साप्ताहिक संवाददाता
वरिष्ठ गीतकार कालीप्रसाद रिजाल को एकल सचना तथा संगीतकार सन्तोष श्रेष्ठको एकल संगीत रहेको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ सार्वजनिक भएको छ । शनिबार राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै ‘उदास जवानी’ला विमोचन गरिएको हो । वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा उक्त एल्वम सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा एल्वमभित्र समावेश २ गीतका म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई गर्भमा नै...’ बोलका २ गीतका म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । दुबै गीतको म्युजिक भिडियोको निर्देशन कवि हेम प्रभासले गरेका हुन् । छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।
‘एक्लो उदास जवानी... ’मा मनोज राजले स्वर दिएका छन् । म्युजिक भिडियोमा कलाकार मोहन निरौला र उषा खनालले अभिनय गरेका छन् । निशा देशारले गाएको ‘मै छोरीलाई गर्भमा नै...’ बोलको म्यूजिक भिडियोमा श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् । एल्वममा पाँच गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठको स्वर एल्वममा समेटिएको छ ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार दीपक जंगमले ‘उदास जवानी’लाई महत्वपूर्ण कीर्तिका रुपमा आफूले लिएको बताए । ‘अहिलेको समयमा लोभलाग्दो काम भएको छ’, उनले भने, ‘मैले गर्न नसकेको काम भएको छ । मैले पनि यो काम गर्ने सोँच बनाएको छु ।’
यस्तै, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेलले कालीप्रसाद रिजाल आफैमा राम्रो गीतकार रहेको भन्दै ‘उदास जवानी’मा रहेका गीतहरू उत्कृष्ठ भएको बताए । उनले सन्तोष श्रेष्ठले गीतमा दिएको संगीतको प्रशंसा समेत गरेका थिए ।
उता, वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसले ‘उदास जवानी’लाई नेपाली आधुनिक संगीतको क्षेत्रमा राम्रो कीर्ति आएको बताए । ‘यी आधुनिक गीतहरूसँगै भिडियोले झन् निखार ल्याएको छ’, उनले भनेका छन् ।