साप्ताहिक संवाददाता
नेपालमा परिवार नियोजनको अधिकांश भार महिलाले बोक्नुपरिरहेको छ । पुरुषले प्रयोग गर्ने परिवार नियोजनको एकमात्र अस्थायी साधन कन्डम हो । परिवार नियोजनका लागि यसको नियमित प्रयोग गर्ने पुरुषको संख्या ७ दशमलव ५ प्रतिशत मात्र छ । त्यसैगरी स्थायी बन्ध्याकरण गर्ने पुरुषको अनुपात १२ दशमलव ६ देखिन्छ । यसरी हेर्दा परिवार नियोजनको झन्डै ८० प्रतिशत भार महिलाले बोक्नुपरिरहेको देखिन्छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको २०७५/०७६ को वार्षिक प्रतिवेदनअनुसार महिलाका लागि उपलब्ध अस्थायी साधन पिल्स, डिपोप्रभेरा, आइयुसिडी, इम्प्लान्टलगायतको अधिक प्रयोग भएको देखिन्छ । जसमा डिपो १४ दशमलव ८ प्रतिशत, आइयुसिडी ५ प्रतिशत, पिल्स ६ दशमलव ४ प्रतिशत र इम्प्लान्ट १३ दशमलव ७ प्रतिशत महिलाले प्रयोग गर्ने गरेको देखिन्छ ।
स्थायी बन्ध्याकरण गर्ने अनुपात पनि महिलाकै बढी देखिन्छ । परिवार नियोजनका विधि प्रयोग गर्नेहरूमध्येका ४० प्रतिशत महिलाले मिनिल्याप गरेका छन् भने भ्यासेक्टोमी गर्ने पुरुषको संख्या १२ दशमलव ६ प्रतिशतमात्र छ ।
स्थानीय स्तरमा स्वास्थ्य सेवा दिइरहेका संस्थाको आँकडाले पनि त्यस्तै देखाउँछ । थलीस्थित थली फार्मेसीकी सञ्चालक राधिका बानियाँ मासिक २ सय हाराहारी प्याकेट कन्डम बिक्री गर्छिन् । तर, उनीकहाँ पिल्स र डिपोप्रोभेरालगायत महिलाले प्रयोग गर्ने अस्थायी साधन किन्न आउने ग्राहकको संख्या निकै छ । ‘डिपो नै कन्डमभन्दा बढी बिक्री हुन्छ,’ उनी भन्छिन्, ‘हाम्रो फार्मेसीमा नियमित रूपमा मासिक ३ सयभन्दा बढी महिलाले डिपो अर्थात् संगिनी सुई प्रयोग गर्दै आउनुभएको छ ।’
त्यसो त नेपालमा परिवार नियोजनका विधि प्रयोगको स्थिति अझै कमजोर छ । नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भेको सन् २०१६ संस्करणमा ४३ प्रतिशत मानिसले मात्र परिवार नियोजनको साधन प्रयोग गरिरहेको देखिएको छ । नेपालमा परिवार नियोजनका साधनबारे ९९ प्रतिशत जानकार देखिन्छन् । यद्यपि यसको प्रयोग गर्नेको संख्या ४३ प्रतिशत मात्रै छ । सुकुमवासी बस्ती, श्रमिक, बालविवाहजस्ता कारणले अस्थायी साधनको प्रयोगमा कमी आएको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्याल बताउँछिन् ।
भ्रम र दबाबले भार
अर्यालका अनुसार पछिल्लो समय अस्थायी साधन प्रयोग मात्रै होइन, स्थायी बन्ध्याकरण पनि पुरुषको तुलनामा महिलाले बढी गरिरहेका छन् । यसमा महिलाले बढी भार खेप्नुपर्नाको कारण यससम्बन्धीका भ्रम भएको उनको बुझाइ छ ।
‘स्थायी बन्ध्याकरण होस् या अस्थायी साधन, परिवार नियोजनका साधन प्रयोगसम्बन्धी आममानिसमा भ्रम छ,’ उनी भन्छिन्, ‘भ्यासेक्टोमी गर्दा आफ्नो श्रीमान् कमजोर हुने भ्रम धेरैजसो महिलामा छ ।’ त्यही भ्रमले गर्दा महिला नै स्थायी बन्ध्याकरणका लागि अघि सर्ने गरेको उनले पाएकी छिन् ।
तर डा. सुमनराज ताम्राकार भने सामाजिक मनोविज्ञानका कारण पनि अस्थायी वा स्थायी गर्भनिरोधका लागि महिलालाई अघि सारिने बताउँछन् । स्त्रीरोग विशेषज्ञ डा. ताम्राकार भन्छन्, ‘जति नै महिला सशक्तीकरणको कुरा गरे पनि अहिलेसम्म घरको निर्णय श्रीमान् अथवा सासूले नै गर्ने चलन छ । परिवार नियोजनमा श्रीमान्सँग सल्लाह लिने गरिन्छ । तर, कतिपय श्रीमान्ले श्रीमतीले नै प्रयोग गर्न दबाब दिने गर्छन् ।’ यसबाहेक महिलाका लागि परिवार नियोजनका बढी विकल्प हुनुलाई पनि कारण मान्न सकिन्छ ।
यद्यपि स्थायी बन्ध्याकरणका सन्दर्भमा विगतको तुलनामा भने पुरुषहरू बढिरहेको तथ्यांकले देखाउँँछ । नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे–२०१६ को तथ्यांकमा भ्यासेक्टोमी गर्ने पुरुषको संख्या ५ दशमलव ५ प्रतिशत थियो । तर, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो तथ्यांकमा १२ दशमलव ६ प्रतिशत पुरुषले भ्यासेक्टोमी गराएको देखिएको छ ।
भारको उपलब्धि
सन् २०३० सम्म सरकारले प्रजनन दर २ दशमलव १ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । सन् २०१६ मा गरिएको एक सरकारी अध्ययनले हाल नेपालको प्रजनन दर २ दशमलव ३ प्रतिशत देखाएको छ, जसका कारण सरकारले सन् २०३० का लागि सरकारले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न खासै गाह्रो नपर्नेमा सरकारी अधिकारीहरू ढुक्क देखिन्छन् ।
संसारमा बदलिँदो जनसंख्याको ट्रेन्डका बीच नेपालले पनि जनसंख्या न्यूनीकरणका लागि कार्यक्रम नै बनाएर अगाडि बढिरहेको छ । बसाइँसराइ, वैदेशिक रोजगारी, ढिलो विवाह, गर्भनिरोधक सामग्रीहरूको बढ्दो पहुँच, जनचेतना वृद्धिजस्ता जनसंख्या वृद्धिदर रोक्ने कारकहरू नेपाली समाजमा पनि क्रमश: बढिरहेका छन्, जसका कारण सरकारले निर्धारण गरेको लक्ष्य सजिलै हासिल गर्ने देखिन्छ । परिवार कल्याण शाखाकी अर्याल पनि यो लक्ष्य हासिल गर्न खासै गाह्रो नपर्ने तर्क गर्छिन् । उनी भन्छिन्, ‘यो लक्ष्य हासिल गर्न खासै अप्ठ्यारो छैन ।’ यसलाई परिवार नियोजनका लागि महिलाले बोकिरहेको भारको उपलब्धि मान्न सकिन्छ ।
थप भ्रम
परिवार नियोजनका केही अस्थायी साधनबाट साइड इफेक्ट हुन सक्ने चिकित्सकहरू बताउँछन्, तर बजारमा अनेकन् भ्रम व्याप्त छन् । कतिपयलाई पाखुरामा राखिने इम्प्लान्ट भित्रभित्रै मुटुसम्म पुग्छ भन्ने भ्रम छ । यस्तै, पिल्स खाँदा पाठेघरमा चाङ लागेर बस्छ भन्ने भ्रम पनि कतिपय महिलामा देखिन्छ । तर यो तथ्यहीन कुरा हो । पिल्स पानीमा घुल्ने भएकाले यसमा पनि कुनै सत्यता नरहेको डा. ताम्राकार बताउँछन् । तर, पिल्स चक्की सेवन गर्दा सुरु–सुरुमा वाकवाकी लाग्ने, खानमा अरुचि हुने, टाउको दुख्ने समस्या देखिन सक्छ । त्यसैले यसलाई चिकित्सकहरूले बेलुका खाना खाएर मात्र खानका लागि सिफारिस गरेका हुन्छन् ।
पिल्स नियमित सेवन गर्नुपर्छ, यसमा अनियमितता भयो भने महिनावारी गडबड हुन्छ । यस्तै, डिपो र इम्प्लान्टमा प्रोजेस्टेरोन हर्मोन हुने भएकाले महिनावारी गडबडी गराउन सक्छन् । साथै, उक्त हार्मोनले मोटोपना पनि गराउन सक्ने चिकित्सकहरू बताउँछन् । कपर–टी अर्थात् आइयुसिडी पाठेघरमा राखिने बाह्य वस्तु भएकाले यसका पनि केही साइड इफेक्ट छन् ।
परिवार नियोजनका अस्थायी साधनको प्रयोग गरेर बीचमै छोड्नेहरू पनि त्यत्तिकै छन् । यसमा धेरैजसो वैदेशिक रोजगारले प्रभाव पारेको छ । श्रीमान् बिदेसिएपछि श्रीमतीहरूले अस्थायी साधन छोड्ने गरेको स्वास्थ्य सेवा विभाग अध्ययनमा देखिएको छ । कतिपयमा भने परिवार नियोजनको साधन प्रयोग गर्दा शरीरमा नकारात्मक असर गर्छ भन्ने भ्रम छ । केही अस्थायी साधनमा हर्मोन हुने भएकाले शारीरिक रूपमा केही परिवर्तन आउन सक्ने भएकाले यस्तो भ्रम पैदा भएको हुन सक्ने ताम्राकार बताउँछन् । ‘हार्मोनका कारण महिनावारी गडबडी हुने, टाउको दुख्ने, वाकवाक लाग्ने हुन सक्छ,’ उनी भन्छन्, ‘त्यो पनि केही समयपछि हट्छ, तर यसले शरीरमा गम्भीर प्रकारको नकारात्मक असर भने देखाउँदैन ।’
कन्डमबारे पनि मनोवैज्ञानिक भ्रमहरू देखिन्छ । कन्डम प्रयोग गरेर यौनसम्पर्क गर्दा यौनानन्द प्राप्त नहुने भ्रमले धेरैजसोलाई गाँजेको पाइन्छ । यही कारण सबैभन्दा भरपर्दो माध्यम कन्डमको प्रयोग प्रभावकारी बन्न नसकेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् । अर्काथरीमा भने कन्डम प्रयोग गर्दा योनिभित्रै अड्किन सक्छ भन्ने भ्रम पनि छ । तर, यी दुवै भ्रम भएको उनी स्पष्ट पार्छन् ।
भरपर्दोचाहिँ कन्डम
तथ्यांकीय हिसाबले प्रयोग कम भइरहको देखिए पनि परिवार नियोजनको अस्थायी साधनमध्ये सबैभन्दा भरपर्दो साधन कन्डम नै हो । यसले अनिच्छित गर्भ रोक्नुका साथै विभिन्न यौनरोगको संक्रमणबाट पनि जोगाउने हुनाले धेरैजसो चिकित्सक अन्य साधनको तुलनामा कन्डम प्रयोग गर्न बढी सुझाव दिन्छन् ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७५/७६ मा १३ करोड ५३ लाख रुपैयाँबराबरको कन्डम आयात भएको छ । आर्थिक वर्ष ०७२/७३ मा सबैभन्दा बढी २१ करोड ११ लाख ३ हजार रुपैयाँ बराबरको कन्डम आयात भएको थियो । आर्थिक वर्ष ०७४/७५ मा १९ करोड ९३ लाख ३९ हजार रुपैयाँ बराबर कन्डम आयात भएको थियो भने आव ०७३/७४ मा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको कन्डम आयात भएको छ ।
सरकारले कन्डममा १ प्रतिशतमात्रै कर लिँदै आएको छ । नेपालमा कन्डम चीन, बंगलादेश, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, स्पेन, थाइल्यान्ड, भियतनामलगायतका देशबाट भित्रिने गर्छ ।
साधन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूतरोग विशेषज्ञ
यसमा उमेरलाई ध्यान राख्नुपर्छ, किनभने ३५ वर्षभन्दा बढी उमेरका महिलाले पिल्स चक्की खान हुँदैन ।
कारण नखुलेको रक्तस्राव भएका बेला कुनै पनि अस्थायी साधन प्रयोग गर्नु हुँदैन ।
मधुमेह, उच्च रक्तचाप, मुटुरोगी, उच्च कोलेस्ट्रोल भएका बिरामीले पिल्स चक्की प्रयोग गर्नु हुँदैन ।
मोटोपना भएका महिलालाई भिडियो एक्सरे गरेर मात्र डिपो, इम्प्लान्टजस्ता साधन प्रयोग गर्नुपर्छ ।
स्त्री यौनाङ्गमा संक्रमण तथा यौनरोग लागेको महिलाले कपर–टी प्रयोग गर्नु हुँदैन ।
कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा तालिमप्राप्त स्वास्थ्यकर्मीसँग सल्लाह गरेर मात्र प्रयोग गर्नुपर्छ ।
आकस्मिक गर्भनिरोधका साधनलाई पनि अस्थायी साधन मानेर प्रयोग गर्नु हुँदैन । यसले नि:सन्तान हुने सम्भावना बढाउँछ ।