साप्ताहिक संवाददाता
अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय सँगसँगै चलचित्रमा देखा पर्न थालेका छन् । धमाधम उनीहरु सँगै देखिन थालेपछि बजारमा के हल्ला हुन थाल्यो भने, चलचित्रमा उनीहरुले एक अर्कालाई रिकमेण्ड गर्छन् । सकेसम्म आफ्नो चलचित्रमा दुबैजना हुन चाहन्छन् । तर, यो कुरामा यथार्थता नरहेको निश्चल–स्वस्तिमाले दावी गरेका छन् ।
यसै हप्ता चलचित्र ‘घामड शेरे’ को प्रमोशनका लागी साप्ताहिककर्मी रामजी ज्ञवालीसँग गफ गर्दै निश्चलले भने, ‘कहिलेकाहिँ सुझाव सल्लाह दिने कुरा त भैरहन्छ । तर, मेरो चलचित्रमा उ होस् र उसको चलचित्रमा म हुनुपर्छ भन्ने काम गरिएको छैन ।’
हेमराज विसी निर्देशित चलचत्रमा यो रियल जोडी साली र भेनाको भुमिकामा छन् । यो चलचित्रका लागी निश्चल स्क्रिप्ट निर्माण गर्ने बेलामै अनुबन्धित भएका हुन् । तर, स्वस्तिमालाई भने हेमराजले आफै चलचित्रमा कामका लागी प्रस्ताव गरेका हुन् । स्वस्तिमा भन्छिन्, ‘मैले त्यतिबेला निर्देशक हेमराज बिसीलाई सोधेकी थिएँ, निश्चलका कारण यो चलचित्रमा लिएको त होइन नि ?’ निर्देशकले चलचित्रमा आवश्यक अभिनेत्रीमा तिमी ठिक छौं भनेपछि उनले कामका लागी साइन गरेको बताइन् ।
त्यसो त यसअघि केहि चलचित्र र विभिन्न प्रोजेक्टमा निश्चल–स्वस्तिमाले सँगै काम गरेका छन् । फरक प्रशंगमा निश्चलले आफुले निर्देशन गर्न खोजेको स्क्रिप्ट मन नपरेपछि कुनामा थन्काएर राखेको बताए ।
लुटबाट निर्देशकको रुपमा हिट बनेका उनले त्यसपछि केहि चलचित्र बनाए । तर, पछिल्लो समय भने उनको निर्देशनमा बनेको चलचित्र नआएको धेरै भयो । निर्देशन भन्दा धेरै अभिनय गरिरहेका छन् । उनले भने, ‘कथाले जवसम्म मन छुन्न, त्यो बेलासम्म चलचित्र निर्देशन गर्दिनँ ।’ बजारमा जस्ता चलचित्र निर्माण भैरहेका छन्, त्यस्तै बाटोमा लागेर चलचित्र बनाउने इच्छा छैन, उनले फेरी थपे, ‘मसँग स्क्रिप्टहरु त धेरै आइरहेका हुन्छन् । जस्तो पायो त्यस्तै चलचित्र त के बनाउनु । यदि गराएको भए ६–६ महिनामा चलचित्र ल्याउन सक्थेँ ।’
अलिकति फरक किसिमको चलचित्र बनाउन मन भएका कारण निर्देशनमा फर्किन समय लागेको निश्चलले बताए । उनी चाँडै चलचित्र निर्देशनमा आउन सक्ने संकेत गरेका छन् ।
यो पनि पढ्नुहोस्