अफरोड  रोमाञ्च

- जनक तिमिल्सिना, एकराज सुवेदी

भाद्र ११, २०७६

पारखीहरू काठमाडौं वरपरका अफरोड ट्रेलहरूसँगै मनाङ, मुस्ताङ र रारासम्मका अफरोडमा हुइँकिइरहेका हुन्छन् । केही कम्पनीले अफरोड राइडिङ इभेन्ट नै आयोजना गर्न थालेका छन् । अफरोड राइडरहरूको यकिन तथ्यांक भने कसैसँग छैन् । समूह–समूह बनाएर आफै पनि अफ रोड राइडिङको स्वाद लिन निस्किने भएकाले यसको निश्चित तथ्यांक निकाल्न गाह्रो छ । 

 

अफरोड सिजन

विशेषतः सेप्टेम्बरदेखि नोभेम्बरसम्म र मार्चदेखि जुनसम्मको समय अफरोड राइडिङका लागि उपयुक्त सिजन मानिन्छ । यो मौसममा यात्रा गर्नु आफैंमा रोमान्चक हुन्छ । यद्यपि कतिपयले साहसिक भन्दै अन्य मौसममा पनि अफरोड राइड गर्छन् । 

सुन्दरता सजिलो ठाउँमा हुँदैन

सुनाखरी सजिलो ठाउँमा फुल्दैन 

अर्थात् सुन्दरताको आनन्द सहज ढंगले उठाउन पाइँदैन । यसको वास्तविक भाव राम साहभन्दा बढी कसलाई थाहा होला र ? सानै उमेरदेखि सर्लाहीका साहको लगाव घरबाट टाढा देखिने चुरेका स–साना पहाडी श्रृंखलाप्रति थियो । साह पछि काठमाडौं आए जहाँ उनी बाइक दौडाउन थाले, हिमाल, पहाड, खोचहरूमा ।

‘सुन्दरताको अनुभव लिन साहसिक यात्रा गर्नैपर्दो रहेछ,’ साप्ताहिकसँगको भलाकुसारीमा साहले बताए । १४ वर्षदेखि बुलेट बाइक कुदाउन थालेका ३२ वर्षीय साहले १० वर्षयता २ दर्जनभन्दा बढी अफरोड राइडको नेतृत्व गरिसकेका छन् । ‘रारादेखि सोलुखुम्बुसम्म, मनाङदेखि केरुङसम्म अफरोड राइडिङको नेतृत्व गरिसकेको छु,’ नासा बुलेट क्लबका महासचिव तथा रोड लिडर साहले बताए । 

अफरोड राइडिङमा नयाँ पुस्ताको मोह लोभलाग्दो छ । काठमाडौं नैकापका निखिल ठकुरी सफ्टवेयर इन्जिनियरिङका ग्राजुएट हुन् । पेसागत दृष्टिले पैसा कमाउन उनी सफ्टवेयर इन्जिनियर हुनुपर्ने हो, तर प्यासनले उनको हातलाई कम्प्युटरबाट मोटरसाइकलको एक्सिलरेटरमा पुर्‍यायो । त्यसैले २७ वर्षीय यी तन्नेरी विगत ५ वर्षदेखि अफरोडमा रमाइरहेका छन् । ‘अफरोडिङ चुरोट, रक्सीको लतजस्तै रै’छ,’ ठकुरी भन्छन् । 

युवाहरूलाई मोहजालमा पार्ने अफरोडमा आखिर के छ ? ठकुरी भन्छन्, ‘अफरोडमा जे देखिन्छ, भोगिन्छ, स्ट्रगल हुन्छ, त्यो आफैंमा रोमाञ्चक छ ।’ अफरोड नेपालका सञ्चालक मध्येका एक ठकुरी कम्पनीको टुर अपरेटिङ पनि आफैं गर्छन् । उनले आफ्नो यो कम्पनीमार्फत दर्जनौं अफरोड राइडिङको नेतृत्व गरिसकेका छन् । १३ वर्षअघि पहिलो पटक युनिकर्न बाइक कुदाएका ठकुरी विभिन्न रेसिङ प्रतिस्पर्धा हुँदै अफरोड राइडिङमा आएका हुन् । 

झापाकी प्रियंका सिटौलाले अफरोडमा बाइक कुदाउन थालेको ३ वर्ष भयो । हाल काठमाडौंको बालाजुमा बस्दै आएकी १९ वर्षीया सिटौला सानैदेखि बाइक भनेपछि हुरुक्कै हुन्थिन् । ‘७ कक्षामा पढ्दा नै मैले बाइक चलाउन सिकिसकेकी थिएँ,’ ए लेभल गरेकी सिटौलाले भनिन्, ‘एलएलसीपछि भने बाइक नै लिएर हिड्न थाले ।’ सुरुमा आरसी २०० बाइक चलाएकी सिटौला अहिले २०० सीसीको अपाचे गुडाउँछिन् अनि अफरोड राइडिङमा फरक खालको आनन्द प्राप्त हुने अनुभव सुनाउँछिन् । ‘अफरोड राइडिङ गरेर मुस्ताङ, कालिन्चोक, धुलिखेल, केरुङ आदि ठाउँ पुगिसकेकी छु,’ सिटौलाले भनिन्, ‘मलाई डट बाइकमा अफरोडको यात्रा निकै मज्जाको लाग्छ ।’ प्रियंकालाई अफ रोडमा पाइने प्राकृतिक सुन्दरता, एडभेन्चरसँगै बृद्धि हुने कन्टोलिङ, पर्सनल राइडिङ स्किलजस्ता कुराले पनि आनन्द दिन्छ । 

राम, निखिल र प्रियंकासँगको भलाकुसारीबाट के निष्कर्षमा पुग्न सकिन्छ भने युवाहरूलाई अफरोडमा तान्ने मुख्य तीन चीज छन्— फ्रिडम, एडभेन्चर्स र नेचर । राइडिङ, त्यसमा पनि अफरोडमा जस्तो फ्रिडम अन्यत्र कतै भेटिँदैन । एडभेन्चर्स नेपालका अफरोड बाटोहरूमा जस्तो मज्जा अरू कहाँ पाउन सकिएला र ? एकातिर कतै बगिरहेका नदी, कतै उर्लिरहेको भेल, पाइला–पाइलाका चुनौती । अर्कातर्फ खोंच, हरियाली फाँट, कलकल बगिरहेका ठूला–ठूला झरनाहरू, हिमाली फेरो, निश्चल हावा अनि घना जंगलहरू । सम्भवतः अफरोडको यही आकर्षणले युवापुस्तालाई लत लगाएको छ । 

पारखीहरू काठमाडौं वरपरका अफरोड ट्रेलहरूसँगै मनाङ, मुस्ताङ र रारासम्मका अफरोडमा हुइँकिइरहेका हुन्छन् । केही कम्पनीले अफरोड राइडिङ इभेन्ट नै आयोजना गर्न थालेका छन् । अफरोड राइडरहरूको यकिन तथ्यांक भने कसैसँग छैन् । समूह–समूह बनाएर आफै पनि अफ रोड राइडिङको स्वाद लिन निस्किने भएकाले यसको निश्चित तथ्यांक निकाल्न गाह्रो छ । 

नासा बुलेट क्लबले अफरोड राइड यात्रा गराउन थालेको एक दशक भैसकेको छ । क्लबका सदस्यहरू व्यवसायिक रुपमा नभै आफ्नै मनोरञ्जनका लागि समूह बनाएर विभिन्न स्थान पुग्ने गरेका छन् । बाइकर्ज अस नेपालले विभिन्न समूहलाई यस्तै स्थानको भ्रमण गराइरहेको हुन्छ । साप्ताहिकले सम्पर्क गर्दा गत साता बाइकर्ज असका सह–संस्थापक अतीत श्रेष्ठ उपल्लो मुस्ताङमा थिए । मुस्ताङमा हुने यार्तुङ पर्वको सम्झना गर्दै उनी त्यहाँ पुगेका हुन् । कुनै बेला अस्ट्रेलियामा रहँदा उनले नेपालमा यस प्रकारको पर्यटन प्रवर्द्धन गर्ने कल्पनाका साथ कम्पनी स्थापना गरेकाले त्यसको नाम पनि बाइकर्ज अस राखिएको श्रेष्ठ बताउँछन् । अतीत विदेशी राइडरहरूलाई समेत निमन्त्रणा पठाएर नेपाली प्रकृतिको आनन्द लिन अनुरोध गर्छन् र विभिन्न स्थान घुमाउन लान्छन् । अतीतले काठमाडौंमा स्थापना गरेको जेनेसिस क्याफे यस्तै बाइकरहरू भेला हुने थलो हो, जहाँ बाइकिङ वातावरणको अनुभव समेत गर्न सकिन्छ । 

बाइकरहरूका लागि नेपालका रमणीय स्थल मुक्तिनाथ, उपल्लो मुस्ताङ, मनाङ आदि स्वर्ग नै हुन् । यही तथ्य बुझेका दीपक साह २०१० मा पहिलो पटक बाइकमै मुक्तिनाथ गएका थिए । त्यतिबेला मानिसहरू हेलिकप्टर वा हवाईजहाज चढेर मुक्तिनाथ पुग्थे । अहिले जस्तो सहज बाटो थिएन, भर्खर ट्र्याक खुलेको थियो । साह भन्छन्, ‘अपर मुस्ताङमा पनि म नै पहिलो पटक बाइकमा गएको थिएँ । मैले रेकी गरेर आएपछि अरूहरू पुगे ।’ नेपालका कठिन सडकमा बाइक चलाएर आफू नै पहिलो पटक पुग्ने गरेको साहको दाबी छ । उनको मुक्ति राइड नामक क्लब छ । उक्त क्लबमार्फत भारतको बेंगलुरु, गोवा, मुम्बई, पुना आदि स्थानबाट आएका साथीहरू नै उनका साथमा नेपालका विभिन्न स्थानमा पुग्छन् । सोलो राइडका लागि दीपक साह उदाहरणीय मानिन्छन् । 

मुख्यतयाः टुरिज्म र एडभेन्चर्ससँग जोडिएको अफरोड राइडिङ गर्न रुचाउनेहरू काठमाडौंमा मात्र ४ सयभन्दा बढी भएको अनुमान गर्छन्— हिमालयन इन्फिल्डर्सका सञ्चालक प्रमोद श्रेष्ठ ‘गुफी’ । ‘नेपालमा अहिले झन्डै ४ सय हाराहारीमा अफरोड राइडर हुन सक्छन्,’ श्रेष्ठ भन्छन्, ‘यो संख्या अझ वृद्धि हुन सक्थ्यो, तर इन्स्योरेन्सले कभर नगर्ने भएकाले हुन सकेको छैन् ।’ प्रमोद अफरोड राइडिङलाई एडभेन्चर्स थ्रिलिङ मान्छन् । ‘हरेक मोडमा केही च्यालेज छ, ढुंगा, हिलो, खाल्डो हरेक ठाउँमा एक्टिभ हुनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘यो एउटा थ्रिलिङ गेम नै हो ।’ 

व्यवसायीहरूका अनुसार नेपालमा औसत १८ देखि ४५ वर्ष उमेर समूहकाहरूले अफरोड राइडिङ गर्छन् । प्रमोद त १८ देखि ३५ वर्षका बढी सक्रिय रहेको तर्क गर्छन् । ‘उनीहरूमा म गर्न सक्छु भन्ने आँट हुन्छ । यो जोसिलाहरूले खेल्ने खेल हो,’ उनी भन्छन् । सामाजिक परिवेश, शारीरिक अवस्था र अन्य विविध कारणले महिलाहरू भने अफरोडिङमा उति छैनन्, हुँदै नभएका भने होइनन् । ‘नासा बुलेट क्लबमा झन्डै एक दर्जन लेडी राइडर छन्,’ क्लबका अध्यक्ष प्रकाश लिम्बु भन्छन् । 

अफरोड बाइक 

अफरोड राइडका लागि विशेष गरी डर्ट बाइक प्रयोग गरिन्छ । डर्ट बाइकमा त्यसै किसिमको टायर, सस्पेन्सनका साथै अन्य विभिन्न पार्ट्स प्रयोग गरिएको हुन्छ । यी बाइक हल्का हुन्छन् । यस्ता बाइकको मूल्य ५ देखि १२ लाख रुपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन् । जसमा १ सय ५० र २ सय ५० सीसीसम्मका हल्का बाइक बढी प्रयोग गरिन्छ । अफरोडमा प्रयोग हुने बाइकमा सस्पेन्सन अनि ब्रेक राम्रो हुनुपर्छ । यस्ता बाइकको विशेषता एकदमै चाडो पावर पिकअप गर्नु पनि हो । यस्ता बाइकका इन्जिन, च्यासिस र सकबाहेक सबैजसो भाग प्लास्टिकले बनेका हुन्छन् । अफरोडमा प्रयोग हुने बाइक लडे पनि उठाउन सकिने अर्थात् हल्का वजनका हुन्छन् । 

पछिल्लो समयमा अफरोड राइडकै लागि चिनिएका थुप्रै कम्पनीका बाइक नेपाल भिक्रिएका छन् । त्रसफायर, क्रसएक्स, होन्डा सीआरएफ आदि अफरोडका लागि प्रचलित बाइक हुन् । त्यसैगरी सुजुकी, बीएमडब्ल्यु, मोटरहेड, एसडब्लूएम, हस्कभर्ना आदि ब्रान्डका बाइक समेत अफरोडका लागि भनेरै भित्रिएका छन् । बाइकमाण्डू, अफरोड, बाइकर्ज अस, हट्स एन्ड टियर्स, सेक्रेड समिट, स्मोकिङ ज्युज, हिमालयन इनफिल्डर्स, बाइकर्स नेपाल, नासा बुलेट क्लब आदिले नेपालमा अफरोड राइडिङ गराउँदै आएका छन् । 

व्यवसाय बन्दै

अफरोड राइडिङले नेपालमा व्यवसायको रुप लिइसकेको छ । विभिन्न कम्पनीहरू स्वदेशी तथा विदेशीहरूका लागि अफरोड राइडिङ इभेन्टको आयोजना गरिरहेका हुन्छन् । पछिल्लो समय कर्पोरेटहरूको आकर्षण पनि अफरोडमा बढ्दो छ । खासगरी, काठमाडौं वरपरका सिटी अफरोड ट्रेलहरूमा कर्पोरेट पर्सनहरूका लागि पनि अफरोड इभेन्टहरू आयोजित हुन थालेका छन् । 

साधारणतयाः १ सातादेखि १३ दिनसम्मको अफ रोड इभेन्ट गर्ने अफरोड राइडले वर्षमा करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्छ । उसको भगिनी कम्पनी बाइकर्स नेपालका काठमाडौं, भक्तपुर, पोखरा, बुटवल, इटहरी, धरान, इलाम, चितवन आदि ठाउँमा २ सय बढी सदस्य छन् । 

अफरोड राइडिङ गराउने अर्को कम्पनी क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल इम्पोर्ट एक्सपोर्टका सिनियर सेल्स म्यानेजर अरुण लामा आफूहरूले वार्षिक रुपमा १० देखि १५ वटा अफरोड राइड गराउने कुरा बताउँछन् । ‘अफरोड राइड र डर्ट बाइकमा क्रसफायरले क्रान्ति नै गरेको छ,’ लामा दाबी गर्छन् । एक अफरोड राइडमा १० देखि ६० जनासम्म सहभागी गराउने क्रसफायरले वर्षमा झन्डै ३ सयजतिलाई अफरोड राइड गराउँछ । अफरोड राइड र क्रसफायरबाहेक अन्य विभिन्न कम्पनीले पनि अफरोड राइड गराइरहेका छन् । नासा बुलेट क्लबले वर्षमा ३ देखि ५ वटा अफ रोड राइडिङ इभेन्ट गर्छ । हिमालयन इन्फिल्डर्स, सेक्रेड समिट आदि यो क्षेत्रमा नाम चलेका कम्पनी हुन् । केही व्यवसायीका अनुसार यो क्षेत्रमा त्यति प्रतिस्पर्धा नभएकाले आर्थिक प्रतिस्पर्धा पनि उति धेरै छैन । 

विदेशीहरूको आकर्षण 

प्राकृतिक विविधताले भरिपूर्ण नेपालको अफरोडमा नेपाली राइडरहरू मात्र रमाउँदैनन् । विदेशी राइडरहरू पनि उत्तिकै रमाउने गरेका छन् । विदेशबाट नेपालका अफरोडमा राइडिङका लागि पुरुषमात्र आउँदैनन्, महिलाहरू पनि आउने गरेका छन् । अफरोड नेपालले गत वर्ष मात्र स्विजरल्यान्डका युवतीहरूलाई अफरोड राइड गराएको थियो । हिमालयन इन्फिल्डर्सका प्रमोद श्रेष्ठ ‘गुफी’ विदेशीहरू अफरोड राइडिङमा रमाउने र यसैका लागि नेपाल आउने कुरा बताउँछन् । 

नेपाली पर्यटन व्यवसायीहरूमध्ये नेपालमा अफरोड राइड गराउनेहरू थाइल्यान्ड, इन्डोनेसिया आदि देशमा पुगेर त्यहाँका अफरोड राइडिङ कम्पनीसँग राइडिङका टेक्निकहरू सिकेर नेपाल आउँछन् । युवा व्यवसायीहरू यो क्षेत्रमा रहेकाले उनीहरूले फ्री ट्रेल राइडिङमा गएर अफरोडमा इन्टरनेसल कम्पनीहरूको वर्किङ चेन सिक्ने गरेका छन् । 

गाडीमा अफरोड ड्राइभ 

केही महिना पहिले टोयोटा रस मुक्तिनाथ पुर्‍याइयो । नेपाली बजारमा पहिलो पटक भित्रिएको टोयोटा रस अफरोड राइडका लागि समेत उपयुक्त छ भनेर प्रमाणित गर्नु थियो । त्यसैले टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले एउटा इभेन्ट नै आयोजना गरेको थियो । 

गाडीमार्फत अफरोड राइडिङ गराइरहेको इम्याजिन नेपालले २०७३ मंसिरमा एकै पटक ८० जनाको समूहलाई मनाङ पुर्‍याएको थियो जसलाई यति धेरै संख्यामा पहिलो पटक सो स्थानमा पुगेको नेपाली पर्यटकको समूह भनिएको थियो । केही समयअघि इम्याजिन नेपालले नेपाली कर्पोरेट सेक्टरका उच्च पदस्थहरूलाई रारा पुर्‍याएको थियो । महिन्द्रा एड्भेन्चरसँग मिलेर आयोजित उक्त अफरोड राइड यो क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि थियो । 

गाडी अफ रोड ड्राइभ बाइक अफ रोडिङको तुलनामा निकै महँगो छ । त्यसैले अहिले नेपालमा गाडी कम्पनीहरूले नै अफरोड ड्राइभ गराइरहेका छन् । फोर्ड, टोयोटा, रेनो, महिन्द्रा आदि कम्पनीले आवश्यकता अनुसार आफ्नो व्यवसाय प्रवर्द्धनका लागि इभेन्ट गरिरहेका छन् । 

अफरोड ड्राइभका लागि इम्याजिन नेपाल वाहेक यति ट्राभल, बाइकर्ज अस नेपाल, हिमालयन इन्फिल्डर्स, स्मोकी पोखरा आदि पनि सक्रिय छन् । 

कति हुन्छ खर्च ? 

कम्पनी, समय तालिका, ठाउँ, प्रयोग हुने साधनलगायतका कुराले पनि यसमा लाग्ने खर्चलाई प्रभावित गरिरहेको हुन्छ । विदेशीका लागि औसत एक दिनको २ सय डलरदेखि १३ दिनको ५ हजार ५ सय डलरसम्मका प्याकेज उपलब्ध गराइन्छ । 

नेपालीहरूको हकमा १७ हजारदेखि डेढ लाख रुपैयाँसम्मको प्याकेज बाइकर्स नेपालले उपलब्ध गराउँदै आएको छ । नेपालीका लागि बाइक, इन्धन आफैंले प्रयोग गर्‍यो भने त्यो रकम अझ घट्छ । ‘यसमा खानादेखि मेकानिक्स खर्चसम्म सबै समावेश हुन्छ,’ निखिलले बताए । कम्पनीहरूको शुल्क भने एकैनासको हुँदैन, १ हजार ५ सयदेखि डेढ लाखसम्मका अफ रोड राइडिङ प्याकेज कम्पनीहरूले नेपालीका लागि उपलब्ध गराउँदै आएका छन् । क्रसफायरले नेपालीका लागि एक साताको ४०–५० हजार रुपैयाँ शुल्क लिन्छ जसमा लजिङ, फुडिङ र पेट्रोल सबैको व्यवस्था हुन्छ, साधन भने आफ्नै हुनुपर्छ । विदेशीका लागि भने उनीहरूको प्याकेज केही महँगो छ । 

अफरोड राइड पहिरन 

अफरोड राइडिङका लागि सेफ्टी इक्विपमेन्ट पनि आवश्यक हुन्छ । कतिपय बाइक निर्माता कम्पनी आफैले बाइकका इक्विपमेन्ट, एसेसरिजका क्याटलगहरू निःशुल्क उपलव्ध गराउँछन् । यसले गर्दा बाइक राइडरहरूले बाइकको पार्ट्स तथा एसेसरिजहरू आफूले चाहे जस्तै छनौट गर्न सक्छन् । कम्पनीमै निर्मित फुल एसेसरिज वुट्, ग्लोव्स, ज्याकेट, हेल्मेटलगायतका आन्तरिक एवं बाह्य सबै एसेसरिज कम्पनीकै ब्राण्डमा उपलव्ध हुन्छन् । बाइक राइडरकै इच्छामा बाइकलाई मोडुलेसन गरेर मात्र हस्तान्तरण गरिन्छ ।

बाइक राइडरको सुरक्षाका लागि आवश्यक पञ्जा, ज्याकेट, ब्यागलगायतका इक्विपमेन्ट्स निकै महत्वपूर्ण छन् । यी इक्विपमेन्ट्सले कथंकदाचित दुर्घटना भैहाले पनि मोटरसाइकल चालकलाई सुरक्षित राख्न सहयोग पुर्‍याउँछन् । यस प्रकारका पञ्जामा सिन्थेटिक फाइबर, लेदर, कार्बन फाइबर तथा टाइटानियम प्रयोग गरिएका हुन्छन् भने ज्याकेटमा कुम, कुहिनो, छाती, ढाड आदिको बचावटका लागि विशेष सामग्री राखिएका हुन्छन् ।

 

अफरोड राइडमा जानेहरू यी इक्विपमेन्ट वाहेक जाडो र गर्मी अनुसार सहज हुने पहिरन प्रयोग गर्छन् । अफरोड राइडमा जानुपूर्व अनिवार्य रूपमा बाइक चेक, सर्भिसिङ आदि गराइन्छ । 

बढ्दै अफरोड प्रतियोगिता

६ दिन सम्म साढे ४ सय देखि ५ सय किलोमिटरसम्म प्रतिदिन बाइक चलाउनुपर्ने, त्यो पनि अफरोडमा । औसत गति ७५ देखि ९० किलोमिटर प्रतिघण्टा । यति स्पिड नभए प्रतियोगिताबाटै बाहिरिनुपर्ने । तापक्रम माइनस २० देखि माइनस २५ डिग्री सेल्सियस सम्म । १५ हजार फिटसम्मको उचाइ । 

भारतमा गत अक्टोबर ८ देखि १४ सम्म सम्पन्न रेड डी हिमालयको २० औं संस्करणमा नेपालबाट दीपक साह सहभागी भएका थिए । रोयल इन्फिल्ड बिधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै उपाधि जिते । नेपाली राइडरहरूका लागि त्यो एउटा उल्लेखनीय उपलब्धि थियो । 

विदेशमा यस्ता प्रतियोगिता भैरहन्छन् । नेपालमा समेत अफरोड राइडिङमा रमाउनेहरूका लागि विभिन्न प्रतियोगिता आयोजित हुन थालेका छन् । यसमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र यससँग आबद्ध विभिन्न कम्पनीहरूका साथै बाइक आयातकर्ता कम्पनीहरूको समेत महत्वपूर्ण भूमिका छ । केही वर्ष यता अफरोड ट्र्याक निर्माण गरी काठमाडौंका विभिन्न स्थानमा क्रसमान्डु नाममा विभिन्न प्रतियोगिताहरू भैरहेका छन् । 

अफरोड राइडिङमा बजाजले आयोजना गर्ने पल्सर डेयरभेन्चरको पनि महत्वपूर्ण भूमिका छ । बजाज मोटरसाइकल आयातकर्ता हंसराज एन्ड हुलासचन्द कम्पनीले लोकप्रिय मोडल पल्सरको प्रवर्द्धन गर्न आयोजित गर्दै आएको ‘पल्सर डेयर भेन्चर’को चौथो संस्करण यस पटक भारतको लद्दाखमा सञ्चालन गरिने भएको छ । यसभन्दा पहिले यसका तीन वटा संस्करण सम्पन्न भैसकेका छन् । 

प्रकाशित :भाद्र ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्