साप्ताहिक संवाददाता
कार्तिक ३, २०७६
गायक सन्तु थापाले करिब एक दर्जन शैलीका गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा एक प्रकारको कीर्तिमान नै कायम गरेका छन् । तम्घास, गुल्मीका यी गायक लोक–दोहोरी संगीतको परिचित नाम हो । उनले हालसम्म नेपाली आधुनिक, लोक, दोहोरीमात्र होइन सोरठी, पन्चेबाजा, सालैजो, कौरा, रोइला, दसैं आदि शैलीका गीत समेत रेकर्ड गराइसकेका छन् ।
करिब एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय थापाले ‘आफैं पनि जानिन’ शीर्षकको गीत गाउँदै सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । गत दसैंका लागि गायिका मञ्जु पौडेलसँग एउटा युगल गीत गाएका यी गायकले देशका विभिन्न भागमा आयोजित कन्सर्टमा आफूलाई प्रस्तुत गरिसकेका छन् भने बेलायत, अस्ट्रेलिया, मलेसिया, भारत, थाइल्यान्डसहित युरोपका अधिकांश देशमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।