मानसिक रोगी रहिसकेको छु

- राजाराम पौडेल

कार्तिक ६, २०७६

लिटिल बुद्ध नामले परिचित नेपाली र्‍यापर साकार अधिकारी काठमाडौं, घट्टेकुलोमा जन्मिएका हुन् । उनी २४ वर्षका भए । लिटिल बुद्ध नेपाल टुर र वल्र्ड टुरमार्फत आफ्ना शुभचिन्तक एवं प्रशंसकहरूमाझ पुग्न खोजिरहेका छन् । नेपाल टुरका क्रममा पोखरा पुगेका हिपहप गायक साकार अधिकारीसँग साप्ताहिककर्मी राजाराम पौडेलको कुराकानी :

कसरी सुरु भएको थियो तपाईंको यात्रा ?

युट्युबमा होम मेड भिडियोहरू हालेर सुरु गरे, बिस्तारै–बिस्तारै फलोइङ बढ्दै गयो । सन् २०११–१२ तिर म ११–१२ मा पढ्थे । त्यतिबेला नै हो, युट्युबमा भिडियो अपलोड गर्न थालेको । भिडियो हालेपछि त्यसबेलाका चर्चित र्‍यापर यम बुद्धले हेर्नुभयो । उहाँको र्‍याप ब्याटल गराउने योजना रहेछ, मेरो भिडियो युट्युबमा देखेपछि मसँग सम्पर्क गर्नुभयो । र्‍याप ब्याटल हुन थालेपछि भ्युअरसिप पनि बढ्न थाल्यो । बढ्दै गएर अहिलेको अवस्थामा आइपुगेको हुँ ।

स्टुडियोमा पुगेर गीत रेकर्ड गराउन कति समय लाग्यो ?

म दैनिक भिडियो अपलोड गर्थें । सन् २०१५ तिर म्युजिक प्रोडुसर रोहित शाक्यसँग मिलेर ‘केटी नेपाली’ गीत निकालें, जुन मेरो पहिलो म्युजिक भिडियो हो ।

अहिले हिपहपतर्फको आकर्षण कस्तो छ ?

एकदम राम्रो छ, अहिले सजिलो छ पहिलेको तुलनामा, अहिले आफूले नै फेसबुक, इन्स्टाग्राममा फ्यान पेज खोलेर काम गर्न सजिलो छ । फिडब्याक पनि राम्रो आइरहेको छ, अहिलेको जमानामा कलाकारले आफूलाई राम्रोसँग म्यानेज गर्ने हो भने त्यसैमा करियर बनाउन सकिन्छ ।

र्‍याप ब्याटल गर्न कत्तिको सहज छ ? मेहनत कत्तिको गर्नुपर्छ ? कसरी यसको व्यवस्थापन हुन्छ ?

कोसँग ब्याटल गर्न लागेको हो भन्ने कुराले अर्थ लाग्छ, एक साता, दुई साता अगाडि, आफूले तयारी गरेर आइन्छ, तर रचनात्मक हुनुहुन्छ भने ठाउँको ठाउँमा तुरुन्तै रचना गरेर गाउन पनि सकिन्छ, जसलाई फ्रिस्टाइल र्‍याप भनिन्छ, सोचेर त्यहींको त्यहीं गर्न सक्नुभयो भने त्यो चाहिँ मिक्सर हुन्छ, तयारी गरेर आए पनि भयो, अन द स्पोट गरे पनि भयो । 

र्‍याप ब्याटलमा प्रयोग हुने शब्दका बारेमा केही सकारात्मक तर बढी नकारात्मक टिकाटिप्पणी हुन्छ, के भन्नुहुन्छ ?

त्यस्तो शब्द प्रयोग गर्नु नै पर्छ भन्ने छैन, यो चाहिँ बाहिरबाट आएको कुरा हो, बाहिरको कल्चरमा यो मान्य नै छ । नेपालमा नयाँ भएकाले कसै–कसैले गुनासो गर्छन् । मचाहिँ यसलाई सामान्य रूपमा लिन्छु, यदि कसैले त्यसका बारेमा गुनासो गर्छ भने त्यो पनि बुझ्छु, किनभने उहाँहरूले भनेको कुरा पनि सही हुनसक्छ ।

नेपाली हिपहप गीतको दायरा बढिरहेको छ ?

हो, बढिरहेको छ । केही समयअघि म र युनिक पोयट (र्‍यापर)ले एउटा गीत तयार गरेका थियौं, त्यो इंग्लिसमा थियो, त्यो गीत निकालेपछि के भयो भने बेलायत, भारत, अमेरिकातिरका भ्युअरले पनि प्रतिक्रिया दिने, तपाईंको गीत हेरेका थियौं भन्ने, म्यासेज गर्ने, नेपाली हिपहप पनि यस्तो रहेछ हामीलाई थाहा थिएन भन्ने, प्रतिक्रिया आयो, हामीले इंग्लिसमा गरेको भएर । कतिले भने गुनासो गर्छन् तपाईं नेपाली, हिपहपमा लाग्नुहुन्छ भने किन इंग्लिसमा, मचाहिँ यसरी हेर्छु नेपाली हिपहपलाई यदि अन्तर्राष्ट्रिय परिचय दिनु छ भने हामीले इंग्लिस पनि प्रयोग गर्नुपर्छ, तर नेपालीमा गर्नु पनि राम्रो हुन्छ ।

र्‍याप गायक, ब्याटल गायकबीच गीतमा देखिए जस्तै व्यवहारमा पनि मनमुटाव हुन्छ भन्ने बुझाइ श्रोताहरूको हुन्छ, त्यस्तै हुन्छ र ?

र्‍याप एउटा खेल हो, जस्तै : फुटबल, बक्सिङ, रेस्लिङ आदि खेल्दा कुटपिट हुन्छ, दाँत भाच्ने मुख कुचिने हुन्छ तर आखिरमा उनीहरू हात मिलाएर फर्कन्छन्, त्यस्तै र्‍याप व्याटलमा पनि १० मिनेट, १५ मिनेट, ३० मिनेटका लागि एक अर्कालाई हेरर देखाउने प्रतिस्पर्धा हुँदा त्यस्तो हुन्छ । पर्दा पछाडिको कुरा थाहा नभएकाले मानिसहरूलाई त्यस्तो लाग्न सक्छ, तर आखिरमा सबैको सम्बन्ध राम्रो छ । अब मैले जो–जोसँग ब्याटल गरे सबै मेरा बेस्ट फ्रेन्ड नै हुन् ।

नेपालमा हिपहप, र्‍याप ब्याटल गाउने र मन पराउनेहरूको सञ्जाल कसरी फैलिरहेको छ, ?

र्‍यापर्सहरूको एउटा प्लेटफर्म बनेको छ । जस्तै– पोखराका लाहुरे, अर्को कोम्लालाई पनि लिन सकिन्छ, उहाँहरूको गीत निस्किरहेको थियो, त्यति लोकप्रियता पाउनुभएको थिएन, जब र्‍याप व्याटलमा आउनुभयो, त्यसपछि एकदम चर्चा भयो, वास्तवमा यसले एउटा प्लेटफर्म दिइरहेको छ, र्‍याप ब्याटलले सबैलाई एकीकृत गरिरहेको छ । कोही इटहरी–विराटनगरबाट, कोही दाङबाट त कोही नेपालगन्जबाट आउनुभएको छ ।

पूरै सन्तुष्ट हुने अवस्था छ कि गतिविधि बढाउनुपर्नेछ ?

पक्कै पनि बढाउनुपर्नेछ, जब यम बुद्धले हाम्रो रब आर्टस हेर्नुहुन्थ्यो, उहाँको गाइडेन्समा चलिरहँदा एउटा राम्रो स्तरमा गैरहेको थियो, उहाँको निधनपछि रव आर्ट्स कम्पनी ह्यान्डल गर्ने राम्रो म्यानेजमेन्ट नभएजस्तो लाग्छ मलाई । अनि हामी पनि र्‍याप ब्याटललाई फेरि निरन्तरता दिने योजनामा छौं ।

भविष्यको योजना के छ ?

मैले एउटा प्लेटफर्म पाएको छु, धेरै मानिसले चिन्नुभएको छ, मेरो दायित्व केही छ जस्तो लाग्छ । जसरी यम बुद्धले हामीलाई सहयोग गरेर नयाँ र्‍यापरलाई करियर दिने काम गर्नुभयो, उहाँ नभएपछि अब हाम्रो पालो आएको छ, हामीले पनि त्यसरी नै हामीभन्दा पछि आएका भाइ–बहिनीलाई प्लेटफर्म दिने, उनीहरूलाई म्युजिक इम्पोटेन्ट कसरी हुन्छ, टुर कसरी गरिन्छ, भिडियो कसरी बनाइन्छ, आफूलाई अनलाइनमा कसरी प्रस्तुत गर्ने, त्यो कुरा सिकाउने, त्यस्तै कुराका लागि मैले रेकर्ड स्टुडियो स्थापना गरेको छु, यम बुद्धको नाममा— वाई बी रेकर्ड्स । 

सबै व्यक्तिको राम्रो नराम्रो दुवै गुण  हुन्छन्, तपाईंलाई मैले यो–यो कुरा सुर्धानुपर्छ भन्ने लाग्दैन ?

पक्कै लाग्छ । म त एक जमानाको मानसिक रोगी पनि हुँ । अहिले म के प्रोभाइड गर्न सक्छु भन्ने कुरामा लागिरहेको छु । मेरो सकारात्मक कुरा के हो भने इंग्लिस ल्याङ्वेज राम्रो भएकाले, अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिनिधित्व गर्नुपर्‍यो भने म आफूलाई राम्रो क्यान्डिडेट मान्छु । मलाई म्यानेजमेन्टको कुरामा पनि एकदम रुचि छ । आर्टिस्ट त भयो तर उसलाई माथि पुर्‍याउन राम्रो टिम चाहिन्छ, त्यो टिम बनाउने कुरामा केन्द्रित छु ।

हिपहप कलाकारले लगाउने पहिरनप्रतिको आकर्षण पनि उत्तिकै हुन्छ, फेसनमा कत्तिको रुचि छ ?

ड्रेसअपमा म स्ट्रिक वेयर लगाउँछु, फरक–फरक भेरियसन ल्याउन मनलाग्छ, फेसनमा पनि म त्यसैमा फोकस गर्छु, किनभने हिपहपमा आफ्नो फेसन के छ त्यो कुराले पनि एकदम महत्त्व राख्छ, त्यसले गर्दा कन्सस हुन्छु ।

खानपिनमा कत्तिको ध्यान दिनुहुन्छ ?

अलिकति हेल्दी खान खोज्छु, मासु कम खान्छु, म केही वर्ष अस्ट्रेलियामा पनि बसे, त्यहाँ बस्दा विभिन्न किसिमका खाना चाख्न पाएँ ।

नेपालको र्‍याप ब्याटल र विदेशको र्‍याप ब्याटलमा केही फरक पाउनुभयो ?

बेलायत र अमेरिकामा ठूला–ठूला र्‍याप ब्याटल लिग, अहिले पूर्णत: स्थापित भैसकेका छन् । क्यानाडामा पनि राम्रो छ । नेपालको रव आर्टस स्थापना भएको पनि त्यहीबाट प्रभावित भएर हो ।

विवाहका बारेमा सोच्नुभएको छैन ?

अहिलेसम्म सोचेको छैन, पहिले आफ्नो करियर राम्रो बनाऊ, परिवारलाई राम्रो केयर गर्ने स्थितिमा पुगौं भन्ने हो, हुन त अहिले पनि गर्ने हो भने सकिन्छ, तर अलिकिति कम्फर्टेबल भएपछि गरौ भन्ने योजना छ ।

नेपाली संगीतलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने तपाईंको सपनामा सरकारको सहयोग छ ?

दक्षिण कोरियाको सरकारले त्यहाँको संगीत उद्योगलाई अघि बढाउन बजेट नै छुट्याएको हुन्छ । त्यसैले त्यो माथि आइरहेको छ । कम्पलसरी त छैन, तर सरकारबाट संगीतलाई अगाडि बढाउन त्यस्तो फाइनान्सियल कमिटमेन्ट आइदिए सजिलो हुने थियो । त्यो अवस्थामा हामीले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्छौं ।

 

सरकारले गर्नुपर्ने होइन र ?

पक्कै हो, आखिर यो हाम्रो इकोनोमी तथा टुरिज्मलाई सहयोग गर्ने कुरा हो । यहाँका कलाकारहरू राम्रोसँग चलेर विदेशमा म्युजिक सो गर्दै गए भने त्यसले हाम्रो देशको इकोनोमी, कल्चर र टुरिज्म सबै बुस्ट हुन्छ । 

कमाइ कति हुन्छ ?

कमाइ म्यानेज गर्न सके एकदम राम्रो छ । डाक्टर–इन्जिनियर हुनुभन्दा एउटा चल्ने कलाकार हुनुमा राम्रो स्कोप छ । अहिले क्यासेट किन्ने जमाना छैन, तर ई–सेवासहित अनलाइनबाट, वेबसाइटहरूबाट आम्दानी भैरहेको छ । मेरो नयाँ एल्बम वेभसाइटबाट २ हजार जनाले किनिसक्नुभएको छ ।

नयाँ पुस्तालाई के भन्नुहुन्छ ?

यदि तपाईं संगीतमा लाग्ने हो भने संगीतबाट पैसा आउँदैन भन्नेहरूको कुरा नसुन्नुहोस्, त्यो गलत हो, यदि तपाईंले आफ्नो हिसाबमा राम्रो प्रस्तुतिकरण गर्न सक्नुहुन्छ, लोकप्रियता कमाउन सक्नुहुन्छ, र त्यसलाई राम्रोसँग म्यानेज गर्न सक्नुहुन्छ भने तपाईंले अरू क्षेत्रको तुलनामा राम्रो पैसा तथा सम्मान प्राप्त गर्न सक्नुहुन्छ ।

कार्यक्रममा एक्लै हिँड्नुहुन्छ कि साथी र ब्यान्ड पनि हुन्छन् ?

अहिले डिजे पाल्देनसँग पर्फमेन्स गरिरहेको छु । अस्ट्रेलियामा हुँदा एउटा ब्यान्ड बनाएको थिएँ, साकार एन्ड द ड्रिम, अहिले त्यो स्थगित भएको छ । अस्ट्रेलिया फर्किएँ भने त्यसले निरन्तरता पाउन सक्छ, अहिले सोलो आर्टिस्टकै रूपमा काम गरिरहेको छु ।

    

 

प्रकाशित :कार्तिक ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्