राम्रै फ्यान फलोइङ भएकी अभिनेत्रीमा दरिन्छिन्— नम्रता श्रेष्ठ । उनको पछिल्लो चलचित्र प्रसाद फ्लपैचाहिँ भएन । प्रसादभन्दा पहिल्यै जाइराको सुटिङ सकेकी थिइन् उनले । हामीकहाँ एक्सन फिल्म टनाटन बन्छन् तर सधैं हिरोले मात्र गुन्डाको ग्याङलाई भकुर्छ, हिरोइनको फाइट नगन्य हुन्छ । नेपाली सिनेमामा महिला पात्र निम्छरो हुन्छन् भन्ने एउटा मानक यो पनि हो । यसलाई चिर्न पनि हुनुपर्छ, प्रायः फिल्ममा फरक चरित्रमा रुपान्तरण हुन रुचाउने नम्रता जाइरामा मार्सल आर्ट्स खेलाडी बनिन् । आफ्नो पतिको हत्याको बदला लिन उनी आफैं लागिपर्छिन् । रिलिज अगाडि फिल्मले पर्याप्त चर्चा पनि पायो । नम्रता आफैं देश दौडाहामा सामेल भइन् । अपेक्षा थियो, जाइराले लोभलाग्दो व्यापार गर्नेछ तर भैदियो उल्टो, सुरुवाती दिनदेखि नै हलमा सुक्खा लाग्यो ।
अरू केहि नभए पनि ट्रेलर प्रदर्शनफश्चात्को चर्चा र नम्रताको क्रेजका कारण हलमा शुत्रबार र शनिबार दर्शकको ओइरो लाग्नुपर्ने थियो । त्यसमाथि जाइरा सोलो रिलिज थियो, ठूलो ब्यानरको हिन्दी वा अंग्रेजी फिल्म पनि थिएनन् र पनि जाइराले बक्सअफिसमा गतिलो प्रभाव छोड्न सकेन । जबकि यसको बजेट नै दुई करोडभन्दा माथि भनिएको छ । साउन ३० गते प्रदर्शित अर्को फिल्म हजार जुनीसम्मको अवस्था पनि जाइरा जस्तै–जस्तै भयो । यो फिल्म पनि प्रतीक्षित सूचीमा थियो । नाइँ नभन्नु ल सिरिजका विकास आचार्य निर्देशित उक्त फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्कादेखी सलोन बस्नेत, अनुभव रेग्मीसम्मका कलाकारको डफ्फै थियो । ‘एमजी रोडैमा...’ गीत हिट थियो, तर यसले पनि लगानी रिकभर गर्न सकेन । हजार जुनीसम्मभन्दा अघिल्लो साता प्रदर्शित साइनो पनि गोलखाँडी गयो । यसलाई पहिलो नेपाली फिचर फिल्म आमाकी अभिनेत्री भुवन चन्दले निर्माण गरेकी थिइन् ।
साँच्चै भन्नुपर्दा जात्रै–जात्रापछि नेपाली फिल्मको व्यापारमा सन्नाटा छाएको छ । जति फिल्म चल्छन्, ती ‘स्टक क्लियरेन्स’ मात्र पो हुन् कि झैं लाग्छ । वीरविक्रम–२, काउसो, कुम्भकर्ण, प्रेम दिवस, आप्पा, कीर्तिपुर समावेश यो सूची लामै छ । प्रमोशनमा कलाकारको सक्रियता एवं निर्माताको पैसा बढेको–बढ्यै छ । सिमित मिडियामा फिल्म हिट भएको समाचार आएको–आयै हुन्छ । सिक्वेल बनाउने ढोल पनि पिटाइन्छ । भलै यी सब हर्कत ‘मूतको न्यानो’मात्र सावित हुन्छन् । केही समयपछि निर्माताले पुर्पुरोमा हात राखेर बस्नुपर्ने हुन्छ । यसरी भटाभट फिल्म फ्लप हुनुभन्दा तीतो विडम्बना भने अर्कै छ । त्यो हो, फिल्ममेकरहरू थोरै मात्र पनि संवेदनशील हुन सकेका देखिँदैनन् । नेपाली सिनेमाप्रति दर्शकको यतिविघ्न वितृष्णा किन ? यसको गुदी खोतल्ने कुरामा कसैलाई चासो छैन । आत्मरती र प्रायोजित प्रशंसामै मग्न छन् उनीहरू अनि कसरी उभो लाग्छ सिनेमाको व्यापार ?
नेपाली फिल्म किन चलेका छैनन् ? यसको जवाफ सिधा छ, चल्नुपर्ने फिल्म नबनेरै नचलेका हुन् । सुन्दर कथाको अनुभुती गर्ने माध्यम हो फिल्म, तर फिल्मलाई विकाउ वस्तुमा सीमित गरिन्छ । कथाभन्दा गीत अनि जर्बजस्ती थोपरिएका कमेडीलाई महत्व दिइन्छ । फिल्मको मेरुदण्ड स्क्रिप्ट हो । स्क्रिप्ट अब्बल छ भने औसत कोटीका निर्देशक तथा कलाकार हुँदा पनि फिल्म हेर्नलायक बन्छ । यो सत्य सबैलाई थाहा छ तर बहुसंख्यक फिल्ममेकर स्क्रिप्टमै खेलाँची गर्छन्, स्क्रिप्टले पूर्णता पाएको हुँदैन सुटिङको हतारो हुन्छ । त्यसमाथि तथाकथित स्टारलाई स्क्रिप्टभन्दा माथि राख्ने रवैया त छँदैछ । अनि फिल्म चलेन भनेर रोइलो गरेर मात्र भयो त ? यही नियतीको सिकार भएर हुनुपर्छ, वितरक एवं हलवालाहरू एउटै स्वरमा पीडा पोख्न थालेका छन्– ‘हलमा झिंगा धपाएर बस्नुपर्ने भयो ।’
हलमा त दर्शकको खडेरी छ नै, बल्लतल्ल फस्टाएको ओभरसिज बजार पनि अधोगतिमा छ । तँछाडमछाड गरेर फिल्म लाने, ठूला–ठूला आश्वासन दिने तर त्यसअनुरुप स्तरीय कन्टेन्ट उपलब्ध नगराएपछि विदेशमा बस्ने नेपालीहरूमाझ पनि नेपाली फिल्मको मोह घटेको छ । औंलामा गन्न सकिने फिल्मले मात्र बाहिरबाट पैसा ल्याउँछन् । ओभरसिजको व्यापार बिस्तार गर्न जोडतोडका साथ लागिपरेका हाइलाइट्स नेपालका सञ्चालक ओम गुरुङ हार खाएर आफैं नियमित रूपमै अस्ट्रेलिया बस्न थालेका छन् । विदेशमा फिल्म लाने अरु पनि सुस्ताएका छन् । कस्तो विडम्बना !
नेपाली समाजकै चरित्र हो, समस्याको वस्तुगत विश्लेषण गरेर समाधान ननिकाल्ने अनि सतही कुरामै अल्झने । यसबाट सिनेकर्मीहरू के अछुतो रहन्थे र ! सरकार प्रत्येक हलले वर्षमा १ सय ८० दिन नेपाली फिल्ममात्र चलाउनुपर्ने बाध्यकारी नियम ल्याउन लागिपरेको छ । निर्माताहरू फुरुंग छन्, अब नेपाली फिल्मको फलिफाप हुन्छ, हलमा दर्शकको भीड लाग्छ भनेर । नेपाली फिल्म विदेशी फिल्मको मारमा पर्दै नपरेको र हल सञ्चालकले सौतनी व्यवहार गर्दै नगरेको होइन, तर नेपाली फिल्मको व्यापार खस्कनुको मुख्य कारण यो हुँदै होइन, झिनो कारण मात्र हो । शोज नपाएर होइन कि स्तरीय नभएकै कारण नेपाली फिल्म नचलेका हुन् । यो तथ्य मनन गरेर गुणात्मक अभिवृद्धिमार्फत नेपाली फिल्मलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा विदेशी फिल्मको बन्देज नै सबै रोगको उपचार हो भनेर प्रचार गरिँदैछ । नेपाली फिल्मको समृद्धिका लागि कोटा प्रणाली ‘वरदान’ होइन, ‘अभिषाप’ बन्ने खतरा बढी छ, किनभने हातको अप्रेसन गरेर मुटुको रोग निको हुने हो र ?