सानैबाट नेपाली गीत संगीतमा रुची राख्ने गायक हुन्– रवि थापा मगर । लामो समय गायन यात्रामा देखिएका रवि केहि समय गीत/संगीतबाटै हराए । गीत/संगीतबाट उनको पलायनको कारण थियो प्रोत्साहनको कमी । सांगीतिक वातावरण नभएको उनको घरमा उनलाई संगीतलाई लिएर हौसला दिन आफन्त खासै भएनन् । विवाह पछि भने यिनको नयाँ जीवनसँगै गायन यात्राको बाटो पनि फराकिलो बनेर आयो । श्रीमतीको हौसला र प्रेरणाका कारण पुन: सांगीतिक क्षेत्रमा आएका उनै गायक रवि थापा मगरसँग राधिका अधिकारीले गरेको कुराकानी :
केवल गीतको लागि गीत मात्रै आईरहेको अवस्थामा तपाईंले बिम्ब प्रतीक भएका सदावहार गीत गाउनुको कारण के हो ?
निस्चय पनि संख्यात्मक हिसाबले धेरै थरीका गीतहरु बजारमा आइरहेका छन् । सृजना आफैंमा राम्रो हुने भएकाले मलाई लाग्छ यो एक प्रकारले ठिक पनि हो । किनभने अडियन्सको रोजाइ पनि फरक फरक भएको हुँदा यसले ऊनीहरुको डिमान्डलाई केहि हदसम्म भएपनि पुरा गरेको छ । र जहाँ सम्म बिम्ब प्रतिक भएका गीतहरुको सवाल छ– ‘प्राय मलाई यस्तै गीतहरु मन पर्छन् । अर्को कुरा कतिपय गीतहरु हाम्रो बास्तबिक जीवनशैली, घटना र परिवेशसँग मेल खाने अनि हाम्रो प्रत्यक्ष जीवनसँग सरोकार राख्ने र निर्देशित गर्ने खालको पनि हुन्छन् । त्यसैले म क्षणिक मनोरञ्जन दिएर हराउने गीत भन्दापनि सिम्बोलीक र अलि गम्भीर प्रकृतिका गीतहरुनै गाउन रुचाउँछु ।’ यस्ता गीतहरु गाउँदा बेग्लै सन्तुष्टि मिल्छ र आफु सन्तुष्ट हुनुपनि ठुलो कुरा हो जस्तो लाग्छ ।
तपाईंले सङ्गीतमा संख्या भन्दा गुणात्मक बाटोलाई रोज्नुभएको हो ?
अवस्य । किनकी संख्यात्मक (Quantity) लाई बढी जोड दिदा गुणात्मक (Quality_) मा ह्रास आउँछ र, जसलाई मेन्टेन गर्न सकिदैन । सङ्गीतमा पनि त्यस्तै हो । एउटा गायकले हजारौं गीतहरु गाएपनि उसलाई चिनाउने Signature गीत भनेको १/२ वटानै हुन्छ । जुन गीतले श्रोता र दर्शकको मन जितेको हुन्छ । त्यसैले म पनि संख्यात्मक भन्दा गुणात्मकलाई बढी बिश्वास र प्राथमिकता दिन्छु । थोरै गरौं तर राम्रो र उत्कृष्ट गरौं भन्ने लाग्छ ।
तपाईंको औपचारिक साङ्गीतिक यात्राको सुरुवात देखि अहिलेसम्मको समयलाई संछिप्त रुपमा कसरी भन्नुहुन्छ ?
म सानै देखि गीत गाउँथे । मलाई गीत अति मन पर्ने । पहिला गीत सुन्ने भनेको रेडियो नेपाल मात्र थियो । जहाँबाट गीत, कविता र नाटकहरु प्रसारण हुन्थ्यो । बि.स २०४१ सालमा नेपाल टेलिभिजनको स्थापना पश्चात् भने नेपाली सङ्गीतले कोल्टे फेर्न थाल्यो । गीतहरु बिस्तारै श्रब्य दृश्यमा परिणत हुनथाले । अहिले आएर गीत सुन्ने मात्र नभई हेर्ने (Visual) पनि बन्नथाल्यो । सुरुका दिनहरुमा म स्कुल, कलेज, स्टेज प्रोग्राम, नेपाल टेलिभिजनद्वारा आयोजित रियालीटी शो (सृजनाको आधा घन्टा, प्रतिभाको डबली) लगायत मोफसलमै सिमित भएतापनि मैले औपचारिक रुपमा गीत गाउन सुरु गरेको भने बि.स २०५२ साल देखि हो । मेरो पहिलो गीत २०५१ सालमा रेकर्ड भएको थियो । विविध कारणबश बिचमा म केहि समय हराए । २०६५ देखि फेरि कन्टिनीउ गरेको हुँ । मेरो परिवारमा सङ्गीत बुझ्ने त खासै कोही छैनन् । तर बिबाहपछि भने श्रीमतीको हौसला, साथ र सहयोगले गायनलाई निरन्तरता दिएको हुँ ।
अहिले नेपाली सङ्गीतले धेरैनै फड्को मारेको छ । प्रबिधि पनि एनालग सिस्टम बाट डिजिटलमा आईसकेको छ । गीत गाउँन चाहने सबैले अवसर पाएका छन् । यो राम्रो कुरा हो । अहिले धेरै संख्यामा गीतहरु आएका छन् । अडियन्सको पनि आ–आफ्नै च्वाईस र क्याटागोरिज छ । अर्को शब्दमा भन्नुपर्दा नेपाली सङ्गीतको बजार एक प्रकारको खिचडी जस्तो पनि भएको छ । साथै गीत सङ्गीतमा थोरबहुत बिकृति र बिसङती पनि भित्रिएको कुरालाई भने नकार्न सकिन्न । तर ‘टल्कने जति सबै हीरा हुँदैनन्’ रिजल्ट छुट्टाउने काम दर्शकको हो । गीत सुन्ने मात्र नभई बुझ्नु पनि जरुरी छ । तर यो अडियन्समा पनि भर पर्ने कुरा हो । अर्को कुरा गीतलाई शब्द, सङ्गीत र गायनको त्रिकोणात्मक सम्बन्ध भनिन्छ । तर मलाई लाग्छ गीतमा सङ्गीत संयोजन (एरेन्ज) को पनि विशेष भुमिका रहन्छ । किनकि एउटा बाजाले पनि गीतलाई धेरै कर्णप्रिय बनाएको हुन्छ र एरेन्जलाई आधा सङ्गीत पनि भन्ने गरिन्छ । शब्द गीतको मेरुदण्ड हो र गीतको हरेक पक्षहरु यसैमा डिपेन्ड हुन्छन् ।
गीतमा गोल गर्ने गायक–गायिकानै भएता पनि यसमा प्रत्येकको भुमिका समान हुन्छ । यी सबै कुराको उचित तालमेल नमिलेको खण्डमा एउटा गीत मर्दछ । यसको बाबजुद पनि सङ्गीतकारको भुमिका महत्वपूर्ण हुन्छ । शब्दनै गीतको जननी हो, तापनि गीतकार सधैं पर्दा पछाडिको कलाकार जस्तो देखिन्छन् । एउटा गीतकारलाई गीत लेखेर बाँच्नसक्ने अवस्था छैन यहाँ । फेरि उनिहरुलाई दिईने पारिश्रमिकमा पनि एकरुपता छैन । यसको तुलनामा बरु बाजाहरु (Musical Instruments) बजाउने कलाकारहरुको अवस्था संतोषजनक मान्न सकिन्छ । किनभने उनीहरुलाई कामको अभाव नहुने, ठाउँको ठाउँ पारिश्रमिक पाउने अनि गीत चल्नु र नचल्नुसँग उनिहरुको कुनै सम्बन्ध हुँदैन ।
सङ्गीतलाई कसरी परिभाषित गर्नुहुन्छ अनि कस्ता शैलीका गीतहरु बढी रुचाउनुहुन्छ ?
यो एउटा जटिल प्रश्न हो । सङ्गीतको परिभाषा प्रेत्यक मानिसको फरक हुन सक्छ । तर मेरो बुझाईमा ‘सङ्गीत खुला आकाशमा उड्ने एउटा पन्छी जस्तै हो, जस्को कुनै जात, धर्म, सिमा, बाधा र बन्देजहरु हुँदैनन् ।’ एउटा बच्चा रुन्छ, चराहरु कराउँछन्, खोला नालाहरु कल कल गरेर बग्दछन्, बोट बिरुवाहरु हावामा नाचिरहेका हुन्छन्, यी पनि सबै सङ्गीत हुन् । जस्ले एउटा पृथक मेलोडी सृजना गरिरहेका हुन्छन् । सङ्गीत भित्री मनबाट निस्कन्छ र सङ्गीत हृदयको अभिव्यक्ति पनि हो । सङ्गीत बिना मानिस पशु सरह हुन्छ । जसरी एउटा स्वस्थ शरीरको लागि व्यायाम र पौस्टिक खानेकुराको आवश्यकता छ, त्यसरीनै स्वस्थ मनको लागि सङ्गीत पनि अनिवार्य छ । त्यसमाथि पनि अहिलेको ब्यस्त र तनावपुर्ण जीवनमा त सङ्गीतले ‘जीवन बुटी’ अर्थात औषधिको काम गरिरहेको छ भन्दा कुनै अत्युक्ति नहोला । त्यसैले सङ्गीत अहिले मानवजीवनको अभिन्न अङ्ग भईसकेको छ । हुन त गीत सुन्ने पनि एउटा समय र मुड हुन्छ । तापनि म एउटा सङ्गीत प्रेमी भएको नाताले फुर्सदमा दैनिक आधा/एक घन्टा सबै खालका गीतहरु सुन्छु । किनभने सुनेर पनि धेरै कुराहरु जानिन्छ । म प्राय हाम्रो आफ्नै लोक भाकाका गीत अनि सुमधुर आधुनिक सेन्टिमेन्टल गीतहरु सुन्छु ।
भविष्यका साङ्गीतिक योजनाहरू के के छन् ?
समय परिवर्तन शिल छ र कतिपय कुराहरु आफुले सोचें अनुरुप नहुन पनि सक्छ । त्यसैले भविष्यमा यहिनै गर्छु भन्ने कुनै ठोस योजना त छैन । तर समय, शरीर र स्वास्थ्यले साथ दिएसम्म अनि आफ्नो औकातले भ्याएसम्म सङ्गीत सृजनालाई निरन्तरता दिनेछु र नयाँ नयाँ साङ्गितिक कोसेलीहरु श्रोता–दर्शक माझ ल्याउने कोशिस गर्नेछु ।
तपाईलाई आजको परिस्थितीलाई नियाल्दा एउटा गायकले गायकका रुपमा स्थापित हुनका लागि स्वरका अलावा अरु केके गुण हुनु पर्छ भन्ने लाग्छ ?
आजको विकसित डिजिटल प्रबिधिले गीत गाउन रहर गर्ने सबैलाई गायक बन्न सजिलो बनाइदिएको छ । जुन कुराहरू पहिलेको समयमा सम्भव थिएनन् । त्यसमाथी पनि अहिले धेरै संख्यामा खुलेका रेकर्डिङ स्टुडियो, रेडियो, मिडियाहरु र YouTab ले गर्दा अझ सरल र सहज भएको छ । गायकको काम हो गीत गाउनु । त्यसैले स्वर त हुनैर्पयो । गीत गाउनु कुनै लहड हैन । किनकि गीत गाउनु त्यति सजिलो छैन । यो बुझ्नु जरुरी छ । मैले निसंकोच भन्नु पर्दा एउटा गायकले गायकको रुपमा स्थापित हुनको लागि उसमा ७५५ गड गिफ्ट हुनै पर्दछ । बाँकी २५५ भनेको उसले आफ्नो साधना र अभ्यासले रिकभर गर्ने हो । यसको अलावा नैतिकता, ईमान्दारीता, अनुशासन, लगनशीलता र धैर्यता पनि एउटा गायकमा नभईनहुने गुणहरु हुन् । जो ब्यक्तिले धैर्य गर्न सक्दैन उसले जीवनमा केहिपनि गर्न सक्दैन । तर ईष्र्या र घमण्डमा फरक छ । ईष्र्याले ब्यक्तिलाई प्रगति तर्फ उन्मुख गराउछ । घमण्ड ब्यक्ति स्वयंका लागि हानीकारक हुनुको साथै यसले पतनको बाटोतर्फ लैजान्छ ।
यो समयमा कलाकार वा संगीतकर्मीका लागि सरकारले गर्नुपर्ने काम के के हुन् जस्तो लाग्छ ?
अहिले गीत सङ्गीतमा गरिएको लगानीको खासै रिटर्न छैन । कलाकारलाई राष्ट्रको गहना भनिए पनि ब्यबहारमा त्यो देखिदैन । राज्यबाट पाउनुपर्ने हरेक सेवा र सुबिधाहरुबाट उनिहरु बञ्चित छन् । पाएका सुबिधाहरु पनि एकदमै न्युन र हात्तीको मुखमा जीरा साबित भएको छ । एउटा प्रोफेस्नल कलाकारनै भएपनि बिदेशमा जस्तो ढुक्क भएर बाँच्न सक्ने स्थिति र वातावरण हाम्रो देशमा छैन । हरेक कार्यक्रम, उद्घाटन र समारोहहरु गीतबाट नै सुरु गरिन्छ । गीत सङ्गीत सबैलाई चाहिने । तर तिनै कलाकार राज्यबाट उपेक्षित र अवहेलित छन् । यो कस्तो बिडम्बना । औंलामा गन्न सकिने केहि गायक कलाकारहरुले मात्र नाम र दाम दुबै कमाएका होलान् हैनभने अधिकांशको स्थिति नाजुक छ । आफ्नो वास्तविक दु:ख र पीडा लुकाएर दर्शकको तालीले मात्रै पनि रमाउने र आफुलाई भाग्यमानी ठान्ने प्राणी हो कलाकार । उसको पनि ब्यक्तिगत जीवन हुन्छ र उसलाई पनि बाँच्नु पर्छ । तर यो कस्ले बुझ्ने ?
सबैलाई समेट्न नसकिएला तर, जो आर्थिक रूपमा बिपन्न, अशक्त, असहाय छन् जस्ले कलाकारिता र सङ्गीत साधनामा सिङ्गो जीवन खर्चेर राष्ट्रको लागि योगदान दिएका छन् त्यस्ता कलाकार र सङ्गीतकर्मीलाई सहयोग गर्नु राज्यको दायित्व र कर्तव्य पनि हो । आफ्नो उमेर र शरीरमा तागत छदासम्म मात्र हो, त्यसपछिको उनीहरुको बाँकी जीवन निक्कै नै कष्टपुर्ण र कहालीलाग्दो छ । त्यसैले ऊनीहरुको भविस्य सुनिश्चित गर्नको लागि राज्यबाट पहल हुनु अति आवश्यक छ । देशको कला र संस्कृतिको बिकास र उत्थानको लागि राज्यले दक्ष र प्रतिभाशाली कलाकार अनि कला र क्षमता भएका गरिब जेहेन्दार बालबालिकाहरुलाई स्वदेश तथा बिदेशमा उचित तालिम, प्रशिक्षण र छात्रवृत्तिको व्यवस्था गर्ने, जेष्ठ अग्रज स्रस्टाहरुलाई मासिक तलबको व्यवस्था गर्ने, उनिहरुलाई निशुल्क स्वास्थ्य र यातायात सेवा मात्रै उपलब्ध गराउन सकेको खण्डमा पनि निकै राहत हुनेछ । यसको लागि राष्ट्रले ठोस कार्यक्रम र योजना ल्याएर कार्यान्वयनमा जानु जरुरी छ ।
संगीत रोयल्टीका विषयमा कत्तिको जानकार हुनुहुन्छ ?
बिस्तृत रुपमा त मलाई पनि त्यति जानकारी छैन । तर, मैले बुझे अनुसार सङ्गीत रोयल्टीको बारेमा नेपालमा भर्खरै मात्र कलाकारहरुलाई जानकारी हुँदैछ । यो अत्यन्तै महत्वपूर्ण बिषय हो ।
रोयल्टीलाई सिस्टममा ल्याउन कस्ले कस्तो भूमिका खेल्नु पर्ला ?
मलाई लाग्छ, रोयल्टीलाई सिस्टममा ल्याउन कलाकारहरु आफैं सजगभ एर अगाडि बढ्नु पर्दछ । कलाकारहरुको अभियानमा राज्यले पनि पुर्ण सहयोग र समर्थन गर्नु पर्दछ । किनभने सङ्गीत संविधानमा उल्लेख गरिए अनुसार यो बौद्धिक सम्पत्ति हो भनिएको छ । बौद्धिक सम्पत्तिको संरक्षण र सम्बर्धन गर्नु राज्यको कर्तव्य पनि हो ।