । मनोविद् कुँवर भन्छिन्– नयाँपुस्ताका युवायुवतीहरू नयाँ विचार र खुलापनप्रति आकर्षित छन् । उनीहरू व्यक्तिगत स्पेश क्रियट गर्नका लागि स्ट्रगल गर्न पनि तयार देखिन्छन् । डेभलपमेन्ट तथा क्रस कल्चर एडप्ट गर्दै जानु, नयाँ कुरामा घुलमिल, समायोजन हुनुजस्ता कारणले यस्तो परिवर्तनलाई स्वभाविक बनाउँदै लगेको छ ।
केही विश्लेषक भने खुलापनले सामाजिक सम्बन्धहरूलाई कमजोर बनाउने तर्क पनि गर्छन् । कला विश्लेषक प्रकाश सायमी अहिले नेपाली समाजमा बजारु प्रेमको ट्रेन्ड देखिन थालेको दाबी गर्छन् । सायमी भन्छन्, ‘हाम्रोमा अहिले बोक्सीले हड्डी उफारेजस्तो बजारु प्रेमको ट्रेन्ड देखिन थालेको छ, जुन कलात्मक हुँदैन । के १६ वर्षमा प्रेम गर्यो, २६ वर्ष पुगेर ब्रेकअप भै पछुताउनु नै प्रेम हो ? प्रेम त विवाहपछि हुने कुरा हो, विवाहपछि हुने प्रेम नै बलियो हुन्छ ।’
विवाहमा आएको परिवर्तन
नयाँ पुस्ताको स्वतन्त्रता र खुलापनको मोहले समाजका अन्य विभिन्न सामाजिक, सांस्कृतिक पक्षहरूमा पनि प्रभाव पारेको छ । यौनसम्बन्धमा देखिने सहजता, पुनःविवाह र विधवा विवाहजस्ता विषयमा देखिएको फराकिलो सोच नेपाली समाजमा आएको परिवर्तनको अर्को पक्ष हो । अब यी विषयमा खुला बहस हुन थालेको छ । कुनै समय विधवा विवाह र पुनः विवाहजस्ता विषय नेपाली समाजमा प्रचलनमा थिएनन्, तर अहिले नेपाली समाजका लागि यस्ता कुरा सामान्य हुन
थालेका छन् ।
यौन उदारता, पुनः विवाह, विधवा विवाहजस्ता मान्यता नेपाली समाजमा सहज हुनुका पछाडि कुन समाजशास्त्रीय कारणले काम गरेको छ ? समाजशास्त्री मृगेन्द्रबहादुर कार्की भन्छन्— विकसित देशहरूसँगको ‘शारीरिक एवं बौद्धिक सम्पर्क’सँगै समाज विज्ञान र राजनीतिमा आएको परिवर्तन नै यसको कारण हो ।
‘अहिले टेलिभिजन तथा इन्टरनेटको सुविधा मात्र उपलब्ध छैन, अस्ट्रेलिया, बेलायत, जापान, अमेरिकाजस्ता देशमा नेपालीहरूको ठूलो उपस्थिति छ, त्योसँग शारीरिक मात्र होइन, बौद्धिक सम्पर्कले मल्पिटल सभ्यताको विकासमा भैरहेको छ,’ कार्की भन्छन्, ‘पश्चिममा भएको मोर्डन सोसल साइन्सको विकाससँगै महिला को हो, पुरुष को हो भन्ने कुरा रहेन । त्यसबाहेक नेपाली समाजमा विज्ञानमा आएको परिवर्तन तथा राइटबेस राजनीतिक परिवर्तनका कारण पनि यस्ता परिवर्तनहरू देखा परेका हुन् ।’ हुन पनि हो, अस्ट्रेलियामा नेपाली समुदाय पाँचौ ठूलो समुदायका रूपमा विकास भएको छ भने जापान, बेलायत, अमेरिका आदि देशमा पनि नेपाली समुदायको ठूलो हिस्सा बसोबास गर्छ । त्यो हिस्साले त्यहाँ आर्जन गर्ने र सिक्ने व्यवहार तथा संस्कृतिले नेपाली समाजको व्यवहार एवं संस्कृतिलाई पनि स्वतः प्रभाव पार्दै लगेको छ ।
फेरिँदो शैली
काठमाडौं बालुवाटारका अमित (नाम परिवर्तन) को एमबीए पढ्ने क्रममा सहपाठी दीक्षा (नाम परिवर्तन) सँग प्रेम बस्यो । यसमा उनलाई सुशिक्षित आमाबुवाका सन्तान हुनुको लाभ प्राप्त भयो । अमितले आफू प्रेममा परे लगतै प्रेमिकालाई घरमा लगेर आमाबुवासँग परिचय गराए । उनकी प्रेमिकाका शिक्षित अभिभावकले पनि अहिलेको बदलिँदो परिवेश बुझेका थिए । दुवैका परिवार खुलापनलाई स्वीकार गर्न सक्ने भएकाले प्रेम सम्बन्धपछि दुवैलाई एक–अर्काको घरको ढोका सहज रुपमा खुल्ला भयो । दुवैको सम्बन्धलाई दुवैका परिवारले सहज रुपमा स्वीकार मात्र गरेनन्, उनीहरू दुवैलाई घरमा आवत–जावतमा कुनै रोकावट लगाएनन् । समाजका केही व्यक्तिले विवाहपूर्व अमितको घरमा दीक्षाको आगमनलाई नरुचाए पनि दुवैको परिवारले त्यसमा कुनै ध्यान दिएन ।
अमित र दीक्षा विवाहपूर्व नै घुम्नका लागि गोवादेखि थाइल्यान्डसम्म पुगे । परिवारले त्यसमा पनि कुनै रोकटोक र नाइनास्ति गरेन । बरु, उनीहरूको खर्चको व्यवस्थापनदेखि यात्राको सबै प्रबन्ध परिवारले नै मिलाइदियो । एमबीए सकिएपछि एउटा साइत निकालेर गत असारमा उनीहरूले दुवैको पहिले इन्गेजमेण्ट भयो, त्यसको केही समयपछि नै उनीहरू विवाह–बन्धनमा बांधिए ।
अमित र दीक्षा मात्र होइन्, अहिले यस्ता दृश्यहरू सामान्य हुँदै गएका छन् । इन्गेजमेन्ट गरेर सँगै बस्ने, विवाह पूर्व लिभिङ टुगेदर बस्नेजस्ता घटना आम भैरहेका छन् । तीव्र सहरीकरण, आधुनिकरण एवं विश्वव्यापीकरणजस्ता कारणले मानिसहरू खुलापनमा अभ्यस्त हुन थालेका छन्, फलस्वरूप कारण विवाहपूर्व दुलहा र दुलही हेर्न समेत नपाइने परम्परागत सामाजिक मान्यताका पर्खालहरू भत्किँदै गएका छन् ।