म तेक्वान्दो खेलमा आउने बेला मलाई खेलमा खानपिनले कस्तो फाइदा गर्छ भन्ने कुराको पटक्कै ज्ञान थिएन । यो कुरा अहिले पनि खेलकुदको क्षेत्रमा आउने अधिकांश नयाँ खेलाडीमा लागू हुन्छ । खानेकुराको महत्त्व भनेकै पेट भर्ने खाद्यपदार्थ भन्ने मात्र हुन्थ्यो । खानेकुरामा मलगायत मेरा समकक्षी सबै खेलाडीले खाने भनेको दाल, भात, तरकारी र अचार नै मुख्य हुन्थ्यो । मासु भनेको यसो सातामा एक पटक मात्र हुन्थ्यो ।
मासुको कुरा गर्दा हामी खेलाडी अवस्थामा रहँदा खान धौधौ नै हुन्थ्यो । आफ्नो पकेट खर्चले नभ्याउने भएपछि मासु खान कतिपय अवस्थामा अरूको आशामा पनि बस्नुपथ्र्यो । यसो साथीभाइले माया देखाएर मम खुवाए निकै खुसी पनि हुन्थ्यौं ।
पदक जित्नुभन्दा अगाडि संघर्षका बेला म डेरामा बस्थें । अण्डा र चनाको भरमा रंगशालामा ट्रेनिङ गथ्र्यौं । रंगशालामा नारायण दाइको पसलमा चना, अण्डा, केराउ, सेल आदि पाकेको हुन्थ्यो । आफ्नो खर्च गर्ने क्षमताअनुसार डाइट प्लान बन्ने गथ्र्यो । पैसा हुनेले दुईवटा अण्डा खान्थे भने नहुनेले चना र एउटा अण्डामै चित्त बुझाउनुपथ्र्यो, अनि कोठामा गयो, स्टोभ जलाएर आफैं खाना पकाएर खानुपथ्र्यो । थकाइ कम भएका बेला त दाल, भात, तरकारी पकाएर खान्थें भने ट्रेनिङले धेरै थकाएको बेलामा धेरै कुरा पकाउन मन नलाग्ने हुन्थ्यो, यस्तो बेलामा खिचडी पकाएर खाने गर्थें । हाम्रो ट्रेनिङ बिहान र बेलुका हुने हुनाले मेरो खानपिनको शैली प्राय: यस्तै किसिमको हुन्थ्यो । मासु किन्ने पैसा भएका बेला मासु पनि ल्याएर पकाएर खान्थें । सेना, प्रहरी र सशस्त्रका खेलाडीहरू ब्यारेकमा बस्थे, उनीहरू मेसमा जे पाक्छ त्यही खाएर खेल्थें भने हामीजस्ता काठमाडौंबाहिरबाट आएका खेलाडीहरू जो डेरामा बसेका हुन्थ्यौं, उनीहरू आफैंले पकाएर खानुपथ्र्यो भने यहींका स्थानीयहरू घरकै खाना खान्थे ।
जब हामी प्रतियोगिताको तयारीमा हुन्थ्यौं, हाम्रो खानपिनको परिकारमा भने परिवर्तन आउँथ्यो । हाम्रो पालामा प्रतियोगिता खेल्ने बेलामा राष्ट्रिय खेलकुद परिषद्ले भत्ताको व्यवस्था गरेको हुन्थ्यो । भत्ताको रकम हेरेर खानपिन गथ्र्यौं । कुनै होटलले उक्त भत्ताभित्र जति पनि खान दिन्छ भन्यो भने खेलाडीहरूले खानपिनको खुराक बढाउँथे । जस्तो अण्डा एउटाको ठाउँमा दुई–तीनवटा खाने, जुस बढी पिउने, मासु थपेर खाने, फलफूल दुई–तीनवटा बढी खाने जस्ता काम हुन्थ्यो । यदि बजेट थोरै छ र पुगेन भने खानपिन पनि सोहीअनुसार कम हुने गथ्र्यो ।
हाम्रो पालामा सातामा एकपटकजस्तो मासु खान पाइने अवस्था थियो । घरबाट पठाएको पैसा जोगाएर मासु खानुपर्ने अवस्था थियो । पछि पदक जितेर आफैंले पनि कमाउन सक्ने भएपछि मासु र खानपिनमा भेराइटी हुन थाल्यो । म स्वादका लागि पिज्जा, बर्गर र जंकफुडहरू पनि बेलाबेलामा खाने गर्थे, तर ती खानाले मेरो खेल जीवनमा असर गर्छ भन्ने कुराको मलाई पटक्कै जानकारी थिएन । ती खानाहरू केवल स्वादका लागि मात्र हुने गरेको कुरा अहिले मैले बुझेको छु, जसका कारण हामीले अहिले क्याम्पमा रहेका खेलाडीहरूलाई त्यस्ता किसिमका खानेकुरा नखानै लगाएका छौं । अहिले त उनीहरू हाम्रो निरीक्षणमा रहेका कारण खान पाएका पनि छैनन्, तर खेल सकिएपछि उनीहरू आ–आफ्नो ठाउँमा जान्छन् र उनीहरू के खान्छन् भन्ने कुरा हामीलाई थाहा नै हँुदैन ।
खेलाडीहरूलाई खेलकुदमा कस्तो किसिमको खानपिन हुनुपर्छ भन्ने ज्ञानको कमी नै रहेको छ, तर विदेशतिर खेल प्रशिक्षणलाई जति मेहनत गरिन्छ त्यति नै खेलाडीहरूको खानपिनप्रति सजग हुने चलन छ । १३ औं सागलाई भनेर वैदेशिक प्रशिक्षण गर्ने क्रममा हाम्रो टिम मलेसिया र चीनमा गयो । त्यहाँ प्रशिक्षण जहाँ गयौं, त्यहीको मेसमा हाम्रो लागि खाना बन्थ्यो । उनीहरूले हाम्रो आवश्यकता हेरेर एक साताको खानाको चार्ट नै बनाउँथे र सोहीअनुसार खेलाडीहरूलाई खाना खुवाउँथे ।
यसपटक सागमा खेलाडीहरूको खानपिन तारे होटलमा रहेको छ र वफेट सिस्टम छ, जसका कारण खेलाडीले मनले चाहेअनुसार खान पाएका छन् । उनीहरूले यसपटक पाएको खानेकुराको भेराइटी उनीहरूको खेलअनुसार कत्तिको छ भन्ने विषयमा हाम्रो चासो जान सकेको छैन । खानपिनको सुविधा राम्रो छ भन्नेमै हाम्रो खेलाडीहरू खुसी भइरहेका पनि होलान् ।
खेलकुदमा खानपिनको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरा मैले पछि मात्र बुझेको हुँ । जस्तो हाम्रो जस्तो खेलमा खेलाडीअनुसार दैनिक ४ देखि १० हजार क्यालोरी शक्ति नष्ट भइरहेको हुन्छ । यो अनुसारको खानपिन उनीहरूले खाइरहेका छन् कि छैनन् भनेर निरीक्षण गर्ने निकाय छैन । मेरै कुरा गर्ने हो भने मैले खेल खेल्ने बेलामा मेरो ट्रेनिङ धेरै नै हुन्थ्यो । शरीरले खर्च गरेको शक्तिअनुसारको खानपिन नभएका कारण मैले चोटको सामना गर्नुपर्यो । शरीरले नष्ट गरेको शक्तिअनुसार त्यो बेलामा मेरो डाइट प्लान नै थिएन । यही कारणले मेरो दुवै घुँडाको लिगामेन्ट च्यातिएका कारण अपरेसन गर्नुपर्यो । एउटा घुँडाको त तीन–तीन पटक शल्यक्रिया गर्नुपर्यो । मेरो घुँडाको लिगामेन्ट च्यातिनुको कारण डाइट र न्युट्रिसन नपुगेरै भएको भन्ने कुरा पछि थाहा पाए ।