चंगेज खान (सन् ११६२–१२२७)

- साप्ताहिक संवाददाता

कार्तिक १९, २०७६

हामी चंगेज खानलाई मंगोल लडाकुका रूपमा चिन्छौं । वास्तवमा चंगेज खान नै यो संसारमा सबैभन्दा ठूलो साम्राज्यका निर्माता थिए । धेरै मानिसलाई के भ्रम छ भने चंगेज खान एक मुस्लिम आक्रमणकारी हुन् । वास्तवमा चंगेज खान मुसलमान थिएनन् । उनको वास्तविक नाम तेमुजिन यंगुसी बगातुर थियो । उनका पिता मंगोलहरूको एउटा सानो कबिलाका सरदार थिए । चंगेज खान १० वर्षका हुँदा उनको पिताको मृत्यु भएको थियो । 

आफ्ना पिताको मृत्युपछि आफ्नो कबिलाको सरदार बनाइएका चंगेज खानले सबैभन्दा पहिले आफ्नो कबिलालाई संगठित गर्ने र आफ्ना भेंडा तथा घोडाको चरण क्षेत्र विस्तार गर्ने कुरामा ध्यान दिए । त्यसका लागि उनले थुप्रै स–साना कबिलाहरूसँग युद्ध गर्नुपरेको थियो । ती युद्धमा सफलता पाएपछि उनको कबिलाले उनलाई कागानको उपाधि दिएको थियो । कालान्तरमा अपभ्रंश हुँदै त्यही कागान खान शब्दमा रुपान्तरण भयो । 

धेरै मानिस सोच्छन्, चंगेज खानले युवा अवस्थामै आफ्नो कबिलाको विस्तार गरेको हुनुपर्छ तर त्यसो होइन, आफ्नो कबिलालाई संगठित गरिसकेपछि विश्व विजय गर्ने अभियानमा निस्कँदा चंगेज खान ४४–४५ वर्षको भैसकेका थिए । ६४ वर्षको उमेरसम्म युद्धभूमिमा बिताएका चंगेज खानले आफ्नो समयमा ३ करोड ३० लाख वर्गकिलोमिटरको क्षेत्रफललाई आफ्नो साम्राज्यमा समाहित गरेका थिए, जुन पृथ्वीको स्थल भूभागको २२ प्रतिशत हो । इतिहासमा यति ठूलो क्षेत्रफलमा कसैले पनि शासन गरेको अर्को उदाहरण छैन । चंगेज खानको साम्राज्य उत्तरी जापान सागरदेखि पोल्यान्डसम्म फैलिएको थियो । त्यसभित्र दक्षिणी रूस, इरान, अफगानिस्तान, इराक, टर्कीजस्ता मुलुकहरू समाहित थिए । 

आफ्नो साम्राज्य बिस्तारका क्रममा चंगेज खानले लगभग ४ करोड मानिसको हत्या गरेका थिए । त्यो जनसंख्या भनेको त्यतिबेलाको पृथ्वीको कुल आवादीको ११ प्रतिशत हो । खानले आफ्नो विजय अभियानका क्रममा बुखारा, समरकन्द, तेहरान, बेइजिङ, बगदाद, स्तानबुलजस्ता त्यतिबेलाका नामी सहरलाई लगभग जनसंख्या विहीन बनाइदिएका थिए । 

सन् १९५० को प्रारम्भतिर रूसको एउटा स्वास्थ्य संस्थाले मंगोलहरूको जिन (वंशाणु) माथि गरेको एक अध्ययनअनुसार मंगोलिया र त्यसका वरिपरिका भूभागमा बसोबास गर्ने लगभग १ करोड ६० लाख पुरुषमा चंगेज खानको वंशाणु फेला परेको थियो । वंशाणुको यो मात्रालाई महिलाहरूमा पनि बिस्तार गर्ने हो भने अहिले पनि यो संसारमा चंगेज खानका ३ करोडभन्दा बढी वंशज भेटिन्छन् जुन उनको मूल देश मंगोलियाको अहिलेको जनसंख्याभन्दा बढी हुन्छ ।

 

प्रकाशित :कार्तिक १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्