साप्ताहिक संवाददाता
तीज र दसैंपछि चाडपर्व लक्षित गीतको बाढी आउने अवसर हो— तिहार । यसपटकको तिहारमा करिब पाँच दर्जन गीत तथा म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् । तीमध्ये केही गीत ‘दसैं–तिहार’ विशेष भन्दै दसैंअघि नै सार्वजनिक भएका छन् भने अधिकांश गीत यसैपटकको तिहारलाई लक्षित गर्दै तयार पारिएका हुन् ।
यो वर्ष सार्वजनिक भएका तिहारका गीतमध्ये सबैभन्दा चर्चा र विवादमा आउन सफल भयो गायक दुर्गेश थापाको ‘ह्याप्पी तिहार...’ । गएको तीजको अवसरमा ‘बीच्च बीच्चमा...’ गाएर लोकप्रियताको शिखर चुमेका गायक थापालाई दसैंअघि ‘छ माया छपक्कै’ को प्रमोसनल गीतले पनि चर्चामा ल्यायो । ती दुई गीतको सफलताबाट हौसिएका गायक थापाले तिहारमा भने सुन्दै भद्दा लाग्ने तथा उच्छृंखल शैलीको गीत तयार पारे । दसैंको टीकाको दिन आफ्नै च्यानलबाट अपलोड गरेको थापाको उक्त गीतमा तिहारको रमाइलो कम, बियरको विज्ञापन बढि भयो भन्दै चर्को आलोचनासमेत भयो । गीतले संस्कृतिम ाथि धावा बोलेको भन्दै परेको उजुरी पछि गायक थापालाई प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि उनले अब यस प्रकारका गीत ननिकाल्ने र उक्त गीतलाई युट्युबबाट हटाउने मन्जुरीनामा गरेपछि उनी प्रहरी चौकीबाट घर फर्किए । लगत्तै गीत केहि परिमार्जित गरेर पुन: अपलोड गरेका छन् ।
ह्याप्पी तिहारको ठीक विपरीत तिहार र भाइटीकाको सांस्कृतिक पक्ष झल्काउँदै गायक रामकृष्ण ढकालले गाएको गीत ‘टिका माला...’ ले दर्शक–श्रोताहरूको मन जितिरहेको छ । बीबी अनुरागीको संगीत तथा रमेश बिजीको शब्दको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री सरिता लामिछाने तथा गायक प्रकाश सपूतले दिदी–भाइका रूपमा अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन शंकर बीसीले गरेका हुन् ।
गायक सन्तोष केसी तथा गायिका शर्मिला गुरुङले गाएको ‘देउसी रे....’ गीत झण्डै १७ मिनेट लामो छ । सन्तोष केसीकै शब्द तथा संगीतको उक्त गीतको भिडियोमा सारिका केसी तथा रमेश केसीले अभिनय गरेका छन् भने कपिल लामाले त्यसलाई निर्देशन गरेका हुन् ।
गायिका पूर्णकला बीसी तथा गायकद्वय थम्मन परियार र प्रेमसागर पौडेलको स्वरको नयाँ तिहार गीत ‘चिउरीको पातमा दियो बालेर...’ पनि हालसालै सार्वजनिक भएको छ । थम्मन परियारको शब्द तथा संगीतको उक्त गीतको भिडियोमा निर्मल तथा सृजनाले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन चित्र मास्की मगरले गरेका हुन् ।
गायक खुमन अधिकारी तथा गायिका समीक्षा अधिकारीको तिहार गीत ‘आँगनमा भैलिनी...’ गीतलाई पनि दर्शकले मन पराएका छन् । विष्णु न्यौपानेको संगीतको उक्त भिडियो करिव साढे ६ लाख पटक हेरिएको छ ।
काउली बूढी उपनामले लोकप्रिय सन्ध्या बूढाले गायक तेजष रेग्मीसँग सहकार्य गर्दै नयाँ तिहार गीत सार्वजनिक गरेकी छिन् । उक्त गीतको भिडियोलाई हास्यरस प्रदान गरिएको छ । कलाकार यादव देवकोटा अर्थात सरापेले रमाइलो अभिनय गर्दै भिडियोलाई हास्य प्रधान बनाइदिएका छन् । उनलाई अभिनेत्री रञ्जिता गुरुङले साथ दिएकी छिन् ।
गायिका दिप्सी भट्ट तथा गायक प्रिन्स सिलवालले पनि यसपटकको तिहारका लागि एउटा नयाँ गीत तयार पारेका छन् । ‘तिहार..’ शीर्षकको उक्त गीतमा रमेश पाठकको संगीत तथा जीवन कार्कीको शब्द सुन्न सकिन्छ ।
किरण बाबु पुन, तुलसी घर्ती मगर, करिष्मा घर्ती मगर, तुलसा पुन तथा वीरता पुनको सामूहिक स्वरमा सजिएको ‘हजुरको दैलोमा...’ शीर्षकको तिहार गीत पनि सार्वजनिक भएको छ ।
गायक पशुपति शर्मा तथा गायिका टीका पुनले पनि तिहार विशेष गीत तयार पारेका छन्, ‘देउसी रे खेलम...’ शीर्षकमा । उक्त गीतमा गायक शर्माकै शब्द तथा संगीत छ । मौसम हिमालीद्वारा निर्देशित उक्त भिडियोमा पशुपति शर्मा तथा करिष्मा ढकालले अभिनय गरेका छन् ।
गजेन्द्र लिम्बु तथा सुनिता थुगिमको स्वरको तिहार गीत ‘शुभकामना’ पनि हालै सार्वजनिक भएको छ । गजेन्द्र लिम्बुको संगीत निर्देशनको उक्त गीतको भिडियो अर्जुन थापाले निर्देशन गरेका हुन् ।
शान्तिश्री परियार तथा दिपेन्द्र डाँडीको स्वरको ‘झिलिमिलि तिहार...’ को भिडियो रमाइलो छ । अशोक बिकेद्वारा निर्देशित उक्त भिडियोमा गायक प्रकाश सपूत तथा करिना डाँगीले आकर्षक नृत्य गरेका छन् ।
लालु रिकाला तथा कल्पना बीसीको स्वरको ‘भाइ टीका...’ शीर्षकको गीत हालसालै सार्वजनिक भएको छ । रमेश बिजुली बीसीद्वारा निर्देशित उक्त भिडियोमा सबिता, राजेश, कविता आदि कलाकारले अभिनय गरेका छन् ।
गायक हेमराज आश्रमले गाएको देउसी रे..गीतको भिडियो पनि आकर्षक छ । गायक आश्रमकै शब्द तथा संगीतको उक्त भिडियोको निर्देशन गायक आश्रमले नै गरेका हुन् ।
गायक लक्षु प्रकाश मल्लले तिहारको अवसरमा पप शैलीको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द तथा संगीतको ‘केटाको तिहार...’ शीर्षकको उक्त म्युजिक भिडियोलाई लाइभ कन्सर्टको शैलीमा प्रस्तुत गरिएको छ ।
गायिका विष्णु माझी तथा गायक सुन्दरमणि अधिकारीको स्वरको ‘तिहारमा देउसी र भैलो’ गीत गत दसैंअघि नै सार्वजनिक भएको हो । उक्त भिडियोको निर्देशन शंकर बीसीले गरेका हुन्, जसमा निर्देशक बीसीका साथमा सम्झना बुढाथोकीले नृत्य गरेकी छिन् ।
यसबाहेक गायक केशव अधिकारी तथा निरिशा तामाङले आज हामी लाउरेको घर, रामप्रसाद खनालले तिहारको मौलिक देउसी भैलो, सज्जन धामी तथा पवित्रा बिकेले आमा बाटो हेर्दै, बल बहादुर परियार र संगिता पौडेलले देउसी–भैलो, देवी घर्तीले भैलो, जुना श्रीष र दीपक परियारले फूलको माया, खुमन जोशी तथा पवित्रा केसीले देउसी–भैलो शीर्षकका तिहार विशेष गीतहरू सार्वजनिक गरेका छन् ।