साप्ताहिक संवाददाता
लक्ष्मी बर्देवा, अभिनेत्री
चलचित्र क्षेत्रमा हुने यौन दुव्र्यवहारविरुद्ध आवाज नउठ्ने कारण के होला ?
पीडित हुनेहरूलाई सुरक्षाको अनुभूति र आत्मविश्वास नभएर त्यस्तो भएको हुनुपर्छ ।
चलचित्र क्षेत्रको मिटू अभियान त रोकियो होइन ?
मिटू भन्नेबित्तिकै यौन हिंसाको कुरा आउँछ । हाम्रो चलचित्र क्षेत्रमा पीडा दिनेले भन्दा पीडित हुनेले झन् धेरै सास्ती खेप्नुपर्ने अवस्था छ । पीडकले त्यो कुरा बताइसकेपछि पीडितलाई कारबाही हुनुको साटो उसकै बचाउमा चलचित्र क्षेत्र नै उभिएपछि यो अभियान नरोकिने सवालै छैन ।
दुव्र्यवहारबारे चलचित्र क्षेत्रका महिला कलाकारहरू किन कम बोलेका होलान् ?
पीडितहरू बोल्न डराउँछन् किनभने बोल्यो भने आफू नै असुरक्षित हुने सम्भावना हुन्छ । कतिपयले त चर्चामा आउन त्यसरी बोलेको हो पनि भनिदिन्छन् । चलचित्र क्षेत्रमा आजसम्म जे–जति मिटूका कुराहरू उठेका छन्, परिणाम के आयो त ? उल्टै पीडितले नै दु:ख पाउने अवस्था आएन र ? पीडितलाई नै हानी भयो । यस्तो भएपछि खुलेर बोल्न को अघि सर्ने ?
चलचित्र क्षेत्रमा यौन दुव्र्यवहार अहिले पनि छ त ?
यो मान्छेको नियतमा भर पर्ने कुरा हो । पीडा दिनेहरूको नियत नराम्रो भएपछि यस्ता घटनाहरू हरेक दिन दोहोरिन्छन्, तेहेरिन्छन् । पावरमा हुनेहरू (निर्माता/निर्देशक) ले आफ्नो क्षमतालाई त्यसरी नै मिसयुज गरिरहेका छन् । हिरोइनसँग अफेयर गर्न पाइन्छ, मसँग केटीहरू त्यसै पट्टिन्छन् भन्ने सोचेर आउने निर्माता/निर्देशकहरू यो क्षेत्रमा र हुन्जेल यौन हिंसा रोकिनेवाला छैन ।
कस्ता व्यक्तिहरू बढी पीडित हुनुपरेको छ ?
नयाँ अनुहारहरूका लागि सधैं नै डरलाग्दो अवस्था छ । पुराना अनुहारलाई समेत नयाँ चलचित्रको कुरा गर्ने क्रममा पठाइने म्यासेजमा म फलानो, फलानो देशबाट भन्ने चलन छ । कुन देश भनेर किन जोड्नु, त्यसो भनेको नयाँ अनुहारलाई पहिलो म्यासेजबाट प्रभावमा पार्ने दाउ होइन र ?
पीडितहरू संगठित हुन किन नसकेका होलान् ?
असुरक्षाका कारण त्यस्तो भएको हो । कसैले आफू दुव्र्यवहारमा परेको प्रसंग निकाल्ने बित्तिकै धेरै कुरा सँगसँगै जोडिएर आउँछन् । हरेक व्यक्तिको परिवार हुन्छ, समाज हुन्छ, आफन्त हुन्छन् । आफूलाई परेको अन्यायबारे बोल्दा ‘त्यो क्षेत्रमै किन गएकी ? त्यो क्षेत्र नै छाडिदिनु नि’ भन्ने सुझाव दिन थालिन्छ । कुनै पनि बुवा–आमालाई आफ्नी छोरी असुरक्षित होस् भन्ने लाग्दैन । त्यसैले पनि कतिपय नयाँ अनुहारले आफूमाथि भएका नराम्रा घटनालाई चाहेर पनि व्यक्त गर्न सक्दैनन् ।
पीडकलाई कसरी कारवाही गर्नुपर्छ भन्ने ठान्नुहुन्छ ?
उनीहरूको मानसिकता परिवर्तन नभएसम्म केही हुँदैन । उनीहरूको सोचमा महिला कलाकारप्रति रेस्पेक्ट भन्ने चिज आउनुपर्यो नि । केटी खेलाउन पाउँछु भन्ने सोच लिएर अघि बढेका मानिसलाई कसरी रोक्न सकिन्छ ? समाजको पुरुषवादी चिन्तनले नै उनीहरूको हिम्मत बढिरहेको हुन्छ । हाम्रो समाज नै पुरुषवादी चिन्तनले ग्रस्त छ । पुरुषहरूलाई केटी मान्छे अघि बढेको मन परेको छैन । जुन घटनामा पनि केटीकै गल्ती खोजिन्छ । कुनै बलात्कारको प्रसंग आयो भने केटीले लगाएको छोटा कपडालाई दोष दिइन्छ ।
यसको समाधानचाहिँ कसरी हुन्छ ?
समाजको साथ चाहिन्छ । पीडितहरू एकजुट भएर पीडकलाई नांगेझार बनाउन सक्नुपर्यो । पाँच जनाले एउटै व्यक्तिमाथि औंला उठाए त कारबाही गर्न सकिएला नि । चलचित्र क्षेत्रबाटै निष्कासित गर्न सकिएला नि । तर, यहाँ त पीडकहरू नै हावी भैरहेका छन् । नयाँ–नयाँ चलचित्रहरू बनाइरहेका छन् । ती चलचित्रमा आबद्ध हुने नयाँ अनुहारले के–के भोग्नुपर्यो होला भन्ने सोचेरै आङ जिरिङ्ग हुन्छ ।