सुगम संगीत पछ्याउँदै मनीषा

- रमेशचन्द्र अधिकारी

मंसिर ३, २०७६

काली तिम्रो नजरैले..., खासै राम्रो नाच्न त जान्दिनँ म..., म त पिरिममा पर्‍या छु...तथा ..एक एक जोडे दुई.. जस्ता दर्जनौं गीतका माध्यमले आफ्नो पहिचान बनाएकी गायिका मनीषा पोखरेल अब फरक रोजाइमा छिन् । स्वरसम्राट् नारायणगोपालको गीत जति पटक सुने पनि नथाक्ने पोखरेल आफू कालजयी गीतको पक्षमा भएको बताउँछिन् । उनले स्वर दिएका दर्जनौं चलचित्रका गीतमध्ये अधिकांश बालकदेखि वृद्धसम्मको ओठमा झुन्डिने गरेका छन्, तैपनि स्वर्णिम गीतले नै नेपाली सांगीतिक क्षेत्रलाई उचाइमा पुर्‍याउने उनको ठहर छ । यति बेला आफ्नै रचना तथा संगीतमा स्वर दिन व्यस्त पोखरेल आगामी दिनमा नारायण गोपाल तथा अरुणा लामाको पदचिन्ह पछ्याउने चाहना राख्छिन् ।

छोटो आयु बोकेका गीतले क्षणिक सन्तोष दिए पनि तिनको दीर्घकालीन उचाइ नहुने मनीषा बताउँछिन् । नेपाली गीतको मौलिकतालाई सुगम संगीत तथा लोकलयले मात्र न्याय गर्ने उनको तर्क छ । चलचित्रका सुगम संगीत पनि दीर्घायु हुने उनको दाबी छ । तानपुरा र हार्माेनियममा दैनिक दुई/अढाई घण्टा रियाज गर्ने पोखरेल शास्त्रीय संगीतमा भिजेर मात्र गीत गाउन सकिने कुरा बताउँछिन् । 

चलचित्र जात्रैजात्रामा समेत स्वर दिएकी मनीषाले व्यवसायिक रूपमा सबै प्रकारका गीत गाउँदै आएकी छिन्, तर उनका अधिकांश गीत चटपटे तथा बोल्ड प्रकारका छन् । आफूले थाहा पाएदेखि नै गीत गाउन थालेको बताउने मनीषा २०५८ सालदेखि औपचारिक रूपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन् । बाल्यकालमा आमा गंगाले गुनगुनाएका गीत तथा भजन अनि बाबु मोहनप्रसादले रेडियो बजाउँदा सुनेको गीतबाट प्रभावित भएको स्मरण गर्छिन् । 

उनले हिम्मतवाली, रावण, हमेसा, रामप्यारी, गरुढ पुराण, यो साइनो मायाको, आकाशगंगा, सौभाग्य, नतिजा, कर्मा, सुनको बिहानी, दमदार, च्याम्पियन आदि चलचित्रमा स्वर दिएकी छिन् । २०६८ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता तथा २०६१ को रेयुकाई आइडलमा पहिलो स्थान हात पारेकी मनीषाले त्यसपछि हालसम्म ११ सयवटा गीत गाइसकेकी छिन् भने भाषागत रूपमा नेपालीका अतिरिक्त भोजपुरी, मैथिली, बंगाली, थारु, हिन्दी आदि भाषाका गीत गाएकी छिन् । 

आफ्ना संगीतका गुरु कुशेश्वर राईको प्रेरणा भुल्न नसक्ने मनीषा संगीत क्षेत्रमा लागेर कहिल्यै पछुतो नलागेको कुरा बताउँछिन् । नेपाली गीत संगीतको भविष्य आशालाग्दो छ, उनले भनिन्— निरन्तता दिन सके सुगम संगीतकै बाटोबाट उचाइ लिन सकिन्छ ।

प्रकाशित :मंसिर ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×