सिक्किममा जन्मे–हुर्केका प्रज्ज्वल पराजुली नेपाली मातृभाषी अंग्रेजी लेखक हुन् । उनका अंग्रेजीमा दुई पुस्तक प्रकाशित छन्– ‘द गुर्खाज डटर’ कथासंग्रह र ‘ल्यान्ड ह्वेर आई फ्ली’ उपन्यास । सन् २०१३ को डाइलन थोमस प्राइजको सर्टलिस्टमा परेको ‘द गुर्खाज डटर’को नेपाली अनुवाद ‘गोर्खाकी छोरी’ पनि प्रकाशित छ । नेपालीभाषी समुदायको कथालाई आख्यानको विषय बनाएर लेख्ने पराजुली कान्तिपुर कन्क्लेभमा ‘कनेक्टिङ ग्लोबल नेपालिज’ सत्रमा प्यानलिस्ट थिए । उनीसँग साप्ताहिकका समर्पण श्रीले गरेको कुराकानी :
तपाईंले सिर्जनात्मक लेखनका लागि नेपालीभाषी समुदाय नै किन रोज्नुभयो ?
मेरो बुवाको परिवार कालिम्पोङ हो । म भने सिक्किममा हुर्किएँ । मेरो आमाको माइती इलामको जमुना भन्ने ठाउँमा छ । जमुना गाउँ त्यतिबेला निकै दुर्गम थियो । त्यहाँ न बिजुली थियो, न सडक । हामी दार्जिलिङको मानेभन्ज्याङ भन्ने ठाउँदेखि उकालो चढ्दै जौबारीसम्म गाडीमा जान्थ्यौं । त्यहाँबाट ओरालो झर्नुपथ्र्यो । ओरालोमा झर्दा मलाई एकजना साइँला दाजु नामका भरियाले डोकोमा बोक्थे । त्यो उकालो–ओरालो, मलाई डोकोमा बोकेर लैजाने ती साइँला दाजु, डोकोभित्रबाट मैले दाँतले उनको कपाल टोकेको, मसँग नेपाली उकाला–ओरालाका यस्ता अनेक बाल्यकालीन सम्झनाहरू छन् । यिनै सम्झनाहरू मैले लेखेको हुँ । यसर्थ, मेरो लेखाइ मेरै भोगाइका कथाहरू हुन् । मैले इटालीतिरको कथा लेख्न खोजें भने त्यहीँकै संस्कृतिमा घुलमिल हुनुपर्छ, अध्ययन गर्नुपर्छ । अनेक कुरा जान्नुपर्छ । त्यो मैले गर्न सक्दिनँ । त्यसको साटो मैले आफ्नै वास्तविक कुराहरू, मेरै ठाउँ, मेरै मान्छे र मेरै जीवनका बारेमा लेख्न सक्छु नि !
कान्तिपुर कन्क्लेभमा भएको ग्लोबल नेपालीलाई कसरी जोड्ने भन्ने बहसमा तपाईं पनि सहभागी हुनुहुन्थ्यो । तपाईं राष्ट्रियताका हिसाबले भारतीय हुनुहुन्छ । ‘ग्लोबल नेपाली’ अवधारणालाई कसरी लिनुभएको छ ?
मलाई यो अवधारणा मनपर्छ । मैले भनेको पनि थिएँ, हामी नेपालीभाषी संसारको जहाँसुकै भए पनि धेरै विषयमा समान महसुस गर्न सक्छौं । हामीबीच भिन्नता पनि छन्, समानता पनि छन् । समानतालाई आधार बनाएर हामी एकताबद्ध हुन आवश्यक छ । हाम्रो भाषा, संस्कृति, खाना एउटै छ भने हामी किन एक नहुने ? जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँयस्तो कन्क्लेभ हुनु आवश्यक छ ।
कान्तिपुर कन्क्लेभमा सहभागी हुँदा कस्तो अनुभव गर्नुभयो ?
मलाई यहाँ आउँदा धेरै खुसी लाग्यो । मैले नेपाली बोलेको देखेर एक जनाले आश्चर्य मान्दै सोध्नुभयो, ‘सिक्मिकका मान्छेले पनि नेपाली बोल्छन् ?’ त्यसैगरी एकजना पाठकले पनि अनौठो मान्दै भन्नुभयो, ‘तपाईं प्रज्वल पराजुली होइन ? मैले तपाईंको सबै पुस्तक पढेको छु । तर, तपाईं नेपाली बोल्नुहुन्छ भनेर थाहा थिएन ।’ यस्तो बहस तथा अन्तरक्रियाले यस्ता कुरा थाहा दिन्छ । यो धेरै राम्रो कुरा हो ।
सिक्किम र काठमाडौंमा के फरक पाउनुभयो ?
सिक्किम, दार्जिलिङ, कालिङपुङमा धुमधामसहित भानुजयन्ती मनाइन्छ । भानुजयन्तीमा सिक्किममा सरकारी बिदा नै हुन्छ । म एकपटक भानुजयन्तीकै बेला काठमाडौं आउँदा चकित परेको थिएँ किनभने यहाँ भानुजयन्ती कसैले मनाएको देखिनँ । उतातिरत भानुजयन्तीलाई ठूलो महत्व दिइन्छ । दौरासुरुवाल, गुन्युचोली लगाएर, रामायण वाचन गरेर कविता प्रतियोगिता गर्दै धुमधामले मनाइन्छ । अस्ति बहसमा यहाँ सोधिएको थियो, ‘भानुभक्तको कविता कसलाई याद छ ?’ भनेर । कसैलाई याद रहेनछ । तर, मलाई त उनका धेरै कविता कन्ठस्थ छ । ‘भरजन्म घाँसतिर मन दिई’ होस् वा ‘प्रश्नोत्तर’ म मुखाग्र भन्न सक्छु । ‘कान्तिपुर कन्क्लेभ’ले यस्ता बहसलाई ठाउँ दिएर धेरै राम्रो गर्यो । यस्तै बहसहरूले हामीलाई थाहा दिन्छन्, हामी फरक भूगोल भए पनि समान संघर्ष गरिरहेका छौं, एउटै संस्कृति मनाइहेका छौं ।
नेपाली भाषा बोल्ने भारतमा तपाईंहरू अल्पसंख्यक हुनुहुन्छ । नेपालभित्र नेपालीभाषीहरू अल्पसंख्यक होइनन् । यहाँ थुप्रै अल्पसंख्यक भाषा छन् । सिक्किममा ७० प्रतिशतभन्दा बढीको मातृभाषा नेपाली छ । नेपालमा भने ५० प्रतिशतभन्दा कम मान्छेको मातृभाषा हो, नेपाली । नेपालबाहिर बस्ने फरक–फरक राष्ट्रियता भएका नेपालीभाषीहरूका आ–आफ्नै कथा छन् । ती सबै ग्लोबल नेपालीमा पर्छन् ?
यो एउटा जटिल प्रश्न हो । उदाहरणका लागि भुटानी नेपालीले ‘ग्लोबल नेपाली’मा बस्न असजिलो मान्ने गरेको मैले बुझेको छु । किनभने उनीहरूले आफूहरूलाई भुटानवासी नागरिकका रूपमा प्रमाणित गर्न ठूलो संघर्ष गर्नुपरेको छ । दार्जिलिङतिरका मान्छेले पनि आफूहरूलाई गोरखा भन्न थालेका छन् । उनीहरूलाई गोरखाभन्दा उपयुक्त हुन्छ भने राम्रो हो । यदि, त्यो भन्न सहज लाग्दैन भने पनि ठीकै छ । आफूलाई के भनेर पहिचान दिने भन्ने व्यक्तिगत छनोट हो । दार्जिलिङको आन्दोलनले गोरखा चलाएको छ । ‘म वेस्ट बंगाल’ बाट भनेर दार्जिलिङको मान्छेले परिचय दिनुपर्छ । त्यो त रिसउठ्दो कुरा हो । राज्यसँग उनीहरूको आफ्नै गुनासो छ । त्यसकारण सबैतिरका नेपालीको फरक–फरक कथाहरू छन् ।
तपाईंले कान्तिपुर कन्क्लेभमा असुरक्षाभावले पनि नेपालीभाषी समुदायको इतिहास बन्दै गयो भन्नुभएको थियो । त्यस्ता असुरक्षाहरू के–के थिए, जसले हाम्रो इतिहास बनायो ?
भारतमा पहिले–पहिले नेपालीहरूले दु:ख पाएकै हुन् । धेरै समयसम्म त्यो असुरक्षा पनि भएको हो । हामी सानातिना घटनामा पनि छिट्टै प्रतिक्रिया दिन्छौं । हाम्रो बारेमा कसैले केही भनिहाल्यो भने हामी छिट्टै आक्रोसित हुने स्वभाव छ, त्यो राम्रो होइन । दक्षिण भारतका रेस्टुराँतिर जाँदा नेपाली वेटर देखेँ भने म खुसी हुँदै उसँग नेपालीमा कुरा गर्छु । तर, उनीहरू नेपालीमा बोल्न हिच्किचाउँछन् । नेपालीमा बोल्यो भनेर अरुले हेप्छन् भनेर पो हो कि ? सिक्किम, दार्जिलिङ, कालिङपुङ क्षेत्रमा चाहिँ नेपाली बोल्नमा कुनै अवरोध र हिच्किचाहट छैन । त्यहाँ नेपाली नबोल्ने कोही हुँदैनन् ।
एउटा लेखकका नाताले तपाईंलाई नेपालीहरूका कस्ता–कस्ता कथा संसारलाई सुनाउन बाँकी छ भन्ने लाग्छ ?
लेख्न बाँकी कथा त धेरै छन् । तर, ती सबै कथा सुनाउने कर्तव्य मेरो मात्र होइन । म्यानमार, थाइल्यान्डमा धेरै नेपाली छन्, आसाममा ७ लाखभन्दा बढी नेपाली छन् । देहरादुनमा डेढ लाख नेपाली छन् । म देहरादुन गएको बेलामा गोरखायुद्धको समयका धेरै कथाहरू थाहा पाएँ । ब्रिटिसहरूले पानीको मुहान बन्द गरिदिएका रहेछन् । नमिता गोखलेको पुस्तकमा एउटा प्रसंग छ– ‘कुमाउमा ब्रिटिसहरूले नेपालीहरूलाई हरायो, कुमाउनीहरू खुसी भयो किनकि नेपालीहरूले यति दबाएर राखेका थिए रे कि ब्रिटिसहरू आउँदा उनीहरू खुसी भए ।’ कल्पना गरौं त, हामी नेपालीहरूले अर्कालाई दबाएर पनि राखेका रहेछन् । यस्ता धेरै कथा छन् । अरुले लेख्नेछन् । अहिले भर्खर देहरादुनको मधु गुरुङले गोरखाकै विषयमा पुस्तक लेख्नुभएको छ ‘द किपर अफ मेमोरिज’ । लेखनमा नेपाली लेखकहरू धेरै आइरहेका छन् । यस विषयमा अरुले पनि लेख्ने छन् ।
यसपालिको तपाईंको नेपाल बसाइ कस्तो रह्यो?
मेरो सबैभन्दा रमाइलो नेपाल बसाइ यसपालि नै भयो । म कार्यक्रम सकेको भोलिपल्टै जानुपर्ने थियो । तर, यति रमाइलो लाग्यो कि अझै केही दिन बस्ने निधो गरेँ । कान्तिपुर कन्क्लेभ निकै गज्जब लाग्यो । अरू बेलामा नेपाल आउँदा म आफ्नो सेसनमा सहभागी भएर घुम्न निस्कन्थेँ । तर, यसपालि बहसका सबै सेसन नछुटाई बसेँ ।
नेपाल आउँदाका रमाइला पक्षहरू बताइदिनुस् न, जसले तपाईंलाई आकर्षित गर्छ ?
म नेपाल लिट्रेचर फेस्टिभलमा पटक–पटक आइसकेको छु । त्यो फेस्टिभलमा यति धेरै मान्छे सहभागी हुन्छन्, देखेर म दंग परेको थिएँ । नेपाल र सिक्किममा मान्छेहरू पढ्दैनन् भन्छन् नि, मलाई त्यो कुरा मिथ हो जस्तै लाग्छ । बाटोमा आउँदा मान्छेहरूले पुस्तक नै पढिरहेको देखेको हुन्छु । बाहिरको किताब दोकानमा बसेर पनि मान्छे पढिरहेकै हुन्छन् । अर्को कुरा, नेपालमा मेरै पुस्तक पनि धेरै बिक्री भएका छन् । नेपालय प्रकाशन गृहले प्रकाशन गरेको ‘गोर्खाज् डटर’को नेपाली अनुवाद १० हजारभन्दा बढी प्रति बेचिसकेको रहेछ । यो पठन संस्कृति देखेर खुसी लाग्छ ।
नेपाल आउँदा घुम्न कहाँ–कहाँ जानुहुन्छ ?
मैले अन्नपूर्ण सर्किटमा पदयात्रा गरेको छु । काठमाडौं बाहिर हेलम्बु (सिन्धुपाल्चोक) जाने सोचमा छु । मलाई त काठमाडौंबाट पोखरा हिँड्दै–हिँड्दै जान मन छ । मैले त्यस्तो गरेको छु । फ्रान्सबाट सुरु गरेर स्पेन हुँदै पोर्चुगलसम्म २८ दिनमा करिब ९ सय किलोमिटरको यात्रा पैदल गरेको छु । त्यस्तो यता पनि गर्न मन छ । गाउँ बस्तीमा गएर बास माग्दै हिँड्न मन छ ।
छिट्टै नयाँ पुस्तक लेखन–प्रकाशनको कुनै योजना छ कि ? पाठकहरूले त तपाईंको नयाँ पुस्तक अपेक्षा गरिरहेका हुन सक्छन् ।
नयाँ के दिनुहुन्छ भनेर पाठकहरूले सोधिरहेका छन् । सोधेर हैरान पार्छन् त्यसकारण अहिले म फेसबक चलाउँदिन । सबै जनाले अर्को पुस्तक कहिले निस्कन्छ, प्रतीक्षारत छौं भन्छन् । दुइटा पुस्तक छोटो समयान्तरमा प्रकाशन गरेँ । अर्को पुस्तक पनि छिटो निस्कन्छ होला भनेर सबैले ठाने । तर, तत्काल नयाँ पुस्तक निस्कने सम्भावना छैन । धन्न, दुइटा किताबले यति लोकप्रियता कमाएको छ । ६ वर्षअघि लेखेको किताबमै अझै पनि साइन गरिरहेको छु ।
पुरानै किताबको ब्याज कहिलेसम्म खाइरहने त ?
त्यस्तै भएको छ । लाज पनि लाग्छ, अर्को किसिमले खुसी पनि लाग्छ । अर्को किताब लेखेको छैन । पाठकहरूले केही वर्षसम्म आशा नगरे हुन्छ । जाँगर चल्यो भने लेखौंला नि †