‘राष्ट्रिय झण्डा फहराउने धोको पूरा भयो’

- मुकुन्द बोगटी

मंसिर २०, २०७६

अंग्रेजी बार मण्डे अर्थात् सोमबारको दिन कराँते खेलको पहिलो दिनकै स्पर्धामा नेपाली कराँतेका राष्ट्रिय खेलाडी मण्डेकाजी श्रेष्ठ (३५) ले नेपाललाई १३ औं सागमा पुरुष कातामा पहिलो स्वर्ण पदक दिलाए । उनको सफलताले नेपाली खेलकुदको क्षेत्र तरंगीत भएकै अवस्थामा श्रेष्ठले पुन: अर्को सफलता टिम कातामा पनि दिलाएँ । एउटै सागमा नेपाली खेलाडीले दोहोरो स्वर्णको सफलताको स्वाद पहिलो पटक चखाउने मण्डेकाजी श्रेष्ठसँग मुकुन्द बोगटीले गरेको कुराकानी ।

तपाईंको फ्यामिलीका सदस्यहरू खेलकुदको क्षेत्रमा त छैनन् । तर, तपाईंले नेपाली खेलकुदको क्षेत्रलाई ठूलै सफलता पो दिलाउनुभयो ?

हाम्रो घर मध्यपुर ठिमीको छेउमै कराँते सिकाउने डोजाङ थियो । त्यो डोजाङमा खेलेको कुराहरू म सानोमा लुकीलुकी हेर्ने र त्यस्तै नक्कल गर्ने गर्थे । एक दिन बुबाले मैले आफैं कराँते खेलिरहेको देखेपछि मलाई १० वर्षकै उमेरमा कराँते खेल्न भर्ना गरिदिनुभयो । कराँतेको हरेक बेल्ट टेस्ट गर्दा म पहिलो हुँदै गए । अनि म कुनै दिन नेपालको झन्डा फहराएर देखाउँछु भन्ने भावना आएपछि ममा खेलाडी बन्छु भन्ने भावना आयो । एसएलसी सकेपछि खेलप्रतिको लगाव अझ बढ्दै गयो । 

कराँते त मारपिटको खेल मानिन्छ ? तपाईंको स्वभावचाहिँ कस्तो छ ? 

कराँतेलाई बाहिरबाट हेर्दा मारपिटको खेल मानिए पनि यसभित्र रहेको खेल कलाले मानिसलाई अनुशासित बनाउँछ । म कत्तिको अनुशासित छु भन्ने कुरा अहिले जितेको सफलताले पनि पुष्टि गरेको छ । 

तपाईंलाई कराँतेमा निकै इख भएको खेलाडी मानिन्छ नि ?

कराँते खेलबाटै मैले सानोमै राष्ट्रिय झन्डा फहराउने धोको राखेको थिए । यो धोकोलाई मैले पूरा गर्छु भनेर नेपालमा भएका राष्ट्रिय खेलहरूबाट प्रमाणित गरिसकेको थिएँ । ११ औं साग गेममा म छनोट भएर वैदेशिक प्रशिक्षणमा थिए । मलाई कतिखेर साग होला र पदक जितेर नेपालको झन्डा फहराउला जस्तो भएको थियो । अन्तिम समयमा मैले खेल्ने र अरू साथीहरूले खेल्ने ५ वटा तौल समूहको खेल नहुने भएपछि सागमा स्वर्ण जित्ने मेरो सपना तुहियो । १२ औं सागमा केही होला भन्ने आशा थियो । यो सागमा पनि कराँते नभएपछि म निकै निराश भएको थिए । तर, घरपरिवारले प्रतियोगिता फेरि आउँछ तिमी मेहनत गर्न नछोड भनेपछि १३ औं साग आयो र वर्षौंको सपना पूरा गर्न सकेँ ।

१३ औं सागको पहिलो स्वर्ण पदक जित्दा कस्तो लाग्यो ? 

मभन्दा अगाडि कराँतेको एक बहिनीले रजत जितेपछि मलाई स्वर्ण जित्छु भन्ने आत्मविश्वास बढ्दै आयो । उनीपछि मेरो पालो आयो र मैले जिते । स्वर्ण पदक जिते पनि नेपालको तर्फबाट पहिलो स्वर्ण जितेको भन्ने थाहा थिएन । पछि साथीहरूले भनेपछि थाहा पाए । यसले मलाई थप हौसला मिल्यो र अर्को टिम कातामा पनि जित्छु भन्ने भावना आयो नभन्दै एउटै सागमा दोहोरो स्वर्ण पदक पनि जित्न सफल भएँ । 

निराशबाट गुज्रिएर सफलताको शिखर चुम्दा कस्तो लाग्यो ? 

यो पदक जित्न खेल्ने मैले भए पनि मलाई यो अवस्थासम्म आइपुग्न धेरैले मेहनत गर्नुभएको छ । जस्तो बुबाले सायद मलाई कराँतेमा भर्ना नगरिदिएको भए म खेलाडी बन्ने थिइन । मलाई कराँतेको पहिलो स्टेप ठिमी डोजोमा सिकाउने सजग श्रेष्ठ, सागको तयारीमा मलाई प्रशिक्षण गराउने गंगाराम महर्जन, राष्ट्रिय टिमका प्रशिक्षकहरूको मेहनत, नेपाल प्रहरीको टिम नभएको भए म केही हुने थिइन । मेरो जीवनको सफलतामा उहाँहरूको नाम सम्मानित रूपमा रहनेछ । मेरो खेल करिअरलाई पछिल्लो पटक हौसला दिनेमा मेरी श्रीमती पनि छिन् । हामीबाट जन्मिएकी छोरीको आगमन भएपछि मेरो जीवनको सफलता तीव्र रूपमा अगाडि बढिरहेको कारण मेरी छोरीले मेरो भाग्यलाई अझ बढाएको जस्तो लागिरहेको छ । त्यसैले मैले मेरो सफलताको श्रेय उनीहरूलाई नै दिनेगर्छु । 

के–के योजना बनाउनुभएको छ ? 

मलाई दबाब पर्छ भनेर मेरो खेल हेर्न बुबा आउन सक्नुभएन । श्रीमती र छोरी आएका थिए । टोलका बाल्यकालदेखिका साथीहरू छन् । उनीहरू मेरो सफलताप्रति निकै खुसी छन् । उनीहरूसँग खुसी बाँड्न बाँकी छ । हामी टोले साथीहरू उपत्यकाको विभिन्न ठाउँमा घुम्न जाने खानपिन गर्ने रमाइलो गर्ने गथ्र्यौ । धेरै भयो यो मौका नआएको, अब उनीहरूसँग डाँडाकाँडाका केही ठाउँहरू घुम्न जाने योजनामा छौं ।

नेवारी बस्तीमा हुर्किनुभयो ? खानपिनको निकै सौखिन हुनुहुन्छ होला जस्तो छ नि ? 

मेरो बुबाले हामीलाई हुर्काउन मध्यपुर ठिमीमा होटल सञ्चालन गर्नुभएको थियो । नेवारी खाना पाइने यो होटलकै खानेकुरा खाएपछि स्वाद पनि यसकै बस्ने भइहाल्यो । मलाई राँगोको छोएला अतिनै मन पर्छ, जसको कारण हामी डाँडाकाँडा घुम्न जाँदा हाम्रो प्राथमिकतामा खानेकुराहरू नै पर्ने गर्छन् । 

अहिले पाउनुभएको सफलतालाई अब कहाँसम्म लाने सोचमा हुनुहुन्छ ? 

यो सफलताले मलाई राष्ट्रप्रति अझ केही गर्ने हौसला मिलेको छ । अब जुन प्रतियोगिता आउँछ त्यसका लागि पनि मैले पदक जित्ने किसिमले तयारी गर्नै पर्ने भएको छ । यसका लागि म तयार पनि हुन्छु ।

तपाईंको विवाह एरेन्ज कि लभ ? 

हाम्रो भेट फेसबुकबाट भएको हो ? त्यो भेट लभ हुँदै एरेन्जमा परिणत भयो । उनी पेसाले बैंकर हुन् ।

प्रकाशित :मंसिर २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×