साप्ताहिक संवाददाता
करुणा कुँवर मनोविद् हुन् । कुँवरसँग विवाह सम्बन्ध, यसका भावनात्मक पक्ष, लामो समय टिकाउने उपायलगायत विषयमा केन्द्रित रहेर साप्ताहिकले गरेको कुराकानी :
वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ ?
नेपालमा मागी विवाह अहिले पनि धेरै छ । लभ म्यारिज आधुनिक समयमा देखिन थालेको हो । लिभिङ टुगेदर रिलेसनहरू बढ्दै गएका देखिन्छन् । वैवाहिक सम्बन्ध कसरी सुरु भएको छ भन्नेले पनि लामो वैवाहिक सम्बन्धमा भूमिका खेल्छ । कसले पहल लिएको छ, प्रतिबद्धता के छजस्ता विषयले पनि वैवाहिक सम्बन्धमा भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले वैवाहिक सम्बन्ध कुन धरातलमा स्थापित भयो भन्ने कुराले महत्त्व राख्छ ।
अहिले पनि किशोरावस्थामै विवाह हुन्छ । महिला र पुरुषबीच मात्रै प्रतिबद्धता भएर विवाह भएको छ भने त्यहाँ दुई जनाको मात्रै सम्बन्ध हुन्छ । कतिपय विवाह परिवारकै सहमतिमा हुन्छ । त्यसमा एउटा महिलाले श्रीमान्को मात्रै ख्याल राखेर हुँदैन, सासू–ससुरालगायतलाई पनि हेर्नुपर्छ । बुहारीसँग परिवारका धेरै अपेक्षा हुन्छन् । त्यसले महिलामा मैले आफ्ना लागि विवाह गरेको कि परिवारका लागि भन्ने सोचमा पुर्याइदिन्छ । सांस्कृतिक संरचनाका कारण महिला पुरुषको श्रीमतीसँगै परिवारको बुहारी पनि हो । ऊ आमाबुवाका लागि पनि हो भन्ने धारणा बन्ने गर्छ । विवाह सम्बन्ध कस्तो हुन्छ भन्नेमा यो संरचनाले पनि भूमिका खेल्छ ।
वैवाहिक जीवनमा एक–अर्कालाई बुझ्ने कुराको भूमिका कत्तिको हुन्छ ?
विवाहबारे पार्टनरहरूले सबैभन्दा पहिले बुझ्नुपर्छ । पार्टनर केका लागि चाहियो ? त्यसका लागि म किन कमिटेड भएँ ? मैले किन विवाह गरेँ ? यी प्रश्नबाट विवाह बुझ्न जरुरी हुन्छ । विवाहमा एकअर्काको दायराबारेको बुझाइ सबैभन्दा महत्त्वपूर्ण छ । दायरा कति हो, ठाउँ कति हो ? दुवै जना कुन दायरासम्म जान सक्छौं भन्नेमा स्पष्ट निक्र्योल गर्नुपर्छ । अहिले त इमेल, फेसबुकका पासवर्ड एकअर्काले राख्नुपर्नेजस्तो प्रचलन छ । यो दायरा र नियन्त्रणले द्वन्द्व सिर्जना गर्छ । दुई जनाविपरीत पार्टनरमा विवाहपछि मैले सोचेजस्तै उसले गर्नुपर्छ भन्ने बुझाइ एकअर्कामा आयो भने विवाह समस्यामा पर्छ । व्यक्तिगत दायरालाई कदर गर्ने हो भने एकअर्काप्रति सम्मानजनक सम्बन्ध विकास हुन्छ । त्यो दायराले एकअर्कासँग बफादारिता निर्वाह गर्न सक्ने हुन्छ । व्यक्तिगत दायरालाई बुझाइराख्नुपर्छ । दुवै जना फरक–फरक परिवेशमा हुर्केका हौं भन्ने बुझाइले प्रतिबद्धताको विकास गराउँछ । त्यसपछि अरू समझदारीका कुराहरू आउने हुन्छ ।
सम्बन्धमा एक–अर्कालाई बुझ्ने कुराले कत्तिको महत्व राख्छ ?
बच्चा जन्माउने, सेटलमेन्टलगायतका भौतिक आवश्यकतालाई पनि मिलाएर लैजान सक्नुपर्छ । व्यक्तिगत जीवनको आत्मीयता, यौन जीवन सबै कुराले विवाहमा भूमिका खेल्छ । बेडरुमभित्र पनि दायरा र सम्मानको खाँचो हुन्छ । सम्मान भएपछि दुवैजनाले सबै कुरा सहजै लैजान सक्छन् । यस्ता विषयमा दुवै जनाले खोज्नुपर्ने, पढ्नुपर्ने, अन्तक्र्रिया पनि एकदमै महत्त्वपूर्ण हुन्छ । केही दिनअघि एकजनाले मलाई प्रश्न गर्नुभएको थियो– महिलाले आफ्नो योनीलाई कति घृणा गर्छन्? मैले विभिन्न केसका आधारमा अध्ययन गर्दा पुरुषको बुझाइबाट महिलाले र महिलाको बुझाइबाट पुरुषले बुझ्ने कोणको निर्माण गर्नुपर्दोरहेछ ।
एक आधुनिक नवविवाहिता जोडी आएका थिए । उनीहरू दुवैलाई नयाँ ठाउँमा घुम्न जान मन लाग्दोरहेछ । तर, बुवाआमाले के सोच्लान्, एक्लै कसरी छोडेर जाने भन्नेले केटामा दबाब हुँदोरहेछ । श्रीमतीले चाहिँ जानै नहुने के छर भन्ने भाव आउँदो रहेछ । बुवाआमाबाट केटाले दबाब फिल गरेको देखिन्छ । विवाहमा घरपरिवारदेखिका धेरै कुराको तादात्म्यता मिलाउनुपर्ने हुन्छ ।
भावनात्मक बन्डिङ कसरी बनाउन सकिन्छ ?
कुन उमेर समूहमा विवाह भएको छ । विवाहमा रहेको उमेर अन्तरले पनि भावनात्मक पक्षलाई असर गरिरहेको हुन्छ । पुरुष दुई–तीन वर्ष सिनियर छ र महिला जुनियर छ भने भावनात्मक बुझाइमा सन्तुलन आउन सहज हुन्छ । परिपक्वताका हिसाबले भावनात्मक रूपमा पुरुषहरू महिलाभन्दा दुई वर्ष युवा हुन्छन् । २०–२० वर्षका छन् भने पुरुषको भावनात्मक र मानसिक उमेर १८ वर्षको जतिको हुन्छ, महिलाको २० वर्षकै हुन्छ । धेरै उमेर अन्तर भएका जोडीहरूले उमेरअनुसार नै हाम्रो भावनात्मक अन्तर पनि छ भन्ने कुरा बुझ्नुपर्छ ।
एउटा २४ वर्षको महिला र ३१ वर्षको पुरुषबीच विवाह भएको छ भने महिलाले ३१ वर्षको पुरुष कस्तो हुन्छ भन्ने फिल गर्ने, बुझ्ने गर्ने । पुरुषले २४ वर्षको महिला कस्तो हुन्छ भनेर फिल गर्ने । दुवैले आफ्नो उमेरअनुसार नै फिल गरे भने त्यहाँ मिस अन्डरस्ट्यान्डिङ सुरु हुन्छ । त्यहाँ दुइटैले फरक उमेरलाई सम्मान र चाहनामा रहेको फरकपनलाई अँगाल्नुपर्छ ।
भावनात्मक कुराबाट गुज्रने बेला आएछ भने अर्थात् रुवाइ, रिस आदि हरेक व्यक्तिको जीवनमा हुन सक्ने कुराहरू हुन् । तर, त्यस्तो बेला एकअर्कालाई समय दिनु एकदमै महत्त्वपूर्ण हुन्छ । त्यो एउटा समयमा आउँछ, जान्छ । त्यही विवाद गर्ने र प्रेसर गर्ने कुरा आउँदैन । एउटा पार्टनरलाई गाह्रो हुँदा अर्कोले दबाब सिर्जना गर्नु हुँदैन । हाम्रो सांस्कृतिक संरचनाअनुसार महिलाले विवाह गरेर पुरुषको घर जानुपर्छ, त्यहाँ जाँदा उनले सम्झौताका लागि गर्नुपर्ने संघर्षमा पुरुषले त्यहाँ सघाउनुपर्छ । केही समयमै महिलाले सम्झौता गरेर जान सक्छन् । सुरुमै निर्णय गर्न थाल्यो भने समस्या हुन्छ । अहिले पनि पुरुषमा‘मैले ल्याएको’ र महिलामा ‘म आएको’ भन्ने परम्परागत अनुभव हुन्छ । त्यसमा महिलालाई व्यवस्थित हुनका लागि समय दिनुपर्छ । सुरुमै दबाब सिर्जना गर्यो भने विवाद चर्किन्छ । सुरुमा माइती जाने, साथीहरू भेट्न खोज्ने हुन सक्छ, त्यसलाई पुरुषले अन्यथा लिनु हुँदैन । यो एकदमै महत्त्वपूर्ण विषय हो ।
स्मार्टफोन र सामाजिक सञ्जालले दाम्पत्य जीवन र भावनालाई कत्तिको प्रभाव पारिरहेका छन् ?
पछिल्लो समय सोसल मिडिया र ग्याजेटहरूको भूमिकाले पनि सबै सम्बन्धलाई असर गरिरहेको छ । वैवाहिक सम्बन्धमा पनि त्यसको असर छ । बेडमा बसिरहेका श्रीमान्–श्रीमतीको बीचमा ग्याजेट बसिररहेको हुन्छ, त्यो बीचमा बसेको ग्याजेटले सम्बन्धमा ठूलो अवरोध खडा गरेजस्तो हुन्छ । श्रीमान्–श्रीमतीले एकअर्काको अनुहार हेरेर सुत्दैनन्, अनुहार हेर्छन् ग्याजेटको । त्यसमा पनि फेसबुक धेरैजनाको साझा चौतारी हो । कतिसम्म भने श्रीमान्–श्रीमतीको वर्थ डे विस, एनभर्सरी विसनै फेसबुकमा हुने गर्छ । बिहान सँगै उठ्दा विस गरेर उठ्दा पनि हुन्छ । फेसबुकमा विस गरिदियो भने धेरै जनाले माया गरेको थाहा पाउँछन् भन्ने बुझाइ भइसकेको छ । यसले सम्बन्धलाई एकदमै कृत्रिम बनाइदिएको छ ।
जसको वैवाहिक जीवन धरापमा परेको छ, उसको सामान्य सम्बन्ध भएको मानिसको तुलनामा फेसबुकमा धेरै फोटाहरू पनि देखिन्छन् । अस्ति एकजनाले पुरुषले भन्नुहुन्थ्यो– ‘मेरो श्रीमतीलाई म कहाँ गए, के गरे भन्ने मतलब हुँदैन, तर बिहान उठ्नेबितिकै मोबाइल लिएर बाथरुम पस्नुपर्छ । बाथरुममा इन्टरनेट पाइएन भने ऊ बाथरुमबाटै के भयो भन्दै कराउँछ ।’ इन्टरनेट भएन भने उनलाई पीडा सुरु हुँदोरहेछ । अहिले गाउँदेखि सहरसम्म मोबाइल हाम्रो जीवनशैलीमा एकदमै हावी भएको छ । वैदेशिक रोजगारीले सबैको हात–हातमा स्मार्ट मोबाइल पुर्याएको छ । जीवन्त संवादहरू मर्दै गएपछि असाध्यै धेरै समस्या सिर्जना हुँदै गएका छन् । कतिसम्म भने श्रीमतीको साथीले फोटोमा गरेको कमेन्टले पनि वैवाहिक सम्बन्ध बिथोलेको केस मकहाँ आएको थियो ।