साप्ताहिक संवाददाता
भाद्र २९, २०७६
गायक उदित नारायण झाले हालसम्म नेपाली तथा हिन्दी बाहेक भोजपुरी, तेलुगू, तमिल, कन्नड, उडिया, बंगालीसहित विभिन्न ३५ भाषाका गीत गाइसकेका छन् । हालै मात्र उनले नेवारी भाषामा समेत गीत गाएर आफ्नो गीतको भाषाको संख्या ३६ पुर्याएका छन् ।
नेपाल भाषाको चलचित्र ‘छंगु जिगु माया रतन’ का लागि उदित तथा उनकी धर्मपत्नी गायिका दीपा नारायण झाको स्वरमा चलचित्रको शीर्षक गीत रेकर्ड गरिएको छ । चलचित्रका निर्देशक सुरेन्द्र तुलाधर, संगीतकार नील शाक्य तथा संगीत संयोजक भूपेन्द्र बज्राचार्यले मुम्बई नै पुगेर उदित र दीपाको स्वरमा उक्त गीत रेकर्ड गराएका हुन् ।
निर्देशक तुलाधरका अनुसार उदितले ३६ वटा भाषामा गीत रेकर्ड गराएको विषयलाई गिनिज बुकमै दर्ता गराउने इच्छा राखेका छन् ।