साप्ताहिक संवाददाता
पोखरा– युगल गीत गाएर चर्चामा आएको एउटा गायन जोडीले पोखरामा लाइभ कन्सर्ट दिएको छ । गायक सञ्जीव पराजुली तथा गायिका टीका प्रसाईं प्रस्तुत भएको युगल साँझमा दर्शकहरूको उल्लेख्य सहभागिता रह्यो ।
अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले आयोजना गरेको उक्त कार्यक्रमको प्रारम्भमा सञ्जीव र टीकाले ‘रातो र चन्द्र सूर्य’ गाएका थिए ।
त्यसपछि उनीहरूले आफ्ना लोकप्रिय गीतहरू ‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकी–लुकी’, ‘किन कर्के नजर’सहित एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरे ।
प्रत्यक्ष वाद्यवादनसहितको गायन र पृष्ठभूमिमा प्रस्तुत गरिएको नृत्यले दर्शक रोमाञ्चित भएका थिए ।
समारोहमा ‘किन कर्के नजर...’ गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट हुन सफल नागी डान्स सेन्टर, इटहरीका कलाकारहरूलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।