कोरोना भाइरसका कारण विश्व फिल्म उद्योगले अर्बाैंको घाटा बेहोरिसकेको छ । घाटाको यो ग्राफ दिनप्रतिदिन बढ्दै गइरहेको विभिन्न समाचार एजेन्सीहरूले लेखेका छन् । नेपालमा पनि बिस्तारै सतर्कता र सचेतता देखिन थालेको छ । नेपाली फिल्म उद्योगले प्रत्यक्ष आर्थिक घाटा बेहोर्न नपरे पनि सिनेमा घर सञ्चालकहरू सतर्क हुन थालेका हुन् ।
वितरक तथा हल संचालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार कोरोनाका कारण हलको व्यापार र दर्शकको चहलपहलमा अहिलेसम्म कुनै असर पुगेको छैन । ‘अहिलेसम्म त्यस्तो कुनै प्रभाव देखिएको छैन,’ अध्यक्ष प्रधानले भने, ‘तैपनि हामी सतर्कता अपनाइरहेका छौं । सम्पूर्ण हललाई सरसफाइ बढाउन, मास्क लगाउनदेखि ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नसम्म सुझाव दिइरहेका छौं ।’ प्रधानले हल नै बन्द गर्नुपर्ने अवस्था भइनसकेको बताए । सरकारले निर्णय नै गर्यो भने त आफूहरूले त्यसअनुसार कार्यान्वयन गर्ने उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर ठूला सभा–सम्मेलन र भोजभतेर नगर्न सर्वसाधारणलाई आग्रह गरिसकेका छन् । फरक स्थानबाट फरक अनुहारहरू भीड हुने ठाउँ सिनेमा हल पनि हो । तर सरकारले चलचित्र क्षेत्र र सिनेमा घरलाई तोकेरै कुनै निर्णय भने गरेको छैन ।
हलिउड रिपोर्टरका अनुसार कोरोना भाइरसका कारण विश्व फिल्म उद्योगले साढे पाँच सय करोड अमेरिकी डलर नोक्सान बेहोरिसकेको छ र नोक्सान बेहोर्ने यो क्रम दिनहुँ बढिरहेको छ । कोरोनाका कारण चीनका करिब ७० हजार सिनेमा घरहरू बन्द अवस्थामा छन् । विश्वका ठूला फिल्म बजारका रूपमा चिनिएका साउथ कोरिया, इटाली र जापानमा पनि यसको ठूलो असर फैलिँदै छ । यी सबै देशको बक्स अफिस रिपोर्ट दिनहुँ गिर्दो अवस्थामा छ ।
‘के कोरोनाको असर नेपालको बक्स अफिसमा फैलिएको छैन त ?’
‘अहिलेसम्म त प्रभाव देखिएको छैन,’ क्युएफक्स चेनका सिइओ रोशन अडिगा भन्छन्, ‘अहिलेसम्म त फिल्म पहिलेजस्तै औसत चलिरहेकै छ । दर्शक आइरहेकै छन् तर, अब यो संख्या घट्ने हो कि भन्ने डर चाहिँ भइरहेको छ ।’
सिनेमा घरमा सतर्कता
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सिनेमा संचालकहरूले आफै सतर्कता अपनाउन सुरु गरिसकेका छन् । क्युएक्स चेनअन्तर्गतका सम्पूर्ण मल्टिप्लेक्स हलहरूले बुधबारबाट विशेष सतर्कता अपनाएको सिइओ अडिगाले बताए ।
‘हामीले कोरोनालाई हल्का रूपमा लिएका छैनौं, यसलाई लिएर गम्भीर छौं,’ उनले भने, ‘त्यसैले हाम्रो बोर्डले बैठक नै बसेर विशेष सतर्कता अपनाउने निर्णय गरिसक्यो । हामीले ह्यान्ड स्यानिटाइजर राख्ने, सरसफाइमा बढी ध्यान दिने, हरेक शोपछि एकपल्ट स्प्रे गर्ने आदि काम सुरु गरिसक्यौं । पहिले हप्ताको एकपल्ट गर्ने काम अहिले दिनहुँ गरिरहेका छौं ।’
उनको नजरमा दर्शक अहिले नै आत्तिनुपर्ने अवस्था छैन । ‘हल बन्दै गर्नुपर्ने अवस्था त नआउला यहाँ,’ उनी भन्छन्, ‘हलमा दर्शक त स्वेच्छाले आउने हो । फेरि हाम्रो देशमा अहिले संक्रमण पूरै फैलिएको र आत्तिनुपर्ने अवस्था पनि त होइन ।’
तथापि, बुधबार क्युएफएक्सअन्तर्गतको कुमारी हलमा कोरोनाको त्रासकै कारण प्रदर्शनरत फिल्म ‘सेन्टी भाइरस’ को ९ बजेको सो रद्द भएको खबर प्राप्त भएको छ ।
फिल्मका निर्माता तथा अभिनेता सीताराम कट्टेलका अनुसार क्याम्ब्रिज पब्लिक हाई स्कुलले रंगशाला सहयोगार्थ उक्त सो बुक गरेको थियो । ‘विद्यार्थी र अभिभावक सबै सँगै बसेर फिल्म हेर्ने तयारी थियो, ’ उनले भने, ‘तर कोरोनाकै भयले बिहान सो क्यान्सिल भयो । उहाँहरूले रंगशालाका लागि सहयोग रकम भने प्रदान गर्ने बताउनुभएको छ ।’
दर्शकलाई मास्कको तयारी
नेपाल चलचित्र संघका पूर्व अध्यक्ष एवं बुटवलस्थित द्वारिका उदय सिनेमा नामक मल्टिप्लेक्स हलका संचालक प्रदीपकुमार उदयले पनि सिनेमा हलमा कोरोनाको असर नपरिसकेको नै बताए । ‘तर हामीले आफै सतर्कता अपनाउन सुरु गरिसकेका छौं,’ उनले भने, ‘अहिले म मास्क खोजिरहेको छु । हलमा आउने सबै दर्शकलाई मास्क बाँड्ने तयारीमा छु ।’
सुटिङमा परेन असर
कोरोनाका कारण विदेशमा सिनेमाको छायांकनदेखि रिलिज मितिसम्म प्रभावित भइरहेको छ । इटालीमा छायांकन भइरहेको टम क्रुज स्टारर हलिउडको बहुप्रतीक्षित फिल्म ‘मिसन इम्पोसिबल–७’ को सुटिङ तीन हप्ताका लागि स्थगित भइसक्यो । इटालीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ सय नाघेकाले त्यहाँ ‘मुलान’, ‘द ग्रज’ र ‘अनवर्ड’ लगायत चलचित्रको प्रदर्शन ढिला हुने भइसक्यो ।
अप्रिल २ मा रिलिज हुने तयारीमा रहेको जेम्स बोन्डको प्रतीक्षित फिल्म ‘नो टाइम टु डाइ’ को रिलिज डेट त फ्यानहरूले नै तत्काललाई स्थगन गर्न अनुरोध गरिरहेका छन् ।
कोरोना प्रभावित देशहरूको फिल्म क्षेत्रमा यस्तो असर परिरहे पनि नेपालमा भने अहिलेसम्म कोरोनाका कारण फिल्मको सुटिङ स्थगन भएको छैन । निर्देशक दीपेन्द्र लामा यही फागुन २६ गतेदेखि आफ्नो नयाँ फिल्म ‘दुई नम्बरी’ को छायांकन सुरु गर्दैछन् । ‘हाम्रो सुटिङ रोकिँदैन,’ उनले भने, ‘सुटिङमा हामी फिल्म परिवारकै २०–३० जना त हुने हो, सिनेमा हलमा जस्तै भिन्नभिन्न परिवेशबाट आएका मान्छेहरूको जस्तो भीड हुने होइन । त्यसैले असर पर्दैन ।’
तर, चलचित्र निर्माता संघले बिहिबार विज्ञप्तीमार्फत सम्पुर्ण फिल्मकर्मीलाई कोरोनाको जोखिमलाई मध्यनजर गर्दै तत्काललाई सुटिङ स्थगित गर्न आह्वान गरेको छ ।
‘हामी चलचित्रकर्मीहरु देश र जनताप्रति उत्तरदायी, समाजको संवाहकको रुपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि आफ्नो तह र तप्काबाट आममानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेको चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्ना चलचित्रहरुको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा अहिलेसम्म सुटिङ स्थगित गर्नुपर्ने अवस्था सिर्जना नभएको बताउँछन् । ‘सबैभन्दा बढी भीडभाड हुने ठाउँ भनेका स्कुल हुन् तर सरकारले त तत्काललाई परीक्षा स्थगित गरेको छैन, चैत ५ गतेसम्म गर्नु भनेको छ,’ उनले भने, ‘त्यसैले हामीले पनि तत्काल सुटिङ रोक्नुपर्ने अवस्था देखेनौं । तर पछि सरकारले अर्कै निर्णय गर्यो भने हामी मान्न तयार छौं ।’
त्यस्तै कोरोना संक्रमणकै त्रासका कारण धेरै फिल्मका रिलिज स्थगित हुने अवस्था देखिएको छ । फागुन ३० गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ को पनि तत्कालका लागि स्थगित भएको छ । ‘सरकारले धेरै मानिस एकै ठाउँमा भेला नहुन, भीडभाडमा नजान निर्देशन दिएको छ, त्यसमा ऐक्यबद्धता जनाउँदै हामीले चलचित्र प्रदर्शन रोकेका हौं । प्रतीक्षाको घडि लामो हुन पुगेकोमा क्षमाप्रार्थी छौं,’ फिल्मको निर्माण पक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मेला/महोत्सवमा असर
कोरोनाका कारण फागुन २१ गतेदेखि हुने भनिएको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल स्थगित भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरू नगर्न गरेको आह्वानलाई सम्मान गर्दै यस्तो निर्णय गरिएको आयोजक मानव अधिकार चलचित्र केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ । फेस्टिभल स्थगनका कारण अन्तर्राष्ट्रिय फिल्ममेकरमा पर्न जाने असरप्रति संस्थाले माफीसमेत मागेको छ ।
त्यस्तै कोरोनाको जोखिमलाई ख्याल गर्दै स्थानीय प्रशासनले समेत मेला–महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना प्रकाशित गर्दै स–साना पारिवारिक जमघटबाहेक अन्य कुनै पनि जात्रा–पर्व, मेला–महोत्सव नगर्न अनुरोध गरेको छ । यदि यसलाई पालना नगरे कारबाही गर्ने चेतावनीसमेत प्रशासन कार्यालयले दिएको छ ।
000
'हल जाँदा सतर्क हुनुपर्यो'
-डा. बासुदेव पाण्डे
निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
भिडभाडमा जानेवित्तिकै कोरोना सर्छ भन्ने होइन । तर, यदि भिडमध्ये कोही एकजनामा संक्रमण रहेछ भने सर्न सक्छ । सिनेमा हल पनि धेरै भिडभाड हुने स्थान भएकाले त्यहाँ जाँदा सर्तकता अपनाउनुपर्छ ।
नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । तर, छिमेकी मुलुकमा धेरैजनामा संक्रमण देखिन थालेपछि यता पनि प्रवेश भएको हुन सक्छ भनेर उच्च सतकर्ता अपनाउनुपर्छ । सिनेमा हल लगायत कुनै पनि सार्वजनिक स्थलमा जाँदा जोखिम हुनसक्छ । त्यसैले सतर्क हुनुपर्छ ।