साप्ताहिक संवाददाता
नेपालीहरुको महान् पर्व बडा दसैं नजिकिदै गएको छ । दसैं नजिकिएसँगै विभिन्न तरिकाबाट दसैंको स्वागत हुन् थालेको छ । दसैंलाई गीत/संगीतसँग पनि जोडेर हेर्ने गरिएको छ । दसैंलाई लक्षित गर्दै थुप्रै कलाकारले दसैं गीत निकालिरहेका छन् । यहि मेसोमा गीतकार डा. डीआर उपाध्यायको दसैं गीत सार्वजनिक भएको छ ।
उपाध्यायको ‘दसैं तिहार आयो’बोलको सार्वजनिक गीतमा संगीतकार सन्तोष श्रेष्ठ र गायिका सुरुची पन्तको स्वर रहेको छ । लिरिकल भिडियो सार्वजनिक गरिएको उक्त गीतमा सन्तोष श्रेष्ठलेनै संगीत गरेका छन् ।
सार्वजनिक गीतले पछिल्लो समय रोजगारीका लागि आफ्नो गाउँघर छोडेर परदेशिएको एक परदेशीको खुशी समेटिएको छ । दसैं गीत भन्ने बित्तिकै भेट्न नपाएका पीडालाई समेटेर गीत निकाल्ने परम्पराको पर रहेर उपाध्यायले भेट्ने दिनको खुशीको कल्पनामा गीत लेखेका छन् ।
‘मनमा माया बोकेर आउँला, दसैं तिहार घरैमा मनाउला’ भन्दै परदेशिको खबर आएसँगै घरमा कुरेर बसेका परिवारको खुशी पनि गीतमा अभिव्यक्त भएको छ ।