‘हामी तीन तहको  जुरीबाट गीत छान्छौ’

- नेमिष गौतम

मंसिर २७, २०७६

रेडियो कान्तिपुरले स्थापनाको २१ औं वार्षिकोत्सवको अवसर पारेर आज राजधानीको सोल्टीमोडस्थित होटल सोल्टी ‘नेसनल म्युजिक एवार्ड’ को आयोजना गर्दैछ । एवार्डमा १५ विधा र एक लाइफटाइम एचिभमेन्ट छ भने उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पुरस्कृत गरिनेछ । एवार्डका सम्बन्धमा रेडियोका स्टेसन म्यानेजर दिनेश डिसीसँग साप्ताहिकका लागि नेमिष गौतमले गरेको कुराकानी :–

एवार्डको तयारी कस्तो छ ?

यसपटकको एवार्डको तयारी राम्रो छ । पोहोरकै जस्तो कार्यक्रमलाई केही फरक शैलीमा गर्ने भएकाले तयारी पहिलेदेखि नै थियो । त्यसकारण ठूलो प्रेसर भएन ।

गीतको छनोट कसरी गरियो ?

यो नेसनल म्युजिक एवार्ड हो । त्यसकारण अन्य एवार्डको जस्तो यो एवार्डमा गीत दर्ता गर्नु पर्दैन । विश्वका जुनसुकै कुनाबाट आएका नेपाली भाषाका गीतलाई एवार्डको प्रतिस्पर्धामा सहभागी गराएका छौं । हामीले ०७५/७६ का गीतअन्तर्गत अघिल्लो असारदेखि गत साउन मसान्तसम्म आएका गीतलाई यो एवार्डमा स्थान दिएका छौं । त्यो गीत रेडियोमा बजेको वा नबजेको पनि हुनसक्छ वा अन्य माध्यमबाट पनि आएको हुनसक्छ । त्यस्ता गीतलाई नेसनल म्युजिक एवार्डमा समावेश गरेका छौं ।

गीतको मनोनयन प्रक्रिया कस्तो छ ?

हामीले तीन तहको जुरीबाट गीत छानेका छौं । पहिलो तहका जुरी श्रोता हुन् । उनीहरूले आफूलाई मन परेका ५० गीत छनोट गरेका छन् । दोस्रो तहका जुरी रेडियोका आरजे हुन् । उनीहरूले श्रोताले छानेका उत्कृष्ट ५० गीतमध्ये २० वटा गीत छानेका छन् । तेस्रो तहको जुरीमा संगीतकार सुरेश अधिकारी, गायिका कुन्ती मोक्तान र गीतकार चूडामणि देवकोटा हुनुुहुन्छ । उहाँहरूले ती २० गीतमध्ये उत्कृष्ट ५ गीत छनोट गर्नुभएको छ । अन्त्यमा ती उत्कृष्ट पाँच गीतमध्ये एउटा उत्कृष्ट गीतको छनोटचाहिँ शीर्ष जुरीले गर्नुभएको छ ।

सांगीतिक एवार्डको बढ्दो संख्याले एवार्डको विश्वसनीयतामा नै प्रश्न उठ्ने गरेको छ । एवार्डलाई विश्वसनीय बनाउन के गरिरहनुभएको छ ?

जहाँसम्म एवार्डको विश्वसनीयताको कुरा छ, त्यसमा कान्तिपुर आफंैमा एउटा ब्रान्ड बनिसकेको छ । दोस्रो भनेको हामीसँग चार तहका जुरी छन् । उहाँहरूबाट कहीँ–कतै पनि दायाँ–बायाँ हुँदैन । हाम्रो जुरीमा नेपाली सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू पनि हुनुभएकाले फलानालाई एवार्ड दिनुपर्‍यो भन्न पनि सकिन्न । अहिले एवार्डको संख्या धेरै छ, तर दुई–तीन वर्षपछि ती एवार्डको संख्या क्रमश: घट्दै जान्छ । जसले गर्दा एवार्डको विश्वसनीयतामा प्रश्न उठ्ने अवस्था आउनेछैन । 

एवार्डको संख्या बढिरहँदा तपाईंहरूलाई गाह्रो परेको छैन ?

हामीलाई गाह्रो पर्दैन । किनभने धेरै एवार्ड भए पनि त्यसमा राम्रो एवार्ड कुन हो भन्ने हुन्छ । दुई जना मात्र दौडिएर प्रथम हुनुभन्दा सय जनासँग दौडिएर पहिलो हुनु राम्रो हो । एवार्डको संख्या बढे पनि राम्रो र परिष्कृत किसिमले एवार्ड गर्न प्रोत्साहन दिन्छ ।

स्रष्टाको चासो कम हुँदै गएको हो ?

कुरा त्यसो होइन । किनभने प्रमुख एवार्डमा स्रष्टाको चासो कहिल्यै कम हुँदैन । उनीहरूमा प्रमुख एवार्डमा सहभागी हुन पाऊँ, हामीलाई पनि निमन्त्रणा आओस् भन्ने हुन्छ । 

आजकल एवार्डमा दर्शक उपस्थिति कम देखिन्छ । यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

हाम्रो सवालमा दर्शकले माया गरिदिनुभएको छ । हामीले कार्यक्रममा उपस्थित हुनका लागि निमन्त्रणा पत्र पठाएका हुन्छौं । हाम्रो सिट सीमित छ । कार्यक्रममा आउन नपाउने स्रष्टाहरूले आफूहरूलाई आउने मन भए पनि समय अभावका कारण आउन नसक्ने जानकारी दिनुहुन्छ, तर धेरै स्रष्टा आउन पाए हुन्थ्यो भन्ने चाहना राख्नुहुन्छ । कतिपय स्रष्टाले त कार्यक्रममा सहभागी हुन टिकट नै काट्छु पनि भन्नुहुन्छ ।

स्रष्टाहरूले आफूअनुकूल समयमा एवार्ड हुन सकेन भन्ने गुनासो गरिरहेका छन् नि ?

हामी यो एवार्ड रेडियो कान्तिपुरको वार्षिकोत्सवको अवसर पारेर गर्छौं । यसपटकको वार्षिकोत्सव असोज २८ मा थियो । यसपटक मध्यदसैंको समय भएकाले दसैं र तिहार सकिएपछि एवार्ड गर्ने भनेर तयारी गर्‍यौं । स्रष्टाहरूको कुरालाई हामी मनन गर्छौं, तर एवार्ड गर्दा कहिले को स्रष्टा त कहिले को स्रष्टा छुटिरहेका हुन्छन् । उहाँहरूले पनि आफ्नो व्यावसायिक पाटोलाई ध्यान दिनुपर्ने हुन्छ । संगीतको ग्लोबल मार्केट भएकाले पनि स्रष्टा सहभागी हुन सक्नुभएन भन्नेमा गुनासो छैन ।

नेपाली एवार्डको चुनौती के हो ?

नढाँटी भन्नुपर्दा स्रष्टामा कुण्ठा छ । जस्तो म चलचित्र निर्देशक हो भने ममा मैले जस्तो राम्रो चलचित्र कसैले पनि बनाउन सक्दैन भन्ने घमन्ड हुन्छ । मेरो सोच मैले नै एवार्ड पाउनुपर्छ भन्ने हुन्छ । एवार्डको उत्कृष्ट ५ को मनोनयनमा परेपछि एउटाले एवार्ड पाइहाल्छ, अरू किन जाने भन्ने तुस रहन्छ । हलिउड र बलिउडको एवार्ड समारोहमा उत्कृष्ट पाँचको मनोनयनमा परेका सबै कलाकार पुग्छन्, जसले एवार्ड पाए पनि उनीहरूको एवार्ड विजेताप्रति सम्मान नै हुन्छ । तर, नेपालमा त्यस्तो वातावरण छैन् । 

पुराना स्रष्टाहरू एवार्डलाई विज्ञापन गर्ने थलो भन्छन् नि ?

पहिलो कुरा विज्ञापन नगरी भव्य कार्यक्रम गर्न सकिँदैन । प्रत्येक विधाको मनोनयनको विज्ञापन त गर्नुपर्‍यो नै । बजेटका आधारमा विज्ञापन कति गर्ने भन्ने कुरामा भर पर्छ । टेलिभिजनमा नोमिनेसनको मात्र विज्ञापन बज्दैन, अन्य विज्ञापन पनि बजिरहेका हुन्छन् । अन्य विज्ञापन बज्दा रिसाउने अनि आफ्नो विज्ञापन बज्दा खुसी हुने बानी स्रष्टामा छ । 

प्रकाशित :मंसिर २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×