नेपाली चलचित्रका दुस्मन नेपाली चलचित्र नै हुन् 

- महेश तिमल्सिना

भाद्र २९, २०७६

 

अहिलेको परिवेशमा सबैभन्दा डरलाग्दो कुरा नेपाली फिल्मको ठूलो दुस्मन भनेकै नेपाली फिल्म हुनु हो । विदेशी फिल्म त यो मितिमा आउँछ भन्ने कुरा पहिले नै थाहा हुन्छ, त्यो अनुसार प्लानिङ गर्न सकिन्छ, तर नेपाली फिल्ममा वितरकबीचको इगोका कारण एक–अर्कोको फिल्म चल्न नदिने विकृति देखा परेको छ । ‘भाइ फुटे गवार लुटे’ भनेजस्तै आफू–आफू जुद्धाजुद्धै सकिन लागिसके । 

 

नेपाली चलचित्रका स्थापित निर्देशक तथा निर्माता हुन्– दीपेन्द्र के खनाल । विगत एक दशकयता चलचित्र क्षेत्रमा सक्रिय खनालले करिब १ दर्जन चलचित्र निर्देशन गरिसकेका छन् । ‘द युगदेखि युगसम्म’ बाट निर्देशनमा डेब्यु गरेका खनाल यतिबेला चलचित्र ‘आमा’ मा व्यस्त छन् । दीपेन्द्रले निर्देशन गरेका द युगदेखि युगसम्म, पशुपतिप्रसाद, चपली हाइट, चपली हाइट–२, चङ्गाचेट, झोले आदि चलचित्र हिट मानिन्छन् । चलचित्र दिवसका सन्दर्भमा खनालसँग महेश तिमल्सिनाले गरेको कुराकानी : 

अहिलेको चलचित्र बजारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

यसमा दुईवटा पाटो छ । कहिले राम्रो होला जस्तो लाग्छ, तर अहिलेको चलचित्र बजारको अवस्था विश्लेषण गर्दा आशाभन्दा निराशा बढी देखिरहेको छु । पहिलो कुरा त चलचित्र कम बनिरहेका छन् जसले गर्दा हलमा पनि कम चलिरहेका छन् । त्यसैले यतिबेलाको चलचित्र बजार अन्योलको स्थितिमा छ ।

 

नेपाली चलचित्रको बजार यसरी खस्किनुको कारण के हो ?

धेरै कुरा छन् । पहिलो कुरा त सबैले राम्रो चलचित्र बनाउने कुरामा जोड दिनुपर्छ । अर्को कुरा, नेपाली चलचित्र निर्माण भएर बजारमा आइसकेपछि त्यसले बजारमा कसरी स्थान पाउँछ भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्छ । खासगरी अहिलेको सन्दर्भमा नेपाली चलचित्र विदेशी चलचित्रको चपेटामा परिरहेका छन् । अर्कातिर दर्शकले चाहेजस्तो नेपाली चलचित्र पनि बनिरहेका छैनन्, किनभने पछिल्लो समय एउटै जनराका चलचित्र आइरहेका छन् । त्यसले गर्दा पनि नेपाली चलचित्रको स्तर खस्किएको हो । 

कतिपय चलचित्र हलमा एक हप्ता पनि टिक्न सकिरहेका छैनन्, यसको मुख्य दोषी को हो ? 

चलचित्रले दर्शकहरूमा आकर्षण पैदा गर्न नसक्नु मूल कारण हुनसक्छ । अर्को कुरा दर्शकले रुचाएका, दर्शक आकर्षित भएका कतिपय चलचित्र विदेशी चलचित्रको चेपुवामा परेको पाइन्छ । अहिलेको परिवेशमा सबैभन्दा डरलाग्दो कुरा नेपाली फिल्मको ठूलो दुस्मन भनेकै नेपाली फिल्म हुनु हो । विदेशी फिल्म त यो मितिमा आउँछ भन्ने कुरा पहिले नै थाहा हुन्छ, त्यो अनुसार प्लानिङ गर्न सकिन्छ, तर नेपाली फिल्ममा वितरकबीचको इगोका कारण एक–अर्कोको फिल्म चल्न नदिने विकृति देखा परेको छ । ‘भाइ फुटे गवार लुटे’ भनेजस्तै आफू–आफू जुद्धाजुद्धै सकिन लागिसके । पछिल्लो सिनारियो हेर्ने हो भने खाली समय छोड्ने, तर सम्भावना बोकेको अथवा राम्रो चलचित्र आउँछ भन्ने थाहा भएपछि त्यो चलचित्रमाथि तीन चारवटा नेपाली चलचित्र हालिदिने । यसले गर्दा सम्भावना बोकेको चलचित्रले हलमा पर्याप्त शो पाउँदैन । त्यसैले नेपाली चलचित्रलाई बढी चुनौति नेपाली चलचित्रबाटै छ ।

चलचित्र उद्योग भनिन्छ, तर यसको गतिविधि हेर्दा उद्योगको स्वरूप त पाएको देखिँदैन नि ? 

नेपाली चलचित्र उद्योग त नितान्त व्यक्तिगत लगानीमा चलिरहेको छ नि ! न सरकारले न कुनै संघ–संस्थाले चलचित्र क्षेत्रलाई केही गरेका छन् । जति पनि चलचित्र बने नितान्त व्यक्तिगत लगानीमा बनेका छन् । त्यसैले यसको स्वरूप उद्योगको जस्तो नदेखिएको हुनसक्छ । 

सरकारले चलचित्र ऐन ल्याउने तयारी गरिरहेको छ, के यो ऐनले नेपाली चलचित्र उद्योग उकालो लाग्ला ? 

हामीले कोरियाको कोटा सिस्टम हेर्ने हो भने त्यो विवादमा छ । भारतकै कुरा गर्ने हो भने पनि सम्बन्धित प्रान्तमा आफ्नो भाषा, परिवेशलाई प्राथमिकतामा राखिएको पाइन्छ । त्यसैले हाम्रोमा पनि खुला नीति त ठीकै हो, तर हलमा नेपाली फिल्ममात्र लाग्नुपर्छ, विदेशी फिल्म लाग्नुहुन्न भन्ने होइन । विदेशी चलचित्र पनि हलमा लाग्नुपर्छ । यस्तो नीतिमार्फत आफ्नो प्रोडक्टलाई केही स्थान दिँदा केही समयका लागि राम्रो नतिजा आउँछ कि भन्ने मेरो बुझाइ हो । कतिपय कुरा समय सान्दर्भिक भएनन् भन्ने कुरा पनि उठिरहेको छ । त्यसमा बहस चलिरहेको छ । जे होस् समग्रमा चलचित्र नीतिमा आएका केही कुरा राम्रा छन्, तर सान्दर्भिक नभएको कुरामा भने बहसबाट समाधान खोज्नुपर्छ । मुख्य कुरा हाम्रो आफ्नो प्रोडक्टलाई सकारात्मक तरिकाले स्थान दिने वातावरण बन्न जरुरी छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वर्षमा १ सय ८० दिन स्वदेशी फिल्म चल्नैपर्ने कुरा बताइरहेका छन्, के यस्तो नियमले नेपाली चलचित्रको उत्थान होला ? 

यसमा चलचित्र संघले हामी १ सय ८० दिन चलाउँछौं, तर हाम्रो मितिमा चलाउँछौं भन्ने कुरा गरिरहेको छ भन्ने पनि सुनेको छु । त्यसैले यसमा कसैलाई पनि मर्का नपर्ने गरि कसरी आफ्नो प्रोडक्टलाई सकारात्मक हिसाबले स्थान दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ । फेरि हाम्रोमा नेपाली फिल्म मात्रले पनि हल धान्दैन । त्यसैले यसमा सबै पक्ष मिलेर एउटा मध्यबिन्दुमा आएर अघि बढ्दा फाइदा होला । अर्को कुरा, हामीले नेपाली चलचित्र भारतको कुनै ठाउँमा चलाउनुपर्‍यो भने सेन्सर पास हुन करिब तीन महिना लाग्छ, तर जुनसुकै विदेशी चलचित्र नेपालमा बिहीबार आयो भने एकै दिनमा सेन्सर पास भएर शुक्रबारदेखि हलमा चल्न थालिहाल्छ । बरु यहाँ नेपाली चलचित्र सेन्सर गराउन गाह्रो हुन्छ, तर विदेशी चलचित्र सहजै सेन्सर हुन्छन् । त्यसैले सबै चलचित्रप्रति समान व्यवहार गर्ने हो भने आफैं राम्रो हुन्छ । 

नेपाली फिल्मको बजार खस्किनुको कारण स्तरीय फिल्म नबनेर हो कि हलले पर्याप्त सो नदिएर हो ? 

दुवै कुरा हो । एउटा दर्शकलाई आकर्षण गर्ने चलचित्र नआएर पनि हो । अर्को कुरा दर्शकलाई आकर्षण गराएका र सम्भावना बोकेका कतिपय चलचित्र हलमा पुगेपछि वितरक–वितरकबीचको लडाइँका कारण मर्छन् । अब मेरै कुरा गर्ने हो भने मैले ‘आमा’ चलचित्रको मुहूर्त भएको बेलादेखि नै फागुन ९ गते प्रदर्शन मिति तय गरेको थिएँ । मैले मिति तय गर्दा त्यो मितिमा कुनै पनि चलचित्र थिएनन्, मैले कसैसँग जुधाउन गएको पनि होइन । अब अहिले फागुन ९ मा अरू २ वटा चलचित्र आइसकेका छन् । मसँग कसको दुस्मनी छ, उसैले यसको फिल्म किन चल्न दिने भनेर जुधाउन ल्यायो । यसरी सम्भावना बोकेको फिल्मलाई कसरी सिध्याउने भन्ने कुराले नेपाली फिल्मको बजार खस्किएको हो । फेरि यस्तो कुरा निर्माता–निर्देशकलाई थाहा हुँदैन, वितरक–वितरकले एउटा कोठामा बसेर त्यो फिल्मलाई कसरी सिध्याउने भन्ने योजना बनाउँछन् ।

 

नेपाली चलचित्रको बजार खस्कनुमा मुख्य दोषी वितरकहरू नै हुन् त ?

नेपाली चलचित्रको सबैभन्दा ठूलो चुनौती नै नेपाली चलचित्र हो । अब अहिलेको अवस्थालाई हेर्ने हो भने ‘आमा’ चलचित्रलाई कहाँ राम्रोसँग चल्न दिने भए त ? मैले १५/२० सो पाउँथें भने अब घटेर ७ सो मा आउने भयो † भनेपछि जसरी त्यो चलचित्रले बजार पाउँथ्यो त्यसले बजार लिन सक्दैन र अर्को हप्ता अर्कै चलचित्र आइसक्छ । त्यसैले यो अवस्था वितरकहरूले नै ल्याएका हुन् । 

कतिपय चलचित्रकर्मीले चलचित्र विकास बोर्ड चलायमान हुन सकेन भनिरहेका छन्, के भन्नुहुन्छ ? 

केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्षमा आएपछि, धेरै आशा थियो र अहिले पनि छ । उहाँसँग भेटघाट हुँदा केही सुधार गर्नुपर्‍यो भनिरहेको हुन्छु । केही महिनाअघि भेट हुँदा उहाँले साउन सकिएपछि चलचित्र विकास बोर्डको काम देखिने कुरा बताउनुभएको थियो । त्यो कहाँ पुग्यो, म पनि अहिले छायांकनमा व्यस्त छु, तर बोर्डले जति गर्नुपर्ने हो गर्छ जस्तो लाग्छ । 

विदेशी चलचित्र हलमा प्रवेश गर्ने कुरा थाहा पाएपछि नेपाली चलचित्रका निर्माताहरू आत्तिएर मिति सार्नतिर लाग्छन्, यस्तो अवस्था आउनुको मुख्य कारण के हो ? 

राम्रो विदेशी चलचित्र नेपाली हलमा लागेपछि हलले नेपाली चलचित्रलाई पर्याप्त सो दिँदैनन् भने मिति नसारेर के गर्नु ? हालसालैको कुरा गर्ने हो भने, बलिउड चलचित्र साहो र मारुनीले हलमा पाएको सोको अन्तर धेरै छ । अर्को कुरा हिन्दी चलचित्र नेपालमा प्रवेश गर्नुपूर्व नै त्यसले नेपाली दर्शकलाई आकर्षण गरिसकेको हुन्छ । त्यसको तामझाम तथा बजेट पनि त्यस्तै राम्रो हुन्छ । त्यो बीचमा नेपाली फिल्मलाई यसै सो कम गरिसकिएको हुन्छ, जसमा नेपाली फिल्म मरिहाल्छ । त्यसपछि भागाभाग त भैहाल्छ नि ।

बलिउड चलचित्रसँग जुध्न नेपाली चलचित्रले सुधार्नुपर्ने कुरा के–के हुन् ? 

पहिलो कुरा त बलियो चलचित्र नै बनाउनुपर्छ । दर्शकमा आकर्षण पैदा गर्न सक्नुपर्छ । यति हुँदाहुँदै पनि नेपाली चलचित्र र सँगै आएको विदेशी चलचित्र उत्तिकै राम्रा छन् भने हलले बराबर सो दिन्छ त ? हिन्दी चलचित्रले २० सो पाउँछ, तर त्यस्तै राम्रो नेपाली चलचित्रले ५ सो पाउँछ भने कसरी जुध्न सकिन्छ ? दुवै फिल्म उत्तिकै आकर्षक छन् र हलले पनि समान सो दिन तयार हुने हो भने न जुध्ने हो । समान सो नपाएपछि त कसरी जुध्न सकिन्छ र ?

फिल्म मेकिङको तपाईंको सूत्र के हो ? 

मेरो तरिका सजिलो छ । म आफूलाई लागेको कुरा मनबाटै गर्छु । मलाई अहिले पनि विश्वका चर्चित निर्देशक, निर्माताको नाम भन भनेर सोधियो भने आउँदैन, तर म चलचित्रहरू हेर्छु, राम्रो लागेको कुरा मनमा हुन्छ, तर त्यसकै प्यार्टनमा जान्छु भनेर अहिलेसम्म त्यसरी काम गरेको छैन । म कुनै नयाँ विषयवस्तूमा काम गर्छु भने त्यसलाई आफ्नै तरिकाले गर्छु । 

एउटा सफल चलचित्रका लागि कुन–कुन तत्वले काम गर्नुपर्छ ?

सबैभन्दा ठूलो कुरा त अध्ययन हो । निर्देशकमा अध्ययनशीलता, लगाव तथा इमान्दारिता हुनुपर्छ । एउटा राम्रो चलचित्र बनाउन टिम राम्रो हुनुपर्छ । त्यसमा पनि निर्देशकको भूमिका महत्वपूर्ण हुन्छ । समग्र चलचित्रको माहोल निर्देशकले नै तयार गर्ने हो । किनभने फिल्म भनेको निर्देशकको सोच हो । त्यो सोच पूरा गर्न अरूले सहयोग गर्ने मात्र हुन् । त्यसैले सबैभन्दा पहिले निर्देशकको सोच क्लियर हुनुपर्छ । त्यही अनुसार टिम बनाउनुपर्छ । त्यति भएपछि एउटा राम्रो चलचित्र तयार हुन्छ । 

तपाई चलचित्र निर्माण/निर्देशन गर्दा दर्शक हेरेर गर्नुहुन्छ कि बजार ?

बाँच्नका लागि दुईचारवटा चलचित्र बजारकेन्द्रीत बनाएको छु र आफूलाई मनपर्ने चलचित्रका लागि भने केही पनि हेर्दिनँ । त्यसैले पहिलो कुरा मलाई कथा मन पर्नुपर्छ, म खुसी हुनुपर्छ । 

नेपाली चलचित्रका प्राविधिकहरूको अवस्था कस्तो छ ?

प्राविधिकहरूको अवस्था राम्रो छ । किनभने फिल्म हिट भए पनि फ्लप भएपनि प्राविधिकहरूले पैसा पाउँछन्, किनभने उनीहरूले फिल्म सुटिङ सकिने बित्तिकै पैसा लिन्छन् । त्यसैले प्राविधिकका लागि भने राम्रो छ । उनीहरूको कामको कुरा गर्दा नेपालमा टेक्निकल सामानहरू धेरै आए, तर त्यसलाई चलाउने टेक्निसियन तयार भएनन् । भन्नुको अर्थ प्राविधिकहरू अपग्रेड भएनन् । अहिलेपनि हामी साउन्ड, कलर ग्रेडिङ, सिनेम्याट्रिक लगायतका थुप्रै कुरामा कमजोर छौं । त्यसैले प्राविधिक सीप अभिवृद्धि हुन अझै बाँकी छ । 

चलचित्र निर्देशन गर्दा कुन पक्षलाई कति प्राथमिकता दिनुहुन्छ ?

म सबैभन्दा बढी प्राथमिकता कथालाई दिन्छु । कथा त सबै चलचित्रमा हुन्छ । सबैका कथामा केही न केही राम्रा कुरा त भैहाल्छन् । यद्यपि कथा यस्तो हुनुपर्छ, जसले आमदर्शकलाई कनेक्ट गर्न सकोस् ।

 

निर्देशकले चलचित्रको कथाप्रति कसरी न्याय गर्नसक्छ ?

कथालाई निर्देशकले कसरी प्रस्तुत गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । उसले न्याय गर्ने भनेको त्यही नै हो । कथालाई निर्देशकले कसरी पर्दामा उतार्न सक्छ त्यो नै उसको सीप हो र न्याय गर्ने भनेको पनि त्यही हो ।

 

चलचित्र निर्देशनमा कसरी आउनुभयो ? 

म सन् २००४ मा जापान गएँ । मैले त्यहाँको काम गर्ने शैली सिक्ने मौका पाएँ । हामीकहाँ कसैले एउटा चोकमा म:म पसल खोल्यो र त्यो एकदमै चल्यो भने त्यहाँ अर्कोले आएर त्यस्तै म:म पसल खोलिहाल्छ, तर जापानमा त्यस्तो छैन । त्यहाँ कुनै काममा पूर्ण सीप छ भने मात्र काममा हात हालिन्छ । अर्को कुरा त्यहाँका मानिसलाई राजनीतिजस्ता बाहिरी कुराहरूसँग केही मतलब छैन । जसले जे पेसा गरेको छ ऊ त्यसमै तल्लीन हुन्छ । ती कुराबाट म निकै प्रभावित भएँ । त्यसपछि मैले पनि आफ्नो करियरलाई कसरी अघि लाने भन्ने कुरा सोचें । म बच्चैदेखि निकै फिल्म हेर्थें । फिल्म हेर्दा जहिले पनि यसको सबैभन्दा ठूलो मान्छेचाहिँ को होला भन्ने लाग्थ्यो । त्यो ठूलो मान्छे निर्देशक हो भन्ने कुरा मैले पछि मात्र थाहा पाएँ । त्यसपछि क्रमैसँग म चलचित्र निर्देशनमा होमिएँ ।

 

आफ्नो पेशाप्रति सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट छु । पैसा भनेको त्यस्तै रहेछ । फिल्मी क्षेत्रमा लागेर धेरै पैसा त कमाउन सकिएको छैन, तर मैले केही चलचित्र यस्तो राम्रो बनाएछु कि जसका कारणले दर्शकहरूले जहाँ भेट्दा पनि सम्मान गर्नुहुन्छ । त्यो नै मेरो ठूलोउपलब्धि हो ।

 चपली हाइट र चपली हाइट–२ तपाईंले निर्देशन गर्नुभयो, तर चपली हाइट–३ बाट बाहिरिनुभयो किन ? 

समयअनुसार मानिसको स्वभाव एवं बाटाहरू फरक हुँदा रहेछन् । म चलचित्र क्षेत्रमा आएको एक दशक भयो । यस दौरान म पहिले जस्तो थिएँ, बिस्तारै मेरो स्वभाव, बोल्ने तरिका तथा रुचिहरू  परिवर्तन भैसकेका छन् । जुनबेला मैले चपली हाइट निर्देशन गरें त्यतिबेला म अर्कै थिएँ, चलचित्रका सम्बन्धमा मेरो बुझाइ अर्कै थियो । अहिलेको मेरो बुझाइ अर्कै छ । समाजप्रतिको दृष्टिकोण तथा दायित्वबोध छुट्टै छ । मेरो बाटो अन्तै मोडिइसकेको छ । मेरो बाटो अन्तै लागिसकेको छ, अब त्यो पुरानो कुरा छुटिसकेको छ ।

 

तपाईंमा यो फरकपन कसरी आयो ? 

पशुपतिप्रसादपछि ममा धेरै परिवर्तन आयो । त्यसपछि मैले एक–दुईवटा कमर्सियल फिल्म पनि गरें । कमर्सियल फिल्म बाँच्नका लागि गरें, तर म बाट दर्शकहरूले गहन विषय भएको र गम्भीर हुने खालको चलचित्र खोज्नुहुँदो रहेछ भन्ने कुरा थाहा पाएँ । त्यसैले अब म जुन चलचित्र बनाउँछु त्यसमा समाजसँग सम्बन्धित कुनै गम्भीर मुद्दा आओस्, बहस सिर्जना होस् अथवा त्यसले समाजमा केही परिवर्तन ल्याओस् भन्ने चाहना राख्छु । त्यही अनुसार मैले कमर्सियल फिल्म बनाउन चटक्कै छोडें ।

 

चलचित्र आमामा व्यस्त हुनुहुन्छ, यो कस्तो चलचित्र हो ? 

‘आमा’ चलचित्र आमाहरूको कथा हो । मेरी पनि आमा हुनुहुन्छ । मैले मेरी आमालाई यसो गर्दिन पाए हुन्थ्यो, उसो गर्दिन पाए हुन्थ्यो भन्ने थुप्रै सपना, चाहना राख्दै आएको छु, त्यस्ता धेरै सपना पूरा नहुँदा रहेछन् । आमाहरूको दु:ख जहाँको त्यहीँ छ । आमा भन्ने प्राणी जहिले पनि दिन मात्र खोज्ने कहिल्यै केही नमाग्ने तर दिँदा खुसी हुने । यो कुराले मलाई एकदमै छोयो । मैले पनि आमाका लागि त्यस्तो धेरै केही गर्न सकेको छैन ।

 

प्रकाशित :भाद्र २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्