साप्ताहिक संवाददाता
पोखरा थिएटरको गर्न्धव नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन भैरहेको छ । ‘एक चिहान’ साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।
यो उपन्यासका माध्यमबाट प्रधानले त्यतिबेलाको नेपाली समाजका नारीहरूले भोग्नुपरेका यातना, किसानहरूमाथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास एवं त्यस प्रकारका विकृतिहरूबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । उपन्यास एक चिहानको नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका हुन् ।
यो नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदिप बाँस्तोला, अञ्जु दाहाल, सन्दीप ठाकुर, विष्णु तिमिल्सिना, सुमन तिमिल्सिना, ईश्वरी राना, आशिका केसी, नितिषा बस्ताकोटी आदिले अभिनय गरेका छन् जो अष्टनारान, लतमाया, शिवनारान, हाकुमाया, पुननारान, नानीथकु, रत्नमान, रामखेलावन रावत, गोदत्तप्रसाद, गुठियार, भरिया, रामबहादुर, रोपारे, सहेली, रञ्जनादेवी तथा तामाङ बुहारी पात्रमार्फत प्रस्तुत हुन्छन् ।
पोखरा थिएटरको आठौं प्रस्तुतिस्वरूप मञ्चन भैरहेको यो नाटक भदौ १४ गतेसम्म मञ्चन हुने बताइएको छ । पाठ्यक्रममा समावेश भएका कारण समेत यो नाटकप्रति युवा तथा विद्यार्थीहरूको आकर्षण
बढी पाइन्छ ।
नेपाली किसान तथा मजदुरहरूको जीवनमा आधारित नाटक एक चिहान यथार्थवादी सामाजिक नाटक हो । नाटक एक चिहानमा वि.सं. २०११ तिरको निम्नवर्गीय नेपाली जीवनको यथार्थ प्रस्तुत गरिएको छ । गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्नवर्गीय जीवनका जटिलता एवं संघर्ष समेटिएको यो नाटकमा विशेष गरी नेवार समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोसाक एवं लवजले यो नाटकलाई अझ परिपक्व बनाएको छ । अभिनयमा निखार ल्याउन कलाकारहरूले कडा मेहनत समेत गरेका छन् ।
यो नाटक हरेक साँझ ५ बजे मञ्चन भैरहेको छ भने शनिबार १ बजे अतिरिक्त शो हुने बताइएको छ । झन्डै डेढ घण्टा लामो यो नाटकले घरी हँसाउँछ, घरी रुवाउँछ भने विगतको स्मरण गराउने मात्र होइन, गम्भीर समेत बनाउँछ । पोखरामा अहिले नाटक हेर्ने संस्कृतिको विकास हुँदै गएको र नाटक नयाँ दर्शकको आकर्षणमा पर्न थालेको थिएटरका सञ्चालक दिल प्रसाद गुरुङ बताउँछन् ।