हाँसोको व्यापार बढ्दै छ

- कला अनुरागी

माघ १८, २०७६

विश्वमा नै हास्य चलचित्रको व्यावसायिक पाटो सफल देखिने गरेको अध्ययनले बताउँछ । त्यसैले बजारलाई आधार बनाएर पनि अहिले कमेडी विधा विभिन्न स्वरूपमा देखिइरहेको छ ।

 

पछिल्ला दिनमा युट्युबको नेपाल ट्रेन्डिङ हेर्ने हो भने सबैभन्दा अगाडि देखिन्छ– कमेडी ! बुधबार युट्युब ट्रेन्डिङको ‘टप टेन भिडियो’ मध्ये चारवटा कमेडी नै भेटिए । यो साता पनि ‘कमेडी च्याम्पियन’, हास्य शृंखला ‘सक्किगो नि’, मुन्द्रेको कमेडी क्लब र हर्के हल्दार ट्रेन्डिङका १० स्थानमा तलमाथि गरिरहेका छन् । यसले युट्युबमा नेपाली दर्शकले हेर्ने सामग्रीमा कमेडी अघिल्लो स्थानमा रहेको देखाउँछ ।

प्रविधिमा आएको क्रान्तिले दर्शकलाई जति सुविधा दिएको छ, त्यति नै साधनसम्पन्न बनाएको छ कलाकारहरूलाई पनि । सामाजिक सञ्जालमार्फत लाइभ गर्नेदेखि युट्युबमा आफ्ना भिडियो अपलोड गर्नसम्म एउटा व्यक्ति स्वतन्त्र छ । युट्युब माध्यमले दर्शकको रुचि के हो भन्ने तत्कालै थापा पाउन सघाएको मात्रै छैन, रुचिअनुसारका भिडियो तत्काल दर्शकसम्म पुर्‍याउन पनि साथ दिएको छ । दर्शकले कमेडी रुचाउँछन् भन्ने थाहा पाएपछि कलाकार, निर्देशक, प्रोड्युसर सबै कमेडीतिर एकोहोरिन थालेका छन् । त्यसकारण पनि पछिल्ला दिनमा सिरियलदेखि स्ट्यान्ड अप शोमा पनि कमेडीले राम्रो भ्यूज पाइरहेको देखिन्छ । स्ट्यान्ड अप कमेडीमा नेप–ग्याज्म, कमेडी सर्कल, स्टोरी टेलर, कमेडी टुकटुक, नेक्सस कल्चरजस्ता समूह सक्रिय छन् ।

स्ट्यान्ड अप कमेडीको यो लोकप्रियतालाई नजिकबाट नियालिरहेका सिनेमा र रियालिटी शोमा काम गरिरहेका समूहले परिकल्पना गरेको ‘कमेडी च्याम्पियन’ अहिले दर्शकको ध्यान आफूतिर खिचिरहेको छ । सिनेमा निर्देशक नवीन सुब्बा कमेडीको लोकप्रियतासँग समाजको मनोविज्ञान जोडिएको बताउँछन् । खुला समाजमा मानिसलाई हास्यले बढी प्रभाव पाउने उनको बुझाइ छ । सिनेमा क्षेत्रको अध्ययन र समीक्षा गरिरहेका अनुप सुवेदी भने समस्याको विविधताबाट भाग्न सजिलो हुने माध्यम भएकाले हास्य विधालाई मानिसले मन पराउने तर्क गर्छन् । 

कारण जे भए पनि पछिल्लो समय कमेडीको लोकप्रियता बढेको देखिन्छ । अहिलेको बेलालाई कलाकार तथा निर्देशक दीपाश्री निरौलाले हाँसी–हाँसी पैसा कमाउन सकिने बेला आएको बताउँछिन् । मानिसहरू हाँस्न चाहन्छन् भन्ने कुरा आफूहरूले निर्माण गरेको सिनेमाबाट प्रमाणित भएको उनको दाबी छ । 

‘कमेडीप्रधान सिनेमा कोहलपुर एक्सप्रेस निर्माणपछि हामीले कमेडीलाई अझ नजिकबाट नियाल्यौं । एकातिर यसको बजार मूल्य राम्रो बनिरहेको पायौं’, हालै सुरु भएको कमेडी च्याम्पियनका निर्देशक रहेका विशाल भण्डारी आफूहरूको उत्पादनबारे भन्छन्, ‘अर्कातिर युवाहरू स्ट्यान्ड अप कमेडीमा आकर्षित छन्, मिहिनेत गरिरहेका छन्, त्यसलाई एउटा प्लेटफर्म दिन हामीले कमेडी च्याम्पियनको परिकल्पना गरेका हौं ।’

किन बिक्दैछ हाँसो ? 

कमेडीको प्रयोग दर्शकहरूमा हाँसो पैदा गर्नका लागि हुन्छ । स्वाभाविक रूपमा हाँसो सबैको लागि प्रिय हुन्छ । कलाकार रिमा विश्वकर्मा भन्छिन्, ‘अहिलेको समय अनेकन तनावले मानिसलाई जेलिरहेको छ । त्यसबाट मुक्त हुनका लागि कुनै न कुनै बहाना खोजिरहेको हुन्छ । कमेडी त्यही बहानाको रूपमा उपयोग भइरहेको छ ।’

रिमाको विश्लेषण सिनेमा निर्देशक सुब्बाको विचारसँग मिल्छ । सुब्बा द्वन्द्वको समयमा शिव रेग्मी निर्देशित रोनाधोनावाला सिनेमा चल्नु र त्यसपछिको समयमा हास्यप्रवृत्तिका सिनेमा चल्नुलाई नेपाली समाजको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएको रुपमा व्याख्या गर्छन् । उनीसँग निर्देशक रामबाबु गुरूङ पनि सहमत छन् । गुरुङ भन्छन्, ‘डेढ दशक लामो द्वन्द्व हुँदा मानिसहरूले हाँस्ने अवसर पाएनन् । जब देशमा राजनीतिक स्वतन्त्रता पैदा भयो, त्यसले समाजलाई पनि स्वतन्त्रताको आभास भयो । यो समयमा मानिसहरू फ्रेस हुन चाहन्छन् । त्यही विधालाई बढी मन पराउन थालेका छन् ।’ त्यसैले आफूहरूले हास्य शैलीलाई प्राथमिकता दिएर काम गरिरहेको उनी बताउँछन् । 

त्यसो त यसलाई भारतीय सिनेमा र प्रवृत्तिलाई पछ्याउने नेपाली प्रचलनको निरन्तरता ठान्नेहरू पनि छन् । निर्देशक प्रकाश सायमी भारतमा सिनेमा, हास्य सिरियल, स्ट्यान्ड कमेडीको क्रेज बढ्दा यता पनि बढिरहेको आँकलन गर्छन् । चलचित्र समीक्षक अनुप सुवेदी यसमा अझ आलोचनात्मक दृष्टिकोण राख्छन् । हास्य विधाले मानिसको समस्याबाट भाग्न खोज्ने प्रवृत्तिलाई बढावा दिने भएकाले मानिसलाई त्यो मन परेको उनको दावी छ । ‘मानिस समस्याबाट भाग्न चाहने प्राणी हो । हास्य चलचित्रमा विषयको संवेदनशीलता कम हुने भएका कारण समस्याबाट भाग्ने अवसर प्राप्त हुन्छ । त्यसैले अहिले यो विधाको क्रेज देखिएको हो’, उनले भने । सामाजिक सञ्जालमा देखिने राजनीतिक, सामाजिक टिप्पणीबाट समाजको त्यो प्रवृत्ति प्रतिबिम्बित हुने उनको बुझाइ छ । 

तथापि विश्वमा नै हास्य चलचित्रको व्यावसायिक पाटो सफल देखिने गरेको उनको अध्ययनले बताउँछ । त्यसैले बजारलाई आधार बनाएर पनि अहिले कमेडी विधा विभिन्न स्वरूपमा देखिइरहेको उनको बुझाइ छ । 

पीडादायी थियो इतिहास

मह जोडीका ‘ह’ अर्थात् हरिवंश आचार्य आफूमा हास्यचेत भर्नमा भैरव अर्यालका हास्यव्यंग्यका कृतिको अध्ययनले सघाएको बताउँछन् । भैरव अर्याल त्यस्ता लेखक हुन्, जसले पूरा जीवन बाँचेनन् । चालिस बर्षको उमेरमा खोलामा हाम फालेर आत्महत्या गरे । लेखनमा जति नै अब्बल भए पनि त्यसले उनी र उनको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने अवस्था बनेन । उनको जीवनीमाथि ‘भग्न भैरव’ उपन्यास प्रकाशनको तयारीमा रहेका प्रोल्लास सिन्धुलीय भन्छन्, ‘उनको घाँटीमा समस्या थियो, त्यसमाथि जागीरका क्रममा गोरखापत्रका हाकिम केशवराज पिंडालीबाट पाएको तनाव थपिएछ । जसले उनलाई जीवनप्रति मोहभंग गराइरहेको थियो । क्षमता भएर पनि आर्थिक उपार्जनको बाटो बलियो नहुँदा परिवारले गर्ने चिन्ता र गुनासोले उनलाई मृत्युतिर धकेलेको देखिन्छ ।’

त्यसो हुँदा–हुँदै पनि उनले नेपाली हास्यव्यंग्य साहित्यमा बलियो मानक बनाए । जसलाई पढ्दै हास्यव्यंग्यको बाटो हिँड्ने पुस्ता तयार भयो । हरिवंश आचार्यदेखि मनोज गजुरेलसम्म अर्यालबाट उत्प्रेरणा लिन्छन र आफू पनि त्यसकोटीको हास्यव्यंग्य सिर्जनाको सपना देख्छन् । बीसको दशकबाट नेपालमै सिनेमा बन्न थाल्यो । त्यसपछि हास्यव्यंग्य प्रदर्शनीको प्रचलनमा तीव्रता आयो । सिनेमामा पनि हास्य कलाकारिताले स्थान पायो । तर, त्यसबेला पनि सजिलो थिए । अझ महिला कलाकारको सन्दर्भमा त निकै नै जटिल थियो । कलाकार बसुन्धरा भुसाल भन्छिन्, ‘काम गर्नै गाह्रो थियो । त्यसमा पनि हास्यव्यंग्य क्षेत्रलाई हेयको दृष्टिले हेरिन्थ्यो । आईमाई भएर जोकर भएर खेल्ने ? भन्थे । आर्थिक हिसाबले समस्या त थियो नै ।’

त्यसबेला राजनीतिक दृष्टिकोणले पनि समस्या थियो । पञ्चायतकालीन समयमा जुनसुकै व्यंग्यलाई पनि सरकारले गहिरो गरी निगरानी गथ्र्यो । कलाकार मदनकृष्ण श्रेष्ठ सम्झन्छन्, ‘पुलिसले समात्थ्यो । भागी–भागी हिँड्नुपथ्र्यो । हास्यव्यंग्यको क्यासेट पनि झ्याल ढोका सबै थुनेर बाहिर कुरुवा राखेर सुन्नुपथ्र्यो ।’

ती सारा चुनौतिसँग जुझ्दै मह जोडीले आफूलाई हास्यव्यंग्यमा अब्बल बनाए । पञ्चायती समयपछि जनआन्दोलनको समयमा साम्दे शेर्पा हास्यव्यंग्यमा उदाए । त्यही पथमा मनोज गजुरेलले ‘स्ट्यान्ड अप’ कमेडीलाई अघि बढाए । 

अहिले स्टेज र युट्युब दुवैमा स्ट्यान्ड अप कमेडी स्थापित भइसकेको छ । टेलिभिजनमा पनि त्यस्ता कार्यक्रमको स्थान राम्रो देखिन्छ । यसलाई गजुरेल हास्यव्यंग्यको सुखको युग ठान्छन् । उनी भन्छन्, ‘हाम्रो समयमा उत्प्रेरित गर्ने वातावरण पनि थिएन । न त यति धेरै माध्यम थिए । सरकारी सञ्चारमाध्यममा पहुँच कमैको हुन्थ्यो, त्यसमा पनि आलोचनात्मक स्वरलाई अवसर होइन, खतरा बढी थियो ।’

पहिले रंगमञ्च अनि सिनेमा 

राणाकालीन बन्द समयपछि खुला भएको समाजमा कलाकारहरू राजपाल, धुब्र हाडालगायत रंगमञ्चमा देखिए । उनीहरूले रंगमञ्चमा हास्यप्रस्तुति सार्वजनिक गर्न थाले । त्यसबेला काठमाडौंका नेवार वस्तीका ‘दबु प्याख:’मा त्यस्ता प्रस्तुति हुने गरेको हरिवंश आचार्य सम्झन्छन् । मदनकृष्ण श्रेष्ठलाई उनले त्यही माहोलमा भेटे र उनले पनि आफ्नो प्रस्तुतिलाई निखारे । 

त्यसबेला राजपाल थापा र ध्रुव हाडाको जोडी, रामशेखर नकर्मी, गोपालराज मैनालीलगायत त्यस्ता कार्यक्रममा भेटिन्थे । श्रेष्ठले मुना स: (आवाजको जमघट) भन्ने संस्थाको स्थापना गरेर संगीत र कमेडीलाई संयोजन गरेर कार्यक्रम थालेका थिए । पञ्चायतको बन्द समय सुरु भएपछि रंगमञ्चको त्यो प्रस्तुति सिनेमामार्फत व्यक्त हुन थाल्यो । सिनेमा निर्देशक नीर शाह सम्झन्छन्, ‘नेपालमा छायाँकन भएको पहिलो चलचित्र आमामा नै हास्य विधाको प्रयोग भएको थियो । त्यसअघि सत्य हरिश्चन्द्रमा पनि हास्य रसको प्रयोग भएको पाइन्छ ।’ रंगमञ्चको हास्यले सिनेमामा स्थान त पायो, तर त्यसले मूल कलाकारिताको दर्जा भने पाउन सकेको थिएन । 

टेलिभिजन कमेडी शो

सिनेमामा आफ्नो प्रतिभा देखाउन पाएका र नपाएका दुवैथरी प्रतिभालाई ०४२ सालमा स्थापित नेपाल टेलिभिजनले स्थान दिन थाल्यो । पहिलो चरणमा नै ‘प्रतिभाको खोजी’ कार्यक्रममार्फत उसले धेरै कलाकारलाई स्थान दिएको तत्कालीन नेपाल टेलिभिजन प्रमुख नीर शाह सम्झन्छन् । त्यही क्रममा मह जोडीका साथै सन्तोष पन्त पनि टेलिभिजनमा स्थापित भए । जसले हास्यव्यंग्यलाई लोकप्रिय विधाको रूपमा स्थापित गर्न सघायो । नीर शाह सम्झन्छन्, ‘अहिलेका धेरैजसो हास्य कलाकार नेपाल टेलिभिजनकै माध्यमलाई प्रयोग गरेर आउनुभएका हुनुहुन्छ ।’

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चेतनामूलक श्रृंखला होस् या सन्तोष पन्तको ‘हिजोआजका कुरा’ नेपाल टेलिभिजनले धेरै कलाकार स्थापित बनाएको शाहको दाबी छ । कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल, सुरवीर पण्डित, जितु नेपाल, दमन रुपाखेती, सिताराम कट्टेल, कुञ्जना घिमिरेलगायत कलाकारको यात्रा टेलिभिजनबाटै सुरु भएको उनले सम्झिए ।

नेपाल टेलिभिजनमा सन्तोष पन्तका कार्यक्रम ‘अप्रिल फूल’, ‘यस्तै हुन्छ’ पनि आए । त्यस्तै ‘दोषी को ?’, ‘नरिसाउनोस् है’ लगायतका कार्यक्रमले उनलाई चर्चित बनायो । पचासको दशकसँगै दीपकराज गिरी, दीपाश्री निरौलालगायत आए । दीपक–दीपाको रेडियो कार्यक्रम ‘रामविलास–धनियाँ’ श्रोतामाझ चर्चित बन्यो । साठीको दशकमा उनीहरूले सुरु गरेको ‘तीतो सत्य’ले पनि दर्शकलाई उत्तिकै आकर्षित गर्‍यो । दीपक सम्झन्छन्, ‘हामीलाई चाहिँ रेडियोले स्रोतामाझ परिचित बनायो । पछि टेलिभिजनमा दर्शकले रुचाए ।’ 

दमन रुपाखेती, जितु नेपाललगायत कलाकार यही दशकमा टेलिभिजनमा आए । दिनेश डिसीले चलाउने कायक्रम ‘ट्वाक्कटुक्क’मा दमन रूपाखेती र जितु नेपालले अभिनय गर्थे । त्यसपछि ‘जिरेखुर्सानी’, ‘मेरी बास्सै’, ‘झ्याईकुटी झ्याईं’, ‘हाकाहाकी– पक्कापक्की’लगायतका हास्य टेलिसिरियल बने । यसले दर्शकमाझ हास्यव्यंग्यको स्वाद स्थापित बनायो । 

विकल्प : युट्युब र सिनेमा

यही समय टेलिभिजनका कार्यक्रमको बजार भने खस्कियो । कार्यक्रम निर्माताले कलाकारलाई पैसा दिन सकेनन् । त्यसपछि धेरै कार्यक्रम बन्द भयो । कलाकार दीपकराज गिरी सम्झन्छन्, ‘जब आर्थिक हिसाबले टेलिभिजन कार्यक्रम गर्न नसकिने अवस्था आयो । हामीलाई विकल्प छनोट गर्नुपर्ने बाध्यता थियो ।’ त्यही बाध्यतालाई अवसरमा बदल्दै दीपक–दीपाको समूह सिनेमा निर्माणमा होमियो । उनीहरूसँग टेलिभिजनले निर्माण गरेको दर्शकको ‘क्रेज’ छँदै थियो, त्यसैलाई पुँजीकृत गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो । 

नेपाली सिनेमामा निश्चल बस्नेत निर्देशित ‘लुट’ले कमेडी विधालाई मूलधारमा स्थान दिन सकिन्छ भन्ने देखाइदियो । मूलधार भनिने विधामा जमिरहेका कलाकार नै कमेडी प्रस्तुतिमा देखिए । दीपक–दीपाको समूहका साथै कमेडी विधाका मह जोडी, धुर्मुस–सुन्तलीलगायत यही समयलाई समातेर सिनेमा निर्माणमा सक्रिय छन् । ‘छ एकान छ’बाट सिनेमामा प्रवेश गरेको दीपक–दीपाको समूहले वडा नम्बर छ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलाका साथै ‘छ माया छपक्कै’सम्म आइपुग्दा नेपाली सिनेमामा हास्यले बजारमा पनि बलियो उपस्थिति जमायो । यसलाई दीपाश्री निरौला ‘हाँसी–हाँसी कमाउन सकिने समय सुरु भएको’ बताउँछिन् । सिनेमामा पनि निर्देशक रामबाबु गुरुङ र प्रदीप भट्टराईले पनि कमेडीलाई आधार तत्वको रूपमा प्रयोग गरेर बजारमा बलियो उपस्थिति बनाएर पैसा कमाए । 

प्रकाशित :माघ १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×