तीज गीतको मर्म मरेको छैन

- महेश तिमल्सिना

भाद्र १४, २०७६

लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन्– खुमन अधिकारी । अधिकारीलाई अधिकांशले तीज गायकका रूपमा पनि चिन्छन् । स्याङ्जामा जन्मिएका अधिकारी तीजका बेला देश तथा विदेशका कार्यक्रमहरूमा निकै व्यस्त हुन्छन् । २०६३ सालदेखि सांगीतिक क्षेत्रमा होमिएका गायक अधिकारीले हालसम्म ८ हजारभन्दा बढी गीत गाइसकेका छन्, जसमध्ये १ हजारभन्दा बढी तीज गीत भएको अधिकारी बताउँछन् । हरेक वर्ष तीजमा एक दर्जनभन्दा बढी गीत गाउने अधिकारीले यो वर्ष भने तीज गीतको संख्या घटाएका छन् । अधिकारीले मात्र होइन, यो वर्ष अन्य गायक–गायिकाले पनि कमै मात्रामा गीत रेकर्ड गराएका छन् । आखिर किन घट्दै छ तीज गीतको संख्या ? तीज गीतमा पुरुष स्वर जायज कि नाजायज ? जस्ता कुराको सेरोफेरोमा रहेर साप्ताहिकका महेश तिमल्सिनाले गायक अधिकारीसँग गरेको कुराकानी ः 

तीजको चटारोले कत्तिको छोपेको छ ? 

निकै छोपेको छ । पुरुष कलाकारमध्ये तीजको चटारोले मलाई अलि बढी नै छुन्छ । त्यसैले यतिबेला तीजकै कार्यक्रमहरूमा व्यस्त छु । 

विगतको तुलनामा यो वर्ष तीजका गीत घट्नुको कारण के हो ?

थोरै अन्य गीतको प्रभाव पनि होला । अर्को कुरा, मानिसहरूले चाडपर्व विशेष गीत तुलनात्मक रूपमा सुन्न छाडे जस्तो लाग्छ । सदावहार गीतमा मात्र रमाउन थालेकाले पनि यस्तो अवस्था आएको हुनसक्छ । 

तपाईंले पनि गत वर्षको तुलनामा यसपालि थोरै तीज गीत गाउनुभयो नि ? 

मैले आफैं घटाएकै हुँ । यसपालि तीजमा एउटा मात्र तीज गीत गाउँ कि भन्ने सोचमा थिएँ, तर दुई–चार जना गायिकालाई नाइँ भन्न सकिनँ । मलाई यसपालि पनि गीत गाउने अवसर नआएको भने होइन । मैले गत वर्ष सँगै गीत गाएका १२ जना गायिकाको प्रस्ताव अस्वीकार गरेको छु । 

गीत घटाउनुको कारणचाहिँ के हो ? 

परार साल मैले २६ वटा गीत गाएँ, पोहोर साल २१ वटा गीत गाएको थिएँ । गत वर्ष २१ वटा तीज गीत गाए पनि दुई–तीनवटाभन्दा बढी चर्चामा आएनन् । आखिर चल्ने भनेको त्यति नै रहेछ । त्यसैले अब क्वान्टिटी घटाएर क्वालिटीमा जोड दिऊँ भन्ने मनसायले र अर्को कुरा तीजको मौलिकता हराएको हो कि भन्ने पनि लाग्यो । एउटा झ्याउरे गीतलाई तीज गीत भनेर पठाउने कलाकार धेरै हुनुहुन्छ । तीज गीत भनेको तीज विशेष नै हुनुपर्छ । त्यसैले मैले बनाएका हरेक तीज गीतमा तीजको गन्ध आएकै हुन्छ । 

तीज गीतको रेकर्डिङ घटेसँगै देश–विदेशका तीज विशेष कार्यक्रम घटेका छन् कि छैनन् ? 

छैनन्, गत वर्षको तुलनामा यसपालि बढी कार्यक्रम छन् । पोहोर मैले नेपालको एउटै कार्यक्रम गर्न पाइनँ, तर यसपालि बीचमा २ दिन खाली हुँदा नेपालको पनि कार्यक्रम गर्दैछु । रेकर्डिङ घट्यो होला त्यो आफ्नो ठाउँमा छ, तर तीजका कार्यक्रम भने बढेका बढ्यै छन् । 

तीजका बेला निकै व्यस्त हुनुहुन्छ, कमाइ त राम्रै होला नि ? 

ठीकै छ । तीजको बेला रेकर्डिङ, कम्पोज, शब्द लेखन, अभिनय, स्टेज कार्यक्रम आदिबाट करिब १०–१२ लाख कमाइ हुन्छ । जे होस्, तीजका एक महिना व्यस्त हुँदा एक वर्षलाई खान पुग्छ । 

तीज र महिला एकआपसमा जोडिएका कुरा हुन्, तपाईं पनि तीज गीतसँगै जोडिनुभएको छ, यसले तपाईंको महिलाहरूसँगको सम्बन्धमा के फरक पारेको छ ? 

महिलाहरूसँगको सम्बन्ध अझ सुमधुर भैरहेको छ । तीजमा महिला दिदी–बहिनीहरूले मलाई बढी सम्झिने हुँदा यति बेला उहाँहरूसँगको सम्बन्ध अझ राम्रो हुन्छ । 

महिलाहरूले तपाईंलाई कसरी सम्झिरहेका हुन्छन् ?

तीज आयो भनेपछि खुमन अधिकारीको नाम आउँछ । खुमन आयो भनेपछि रमाइलो हुन्छ भनेर महिला दिदी–बहिनीहरूको भीड बढ्छ । त्यसमा दिदीबहिनीहरू सेल्फी खिच्ने देखि लिएर हरेक कुरामा अग्रसर देखिनुहुन्छ । त्यसबाहेक गायक–गायिकाहरू त छँदै छन्, तीज आयो भनेपछि खुमनजी मलाई एउटा गीत चाहियो भन्नुहुन्छ । 

तपाईंको गीतलाई प्रेम गर्ने महिला धेरै छन्, तर तपाईंलाई वास्तविक रुपमा प्रेम गर्ने महिलाहरू पनि होलान् नि ?

मेरो मायामा फस्ने युवतीहरू पहिले अलि धेरै हुनुहुन्थ्यो । अहिले त्यसमा धेरै कटौती भएको छ । यसको मुख्य कारण म विवाहित हुनु नै हो, तर प्रशंसकहरूलाई यस्ता कुराले असर गर्छ जस्तो लाग्दैन । कतिपयले धम्क्याएर तैले मलाई स्वीकार गर्नुपर्छ भनेका घटना पनि छन् । अहिले पनि धेरैले सुरुमा तपाईंको गीत साह्रै मनपर्छ भन्नुहुन्छ हुँदाहुँदै प्रेमप्रस्तावसम्म राख्न भ्याउनुहुन्छ ।

 

प्रेमप्रस्ताव स्वीकार गर्न आउने दबाबलाई कसरी ह्यान्डल गर्नुहुन्थ्यो ? 

उहाँहरूलार्ई मैले फ्यानकै रूपमा राखें ।

तीज गीतमा धेरैजसो पुरुष स्वर हाबी भएर यसको मर्म मर्‍यो भन्ने आरोप पनि त छ नि ? के भन्नुहुन्छ ? 

यो एकदमै गलत हो । हामीले अहिले पनि ढिकी–जाँतो चलाइरहेकै भए हुन्थ्यो नि । अहिले हामी किन मिलमा जान्छौं, किन बजारबाट किनेर खान्छौं ? हामी ढुंगे युगमै भएको भए हुन्थ्यो नि । अर्को कुरा, हाम्रा आमाहरूको पालामा सात वर्षको उमेरमै विवाह हुन्थ्यो । त्यति बेला उहाँहरूको दुःख पोख्ने ठाउँ भनेको माइतीबाहेक अन्त कतै थिएन । अहिले त्यो अवस्था छैन । त्यसमा धेरै ठूलो परिवर्तन आइसकेको छ । अहिले सबैजना जान्ने बुझ्ने भएका छन् अनि ठूलो भैसकेपछि एक–अर्कालाई बुझेर मात्र विवाह गर्छन् । त्यसैले यो अवस्थामा त्यस्तो दुःख पोख्ने कुरा पनि छैन, अहिलेको तीज त रमाइलो हो । तीज भन्नेबित्तिकै महिलाले श्रीमान्को दीर्घायुका लागि व्रत बस्ने चलन अझै छ । त्यसैले हामीले महिला दिदी–बहिनीहरूको मर्म त मारेका छैनौं नि ? बरु महिला दिदी–बहिनीको मर्म बुझेर अघि बढिरहेका छौं । हामीले तीज गीतमा महिला दिदी–बहिनीहरूलाई नै सहयोग गरेका छौं । त्यसैले पनि तीज गीतको मर्म मरेको छैन । 

तपाईंलाई तीज गीतको ब्युटी के हो जस्तो लाग्छ ?

तीज महिलाहरूकै पर्व हो । तीजमा राम्री हुने, गहना लगाउने, रातो साडी लगाउने चलन पहिलेदेखि कै हो । त्यो चलन अहिले पनि हराएको छैन । मलाई लोग्नेले रक्सी खाएर पिट्छ, मलाई सासू–ससुराले बचन लगाउँछन् भन्ने अवस्था पनि धेरै कम छ । त्यसैले अहिलेको तीज गीत भनेको विवाहित/अविवाहित जोडीहरूको रमाइलो कथा हो । 

तीजमा नारी सुन्दरता पनि जोडिएको हुन्छ, तपाईंको विचारमा सुन्दरता किन प्रदर्शन गरिएको होला ? 

महिलाहरूको महान चाड तीज भनेर पहिलेदेखि नै नाम रह्यो । अर्को कुरा, तीजमा सबैतिरका महिला दिदी–बहिनीहरू जम्मा हुने, खानपिन गर्ने, दुःख सुखका कुराकानी गर्ने चलन छ । यहिबेला कुनचाहिँ दिदी–बहिनी धनी छन् को गरिब छन् भन्ने कुराकानी हुन्छ । त्यसैले गरिबले पनि आफूलाई सम्पन्न देखाउन ऋणधन खोजेर पनि गहना, कपडा आदि प्रदर्शन गर्छन् । 

तीज गीतमा पुरुष स्वर हाबी भएसँगै यो रत्यौली भयो भनिन्छ, यसको दोषी को हो ? 

नबुझ्नेले त्यसो भन्ने हुन् । मैले आजसम्म रत्यौली र तीजमा फरक छुट्याउने मान्छे भेटेको छैन । हामीलाई रत्यौली के हो, अनि तीज के हो भन्ने कुरा राम्रोसँग थाहा छ । म स्याङ्जाको मान्छे हुँ र रत्यौली पनि धेरैजसो त्यहीँ गाइन्छ । त्यसैले रत्यौलीको मर्म हामीलाई राम्रोसँग थाहा छ । राति गाउने भएर रत्यौली भएको हो । पहिले–पहिले रातिको लगनमा विवाह हुन्थ्यो, पुरुषहरू सबै जन्ती जान्थे, महिलाहरू घरमा हुन्थे, साथै दियोको बत्ती बेहुली लिएर नफर्किउन्जेल निभ्नु हुन्नथ्यो, जसले गर्दा त्यसलाई कुरिरहनुपर्थ्यो, यसरी राति बत्ती कुरेर बस्दा गाइने गीत भएका त्यसलाई रत्यौली भनिएको हो । महिलाहरूले राति गाउने गीत तीजकै भाका हो । रत्यौली र तीज शब्दले मात्र छुट्याउने हो । रत्यौलीमा महिला दिदी–बहिनीहरू बत्ती कुरेर बस्दा त्यहाँ अश्लील शब्दहरू प्रयोग गरेर हाँस्ने, इत्रिने, छाडा शब्दहरू प्रयोग गरेर रमाइलो गर्दै रात कटाउने भएर रत्यौली भएको हो । त्यहाँ पनि महिला दिदी–बहिनीहरूले नै गाउने अनि तीज पनि महिला दिदी–बहिनीहरूले नै गाउने हो । तीज र रत्यौली संयोगान्त गीत हुन् । रत्यौली र तीजको भाका एउटै हो । 

तीज गीतका नाममा छाडा गीतहरू पनि सार्वजनिक भैरहेका छन्, त्यस्ता गीतले तीज गीतलाई सम्बोधन गर्छन् ? 

गर्दैनन्, छाडा गीत र भिडियोलाई तीज गीत भन्न मिल्दैन । तीज गीतमा तीजको भाव हुनुपर्छ । तबमात्र त्यसले तीजलाई सम्बोधन गर्छ, तर तीज गीतका नाममा आएका छाडा गीतले त्यसलाई सम्बोधन गर्दैनन् । 

अहिले गायिकाहरूले आफ्नो एकल स्वरमा तीज गीत सार्वजनिक गर्न छाडेका छन् यसको मुख्य कारण के हो ? 

तीज गीतमा व्यवसायिकता बढ्नु नै यसको मुख्य कारण हो । एकल गीत निकाल्दा धेरै गीत मरे । पुरुष तथा महिला मिलेर गाएका गीतहरू सफल भए । दर्शक–श्रोताहरू पनि त्यस्तै गीत सुनेर पार्टीहरूमा नाचिदिनुभयो त अब के गर्ने ? बाध्यताले पनि युगल गीत गाउनुपर्‍यो । 

एउटा तीज गीत सफल हुन कुन–कुन तत्वले काम गर्नुपर्छ ? 

तीज गीत सफल हुन भाका राम्रो हुनुपर्छ । त्यसमा तीजको भाव बोकेको शब्द हुनुपर्छ । त्यसको भिडियोमा रातो सारी लगाएका महिला दिदीबहिनीहरू मज्जाले नाच्नुपर्छ । यसमा गायकी पनि अब्बल हुनुपर्छ । 

तपाईं विदेशका सांगीतिक कार्यक्रमहरूमा गैरहनुहुन्छ, विदेशमा नेपाली संगीतको क्रेज कत्तिको छ ? 

नेपालमा लोकदोहोरी गीतमा नाक खुम्च्याउनेहरूले पनि विदेशमा गएर लोकगीतलाई माया गरेको पाएको छु । अन्य विधाका गायक–गायिका पनि देश–विदेश डुलिरहनुभएको छ, प्रख्यात हुनुहुन्छ तर धेरै देश विदेशका कार्यक्रममा व्यस्त हुने भनेका लोकदोहोरीकै गायक–गायिका हुन् । त्यसैले लोकगीतको क्रेज आफ्नो देशमा त छँदै छ, त्यो भन्दा बढी क्रेज विदेशमा बस्ने नेपाली दाजुभाइ दिदी–बहिनीमा छ । मलाई जति पनि म्यासेज, कल आदि आउँछ त्यो विदेशमा बस्ने दाजुभाइ–दिदीबहिनीकै हुन्छ । विदेशमा बस्ने नेपालीहरूले नै लोकगीत संगीतलाई बढी माया गर्नुहुन्छ ।

लोकदोहोरी क्षेत्रका अधिकांश कलाकार विदेश पलायन भएका छन् तर तपाईंमा त्यस्तो सोच आएन ? 

म मा अहिलेसम्म त्यस्तो सोच आएको छैन । किनभने नेपालमै राम्रो छ । मैले आजसम्म जति मेहनत गर्न सकेको छु त्यस अनुसारको प्रतिफल पनि पाएको छु । त्यसैले म विदेश पलायन हुन्छु जस्तो लाग्दैन । अहिलेसम्म त्यतातर्फ सोचेको छैन । नेपालमा राम्रो क्रेज हुँदाहुँदै पनि फलानो कलाकार किन विदेश पलायन भयो होला भन्ने प्रश्न चाहिँ मनमा उठिरहन्छ । 

स्वरलाई मिठासपूर्ण बनाउन के गर्नुहुन्छ ?

साधनालाई अघि बढाइरहेको छु । यो ठाउँमा पुगें म जस्तो ठूलो कोही छैन भन्ने मलाई लाग्दैन किनभने मैले अझै धेरै गर्न बाँकी छ । त्यसैले मैले आफ्ना तर्फबाट मेहनत जारी राखेको छु । गीत–संगीतको गहिरो अध्ययन समेत गरिरहेको छु ।

एउटा गीत गाएबापत कति पारिश्रमिक लिनुहुन्छ ?

अहिले १५ हजार रुफैयाँ लिन्छु । 

अनि स्टेज कार्यक्रमको ? 

स्टेज कार्यत्रमको चाहिँ हेरिहेरी हुन्छ । सुविधा कति, टिकट आफूले काटेर जानुपर्ने हो कि आयोजकले काटिदिने हो ? त्यसपछि दूरीजस्ता कुराले स्टेज कार्यक्रमको पारिश्रमिक निर्धारण गर्छ । 

फ्यान फलोइङ कत्तिको छ ? 

राम्रो छ । मेरो फेसबुक पेज, फेसबुक आदिमा पनि राम्रो फलोअर्स छ । देश–विदेशका कार्यक्रमहरूमा जाँदा त्यहाँ आफ्ना प्रशंसकहरू त्यत्तिकै मात्रामा भेट्छु । 

तपाईंले आफ्नो सिर्जनाबाट रोयल्टी पाउनुभएको छ ? 

पाएको छु । प्रस्तोता समाज तथा रोयल्टी संकलन समाजले वितरण गरेको रोयल्टी बुझ्दै आएको छु । 

गीत–संगीतमा तपाईंको आइडल को हो ? 

पुरुषोत्तम न्यौपाने । 

प्रकाशित :भाद्र १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्