स्टुडियो धान्नै धौ–धौ

- महेश तिमल्सिना

माघ १४, २०७६

 

वैदेशिक रोजगारीमा रहेका गीतकार, गायक र संगीतकारले गर्ने खर्चमा राजधानीका रेकर्डिङ स्टुडियो टिकेका छन् । यदि उनीहरूले सांगीतिक क्षेत्रमा लगानी नगर्दिने हो भने आधा रेकर्डिङ स्टुडियो बन्द हुन्छन् । 

 

एवन म्युजिसियन स्टुडियो खुलेको ११ वर्ष भयो । ७ वर्षअघिसम्म स्टुडियोमा गीत रेकर्डिङ गराउनेको लाइन लाग्थ्यो, तीन महिनाअगावै पालो कुनुपथ्र्यो । तर, अहिले यहाँ सुनसान छ । त्यतिबेला हरेक कलाकारले वर्षमा कम्तीमा एउटा एल्बम निकाल्थे, जसले गर्दा एरेन्जर, रेकर्डिस्टलगायतका थुपै्र म्युजिसियनले काम पाउँथे । अहिले भने एल्बम निकाल्ने चलन हराएसँगै स्टुडियोहरूको अवस्था नाजुक बनेको सञ्चालक किशोर थापा बताउँछन् । 

‘यतिबेला रेकर्डिङ स्टुडियोहरू सौखिनहरूले धानिरहेका छन्,’ थापा भन्छन्, ‘जसले अलि–अलि पैसा कमाए, अनि नामका लागि भए पनि गीत–संगीतमा लगानी गरौं है भन्नेहरूले स्टुडियोलाई चलायमान गराइरहेका छन् ।’ धेरैजसो रोजगारीका लागि साउदी, कतार, दुबई, मलेसियाजस्ता देशमा गएका नेपाली र एनआरएनएहरूले नेपाली सांगीतिक क्षेत्रलाई बचाउन ठूलो योगदान गरिरहेको अनुभव उनले सुनाए । 

एक दशकअघिसम्म यही स्टुडियोमा मासिक ७०–८० वटा गीत रेकर्ड हुन्थे । अहिले २०–२२ वटा गीत रेकर्डिङ हुँदै आएको थापा बताउँछन् । उनले एउटा गीत रेकर्ड गराएको १० हजार रुपैयाँ स्टुडियो चार्ज लिन्छन् । नेपाली सांगीतिक क्षेत्रमा भएको लगानीको आधारलाई हेर्ने हो भने यो चार्ज एकदमै न्यून हो । एकातिर रेकर्डिङ स्टुडियोको आर्थिक अवस्था कमजोर बनिरहेको छ भने अर्कातिर स्टुडियोहरूबीचमै अस्वस्थ प्रतिस्पर्धा छ, जसले यो उद्यमलाई झन् समस्यामा पारेको छ । ‘अहिले रेकर्डिङ स्टुडियोहरूबीच डरलाग्दो अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ,’ थापा भन्छन्, ‘यो अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने कोही भएन ।’ अहिले साधारण होम स्टुडियो चलाएर बस्ने र अत्याधुनिक उपकरण भएका स्टुडियोले लिने चार्ज उस्तै छ । यस्तो अवस्था अस्वस्थ प्रतिस्पर्धाका कारण जन्मिएको उद्यमीहरू बताउँछन् । 

ए वनमा पछिल्लो समय धेरैजसो आधुनिक र चलचित्रका गीतहरू रेकर्डिङ हुन्छन् । चौबन्दीमा, पागल म बन्न सक्छु, कम्मरमाथि पटुकी, ढल्क्यो, चिया–कफी, मर्ने कसैलाई रहर हँुदैन लगायतका चर्चित गीत ए वनमा रेकर्डिङ भएका हुन् ।

बीबी अनुरागीले बबरमहलमा प्रिज्म डिजिटल स्टुडियो सुरुवात गरेको १४ वर्ष भयो । प्रिज्मलाई हिजोआज पनि चल्तीको रेकर्डिङ स्टुडियो मानिन्छ । पहिलेको तुलनामा गीत रेकर्डिङमा फेरबदल आएको अनुरागी बताउँछन् । ‘पहिले गायक–गायिका स्वयम्ले एल्बम निकाल्थे, जसमा ८–१० वटा गीत समावेश हुन्थ्यो,’ संगीतकारसमेत रहेका अनुरागी भन्छन्, ‘त्यो बेलामा एउटा एल्बम बन्न महिनौं लाग्थ्यो, तर अहिले छिटो–छिटो रेकर्डिङ भएर बजारमा जान्छ ।’ बीबीका अनुसार गीत रेकर्डिङको संख्या घटेको छैन, तर निकै सस्तो स्टुडियो चार्जमा गीत रेकर्डिङ भइरहेका छन् । अहिले एउटा गीत रेकर्डिङसहित भिडियो तयार हुन कम्तीमा २ लाख खर्च हुन्छ । गीत रेकर्डिङको चार्ज २० हजार रुपैयाँभन्दा माथि नरहेको अनुरागी बताउँछन् । ‘यसले स्टुडियोलाई न्याय गर्दैन,’ उनी गुनासो पोख्छन्, ‘स्टुडियोको धेरै लगानी हुन्छ, टेक्निसियनहरू त्यत्तिकै खटिएका हुन्छन्, त्यसैले अहिले गीत रेकर्डिङका लागि स्टुडियोमा तिरिएको चार्ज एकदमै कम हो ।’ 

हिजोआज प्रिज्ममा एक दिनमा तीनवटा गीत तयार हुन्छन् । दिनमै तीनवटा गीत तयार गर्दा संगीतको गुणस्तरमा कतिको ध्यान दिइन्छ ? ‘हाम्रो स्टुडियोको विशेषता क्वालिटी नै हो,’ अनुरागी थप्छन्, ‘एक दिनमा तीनभन्दा धेरै गीत तयार गर्ने स्टुडियो पनि छन्, तर हामी गुणस्तरमा ध्यान दिएरै दिनमा तीन मात्रै गीत तयार गर्छौं ।’ प्रिज्ममा एउटा गीत रेकर्डिङका लागि स्टुडियो चार्ज ८ हजार लाग्छ । यो चार्जले जेनतेन स्टुडियो धानेको छ । सुरुवाती दिनमा प्रिज्ममा धेरैजसो लोकदोहोरी गीत रेकर्डिङ भए पनि अहिले आधुनिकका साथै चलचित्रका गीतहरू रेकर्डिङ हुन्छन् । लालुपाते नुग्यो भुइँतिर, सिमसिम पानी रै’छौ बैमानी, भन्नु नभा’को, धोका दिनेलाई के भनौं र खोइ, गलबन्दीलगायतका चर्चित गीत प्रिज्मामा रेकर्ड भएका हुन् । प्रिज्ममा रेकर्डिङ भएका आधुनिक गीतअन्तर्गत तिम्ले पराई ठानेपछि, तिर्खा लाग्यो पानी खाएँ, हाँस्नलाई ओठ खोलें, जहाँ तिमी त्यहाँ म हुन नपाउँदा जस्ता गीतहरू चर्चामा छन् । सुर्के थैली खै, पर्ख पर्ख मायालु, पहिलो नम्बरमा, कुटुमा कुटु, भिजिट भिसामा, गोजीमा दाम छैन लगायत थुपै्र गीत प्रिज्ममै रेकर्डिङ भएका हुन् । 

गीत–संगीत युट्युब ट्रेन्डिङमा पर्नु र चर्चा पाउनुमा रेकर्डिङ स्टुडियोको हात कति होला ? ‘गीतलाई गुणस्तर दिने भनेकै स्टुडियोले हो,’ अनुरागी भन्छन्, ‘स्टुडियोमा टेक्निसियन, रेकर्डिक्स, इडिटिङ र मिक्सिङ गर्ने मान्छे दक्ष भयो भने मात्र एउटा राम्रो गीत तयार हुन्छ ।’ आफ्नो स्टुडियोमा तयार भएका सिर्जनाले राम्रो स्थान पाउँदा हौसला थपिने उनको अनुभव छ । उनी उत्पादकले स्टुडियोको मर्का नबुझेर अस्वस्थ प्रतिस्पर्धामा दौडिएको देख्दा चाहिँ दु:ख लाग्ने बताउँछन् । १४ वर्षअघि २० लाख लगानीमा सुरु भएको यो स्टुडियोले करिब १५ हजार गीत रेकर्डिङ गरिसकेको छ, स्टुडियोको स्तरोन्नति भने सोचेजस्तो भएको छैन ।

राजधानीको ड्रिम्स रेकर्डिङ स्टुडियो पनि चल्तीको स्टुडियोमा गनिन्छ । यो स्टुडियो खुलेको ठ्याक्कै २५ वर्ष पूरा भयो । २५ वर्षमा पनि आत्मनिर्भर हुन नसकेको सञ्चालक प्रकाश केसी बताउँछन् । २५ वर्षअघि गीत रेकर्डिङको खर्च कम थियो, अहिले त्यो निकै बढेको छ । ‘खर्चिलो भएकाले एल्बम निस्कन छाडे,’ केसी भन्छन्, ‘एउटा गीतको भिडियो बनाएर प्रचार गर्नेमा बढी जोड दिइरहेका छन् ।’ यति हुँदा पनि गीतको संख्या भने खासै घटेको छैन । पहिला गीत रेकर्डिङ गर्नेहरू कम थिए अहिले रहरले गाउनेहरू धेरै आएका छन् । थापा भन्छन्, ‘अहिले ९० प्रतिशतभन्दा बढी मान्छे संगीतबारे केही नबुझी रहरले गाइरहेका र लगानी गरिरहेका छन् ।’ यही लगानी स्टुडियोहरूलाई टिकाउने माध्यम बनिरहेको छ । 

स्तरीय भिडियो निर्माणका नाममा अत्यधिक खर्च गर्ने क्रम बढिरहेको छ । तर, रेकर्डिङ स्टुडियोमा लाग्ने खर्चमा भने कहिल्यै परिवर्तन नभएकोमा स्टुडियो सञ्चालकहरू गुनासो गर्छन् । ‘स्टुडियो चार्जमा मनपरी हुँदा कतिपय स्टुडियो सञ्चालकहरू अपग्रेड हुनै सकेनन्,’ केसी भन्छन्, ‘स्टुडियोको खासै एसोसिएसन पनि छैन, जसले गर्दा यहाँ अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ ।’ 

ड्रिम्समा एउटा गीत रेकर्डिङ गरेको १८ हजार रुपैयाँ स्टुडियो चार्ज लाग्छ । २०६० सालताका उनले एउटा गीत रेकर्ड गरेको करिब ३ हजार रुपैयाँ लिन्थे । समयक्रमसँगै उनले स्टुडियोको चार्ज बढाउँदै लगे । यता चार्ज बढाउँदा उता बिस्तारै ग्राहक पनि घट्दै गए । ग्राहक घटेको तिर उनले खासै ध्यान दिएनन् । आफ्नै तरिकाले क्रमैसँग स्टुडियो चार्ज बढाउँदै गए । उनले एक वर्षअघि मात्र १२ हजारबाट १८ हजार रुपैयाँ स्टुडियोको चार्ज पुर्‍याएका छन् । ‘अरूसँग प्रतिस्पर्धा गर्ने सोच कहिल्यै राखिनँ,’ उनी भन्छन्, ‘स्टुडियो चलोस् वा नचलोस्, आफ्नै तरिकाले काम गर्छु भनेर स्टुडियो चार्ज १२ हजारबाट १८ हजार रुपैयाँ पुर्‍याएँ ।’ स्टुडियो चार्ज बढाएसँगै ड्रिम्समा रेकर्डिङ हुने गीत संख्या आधा घट्यो । ‘८ हजारमा रेकर्डिङ गर्ने समयमा मैले मासिक ७०/८० वटा गीत रेकर्डिङ गर्थें,’ केसी भन्छन्, ‘स्टुडियोको चार्ज बढाएपछि आधा रेकर्डिङ घटेको छ ।’ 

त्यसैले यतिबेला ड्रिम्स स्टुडियो नेपालको रेकर्डिङले नधानेको केसी बताउँछन् । उनको स्टुडियोमा टुरिस्ट भिसामा नेपाल घुम्न आउने विदेशी पर्यटकहरूसमेत रेकर्डिङ गर्न पुग्छन् । साथै विदेशमा रहेका नेपालीहरूले पनि उनलाई गीत बनाइदिन अनुरोध गर्छन् । त्यसैले अहिलेसम्म विदेशकै गीतले स्टुडियो धानेको प्रकाश बताउँछन् । उनको स्टुडियोमा पप, आधुनिक र चलचित्रका धेरैजसो गीत रेकर्डिङ हुन्छन् । झलझली आँखामा, फेवातालमा साइँली, क्या दामी, छुनलाई होइन, धेरैलाई बाँड्दा नपुग्ला मायाजस्ता गीतहरू ड्रिम्समा रेकर्डिङ भएका हुन् । 

मित्र लामाको संगम स्टुडियो सञ्चालनमा आएको २६ वर्ष पुग्यो । संगीतमा ३२ वर्ष बिताइसकेका लामा पनि रेकर्डिङ स्टुडियोको दररेटमा कुनै स्तरोन्नति नभएपछि अरू नै व्यवसाय सुरु गर्ने मनस्थितिमा छन् । ‘३२ वर्षसम्म संगीतमै केही गर्छु, यसैबाट भविष्य सुरक्षित होला भन्ने लागेको थियो,’ लामा भन्छन्, ‘रेकर्डिङ स्टुडियोहरूको पछिल्लो हालत हेर्दा यसले भविष्यमा अप्ठेरो पार्छ भन्ने लागेर अर्कै व्यवसाय पनि सुरु गरौं कि भन्ने सोचिरहेको छु ।’ यसरी स्टुडियोको आम्दानी घट्नुको कारण के हो त ? ‘सहरमा गन्नै नसकिने गरी स्टुडियो खुल्नु र मान्छेहरूले गुणस्तरमा ख्याल नगर्नु हो,’ लामा भन्छन्, ‘राम्रा शब्द, संगीत, एरेन्जर, रेकर्डिङ भन्नेतर्फ मान्छेको ध्यान नै छैन, जसरी हुन्छ चर्चामा ल्याउनेतर्फ लगानीकर्ता र गायक–गायिकाको ध्यान गइरहेको छ ।’ 

चल्ने गीत र राम्रा गीतमा फरक हुन् । चल्ने गीत राम्रा हुन्छन् भन्न नसकिने लामाको बुझाइ छ । त्यसैले उनी छिटो चर्चामा आउनेभन्दा पनि राम्रा गीत बढी रेकर्डिङ गर्न रुचाउँछन् । उनलाई स्टुडियोको आम्दानीले खान, लगाउन र घरभाडा तिर्न मात्र पुग्छ । एउटा गीत रेकर्डिङ गरेबापत उनले ८ हजार रुपैयाँ स्टुडियो चार्ज लिन्छन् । अन्य संगीतकर्मीहरूको रेट बढे पनि स्टुडियोको चार्ज भने यथावत् रहेकोमा लामा पनि दुखेसो पोख्छन् । ‘पहिला एउटा एरेन्जरले संगीत संयोजन गरेको ५ सय रुपैयाँ पारिश्रमिक लिन्थ्यो, स्टुडियोलाई ४ हजार रुपैयाँ आउँथ्यो,’ लामा भन्छन्, ‘अहिले स्टुडियोलाई ८ हजार आउँछ, संगीत संयोजन गर्ने एरेन्जरले १५ हजार लिन्छ, त्यसैले रेकर्डिङ स्टुडियोहरू मारमा छन् ।’

कुनै बेला मासिक ७०/८० वटा गीत रेकर्डिङ हुने संगममा अहिले मासिक १५/२० गीत रेकर्डिङ हुन्छन् । यी गीतमा पनि विदेशमा रहेका नेपालीले लगानी गर्छन् । ‘९० प्रतिशत गीतमा विदेशमा रहेका नेपालीको लगानी छ,’ लामा भन्छन्, ‘यदि उनीहरूले गीत–संगीतमा लगानी नगर्दिने हो भने आधिकांश स्टुडियो बन्द हुन्छन् ।’ हाल संगम स्टुडियोमा प्राय: आधुनिक गीत रेकर्डिङ हुन्छन् । सत्यराज, स्वरूपराज, उदय सोताङ, सुरेशकुमारलगायतका गायकहरूको अधिकांश गीत रेकर्डिङ यही स्टुडियोमा हुन्छ । संगीतकार लक्ष्मण शेषले रेकर्डिङ स्टुडियो सुरु गरेको १८ वर्ष भयो । हाल उनले मञ्जुश्री रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेका छन् । उनको स्टुडियोको हालत पनि उस्तै छ । सुरुमा आवर डिजिटलबाट सुरु गरेका उनले बीचमा पार्टनरबाट धोका पाएको बताउँछन् । लगत्तै उनलाई स्टुडियो भएको घरमालिक मोहनवीर तुलाधर र युगरत्न तुलाधरले कलाकारले हरेस खानु हुँदैन भन्दै त्यसअघिको घरभाडा मिनाहा गरिदिए । साथै, लगानी पनि गरिदिएको शेष बताउँछन् । 

‘तैपनि मैले उहाँहरूलाई नाफा दिन सकेको छैन,’ शेष भन्छन्, ‘स्टुडियो घाटामा छ ।’ स्टुडियो धेरै भए, धेरैको रेट बढे तर स्टुडियोको रेट नबढेका कारण धेरैको स्टुडियो घाटामा गएको छ । अहिले मञ्जुश्री डिजिटलमा महिनामा मुस्किलले १० गीत रेकर्डिङ हुन्छन् । एउटा गीतको ६ हजारका दरले ६० हजार आम्दानी हुन्छ, तर खर्च दोब्बर रहेको शेष बताउँछन् । ‘म अहिले १५ लाख ऋणमा छु,’ शेष भन्छन्, ‘मोहनवीर तुलाधरको यति धेरै माया पाउँदा–पाउँदै पनि मैले स्टुडियोबाट आफ्नो जीवन उकास्नै सकिनँ ।’ कतिपय स्टुडियोलाई धरापमा पार्ने काम संगीतकारहरूले पनि गर्छन् । शेषकै स्टुडियोमा पनि धेरै संगीतकारले गीत अलपत्र पारेका छन् । ‘मेरै स्टुडियोमा विभिन्न संगीतकारले दर्जनौं गीत अलपत्र पारेका छन्,’ शेष भन्छन्, ‘सबै काम सकेर स्टुडियो चार्ज तिर्ने बेलामा भाग्छन् ।’ यसको सोझो मारमा रेकर्डिङ स्टुडियो र लगानीकर्ता पर्छन् । यसरी विभिन्न कारणले नेपालका रेकर्डिङ स्टुडियोहरू उकालो लाग्न सकेका छैनन् । माथि प्रस्तुत गरिएका रेकर्डिङ स्टुडियो मात्र नभएर अधिकांश रेकर्डिङ स्टुडियोको अवस्था धराशायी छ । 

नियमन गर्ने निकायको अभाव

पछिल्लो समय राजधानीमा रेकर्डिङ स्टुडियोहरू छयापछयाप्ती छन्, जसलाई नियमन गर्ने निकाय छैन । त्यसैले अन्धाधुन्ध स्टुडियो सञ्चालन भइरहेका छन् । त्यस्ता स्टुडियोहरूका उपकरण, टेक्निसियनको दक्षताजस्ता पक्षको निगरानी गर्ने कुनै निकाय छैन । रेकर्डिङ स्टुडियोहरूबीचको अस्वस्थ प्रतिस्पर्धा भइरहेको स्टुडियो सञ्चालक किशोर थापा बताउँछन् । 

‘स्टुडियो खोल्नका लागि कुनै गाह्रो छैन,’ थापा भन्छन्, ‘गीत–संगीतमा अलि–अलि ज्ञान छ र स्टुडियो खोल्ने इच्छा भयो भने उसले सहजै स्टुडियो खोल्न सक्छ ।’ यस्तै नियमन गर्ने निकायकै अभावले गर्दा रेकर्डिङ स्टुडियोबीचमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको अकोस्टिक रेकर्डिङ स्टुडियोका सञ्चालक तथा संगीतकार हरि लम्साल बताउँछन् । रेकर्डिङ स्टुडियो र त्यसमा कार्यरत कर्मचारीको हकहितका लागि स्थापना भएको रेकर्डिस्ट एसोसिएसन नेपाल निष्क्रिय रहेको स्टुडियो सञ्चालकहरू आरोप लगाउँछन् । रेकर्डिङ स्टुडियो सञ्चालकहरूको समय अभावका कारण संगठित भएर अघि बढ्न नसकिएको रेकर्डिस्ट एसोसिएसन नेपालका उपाध्यक्ष महेश्वरराज भण्डारी बताउँछन् ।

काठमाडौंमा मात्र १ सय ८२ रेकर्डिङ स्टुडियो

घरेलु तथा साना उद्योग कार्यालय, त्रिपुरेश्वर, काठमाडौंको तथ्यांकअनुसार हालसम्म काठमाडौंमा १ सय ८२ वटा रेकर्डिङ स्टुडियो दर्ता भएका छन् । यसबाहेक निजीस्तरमा खुलेका र सरकारी अभिलेखमा दर्ता नभएका करिब ४० वटा होम स्टुडियो छन् । साथै, दुई दर्जन जति स्टुडियो उपत्यका बाहिर छन् । यति धेरै स्टुडियो टिक्ने आधार भने परदेशबाट आएर गीत रेकर्डिङ गराउन चाहनेहरूले नै हुन् । 

प्रकाशित :माघ १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×