बेली डान्सर जेसिका

-  रूपा गहतराज

पुस २९, २०७६

सानैमा आमा गुमाएकी जेसिकाले त्यसको एक वर्षमा बुवा पनि गुमाइन् । आमाबुवा दुवै गुमाउँदा निकै एक्लो महसुस गरिन् । आफ्ना भावना कसलाई कहाँ पोखूँ भन्ने प्रश्नसँग आफैं लडिरहिन् । जब उनी नाच्नका लागि स्टेजमा पुग्न थालिन, उनको भेट आफूजस्तै परिना चौधरीसँग भयो ।

अहिले उनको परिचय बेली डान्सरको रुपमा पनि थपिएको छ । उनी महिला र पुरुष दुवैको आवाजमा गीत गाउँछिन् । यो उनको फरक क्षमता हो । साथै, जेसिकाले व्यवस्थापनमा उच्च शिक्षा पनि हासिल गरिन् । आफूलाई गिज्याउने साथीहरूलाई उनको यो सफलता मौन जवाफ थियो । 

बैजनाथ गाउँपालिका–६, लालपुरमा जेसिका छोरा भएर जन्मिइन् । घरको कान्छो सदस्य । घरमा सबैले खुसीयाली मनाए । एउटा दाइ अनि दिदीपछि जेसिका जन्मिएकी थिइन् । आमाबाबुले बडो खुसीले नाम राखे— जीवन खड्का । बढ्दै जाँदा हाउभाउ छोरीजस्तै हुन थाल्यो । न उनले आफ्नो स्वभावबारे चाल पाइन्, न परिवारले नै उनको स्वभावबारे कुनै केरकार गर्‍यो । बालापनमा चुलबुले स्वभावमा उनले धेरै पटक आफ्नी दिदीको फ्रक चोर्दै लगाइन् । त्यही पहिरनमा स्कुलसम्म पुगिन् ।

जब उनी १५ वर्षकी भइन्, आफ्नै शरीर उनलाई मन पर्न थालेन । हिँड्दा शरीर त्यसै लचिलो हुन थाल्यो । बोल्दा केटीकोजस्तो स्वर आउन थाल्यो । त्यसपछि उनले शरीरमा उम्रिएका रौं उप्काएर फाल्न थालिन् । 

सुरुमा जेसिका आफैंमा भएको परिवर्तनबारे बेखबर थिइन् । बुझ्दै जाँदा उनले आफूलाई महिलाको स्वरूपमा ढाल्न थालिन् । 

सानैदेखि नाच्न अनि गाउन भनेपछि हुरुक्कै हुने जेसिका स्कुल हुँदै महोत्सव तथा गाउँमा हुने सार्वजनिक कार्यक्रममा नाच्न थालिन् । उनी नाच्दा सबै हाँस्थे, तर उनलाई भने महिलाको पहिरनमा सजिएर नाच्दा ठूलै सन्तुष्टि मिल्थ्यो । ‘जोसुकैले जे भने पनि त्यसरी नाच्दा बडो आनन्द आउँथ्यो,’ जेसिका भन्छिन्, ‘बल्ल आफ्नै शरीरसँग छु जस्तै लाग्थ्यो ।’ 

यसरी उनमा आएको परिवर्तन दाजुले थाहा पाए । जेसिकालाई नराम्रोसँग कुटे । घरबाट निस्कन दिएनन् । उनी त्यसै उकुसमुकुस भइन् । ‘कहाँ जाऊँ, के गरौं–गरौं जस्तो लाग्यो,’ जेसिकाले भनिन्, ‘आफ्नो शरीर देखेर घृणा हुन थाल्यो ।’

सानैमा आमा गुमाएकी जेसिकाले त्यसको एक वर्षमा बुवा पनि गुमाएकी थिइन् । आफ्ना भावना कसलाई कहाँ पोखूँ भन्ने प्रश्नसँग आफैं लडिरहिन्थिन् । म किन अरुभन्दा फरक भएँ भन्ने प्रश्नले उनलाई सताइरह्यो ।

जब उनी नाच्नका लागि स्टेजमा पुग्न थालिन, उनको भेट आफूजस्तै पहिचान भएकी परिना चौधरीसँग भयो । तब उनको जीवनले नयाँ मोड लियो । उनले आफ्नो वास्तविक परिचय थाहा पाइन् । 

सुरु भयो अर्काे विद्रोह । उनी जेसिका बनेर कलेज पढ्न जान थालिन् । कलेजमा सबैले जिस्क्याउन थाले । बोल्न पनि अप्ठ्यारो मान्थे । तर जेसिकाले हिम्मत हारिनन् । नेपाल आर्मीका क्याप्टेन दाजु अनि भाउजूलाई बुझाउँदै लगिन् । बिस्तारै परिवारले बुझ्दै गयो । परिवारको साथपछि उनी खुलेर जेसिका खड्काको नामले चिनिन् थालिन् । 

२१ वर्षीया जेसिकाले १९ वर्षको उमेरदेखि आफ्नो वास्तविक पहिचानअनुरूप जीवन बाँच्न थालिन् । समाज अनि आफन्तको अपहेलित व्यवहारलाई बेवास्ता गर्दै गइन् । आफ्नो लक्ष्य अनि चाहनालाई मूर्तरूप दिन कडा मेहनत गर्न थालिन्, नृत्य अनि गायनको अभ्यासमा अभ्यस्त हुन थालिन् । ‘परिवारको साथ भयो भने समाजले के भन्छ भन्ने कुराले त्यति अर्थ राख्दैन,’ उनले भनिन्, ‘मप्रति परिवारको विश्वास नै मेरो आत्मविश्वास थियो ।’ अहिले उनको परिचय बेली डान्सरको रुपमा पनि थपिएको छ । उनी महिला र पुरुष दुवैको आवाजमा गीत गाउँछिन् । यो उनको फरक क्षमता हो । साथै, जेसिकाले व्यवस्थापनमा उच्च शिक्षा पनि हासिल गरिन् । आफूलाई गिज्याउने साथीहरूलाई उनको यो सफलता मौन जवाफ थियो ।

मानवशास्त्र विषयमा स्नातक गरिरहेकी जेसिकाले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका विषयमा आवाज पनि उठाउँदै आएकी छन् । ‘जीवन भनेकै चुनौती रहेछ,’ उनी भन्छिन्, ‘यही सोचेर वेस्टर्न स्टार नेपालको कार्यक्रम सहजकर्ता भएर काम गर्न थालें ।’ यस क्रममा लान्छना, हेपाइ सहनुपर्‍यो । धेरैले महिला–पुरुषले गर्न नसकेका काम यिनले के गर्लिन् भने । उनी बोल्नेको मुख थुन्न नसकिने बुझेर अघि बढिरहिन् । 

विभिन्न उपनाम, हन्डर, अपहेलना र तिरस्कारले आफूजस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका विषयमा आवाज उठाउन सघाएको उनले बताइन् ।

अहिले उनी स्कुलहरूमा यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको अधिकार सुरक्षित गर्ने, उनीहरूमा आएको परिवर्तनको व्यवस्थापनमा सघाउने तथा बालमनोविज्ञान बुझेर उनीहरूलाई समाजमा स्थापित गराउने अभियानमा लागेकी छन् । यसमा उनलाई दाजु–भाउजूले पनि साथ दिएका छन् । 

अहिले उनी परिवारसँगै कोहलपुरमा बस्छिन् । आफ्नो पहिचानका लागि आफैंले गरेको विद्रोहले समाजलाई पहिचान स्वीकार्न कर लागेको उनले सुनाइन् । ‘त्यही समाज हो, तिनै आफन्त हुन्, जसले अनेको लाञ्छना लगाए । मरेतुल्य बनाए । त्यो समय र अहिलेको समय देख्दा अचम्म लाग्छ,’ उनले भनिन्, ‘आफ्नो लागि आफैं लड्नुपर्छ, पहिचान सम्भव छ ।’ 

त्यस्ता व्यक्तिको बीचमा स्थापित भएर अहिले अधिकारकर्मीको भूमिका खेल्न सकेकोमा उनी खुसी छिन् । अझै समाजले अगाडि राम्रो भने पनि पछाडि कुरा काट्ने प्रवृत्ति कायमै रहेको तितो अनुभव उनले सुनाइन् । यस्तै कारण खुल्न चाहेर नसकेका धेरै भएको उनको बुझाइ छ । उनी आफूलाई महिला भन्दा पनि तेस्रोलिङ्गी महिला भन्न रुचाउँछिन् । 

‘विभिन्न ठाउँमा आफ्नो प्रतिभा देखाउन पाएको छु, निकै खुसी छु,’ उनी भन्छिन् ‘पहिले दु:ख सहेर बसें । अहिले आएर सपना पूरा हुन थालेको छ । मजस्ता पछाडि पारिएका यौनिक तथा लैंगिक अल्पसंख्यकको जीवनस्तर उकास्नका लागि आर्थिक सशक्तीकरणका कार्यक्रम हुन जरुरी छ ।’ 

‘सीप सिकेर दक्षता हासिल गरेकालाई रोजगारीको सम्भावना छ,’ उनले भनिन्, ‘पछाडि परेको समुदाय, लिंगको उत्थानका लागि जोड दिन जरुरी छ ।’ जेसिका अब शारीरिक रुपले महिलाको पहिचान बनाउन ब्रेस्ट सर्जरी र लिंग परिवर्तन गर्ने सोचमा छिन् । ‘सुरुमा ब्रेस्टको अपरेसन गरेर आउँछु,’ उनले भनिन्, ‘म पूर्ण रूपले महिला नै छु भने महिलाको रूपमा समाजमा स्थापित हुन चाहन्छु ।’ के यो जरुरी छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘अरू केही होइन, आफ्नो सन्तुष्टिका लागि नै हो ।’ 

प्रकाशित :पुस २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×