साप्ताहिक संवाददाता
हलिउडका संगीत समीक्षकले अमेरिकन गायिका तथा गीतकार लाना डेल रेको पाँचौं एल्बम ‘नोरम्यान रकवेल’ लाई सन् २०१९ कै उत्कृष्ट रेकर्डेड एल्बमको उपमा दिए । अस्ताएको अमेरिकी ड्रिमको सम्झनामा गाइएको यो निकै मर्मस्पर्शी र जटिल सफ्ट रक फ्लेभरका एल्बमका गीत आम श्रोता तथा दर्शकमाझ हिट साबित भयो । त्यसैले अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले वर्षभरिका उत्कृष्ट गीत र एल्बमको कम्पाइल पोलमा यो एल्बम शीर्ष स्थानमा पर्यो ।
‘एल्बम अफ द इयर बनाएकोमा बीबीसीलाई धेरै धेरै धन्यवाद’, गायिका लानाले भनिन्, ‘यो एल्बम बनाउनु मेरा लागि विशेष थियो र उत्तिकै रोमाञ्चक पनि । मैले हरेक मिनेटमा एल्बमको गीत रेकर्ड गर्दा रमाइलोपनको अनुभव गरें । मेरा साथी र समीक्षकबाट पाएको सुखद् प्रतिक्रियाले म प्रफुल्लित छु ।’
उनले गीतमा प्रयोग गरिएका प्रत्येक शब्द र लय आफ्नो ह्दयबाट नसोचिएको किसिमले आएको उल्लख गरेकी छन् । गायिकाले नोरमेन र ज्याकप्रति एल्बम निकाल्न भरपुर सहयोग गरेकोमा आभार व्यक्त गरेकी छन् ।
बीबीसीले वर्षको अन्त्यसम्म अर्थात् डिसेम्बर ३१ सम्म विश्वका प्रतिष्ठित संगीत पत्रिका, ब्लग्स्, दैनिक पत्रिका र प्रसारणका माध्यममा आएका संगीतका उत्कृष्ट सूचीलाई कम्पाइल गरेर प्रकासन गरेको थियो । उसले एनएमइ, रोलिङ स्टोन, बीबीसी ६ म्युजिक र फ्रान्सेस लेस इनरोकुटिबल्सजस्ता पत्रिकालाई स्रोत बनाएको थियो । बीबीसीले यी प्रकाशन तथा प्रसारण संस्थामा आएका चर्चित गीतको सूची बनाई सूचीमा पहिलो स्थान पाउने गीतलाई २०, दोस्रोलाई १९ गर्दै अंक प्रदान गरेको थियो । सूचीमा समावेश उत्कृष्ट १० एलबममध्ये आठ एल्बम महिला स्रष्टाको थियो ।
जसअनुसार सूचीको पहिलो स्थानमा लाना डेल रेको ‘नोरमेन रकवेल’, दोस्रोमा बिली इलिसको ‘ह्वेन वी अल फल एस्लिप’, तेस्रोमा टेलर, द क्रिएटरको ‘इगोर’, चौथोमा निक केभ र द ब्याड सिड्सको ‘घोस्टीन’, पाँचौंमा एफकेए ट्विग्सको ‘मेगडेल्ने’, छैटौंमा वेयेस ब्लडको ‘टाइटानिक राइजिङ’, सातौंमा एन्जल ओल्सेनको ‘अल मिरर्स’, आठौंमा एरियाना ग्रान्डेको ‘थ्याङ्क यु, नेक्स्ट’, नवौंमा लिजोको ‘कज आइ लभ यू’ र दसौंमा ब्रिटानी होवार्डको ‘जैमी’ छन् ।
त्यस्तै बीबीसीले वर्षका उत्कृष्ट १० गीत पनि सार्वजनिक गरेको छ । जसअनुसार पहिलो स्थानमा बिली इलिसको ‘ब्याड गाइ’, दोस्रोमा लिल नास एक्सको ‘ओल्ड टाउन रोड’, तेस्रोमा एफकेए ट्वीग्सको ‘सेलोफोन’, चौथोमा रोसालिआ एन्ड जे बाल्भिनको ‘कोन अल्टुरा’, पाँचौंमा लिजोको ‘जुस’, छैटौंमा स्यारोन भान इटेनको ‘सेभेन्टिन’, सातौंमा लाना डेल रेको ‘द ग्रेटेस्ट’, आठौंमा चार्ली एक्ससीएक्सको ‘गोन’, नवौंमा भेम्पाएर विकेन्डको ‘हार्मोनी हल’ र दसौंमा क्लाइरोको ‘ब्याग्स’ छन् ।