‘सन्नीलाई प्रचारकै लागी मात्र राखिएको होइन’

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७६

भदौ २७ गते प्रदर्शन हुने चलचित्र पासवर्ड बलिउड अभिनेत्री सन्नी लियोनीको कारण चर्चामा छ । यो चलचित्रमा सन्नीले गरेको आइटम नृत्य युट्युवमा सार्वजनिक भैसकेको छ । यद्यपी, निर्माण पक्षले प्रदर्शनको संघारमा आएर सन्नीको केहि प्रतिशत अभिनय समेत रहेको रहस्य खुलाएको छ । चलचित्रमा रहेका मुख्य कलाकार मध्येका एक विक्रम जोशी युकेमा बस्दै आएपनि नेपाली चलचित्रमा  काम गरिरहेका छन् । जोशी यो चलचित्रका निर्माता समेत हुन् । उनै जोशीसँग साप्ताहिकले गरेको छोटो कुराकानी ।

पासवर्ड कस्तो किसिमको चलचित्र हो ?

एक्सन, थ्रीलर र सस्पेन्स जनरामा निर्माण गरिएको पूर्ण मनोरंजनात्मक चलचित्र हो ।

चलचित्रमा तपाईको भुमिका कस्तो किसिमको छ ?

धनि बाको एक व्यापारी छोराको भूमिकामा मलाई देख्न सक्नु हुनेछ । जो आफ्नो देशप्रति, इमान्दार र बफादार छ ।

सन्नी लियोनीसँगको टिमअप कसरी भयो ?

पहिलो चलचित्र ‘ह्याप्पी डेज’ मै सन्नीलाई काम गराउने सोच थियो । उनीसँग पहिलो चरणको कुरा पनि भएको थियो । तर, उक्त चलचित्रका निर्देशक मिलन चाम्सले बजेट थेग्न नसकिने बताएपछि ह्याप्पी डेजमा सन्नीलाई काम गराउन सकिएन । त्यसपछि हामीले पासवर्डको लागि अफर गर्यौ । सहर्ष स्विकार्नु भयो ।

सन्नी लियोनी कथाको माग हो की, पब्लिसिटीको बाटो ?

सन्नीलाई प्रचारकै लागी मात्र राखिएको होइन । यदि उहाँ यो चलचित्रमा हुँदा पासवर्डको पब्लिसिटी हुन्छ भने त्यो हाम्रो लागि राम्रो कुरा हो । खासमा अन्तराष्ट्रिय रुपमा नेपाली चलचित्रलाई उपस्थित गराउने पहल अनुरुप उहाँलाई राखिएको हो ।

सन्नीको भुमिकाको विषयमा केहि भन्न मिल्छ ?

मैले अघि पनि भनिसकें । उनको कुनै न कुनै भुमिकाका लागी इन्ट्रि गराएका हौं । दर्शकको कौतुहलतालाई हलमै मेटाउने छौँ ।

निकै महंगो रकममा चलचित्र निर्माण भएको भनिएको छ, कति देशमा प्रदर्शन हुन्छ ?

हामि नेपालमा प्रदर्शन भएको एक हप्तापछि विश्वका १२ देशमा चलचित्रलाई प्रदर्शन गर्नेछौं ।

कति लगानी गर्नुभएको छ ?

अहिलेको परस्थितीमा भन्नेहो भने ३–४ वटा नेपाली चलचित्रमा गरिने लगानी पासवर्डमा खर्चिएका छौं ।

नेपालवाट यति धेरै रकम कसरी रिकभर हुन्छ ?

नेपालबाट यो लगानी रिकभर होला भन्ने आशा छैन । सोहि कारण हामीले चलचित्रलाई विश्वव्यापी प्रदर्शनको तयारी गरिरहेका छौँ । ओभरसिज रिलिजको पहिलो चरण अन्तर्गत १२ देश अमेरिका, भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, जापान, कोरिया, युनाइटेड अरब इमिरेट्स, क्यानडा, पोर्चुगल, पोल्याण्ड, जर्मनी र मलेसियामा २० सेप्टेम्बर (असोज ३) गतेदेखि एकसाथ प्रदर्शन गर्दैछौँ । सुरुवातमै हामीले नाफा खोजेर हुँदैन । पहिला ठुलो लगानी रिकभर गर्ने ठुला बजार बनाउन सक्नु पर्छ । बहुभाषी रुपमा सिनेमा रिलिज गर्न सक्यौँ भने भोलिको दिनमा अवश्य पनि नेपाली चलचित्रलाई फाइदा हुनेछ ।

प्रकाशित :भाद्र २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्