मतदातालाई रवीन्द्रजीको अभाव अहिले नै महसुस भैसकेको छ । कसैले कसैप्रति सहानुभूति, सद्भाव राख्न वा श्रद्धा गर्न नपाउने कुरा त भएन नि, आखिर मानिसले मृत्युपछि सहानुभूति त राखिहालिन्छ नि, त्यो पनि अकल्पनीय मृत्यु ।
कास्की क्षेत्र नम्बर–२ मा मंसिर १४ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार हुन्— विद्या भट्टराई । ४७ वर्षअघि जन्मिएकी विद्या स्व. रवीन्द्र अधिकारीकी श्रीमती हुन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । भट्टराई अधिकारीको निधनपछि रिक्त भएको कास्की क्षेत्र नम्बर–२ मा उनकै उत्तराधिकारी बन्ने दौडमा छन् ।
प्रतिनिधिसभाको उपनिर्वाचनमा तपाईंको उम्मेदवारी किन ?
२०७४ सालमा जनताले नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विजयी गराएर पठाए, सूर्य चिन्हलाई विजयी गराएर पठाए । स्व. रवीन्द्र अधिकारीलाई जनताले त्यतिबेला आफ्नो प्रतिनिधिका रूपमा निर्वाचित गरेर पठाउनुभयो । यसबीच एउटा अकल्पनीय घटनामा हामीले उहाँलाई गुमायौं । यो उपनिर्वाचन रवीन्द्र अधिकारीको रिक्तता पूरा गर्न हुन लागेको निर्वाचन हो, पाँच वर्षका लागि नेकपाका जनप्रतिनिधिले पाएको त्यही जनादेश पूरा हुन लागेको निर्वाचन भएकाले मेरो उम्मेदवारी आएको हो ।
उम्मेदवारीका लागि पार्टीले कसरी प्रस्ताव राख्यो ?
सुरुमा घटना घट्नेबित्तिकै वामदेव कमरेड बोल्नुभयो । उहाँले बोलेपछि नै मानिसहरूले एक खालको आँकलन गर्न थाल्नुभयो, मिडियाले पनि मलाई सोध्ने, करिब–करिब म किरियामै बसिरहेका बेला (१३ दिनभित्र) पनि मलाई त्यस्तै प्रश्न आउँथे । म पीडामा छु भनेर बोल्दै बोलिनँ । पछाडि विद्या उठ्छे भन्ने एकथरीलाई लाग्यो । एकथरीले उठ्दिन प्राध्यापन छ, स्थायी जागिर छ भन्ने हिसाबबाट हेर्नुभयो । मलाई दुईवटा कुरा लाग्यो । एउटा मैले आफ्नो परिचय प्राध्यापन क्षेत्रमा बनाइसकेकी थिएँ । ५–६ वर्षअघिसम्म म कहिले कता कहिले कता नै भएँ । म ५–६ वर्षयता टोटली एकेडेमिक लाइनमै अघि बढ्छु भनेर अघि बढिरहेकी थिएँ भने रवीन्द्रजीको पोलिटिकल हाइट पनि बढिरहेको थियो । हामी दुवै जना एक–एकवटा स्ट्यान्ड बोकेर हिँडिरहेको अवस्थामा यस्तो घटना घट्यो । मलाई त्यो घटनापछि झ्याप्पै यो काम गर्छु भन्ने पनि भएन, समय लाग्यो, अब विद्या आउँछे, आउनुपर्छ भन्ने साथीहरू थुप्रै हुनुहुन्थ्यो, ती साथीहरू भनेका पार्टीका मात्र हुनुहुन्नथ्यो, सबै विचारधाराका मानिसले मलाई अब राजनीतिमा आउनुहोस्, किनभने तपाईंको पृष्ठभूमि छ, तपाईंले गुमाउने कुरा केही बाँकी रहेन । अबको सक्रिय जीवन राजनीतिलाई दिनुहोस्, तपाईंहरूजस्तो मानिस आउनुपर्छ भन्ने मत ठूलो थियो । त्यो मतका कारण मलाई जाऊँ कि नजाऊँ भन्ने भैरहदा पार्टीले मेरो मात्र नाम सर्वसम्मत तरिकाले जिल्लाबाट पठायो, लिडरहरूलाई भेट्दा पनि होइन, तपाईं नै उठ्नुहोस् भन्ने खालको विचार आयो ।
परिवारबाट के भन्नुभयो ?
एउटा छोरा टिनएजको छ, अर्को सानै छ, मेरो निर्णयमा उनीहरूले केही भन्ने कुरा भएन । परिवारका अन्य सदस्यहरूको पनि साथ छ, कसैले पनि रोकटोक गर्नुभएन ।
सहानुभूतिको भोट पाउने आशामा नेकपाले तपाईंलाई टिकट दिएको भन्ने पनि छ नि ?
मतदातालाई रवीन्द्रजीको अभाव अहिले नै महसुस भैसकेको छ । कसैले कसैप्रति सहानुभूति, सद्भाव राख्न वा श्रद्धा गर्न नपाउने कुरा त भएन नि, आखिर मानिसले मृत्युपछि सहानुभूति त राखिहालिन्छ नि, त्यो पनि अकल्पनीय मृत्यु । मलाई के लाग्दैन भने सहानुभूतिको भोटका लागि मात्र पनि होइन, तर त्यो पनि एउटा सम्बन्ध त होला नि, यहाँका जनतासँग, यहाँका आमा, बा, दिदी, बहिनीको रवीन्द्रजीसँग नजिकको भावनात्मक सम्बन्ध थियो । आफ्नो एउटा प्यारो जनप्रतिनिधिलाई गुमाइसकेपछि आउने सहानुभूतिलाई नकारात्मक रूपमा हेर्नुपर्छ र ? पर्दैन होला नि । मैले यसलाई त्यति ठूलो विषय मानेकी छैन, सहानुभूति पनि सम्बन्धको एउटा पाटो हो— मानिसहरूको सम्बन्ध कतिपय बेला रमाइलोको हिसाबले जोडिएला भने कतिपय अवस्थामा दु:ख–समवेदनाले पनि मानिसलाई जोडेको हुन्छ । त्यसलाई त्यस्तो नकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्दैन, तर त्यही आशले मात्र पार्टीले टिकट दिएको होइन । मैले केही गर्न सक्छु भन्ने भएरै हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र तपाईंलाई जोड्दै श्रीमान्का कारण अवसर पाएका भनेर टीकाटिप्पणी गर्नेहरूलाई के भन्नुहुन्छ ?
एउटा त नाम मिलेको भएर होला, अर्को कुरा मदन भण्डारी त्यो बेलाको पार्टीभित्र मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा एकदमै लोकप्रिय भैसकेको नेता, त्यही खालको दर्जा रवीन्द्र अधिकारीलाई दिनुभएको पनि हुन सक्छ । अर्को कुरा हामी दुवै जनाको पृष्ठभूमि विद्यार्थी आन्दोलन नै हो । हामी दुवै विद्यार्थी आन्दोलनमा क्रियाशील भयौ । पछि पारिवारिक हिसाबले भूमिका बदलियो, त्यो कुराले पनि हुनसक्छ । हामी कहाँ हरेक कुरालाई इस्यु बनाइन्छ, मानिस आफंैमा पनि त फरक होला नि, नाम मिल्यो होला, पृष्ठभूमि मिल्यो होला, कतिपय घटनाक्रम मिल्यो होला, अर्को कुरा दुर्घटना पनि होला, दुवैको दुर्घटनामा मृत्यु भयो, त्यो हुनाले पनि जोडिएको होला । मलाई कस्तो लाग्छ भने यो तुलना गर्ने कुरा होइन । हरेक मानिसको आफ्नै विशिष्टता हुन्छन् र त्यही विशिष्टताका आधारमै मानिस अघि बढ्ने हो । तुलना गर्न पाइँदै–पाइँदैन त म भन्दिनँ, तर यस्ता कुराहरू तुलना गर्ने विषय होइनन्, यसमा मैले अहिले के भन्ने भन्दा पनि भोलि मेरा कामले, व्यवहार परीक्षणले मलाई कसरी चिन्ने भन्ने कुरा हुन्छ ।
अहिले नेकपामा पनि पारिवारिक नाता–गोतालाई अवसर दिइन्छ, सामान्य कार्यकर्ताले अवसर पाउन गाह्रो छ भनिन्छ नि ?
राजनीतिक आन्दोलनमा परिवार त जहिल्यै पनि जोडिएको हुन्छ । हिजो त राजनीति भन्नेबित्तिकै आन्दोलन थियो । आन्दोलनमा कसले सहयोग गर्नुपथ्र्यो भन्दा परिवारले नै सहयोग गर्नुपथ्र्यो, त्यहाँ श्रीमतीले पनि सहयोग गर्नुपथ्र्यो । अझ कम्युनिस्ट विवाहचाहिँ आन्दोलनमै लागेका कार्यकर्ताबीच हुने हो । अहिले म जोडिँदा त यो प्रश्न उठ्यो । हिजोदेखि नै राजनीतिमा लागेको भए कति उठ्थ्यो होला ? यस्ता प्रश्नचाहिँ महिलामाथि नै किन उठाउनुपर्ने ? योगदान बराबरी छ, एउटी म जतिकी महिला राजनीतिमा आउन हुन्थ्यो कि हुँदैनथ्यो ? हामीले त भनिरहेका छौं नि, महिला राजनीतिमा आउनुपर्छ, त्यसमा पनि सुझबुझ राख्ने महिला आउनुपर्छ ।
हामी बौद्धिकता भएका महिलाहरू राजनीतिमा आउनुपर्छ भन्छौं भने आज विद्या भट्टराई रवीन्द्रकी श्रीमती नभएकी भए राजनीतिमा आउन लायक थिई कि थिइन ? त्यसले गर्दा मलाई के लाग्छ भने हामीले यसलाई पारिवारिक विषयभन्दा पनि हरेक व्यक्तिका आफ्ना नागरिक दायित्व छैनन् ? मैले नागरिक भएर बाँच्न पाउने कि नपाउने ? स्वभाविक रूपमा मेरा सम्बन्ध जोडिन सक्छन्, सम्बन्ध जोडिँदाखेरि त्यो सम्बन्धसँग मात्र निर्भर भएर हेर्नु भएन । मेरो स्वतन्त्र अस्तित्वलाई पनि हेर्नुपर्यो ।
यसमा म तीनवटा कुरा देख्छु, एउटा उसको पृष्ठभूमि जोडिएला । कांग्रेसमा कोइराला परिवारभन्दा अरू किन आउन सकेनन् त ? कोइरालाहरूले नेपाली कांग्रेसको आन्दोलन तथा त्यो पार्टीको विकासका लागि निर्वाह गरेको भूमिकाको कदर गरिएको पनि हुनसक्छ । नत्र अरू परिवार पनि आउने थिए । परिवारभित्र पनि नेतृत्व गर्ने बीपी कोइरालाको योगदान, बीपी कोइरालाको नेतृत्व, बीपी कोइरालाले कांग्रेसलाई जुन ढंगले अघि बढाउनुभयो त्यसको कदर पनि होला । त्यस्तै मदन भण्डारीको हकमा पनि त्यही होला । हाम्रो हकमा पनि मेरो पृष्ठभूमि पनि छ । म हिजो राजनीतिक आन्दोलनबाट उहाँसँग जोडिए, विवाह भयो । हाम्रो राजनीतिक आन्दोलनबाट जोडिएको नाता हो, नाता जोडिएर म कार्यकता भएकी होइन कार्यकर्ता भएकाले नाता जोडिएको हो । त्यो नाता जोडिएपछि एउटालाई अघि बढाउन मैले पछाडि बसेर भूमिका खेलें । मैले खेलेको उक्त भूमिकालाई आज जोड्ने कि नजोड्ने ? हामी महिलाले घरभित्र गरेका कामको हिसाबकिताब हुनुपर्छ भन्छांै । महिलाको घरको कामलाई पनि राज्यको जीडीपीमा जोड्नुपर्छ भनेर माग भैरहेको छ । यस क्रममा राजनीतिक कार्यकर्ता निर्माण गर्न परिवारले खेलेको भूमिकालाई बिर्सनु त भएन नि । अझ म त हिजो राजनीतिक कार्यकर्ता नै थिए । यो रवीन्द्रजीको योगदानलाई कदर गर्दै, मेरो पृष्ठभूमि, मैले निर्वाह गरेको भूमिकालाई कदर गर्दै गरिएको सम्मान हो । एकैचोटी आएको कुरा होइन । यसलाई परिवार तथा नाता गोतासँग मात्र जोड्नु उपयुक्त हुँदैन ।
रवीन्द्रजी र तपाईंको विवाह कसरी सम्भव भएको थियो ?
हामी अनेरास्ववियु मार्फत चिनियौ । हामी नजिकचाहिँ २०५० सालदेखि भयौं । नजिक हुने क्रममा साथीहरूले पनि तपाईंहरूको जोडी एकदमै राम्रो हुन्छ भन्ने कुरा गर्थें । हामी एक अर्काप्रति आकर्षित हुँदै गयौं, आकर्षित हुँदै गए पनि घुम्न जाने कुरा हुँदैनथ्यो । हामी एकले अर्काको आदर गथ्र्यौं, सम्मान गथ्र्यौं । त्यसले एकखालको निकटता बढ्दै गयो । त्यो निकटता बढ्दै जाँदा अब विवाह गरे पनि हुन्छ भन्ने भयो अनि हामीले विवाह गर्यौं ।
प्रेमको प्रस्ताव पहिले कसले राख्यो ?
प्रस्ताव नै राख्ने काम त भएन, तर वातावरण बनिसकेको थियो मनोवैज्ञानिक हिसाबले, एक दिन गफ गर्दै गर्दा विवाह गरौं भन्ने हिसाबले त होइन तर रवीन्द्रजीले मैले तपार्इंको बानीदेखि सबै कुरा पहिलेदेखि नै मन पराउँथें भन्नुभयो, मैले पनि मलाई पनि तपाईं मन पर्नुहुन्थ्यो भनें, त्यो एउटा जनरल खालको कुरा भयो, तर हामी एक अर्कालाई रेक्स्पेक्ट गथ्र्यौं ।
थोरै प्रसंग बदलौ, रवीन्द्रजी चढेको हेलिकप्टर दुर्घटना हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?
म कीर्तिपुर अनुसन्धान केन्द्रमा थिएँ ।
कसरी थाहा पाउनुभयो, कसले भन्यो ?
म काममै थिएँ, साथीहरूले फोन गर्न थाल्नुभएछ । पहिले त थाहा भएन फोन आइरहेको रहेछ, पछि फोन साइलेन्समा राखेको भएर हेर्दा धेरै फोन आएको रहेछ । म ती नम्बर हेर्दै थिएँ, त्यही बेला एक जना साथीको फोन आयो उहाँले यस्तो अपुष्ट समाचार आइरहेको छ के हो ? तपाईंलाई थाहा छ, कहाँ जानुभएको थियो भनेर सोध्नु भयो मैले यसरी जानुभएको थियो भने । अपुष्ट समाचार आइरहेको भनेकाले, म पनि बुझ्छु भने । तर त्यसपछि लगातार फोन आउन थाल्यो । यस्तो घटना भयो । तपाईं त्यहाँबाट निस्कनुहोस्, पुल्चोक आउनुहोस् भन्न थाल्नुभयो ।
घटना सुनेपछि के गर्नुभयो ?
सुन्दाखेरी के हो, के हो– एकछिनसम्म होइन होला भन्ने भयो, कतिपय दुर्घटनामा पनि मानिसहरू बचेको, मानवीय क्षति नभएको सुनिन्थ्यो, त्यस्तै भैदिए हुन्थ्यो भन्ने कल्पना गर्दै आएँ, तर त्यो कल्पना गरेको १५ मिनेट जतिमा अबचाहिँ क्वाटर आउनु छिटो हिँड्नु भन्न थालेपछि मेरो शरीरमा कता–कता अप्ठ्यारो, के भैरहेको छ जस्तो भयो । कहिले पनि कुनै पनि कुरामा विचलित भैहाल्ने स्वभाव थिएन मेरो । म अविचलित नै रहे, साथीहरूको फोन आइरहेको थियो, ती फोन उठाएँ पनि । क्वार्टर आइपुग्दा साथीहरू जम्मा भैसक्नुभएको थियो । मलाई ५ बजेसम्म उहाँ हामीबीच हुनुहुन्न भन्ने कुरा साथीहरूले थाहा दिनु भएन । त्यस बीचमा हेलिकप्टर डाइभर्ट भयो भन्ने फोन आएपछि आशा जागेको थियो । ५ बजेपछि दाईले यस्तो–यस्तो भयो, अब उहाँ रहनुभएन भन्ने कुरा गर्नुभयो अनि म विक्षिप्त भएँ ।
उक्त घटनापछि तपाईंको जीवन कसरी गुज्रियो ?
सुरुको केही समय हो कि होइन सपना जस्तो लाग्थ्यो । सबैले रवीन्द्रको हँसिलो अनुहार सम्झिएँ भन्नुहुन्थ्यो, मलाई पनि कतै आइहाल्ने हो कि भन्ने लाग्थ्यो । घरमा बस्दा पनि यहाँबाट झुलुक्क निस्किने हो कि भन्ने खालको कल्पनामै रहें म सुरुको अवस्थामा । हामी परिवारका सबै जना बस्थ्यौं, भाइ–बहिनी आमा, बुबा, छोरा बस्दा उहाँकै कुरा सेयरिङ गरेर त्यो पीडाबाट बाहिरिन खोज्थ्यौं । म विस्तारै बाहिर निस्कन थालें । १५ दिनपछि नै काममा जान थालें । साथीभाइहरू भेट्दा पनि उहाँकै राम्रा कुरा गर्नुहुन्थ्यो, अब तपाईं अघि बढ्नुपर्छ भनेर उत्साहित बनाउँदै लानुभयो । बिर्सन त कहिल्यै सकिँदैन, तर म एउटा पीडामा अड्किएर जो बसिरहेको थिएँ नि, त्यसबाट बिस्तारै निस्कन खोज्दै थिएँ, निस्कन थालें । हामीले प्रतिष्ठान निर्माणको काम सुरु गर्यौं । रुँदै–रुँदै, बोल्दै हिँडें त्यतिबेला । त्यो कमजोरी थिएन, म त्यो पीडाबाट निस्किसकेकी थिइनँ । त्यसपछि मलाई के लाग्यो भने रवीन्द्रजीले धेरै कुरा गर्ने सपना बोक्नुभएको छ, त्यो सपना पूरा गर्न प्रतिष्ठानलाई अघि बढाउनुपर्छ, मैले आफूलाई प्रतिबद्ध बनाउनुपर्छ । उहाँले जहिले पनि के भन्नुहुन्थ्यो भने मानिसको जीवनमा जुनसुकै समस्या सिर्जना हुनसक्छ । ती समस्यासँग जुध्न सक्नेले मात्र आफूलाई अघि बढाउन सक्छ । उहाँको जुन उत्प्रेरणा थियो त्यही उत्प्रेरणाका कारण हाम्रो सिंगो परिवार अघि बढ्न सक्यो । म पनि अघि बढें ।
जनताको बीचमा पुगेर अनुमोदन हुन कत्तिको सहज देख्नुभएको छ ?
यसलाई कसरी लिने भन्ने कुरा हो । हामीले राजनीतिलाई जसरी असहज बनाइरहेका छौं, मानिरहेका छौं, त्यो गलत छ । राजनीति पनि एउटा कर्मक्षेत्र हो । यसका कतिपय मेकानिज्म, सिस्टमहरू बनिसकेका छैनन् र हामीलाई कतिपय कुरा असहज लागिरहेको छ । सिस्टम बनाउँदै जाँदा मेकानिज्म बनाउँदै जादाँ राजनीति स्वार्थ र शक्तिको खेल मात्र होइन भन्ने आमधारणा बन्न सक्छ । राजनीति गर्नै नहुने भन्ने कुरा त भएन नि, त्यहाँभित्र असहजता मात्र छैन नि, म हिजो राजनीति गरेरै आएको मानिस हुँ, मैले यसलाई ठूलो विषय बनाएकी छैन । तर केचाहिँ हो भने अहिले जसरी राजनीतिज्ञहरूलाई हामीले नकारात्मक दृष्टिकोणबाट मात्र प्रस्तुत गरिरहेका छौँ, यिनीहरू मानिस नै होइनन् जसरी विचारहरू व्यक्त गरिरहेका छौँ । उनीहरूका झीना–मसिना कुरामा टीका–टिप्पणी गरिरहेका छौँ भने राजनीति गर्नेहरूले पनि सत्ताकेन्द्रित सोचबाट मात्र हेरिरहेका छौँ । सत्तामा पुग्ने, अर्कालाई डोमिनेसन गर्ने कुरा मात्र राजनीति होइन । राजनीति भनेको साथी हुने हो । म आफुलाई सरल हिसाबले अघि बढाउन सक्छु, स्वार्थ र शक्ति मात्र सबै कुरा होइन । त्यसैले त्यस्तो असहज भएको छैन ।
सँगै चुनाव लड्ने प्रतिस्पर्धीहरूबीच आफूलाई कसरी आँकलन गरिरहनुभएको छ ?
हामीलाई जनताले दिएको पाँच वर्षको जनादेश हो, त्यो जनादेशमाथि टेकेर म अघि बढ्ने हो, अर्को कुरा म निर्वाचनमा उम्मेदवार हुनुभन्दा अघिदेखि तपाईं आउनुपर्छ भन्ने अभिमत ठूलो छ, त्यो जनमत ठूलो छ । मैले जुन विचारको मतदातालाई भेट्दा पनि तपाईं आउनुपथ्र्यो, आउनुभयो हामी खुसी छौँ भन्नुहुन्छ । त्यसैले हामीसँग बलियो जनमत छ । मप्रति मतदाताहरूको सद्भाव, प्रेम अनि सम्मान पनि छ, केही गर्न सक्छे भन्ने आशा र विश्वास पनि छ मप्रति ।
स्व.रवीन्द्र अधिकारीको नाम वाइडबडी तथा एनसेल काण्डमा जोडिएर आयो, स्वयं उहाँ पनि सत्यतथ्य बाहिर ल्याउँछु भन्नुहुन्थ्यो, उहाँमाथि लागेको त्यो आरोपलाई कसरी हेर्नुभएको छ ?
यो खोजबिनको विषय हो । हिजो हामीले खोजेका इभिडेन्सहरू हामीसँग छन् नि, आमजनताले त त्यो इभिडेन्स नै पढेको छ नि, चुनावी मुद्दाका लागि विपक्षीहरूले अनेकथरी भन्न सक्नुहुन्छ तर हामीसँग त्यो इभिडेन्स त छ, अब त्यो इभिडेन्समा टेकेर खोजी सुरु गर्नुपर्यो । भोलिका दिनमा त्यसको खोजी गर्न म आफू पनि लाग्छु । निर्वाचित भएर गैसकेपछाडि, त्यो प्रक्रिया अघि बढोस् भन्ने माग पनि गर्छु । मलाई के लाग्छ भने खोजबिनको प्रक्रिया जारी रहनुपर्यो । सम्बन्धित मानिसको अनुपस्थितिमा अर्थात जुन मानिस यो संसारमा छँदै छैन, उसमाथि आरोप लगाएर अघि बढ्नु गलत हो ।
उहाँमाथि लगाइएका आरोपलाई चिर्न सकिएला त ?
त्यसलाई चिर्न म लाग्नेछु । म के भन्न चाहन्छु भने यो कुरामा रवीन्द्र अधिकारी कुनै हिसाबले पनि दोषी होइन, आरोप लगाइएको मात्र हो, मिथ्या आरोप हो । त्यहाँ केही कमजोरी छ भने त सुरु गर्नुपर्यो नि खोजी गर्न, तर यो संसार नै छाडेर गैसकेको मानिसमाथि आरोप लगाउन पाइन्छ कि पाइँदैन ?
चुनावमा विपक्षीलाई कमजोर मान्नु हुँदैन, तपाई एउटा उर्जा लिएर अघि बढ्न खोज्दै हुनुहुन्छ तर नतिजा
अपेक्षाकृत आउन सकेन भने तपाईंको यात्रा कता जाला ?
जब कोही फस्ट ब्वाइ वा फस्ट गल्र्स छ भने त्यो अर्को पटक फस्र्ट भैहाल्छ, ऊ सेकेन्ड होला भनेर हामी आशंका नै नगरौं । म जनताको जनादेश लिन आएकी छु, त्यो जनादेशलाई म सम्मान गर्छु । म चुनावमा भोलि के होला भन्दा पनि आजसम्म मैले जे देखिरहेकी छु अब्जर गरिरहेकी छु, त्यसका आधारमा भन्न सक्छु— सुनिश्चित छ । यद्यपि तपाईंले भनेजस्तै चुनाव हो नतिजा केही भैहाल्यो भने फेरि मेहनत गर्ने र अर्को पटक फेरी फस्ट हुने प्रयास गर्ने । परिणाम जे भए पनि मेरो राजनीतिक यात्राचाहिँ निरन्तर अघि बढ्छ ।
विद्याजीले जितेपछि कास्की फर्कनु हुन्न भनेर आशंका गर्नेहरू पनि छन् नि ?
फर्कने कुरालाई कसरी लिने भन्ने हो । अहिले बच्चाहरू काठमाडौंमा पढ्दैछन्, बीचमा म काठमाडौं मै बसँे । रवीन्द्रजी पनि त काठमाडौं–पोखरा गरिहनुभएको थियो, म पनि त्यस्तै योजना बनाएर जान्छु, तर अहिले त हामी एक–अर्कालाई आरोपित गरेर प्रतिस्पर्धा गरिरहेका छौं । निराधार आरोपहरू लगाएर, अनुमानका भरमा कुरा गरिरहेका छौं । त्यस्तो नगरौं, भोलि मैले काम गर्ने क्रममा गल्ती कमजोरी गरें भने त मलाई प्रश्न गर्ने हक जसलाई पनि छ । मैले के सोचेकी छु भने म सकेसम्म यहींकै जनतासँग एकाकार भएर अघि बढ्छु, यहींका जनतालाई समय दिन्छु ।