राजेश हमाल, चलचित्रमा खेले पनि चर्चा । नखेले पनि चर्चा । केही हप्ताअघि मात्रै भारतको पपुलर मिडिया आजतकले राजेश हमाललाई बलिउडका लिजेन्ड कलाकार अमिताभ बच्चनसँग दाँजेर एक रिपोर्ट प्रकाशन गरेपछि उनको चर्चा बलिउडमा पनि खुबै भयो । सन् २०१४ सम्म हमाललाई निरन्तर एउटा प्रश्न सोधियो, ‘बिहे कहिले गर्ने ?’ लामो समय त्यो प्रश्न झेलेपछि अन्ततः अभिनेता हमालले १० जेठ ०७१ मा मधु भट्टराईसँग प्रेम विवाह गरे । बिहे गरिसकेपछि अहिले उनलाई अर्को प्रश्नले निन्तर पिछा गर्न थालेको छ, ‘बच्चा कहिले पाउने ?’ हमाल निकै कुटनीतिक अभिनेतामा पर्छन्, हरेक प्रश्नलाई क्षणभरमै पाखा लगाइदिन सक्ने सामथ्र्य राख्छन् । हमाल पत्नी मधु यस्ता विभिन्न प्रश्नहरुको सामना गर्न कत्ति सक्षम छिन् त ? लाजिम्पाट नजिकैको एक कफी सपमा केहि समय अघि अनौपचारिक गफका लागि तयार भइन्—मधु । श्रीमती मधुको नजिकै मुस्कुराइरहेका छन्—महानायक हमाल । निकै चाखलाग्दो किसिमले प्रश्न र श्रीमतीले दिएका जवाफ सुनिरहेका छन् । रामजी ज्ञवालीले महानायक पत्नी मधुलाई उनकै अगाडि केहि रमाइला प्रश्नहरु सोधे ।
दाम्पत्य जीवन कस्तो चल्दैंछ ?
एकदमै राम्रो चलिरहेको छ ।
राजेश सर, निकै व्यस्त हुनुहुन्छ । कहिलेकाहिँ दिक्क लाग्दैन् ?
उहाँ सधै व्यस्त । मलाई उहाँको बारेमा पहिले पनि थाहा थियो, अहिले पनि थाहा छ । अहिले एक्कासी उहाँको ब्यस्तता बढेको होइन् ।
कहिलेकाहीँ त वाक्क लाग्छ होला है ?
स्वभाविकै हो । सकेसम्म सधै सँगै रहौं भन्ने कसलाई हुँदैन र ? तर, उहाँले महत्वपूर्ण समयमा साथ दिइराख्नुभएको छ । बाहिर कतै हुनुभयो भने फोनमा कुरा भैरहेको हुन्छ । खासै त्यस्तो एक्लो महसुस गराउनुभएको छैन । लामो समयको विदेश भ्रमणपछि नेपाल आउनुभयो भने तुरुन्तै हामी कतै घुम्न गएका हुन्छौं ।
नाम चलेको अभिनेताको श्रीमती हुनुहुन्छ, मनमा कत्तिको घमण्ड आउँछ ?
मलाई घमण्ड कहिल्यै आएन । तर, प्राउड फिल हुन्छ ।
हमाल–भट्टराई जोडिको सम्बन्धको सुरुवात् कसरी भएको थियो, विगत फर्किनुस् न ?
बौद्धमा रहेको हायात होटेलमा एउटा कार्यक्रम ‘लक्स ब्युटी स्टार’ कन्टेस्टमा सहभागी थिएँ । उहाँ त्यो कार्यक्रमको निर्णायक हुनुहुन्थ्यो । कार्यक्रम सकिएपछि एउटा पार्टी पनि आयोजना भएको थियो । उक्त पार्टीमा उहाँले सँगै नाचौं भन्नुभयो । तर, मेरो खुट्टामा घाउ भएकाले नाचिनँ । केही समयपछि छुट्टिने बेलामा उहाँले आफ्नो भिजिटिङ कार्ड दिनुभयो । यहि हो, हाम्रो सम्वन्धको पहिलो सुरुवात् ।
कार्ड दिएपछि तपाईँले कहिले फोन गर्नुभयो ?
एक हप्तापछि ।
पहिलो फोनमा कति मिनेट कुरा भयो ?
खासै धेरै बेर त भएन । अर्को कुरा उहाँ फोनमा निकै कम कुरा गर्नुहुन्छ ।
पहिलो डेटिङको सम्झना छ ?
पहिलो पटक फोन गरेको दिन उहाँ झापा हुनुहुँदोरहेछ । उहाँले भोलि म काठमाडौं फर्किनेवाला छु, मेरो वर्थ डे पनि हो । सँगै डिनर गरौं न भन्नुभयो । मैले हुन्छ भने । सायद, सांग्रिला होटलमा भएको उक्त भेट नै हाम्रो पहिलो डेटिङ हुनुपर्छ ।
पहिलो भेटमा कतिबेर गफिनुभयो ?
लगभग दुई घण्टाजति त बस्यौं कि !
भेटमा के–के भयो ?
के हुनु र ? त्यो दिन उहाँको जन्मदिन थियो । आ–आफ्ना कुराहरु सेयर गरियो । गफगाफसँगै डिनर पनि गरेर छुट्टियौं ।
राति कसरी घर फर्किनुभयो ?
उहाँले आफ्नो आफ्नो गाडीमा छोडिदिनुभयो ।
तपाईहरुमध्ये दुईजनामध्ये सुरुमा प्रेम प्रस्ताव कसले राख्यो ?
उहाँले कहिल्यै प्रेम प्रस्ताव राखेको याद छैन । मैले पनि कहिल्यै प्रस्ताव राखेकी छैन । हामी दुवैले एकले अर्काको मायालाई महसुस गरेर नजिक भएका हौं जस्तो लाग्छ ।
विहे भएको लामै समय भयो । बच्चा नजन्माउने ?
अहिले त्यस विषयमा कुनै योजना छैन । हामीले यस विषयमा सोचेकै छैनौं ।
शुभचिन्तकहरुले त सोधेर हैरान पार्नुहुन्छ होला नि ?
हाहाहा..., सोध्नुहुन्छ । यस विषयमा खासै जवाफ दिइराख्नुपर्छ जस्तो लाग्दैन ।
राजेश सर निकै हाँसोका साथ गफ गर्नुहुन्छ, कहिल्यै कसैसँग रिसाएको देखिन्न । घरमा पनि त्यस्तै हो ?
खासै रिसाउने बानी त छैन । तर, रिसाउनुभयो भने निकै डेन्जर हुनुहुन्छ ।
डेन्जर मतलब ?
धेरै दिनसम्म नबोलेरै बस्ने स्वभाव छ ।
राजेश सरका बारेमा एउटा गोप्य कुराको रहस्य खोलिदिनुस् न । उहाँले चुरोट रक्सी, खैनी खानुहुन्छ कि खानुहुन्न?
खानुहुन्न । मैले अहिलेसम्म देखेको पनि छैन । तर, २५–३० वर्षको उमेरमा बियर धेरै खानुहुन्थ्यो रे ।
कहिलेकाहीँ पार्टीमा वाइनको गिलास देखिन्छ नि?
हो, तर त्यो नाटक मात्रै । पहिल्यैदेखि मैले चिनेअनुसार एक गिलास वाइन लिएर पार्टीभर पुराइदिने चलन छ ।