निरीह निर्देशक, निरंकुश निर्माता

- अनिल यादव

चैत्र ९, २०७६

एक महिनाअघि ‘सेल्फी किङ फिल्मको लफडा’ शीर्षकको भिडियो युट्युबमा सार्वजनिक भयो । फिल्म रिलिज भएको दुई दिनपछि सार्वजनिक भिडियोमा निर्माता दिनेश राउत, निर्देशक विशाल सापकोटा र अभिनेत्री केकी अधिकारीबीच भएको झगडा देखिन्छ । सोलुखुम्बुमा गीत सुटिङका क्रममा निर्देशक सापकोटाले भनिरहेका हुन्छन्— ‘भोलि गीत रिसुट गर्ने भए बोलाउनू ।’ त्यति नै बेला निर्माता दिनेशले ‘कति रिस उठाइरा तिम्ले’ भन्दै नजिक रहेको टेबलको थर्मस हातले लडाइदिन्छन् । त्यसपछि विशाल ‘म दिनेश राउत प्रोडक्सनको सुटिङ सेटमा टेक्दै टेक्दिनँ’ भन्दै सुटिङ सेटबाट बाहिरिन खोज्छन् । सुटिङ सेटमै रहेकी केकी रिसाउँदै बोल्छिन्, ‘डिरेक्टर पनि एकदमै अनप्रोफेसनल देखियो, प्रोड्युसर पनि एकदमै अनप्रोफेसनल, सरी टु से ।’

त्यसपछि दिनेश उल्टै केकीसँग झर्किन्छन्, ‘मैले चित्त बुझेन भन्न पाउँदिनँ त ?’ यस्तै हो भने चेक फिर्ता गर्दिने भन्दै केकी जवाफ फर्काउँछिन्, ‘एक्टरको अगाडि भन्न पाइँदैन । तपाईंहरू जे भन्नुहुन्छ, पछाडि गएर भन्नुस् । हाम्रो अगाडि नभन्नू क्या, हाम्रो मुड किन खराब गर्नुपर्‍यो ?’

त्यसपछि विशाल दिनेशलाई भन्छन्, ‘तपाईं यो फिल्मको डिरेक्टर होइन, म हो । यो फिल्ममा मलाई जे मन पर्छ, त्यही आउँछ पर्दामा । तपाईंलाई मन परेको आउँदैन । मैले तपाईंलाई उहिल्यै भनेको हो... ।’

‘मैले बुझें, तिमीले जे भन्यौ, त्यही आउनुपर्छ तर...’ दिनेश भन्दै हुन्छन्, विशालको जवाफ आइहाल्छ, ‘तपाईंले बनाइरा’ जस्तो फिल्म पनि खिच्न खोज्या होइन ।’ केकीलाई झन् रिस उठेको देखिन्छ । तर, सम्झाउन खोज्दा उल्टै निर्माताको थर्काइ भेट्छिन्, ‘तिमीसँगको कुरै छैन, तिमी किन सन्किरा’को फेरि ?’

५९ सेकेन्डको यो भिडियो बाहिरिएपछि अहिले फिल्म वृत्तमा धेरैलाई लागिरहेको छ— निर्माता राउत र निर्देशक सापकोटाबीच राम्रो सम्बन्ध छैन । फिल्म युनिटकै कसैले यो भिडियो ‘लिक’ गरिदिएपछि भिडियोलाई लिएर निर्माण युनिटको प्रतिक्रिया छ— ‘यो केकीलाई प्य्रांक गर्दाखेरिको भिडियो हो ।’

भिडियोमा देखिएको यो विवाद निर्माताले केकीको हेयरस्टाइल भएन भनेर टिप्पणी गरेपछि सुरु भएको थियो । ‘हामीले सल्लाह गरेरै प्य्रांक गरेका थियौं । भिडियो बाहिर आएपछि भने धेरैले यसलाई साँचो ठाने,’ निर्माता राउतको प्रतिक्रिया छ । 

०००

‘रियल’ होस् या ‘प्य्रांक’ नै सही, युट्युबमा सार्वजनिक भएको यो भिडियोले नेपाली फिल्म क्षेत्रको एउटा पाटो खोतलिदिएको छ । नेपाली फिल्म क्षेत्रमा निर्माता र निर्देशकको द्वन्द्वको सानो दृष्टान्त हो यो । फिल्म निर्माणको सुरुवातमा ‘साथी’जस्तो सम्बन्धबाट अघि बढ्ने निर्माता–निर्देशकको यात्रा फिल्म रिलिज भइसक्दासम्म ‘दुस्मनी’मा परिणत भएका धेरै उदाहरण छन् ।

केस १

फिल्म निर्देशकको माध्यम हो । त्यसैले सामान्यत: निर्देशकबिनाको फिल्म कल्पना गरिन्न । तर, गत चैतमा यस्तो फिल्म रिलिज भयो, जसमा निर्देशकको नामै थिएन । फिल्मको नाम हो— ‘प्रेमलीला’ ।

फिल्मकी निर्माता तथा अभिनेत्री दीपशिखा खड्का स्वयम्ले निर्देशकसँगको विवाद फेसबुकमार्फत बाहिर ल्याइन् । विवादका कारण निर्देशक जनक पाण्डे सुटिङको बीचैबाटै हराएपछि निर्देशकको नामबिना नै रिलिज भयो । 

फिल्म बन्नुअघि जनक र दीपशिखा नजिकका साथी थिए । दीपशिखाको दाबीअनुसार दुवैले आधा–आधा पैसा हाल्ने सहमतिमा फिल्मको सुटिङ सुरु भएको थियो । तर, त्यसमा समस्या देखिएपछि दुईबीचको सम्बन्ध चिसो भयो । 

दीपशिखाले फेसबुकमै लेखिदिइन्, ‘मैले कलाकारको पेमेन्ट उहाँलाई पहिले नै दिइसकेकी थिएँ । तर, उहाँले कलाकारलाई दिनुभएनछ । काम गर्ने क्रममा कलाकारले आफ्नो पारिश्रमिक माग्न थाले । मैले कसैले पैसा पाएको छैन भन्ने गुनासो गरेका छन् त भनेर सोध्दा उहाँले हुन्छ म दिन्छु भन्नुभयो, तर कसैलाई दिनुभएन । त्यसपछि मैले पैसाको हिसाब मागेँ । पैसाको हिसाब माग्दा उहाँले निकाल्न सक्नुभएन । हिसाब निकाल्न नसकेपछि म एक्लै भएँ । उहाँ फिल्म छाडेर जानुभयो ।’ 

त्यसपछि दुई महिनासम्म फिल्मको सुटिङ अघि बढ्न सकेन । ‘लगानी भइसक्यो, अब के गर्ने ?’ दीपशिखामा दुविधा बढ्यो । बारम्बार उनले निर्देशक र उनकी श्रीमतीलाई फोन सम्पर्कको प्रयास गरिन् । म्यासेज पठाइन् । निर्देशक बस्ने फ्ल्याटमा पटक–पटक पुगिन् । तर, ढोकामा सधैं– ताल्चा लागेको हुन्थ्यो । पछि थाहा पाइन्, डेरा सरेका रहेछन् ।

त्यसपछि उनले निर्णय गरिन्, ‘अब आफैं भिडेर फिल्मको काम सकाउँछु ।’ उता यो विवाद निर्देशकमै सीमित रहेन, उनकी श्रीमतीसमेत तानिइन् । श्रीमान्लाई सम्पर्कमा नल्याए पुलिस केस गर्ने चेतावनीसहित दीपशिखाले निर्देशककी श्रीमतीलाई समेत म्यासेज पठाइन् । 

‘उहाँले हैसियतको कुरा गर्दै अनेक थरी लेखेर म्यासेज पठाउनुभयो । अनि अति भएपछि फेसबुकमा स्टाटस लेखेकी हुँ,’ दीपशिखाले त्यतिबेला फेसबुकमा सार्वजनिक रूपमै भनेकी थिइन्, ‘मेरो टिमको सबैलाई जानकारी छ, जनक पाण्डे आफूले पनि लगानी गर्ने सर्तमा फिल्म गरेको हो । सुटिङका क्रममा एक रुपैयाँ पनि निकाल्न नसकेर उल्टै मबाट लिएको पैसाको पनि हिसाब–किताब देखाउन नसकी भागेको हो । केही गरे पनि सम्पर्क हुन नसकेपछि अन्तिममा मेरी दिदीले १५ लाख दिनुभयो । त्यतिले पनि नपुगेपछि मैले आफ्नो सुन र गाडी बेचेर सुटिङ सकाएको हो ।’

दीपशिखाले जनक आफैं भागेको दाबी गरे पनि फिल्मसँग निकट स्रोतका अनुसार उनले निर्देशकलाई निकालेकी हुन् । फिल्मका कुनै पनि प्रचार सामग्रीमा निर्देशकको नाम अटाएन । अन्त्यमा, फाइजिल फिल्म्स प्रोडक्सनको नाम राखेर फिल्म रिलिज भयो । 

केस २

डेढ वर्षअघि अभिनेता शिव श्रेष्ठको एउटा ड्रिम प्रोजेक्ट घोषणा भयो— ‘एउटा यस्तो प्रेमकहानी’ । फिल्ममार्फत शिवका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले एकसाथ फिल्ममा डेब्यु गर्ने चर्चा भयो । करिब १ करोड रुपैयाँ खर्च भइसकेको बताइए पनि फिल्म पूरा बन्न सकेको छैन । यसको पछाडि पनि निर्माता–निर्देशकबीचको द्वन्द्व नै देखिन्छ । 

निर्देशक दिपेश सापकोटा भन्छन्, ‘फिल्मको ५० प्रतिशतभन्दा बढी काम भइसक्यो, तर त्यसपछि काम अघि बढ्न सकेको छैन । खोइ, किन हो थाहा छैन । सायद निर्माताहरू धेरै भएकाले मनमुटाव हुन सक्छ ।’

यसअघि फिल्म ‘मन्दिरा’ निर्देशन गरेका उनले यही फिल्मका कारण केही फिल्म छोडिसके । फिल्म बन्न सकेको छैन । यस अवधिमा पनि उनले फिल्मका लागि कम सम्झौता गर्नु परेन । करिश्माको छोरी र शिवको छोराको ‘इन्ट्री’ हुनुअघि नै यो फिल्मको करिब ८० प्रतिशत छायांकन सकिइसकेको थियो । सुरुमा यो फिल्मका लागि दुई रियल जोडी प्रियंका कार्की–आयुष्मान देशराज जोशी र वर्षा राउत–सन्जोग कोइराला प्रमुख भूमिकामा अनबुन्धित भएका थिए । उनीहरूबाटै निर्देशकले फिल्मको करिब ८० प्रतिशत सुटिङ सकाइसकेका थिए । केही क्लाइमेक्सको एक्सन सिन र गीत छायांकन गर्न बाँकी थियो ।

निर्माणको अन्तिम चरणमा पुगिसकेपछि निर्देशकलाई निर्मातामध्ये एक शिव श्रेष्ठको प्रस्ताव आयो, ‘अब यो फिल्मको रि–सुट गरौँ । फिल्ममार्फत मेरो छोरालाई डेब्यु गराउने हो ।’ निर्देशकले सजिलै मान्ने कुरा त थिएन, तर सबै निर्माताको ढिपीअगाडि उनको केही लागेन । त्यसपछि प्रेस मिटमार्फत फिल्ममा शक्ति र कविता पनि समावेश हुने घोषणा भयो । आधाजति छायांकन पनि भयो ।

त्यसपछि पनि फिल्म रोकियो, अहिलेसम्म ‘कोमा’मै छ । निर्देशक फिल्म सकाउन निर्मातासँग हारगुहार गरिरहेका छन् । फिल्मको मुख्य लगानीकर्ता यशोदा राई भन्छिन्, ‘त्यत्रो पैसा लगानी भइसकेको छ, फिल्म नबन्ने त कुरै हुँदैन । पक्का बन्छ ।’ यद्यपि फिल्म कहिले बन्छ, अझै पनि कसैसँग यसको प्रस्ट जवाफ छैन । तर, एउटा फिल्म निर्माणको प्रक्रियामा निर्माता कतिसम्म हावी हुन सक्छन्, यो फिल्म त्यसको बलियो जवाफ हो । 

केस ३ 

‘लुट’ निर्माता माधव वाग्लेको ‘लालपुर्जा’ विवादबारे अहिलेसम्म फिल्मवृत्तमा चर्चा हुन्छ । कारण, फिल्म क्षेत्रमा शक्तिशाली मानिएका यी निर्मातालाई उनी अमेरिका गएका बेला फिल्मका निर्देशक निगम श्रेष्ठ निर्माताद्वय विक्रमसिंह थारु र टेकेन खड्काले प्रेस मिट नै गरेर फिल्मको निर्माताबाट हटाइएको घोषणा गरेका थिए । 

उनीहरूको आरोप थियो— सम्झौताअनुसार फिल्ममा लगानी नगरेको, गफमात्रै गर्दै हिँडेको । त्यसपछि वाग्ले फिल्मबाट बाहिरिए, आफूले लगानी गरेको रकम फिर्तासहित । पछि यही फिल्मको टिमले डिजिटल राइट्स लिएको कम्पनी हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङलाई उनको कार्यलयमै पुगेर हातपातसम्म गरे । केस प्रहरीसम्म पुगेपछि मात्रै मिल्यो ।

केस ४

अभिनेत्री रेखा थापा र निर्देशक श्याम भट्टराईबीचको विवाद नेपाली फिल्म क्षेत्रकै चर्चित मानिन्छ । दाजु–बहिनीजस्तो सम्बन्ध थियो यी दुईको । तर, जब ६ वर्षअघि महेन्द्रनगरमा फिल्म ‘हिम्मतवाली’को सुटिङ सेटबाटै निर्मातासमेत रहेकी रेखाले भट्टराईलाई निर्देशनको जिम्मेवारीबाट ‘आउट’ गरिन्, त्यसपछि उनीहरूको पारिवारिक सम्बन्ध दुस्मनीमा परिणत भयो । र, रेखा आफैंले फिल्मको निर्देशन गरिन् । 

त्यतिबेला निर्देशकको आरोप थियो– छायांकनस्थलमा रेखाले न्यूनतम सुविधा उपलब्ध गराइनन् । काम गर्ने वातावरणलाई लिएर टिप्पणी गर्दा रेखाले आफूलाई एक्कासि ‘तपाईं जानुस्’ भनेर घर पठाइदिएको उनको गुनासो थियो । रेखाले आफूलाई निर्माताले गर्नुपर्ने व्यवहार नगरेको, प्राविधिकहरूलाई राम्रो खाने–बस्ने व्यवस्था नमिलाएको आरोपसमेत उनले लगाएका थिए ।

रेखाले भने आरोपको खण्डन गर्दै सुटिङमा मन लगाएर काम नगरेको, फिल्मको अडिसन लिने बहानामा स्थानीय युवतीहरूलाई गलत नजरले हेरेको अनि राति सधैं रक्सी खाएर आएपछि आफूले सुटिङ स्थलबाटै दुई लात हानेर निकालेको प्रतिक्रिया दिएकी थिइन् । 

उनले प्रेस विज्ञप्ति नै जारी गरेर उनको निर्देशनको स्तरमाथि टिप्पणी गरेकी थिइन् । तत्कालीन चलचित्र निर्देशक समाजका सचिवसमेत रहेका भट्टराइले त्यसपछि रेखाविरुद्ध आफ्नै संस्थामा उजुरी गरेका थिए । त्यसपछि निर्देशक समाजले भट्टराईमाथि अन्याय भएको भन्दै सेन्सर बोर्डलाई फिल्मको सेन्सर रोकिदिन पत्र काटेको थियो । 

फिल्मको सेन्सर रोकिएपछि रेखाले श्यामलाई लगाएको आरोपको खण्डन गर्दै माफीको लिखित सम्झौता नै गरिन्, अनि मात्र फिल्म रिलिज भयो । अहिले भट्टराई अमेरिकामा छन् भने रेखा फिल्म निर्माण, निर्देशन र अभिनयमै सक्रिय छिन् ।

०००

यी केही उदाहरणमात्रै हुन्, नेपालमा निर्माता–निर्देशकबीच भएका लफडाको सूची लामै छन् । फिल्म निर्माता माधव वाग्ले भन्छन्, ‘निर्देशक र निर्माता सुरुमा साथीजस्तै हुन्छ । दुवै जना एकसाथ मिलर ठूलो सपना देख्छन् । त्यसमा पनि बढी सपना देखाउने काम निर्देशकले गर्छ । झन् नयाँ निर्माता भयो भने त आकाशको तारा नै टिपेर ल्याइदिन्छु सम्म भन्छ, तर पछि परिणाम त्यस्तो हुँदैन । सुटिङ स्पटमा पुगेपछि उसको चरित्रको रंग बदलिन्छ, अनि झगडा सुरु हुन्छ ।’

तर, यो द्वन्द्व सिर्जना हुनुमा फिल्म समीक्षक एवम् निर्देशक नवीन सुब्बा निर्देशकको मात्रै दोष देख्दैनन् । ‘निर्माताले सिनेमा निर्देशकको माध्यम हो भन्ने कुरा नबुझेपछि मुख्यत: यो समस्या सिर्जना हुने हो,’ उनी भन्छन्, ‘सिनेमालाई निर्देशकको माध्यन नठानेपछि त्यहाँ क्रिएटिभ फ्रिडमको अभाव हुन्छ अनि विवाद सुरु हुने हो । बढीजसो फिल्मको ज्ञान नलिई सिनेमामा लगानी गर्न आउनेहरूबाट यो समस्या सिर्जना भइरहेको छ ।’

त्यसो त निर्देशकले आफ्नो जिम्मेवारीको दायरा नाघ्दै गएको सुब्बाको टिप्पणी छ । ‘अहिले निर्देशकहरू सबै ठेक्कावाल भएको सुनिरहेको छु, यो ठीक होइन,’ उनले भने, ‘प्रोडक्सनको पैसामा निर्देशक संलग्न हुने होइन । निर्देशक क्रिएटिभ काममामात्रै संलग्न हुने हो । पैसातिर ध्यान दिन थालेपछि त पक्का झगडा हुन्छ ।’ 

नयाँमाथि पुराना हावी

८० प्रतिशत छायांकन भइसक्दा पनि ‘एउटा यस्तो प्रेमकहानी’का निर्देशक दिपेश सापकोटाले निर्माताको दबाबमा फिल्म रिसुट गर्न तयार हुनुपर्‍यो । सामान्यत: एउटा फिल्मको काम नसकी निर्देशकहरू नयाँ फिल्मको सुटमा लाग्दैनन् । त्यसैले उनले यो फिल्म निर्माण नगरी अर्को फिल्म सुरु गर्न सकिरहेका छैनन् । 

उनको गुनासो छ, ‘निर्माताहरू फिल्म नबनाउने पनि भन्दैनन्, अपुरो काम पूरा गर्नतिर पनि लाग्दैनन्, अर्को फिल्म गर्न पनि दिँदैनन्, म त पूरै अलमलमा परिसकँे, करिअर नै चौपट हुने डर भइसक्यो ।’

अनेक दबाबका बाबजुुद पनि निर्देशक सापकोटा किन निर्मातासँग सम्झौता गर्न तयार भए ?

जवाफ प्रस्ट छ, उनी नयाँ र संघर्षरत निर्देशक हुन् । निर्माता शिव श्रेष्ठ भने पुरानो र चर्चित नाम हो ।

‘निर्माता पुरानो, निर्देशक नयाँ छ भने त्यतिबेला यहाँ पेलिने भनेको निर्देशक हो, उसले निर्माताले जे–जे भने त्यही मान्नुपर्छ,’ चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघ दुवैको अध्यक्ष भइसकेका राजकुमार राई भन्छन्, ‘तर, निर्देशक स्थापित छ र निर्माता नयाँ छ भने त्यतिबेलाचाहिँ निर्देशक हावी हुने हो । नेपाली फिल्म क्षेत्रमा पुरानामाथि नयाँ हावी हुने प्रवृत्ति अब सामान्य भइसक्यो ।’

रचनात्मक मतभिन्नता

निर्माता–निर्देशकबीच हुने द्वन्द्वको अर्को प्रमुख कारण रचनात्मक मतभिन्नता पनि हो । निर्देशकले फिल्म फ्लोरमा जानुअघि नै आफ्नो मस्तिष्कबाट सिनेमालाई हेरिसकेको हुन्छ । तर, जब उसको अभिव्यक्तिमाथि निर्माताको नजर लाग्छ, त्यसपछि सुरु हुन्छ द्वन्द्व । 

‘सिनेमाको ड्राइभिङ सिटमा निर्देशक हुनुपर्ने हो । तर, निर्माता हावी भइदिनु हाम्रो तीतो वास्तविकता हो,’ तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय अभिनेता राजेश हमालको अनुभव भन्छ, ‘यहाँ जो निर्माता फिल्मलाई कलाभन्दा पनि व्यापारका हिसाबले हेरेर लगानी गरेको भन्दा तेब्बर बढी आम्दानी गरेर जान्छु भन्ने सोचले आउँछ उसले निर्देशक चलाउन खोज्छ । बजारमा जुन स्वाद परीक्षणमा हिट भइसकेको हुन्छ, उसले आफ्नो फिल्ममा त्यहीअनुसारको सिन राख्न दबाब दिन्छ । धेरै सिरियस सिन भयो, यहाँ हँसाउने राखौं न, यहाँ रुवाउने राखौं न भनेपछि त्यसमै विवाद सुरु हुन्छ ।’

निर्देशकले बीचमै सुटिङ सेट छाड्नुका कारण पनि यही नै हुन् । लगातार ८ फिल्ममा निर्माता भएर काम गरेपछि अब माधव वाग्ले निर्देशक बन्ने तयारीमा छन् । उनले अनमोल केसीलाई प्रमुख भूमिकामा लिएर ‘पारस’ नामको फिल्म बनाउने खबर बाहिर आइसकेको छ ।

किन निर्देशक बन्नुपर्‍यो भन्ने प्रश्नमा उनको जवाफ छ, ‘निर्माता हुँदा कसैले भ्यालु दिएन । मिडियामा पनि मेरो कामको मूल्यांकन भएन । रिभ्यु लेख्दा होस् या जे गर्दा, खालि निर्देशककै नाम आयो ।’

‘लालपुर्जा’मा निर्देशक निगम श्रेष्ठसँग आर्थिक विवाद भएपछि निर्माताबाट हटेका उनी सुरुमा विपिन कार्की स्टारर ‘नाका’ फिल्ममा पनि निर्माता थिए । प्रि–प्रोडक्सनका क्रममा पूरै संलग्न थिए । तर, क्लाइमेक्स सिन र विपिनसँगको पारिश्रमिकमा कुरा नमिलेपछि फिल्मबाट बाहिरए ।

निर्देशकमाथि बढी नै हावी हुन खोज्ने निर्माताको सूचीमा उनको नाम आउने गर्छ । यस विषयमा जिज्ञासा राख्दा उनले त्यसलाई सहजै स्वीकार गरे । ‘हो, मचाहिँ हावी हुन्छु,’ उनले भने, ‘मैले कसैलाई पनि बाँकी राखेको छैन । मैले भनेको चिज भएन भने म मान्दिनँ । यहाँको निर्देशक कति पानीमा छ, मलाई सबै थाहा छ । कोचाहिँ पढेर आएको छ र यहाँ ? सबै हाम्रै पैसामा हाम्रै चिज बिगारी–बिगारी डिरेक्टर बन्ने होइन र ? त्यसैले म त हावी हुन्छु । प्रि–प्रोडक्सनमा त पूरै हावी हुन्छु, सुटिङमा चाहिँ स्वतन्त्र छाडेर ब्याकअपमा बस्छु ।’

बजेट विवाद

अधिकांश निर्माता गुनासो गर्ने गर्छन्, ‘निर्देशकले मेरो फिल्मको बजेट बढाइदिए ।’ निर्देशक स्वयम् स्विकार्छन्, ‘नचाहँदा–नचाहँदै पनि यस्तो हुन्छ कहिलेकाहीँ ।’ 

आफूले काम गरेका अधिकांश सिनेमामा बजेट र सुटिङलाई लिएर निर्माता–निर्देशकको सम्बन्ध चिसिएको अभिनेत्री स्वस्तिमा खड्काले धेरैपल्ट देखेकी छिन् । ‘त्यो खासै ठूलो झगडा त होइन, तर निर्देशकले बजेट बढाइदियो, सुटिङको दिन बढाइदियो भन्ने निर्माताको गुनासोचाहिँ प्राय: सिनेमामा सुन्ने गर्छु,’ उनले भनिन् ।

यस्तो कसरी हुन्छ ? निर्माता वाग्ले उदाहरण दिन्छन्, ‘फिल्मका लागि ३ करोड खर्च हँुदैछ भने निर्देशकले १ करोडमा सकाइदिन्छु भन्छ । तर, जब २५ लाख लगानी भइसक्छ, त्यसपछि निर्मातालाई थाहा हुन्छ, अब ३ करोड खर्च हुँदैछ । २५ लाखको मायाले गर्दा ३ करोड हाल्न ऊ तयार हुन्छ । र, नचाहँदा–नचाहँदै डुब्छ ।’ उनका अनुसार पुरानो निर्देशकले जानी–जानी फसाउने र नयाँले थाहा नभएर फसाउँछन् । 

निर्देशक हेमराज बीसीका अनुसार उनका दुई फिल्म ‘ब्रेकअप’ र ‘घामड शेरे’को नचाहँदा–नचाहँदै बजेट सोचेभन्दा बढी भइदियो । ‘ब्रेकअप’ २ करोडभित्रमा सिध्याउने लक्ष्य थियो । तर, हलमा आइपुग्दासम्म फिल्मको बजेट २ करोड ५० लाखभन्दा बढी पुग्यो ।

त्यसपछि निर्माताहरूको टाउको नदुख्ने कुरै भएन । ‘तर, नचाहँदा–नचाहँदै बढिदिन्छ कहिलेकाहीँ,’ उनी भन्छन्, ‘स–साना कुराले गर्दा यस्तो हुन्छ । जस्तो, सुटिङ भइरहेका बेला कहिलेकाहीँ पानी परिदिन्छ, मौसमले धोका दिन्छ अनि सुटिङ रोकिन्छ । रोकिनेबित्तिकै सुटिङ लम्बिन्छ, खर्च बढ्छ । कहिलेकाहीँ प्रोडक्सनको साइडबाट व्यवस्थापनमा दूरदर्शी नहुँदा पनि सुटिङ रोकिन्छ ।’

‘ब्रेकअप’का बेला यस्ता अनेक समस्या उनले झेलेका थिए । जस्तो, पोखरामा हावाहुरीको सिक्वेन्स खिच्नु थियो । काठमाडौंमा लिएर गएका दुइटै फ्यानले काम गरेनन् । त्यसपछि पूरा पोखराभर फ्यानको खोजी भयो । पाइएन । समय खेर गयो अनि खर्च बढ्यो ।

‘खर्च कहाँनेर कसरी बजेट बढ्न सक्छ, त्यसमा निर्माताले पनि अध्ययन गरेर आउनुपर्छ भन्ने मलाई लाग्छ,’ निर्देशक बीसीको सुझाव छ । 

‘लुट–२’ का बेला निर्देशक निश्चल बस्नेत र निर्माता माधव वाग्लेबीच पनि सामान्य विवाद भएको थियो । विवादको कारण थियो— पानी बोक्ने ट्यांकर । निश्चल फाइटको सिन खिचिरहेका थिए । पानी पार्नुपर्ने सिन थियो । निश्चलले एउटा ब्याकअपसहित दुई ट्यांकर पानी ल्याउन भनेका थिए । तर, आयो एउटा मात्रै । 

‘यही कुरामा म माधव दाइसँग रिसाएको थिएँ, किनभने एउटा ट्यांकरले पुग्छ भन्ने ठान्नु उहाँको गल्ती थियो,’ उनले सुनाए । निश्चलको अनुभवमा पनि निर्माता–निर्देशकबीच द्वन्द्वको कारण पैसा हो । कारण, निर्देशक फिल्म बनाउने क्रममा सम्झौता गर्न चाहँदैन तर निर्माता सकेसम्म कम खर्चमा बजारले रुचाउने फिल्म बनोस् भन्ने चाहन्छ ।

‘कुनै पनि निर्मातालाई पैसा बढी खर्च भइदियो भने तनाव हुने हो,’ निश्चल भन्छन्, ‘निर्माता–निर्देशकले सँगै बसेर फिल्मको अनुमानित बजेट तयार गरेको हुन्छ । तर, त्यो बजेटभन्दा बढी खर्च हुन थालेपछि उनीहरूबीच मनमुटाव सुरु हुने हो । कति केसमा कुनै सिनलाई लिएर सोचेभन्दा बढी सामग्री चाहिन सक्छ, निर्माताले त्यो कुरा नबुझ्दा पनि समस्या हुन्छ । ’

हिरोइन छनोटमा विवाद

फिल्म क्षेत्रका पुराना निर्माता छविराज ओझाले एक समय अभिनेत्री रेखा थापाले नै आफ्नो फिल्मको हिरोइन बनाइरहे । जब उनको जिन्दगीमा शिल्पा पोखरेलको प्रवेश भयो, त्यसपछि लगातार उनका फिल्ममा उनैलाई हिरोइन बनाए । उनका फिल्मैपिच्छे निर्देशक परिवर्तन भए, तर हिरोइन उही रहे । कोही पनि निर्देशक उनीविरुद्ध जान सकेनन् । कारण, उनी पुराना निर्माता थिए । 

‘एकपल्ट मैले उहाँलाई हिरोइन सधैं एउटै भयो परिवर्तन गरौं भनेर धेरै जोड गरेको थिएँ, तर उहाँ मरिगए मान्नुभएन,’ नाम नखुलाउने सर्तमा उनीसँग काम गरेका एक निर्देशकको गुनासो थियो ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईका अनुसार कलाकार छनोटका क्रममा निर्देशकमाथि निर्माता हावी हुने प्रवृत्ति नेपाली फिल्मका लागि पुरानै हो । आफैं निर्माता रहेका उनले भने, ‘धेरैजसो विवाद हिरोइनलाई लिएर हुन्छ । हिरोइन को लिने भन्ने विषयमा धेरैको झगडा भएको छ । किनभने निर्माता एउटा नाम लिन्छ, निर्देशक मान्दैन ।’ फिल्ममा सिनेमाटोग्राफर, सम्पादक, लाइटम्यान, साउन्ड डिजाइनर आदि प्राविधिक टोलीमा निर्माताले सधैं आफ्नै समूहको मान्छे राख्न खोज्दा पनि निर्देशकसँग विवाद हुने राईको अनुभव छ ।

‘अधिकांश निर्माता यहाँ फिल्ममेकिङ पढेर भन्दा पनि परेर आएका छन्,’ उनी भन्छन्, ‘त्यसैले उनीहरू बढी प्राक्टिकल कुरा गर्छन्, बजारमा जे चलिरहेको छ त्यही दिनुपर्छ भन्छन्, तर पढेर आएको निर्देशक त्यो मान्दैन । ऊ सैद्धान्तिक हिसाबले जान खोज्छ । त्यसपछि सुरु हुन्छ निर्माता–निर्देशक लफडा ।’

बजारको धङधङीबाट निर्माता कतिसम्म निर्देशित हुन्छ, त्यो जान्न निर्देशक दिनेश राउतको एउटा उदाहरण काफी छ । फिल्म ‘प्रसाद’ रिलिजताका उनका निर्माता सुभाष थापाले फिल्म निर्माणलाई लिएर कहीँकतै उनीसँग हस्तक्षेप गरेनन् ।

तर, फिल्म प्रचारताका कुन गीत सुरुमा सार्वजनिक गर्ने भन्ने विषयमा भने विवाद उब्जियो । निर्माता थापाको तर्क आयो– बजारमा लोकगीत चलिरहेको छ, त्यसैले सुरुमा ‘वनकी चरी’ गीत फालौं । निर्देशक राउतको अडान थियो, ‘अहँ, त्यो हुँदैन । किनभने सुरुमा फिल्मको चरित्र बोल्ने गीत फाल्नुपर्छ । त्यसैले ‘लै लै, माया भन्दा ठूलो के नै छ र’ गीत फालौं ।’ 

त्यतिबेला बल्लतल्ल निर्मातालाई मनाएका राउतको निर्माता–निर्देशकबीच हुने द्वन्द्वबारे धारणा छ, ‘रचनात्मक कुरामा छलफल हुनु त ठीकै हो तर यहाँ निर्माताले निर्देशकलाई बढीजसो बजारमा के बिक्छ त्यही राख्नुपर्छ भन्ने दबाब दिन्छ । निर्देशकले आफ्नो अभिव्यक्ति रक्षाका खातिर हुँदैन भन्यो भने द्वन्द्व भइहाल्छ ।’

त्यसैले त निर्देशक–निर्माताको द्वन्द्वलाई लिएर फिल्म निर्देशक मनोज पण्डित भन्ने गर्छन्, ‘यो अभिव्यक्ति र नाफाबीच हुने लडाइँ हो । निर्देशकलाई अभिव्यक्तिको चिन्ता हुन्छ, निर्मातालाई लगानी र नाफाको । हामी सर्जकको विडम्बना के छ भने हाम्रो सिर्जना पैसाका अगाडि झुक्नुपरिरहेको छ ।’

‘हिरोइनलाई लिएर झगडा हुन्छ’

राजकुमार राई -पूर्वअध्यक्ष, चलचित्र विकास बोर्ड

अधिकांश निर्माता यहाँ फिल्ममेकिङ पढेर भन्दा परेर आएका छन् । एउटा बजारमा के चलिरहेको छ त्योअनुसार प्राक्टिकल्ली यो गरौं भन्छ, अर्कातिर पढेर आएको निर्देशक सैद्धान्तिक हिसाबले जान खोज्छ, अनि विवाद हुन्छ । पुरानो निर्मातासँग सुरुदेखि नै एउटा ट्युनिङ मिल्ने टिम हुन्छ । तर, क्रिएसन गर्ने भनेको त डिरेक्टरले हो । उसले निर्माताले भनेअनुसारको प्राविधिक राख्न मान्दैन । त्यसपछि विवाद हुन्छ । 

हामीकहाँ अर्को विवाद हिरोइन कसलाई लिने भनेर हुन्छ । निर्माता एउटा नाम लिन्छ, निर्देशक मान्दैन । त्यसपछि झगडा हुन्छ । त्यस्तै यतिमा फिल्म सक्काइदिन्छु भनेर ठेक्का लिने निर्देशकहरू पनि छन् । तर, भनेअनुसार काम हुँदैन अनि विवाद सुरु हुन्छ । 

निर्देशकहरू नै ठेक्कावाल छन

नवीन सुब्बा -फिल्म निर्देशक/समीक्षक

फिल्म कसको मिडियम हो भन्ने थाहा नहुँदा निर्माता–निर्देशकबीच झगडा हुने हो । सिनेमा निर्देशकको माध्यम हो । तर, निर्माताले त्यो नबुझेपछि त्यहीबाट समस्याको थालनी हुने हो । निर्देशकले काम गर्ने क्रममा पाउनुपर्ने क्रिएटिभ फ्रिडम नपाएपछि समस्या हुन्छ । 

त्यस्तै निर्देशकले पनि उनीहरूलाई दिएको दायित्व नाघेर काम गर्‍यो भने द्वन्द्व निम्तिने हो । अहिले हामीकहाँ निर्देशकहरू सबै ठेक्कावाल भएको सुन्छु । प्रोडक्सनको पैसामा निर्देशक संलग्न हुने होइन । क्रिएटिभ काममा मात्रै संलग्न हुने हो । 

हामी निर्माताको प्रचारै हुँदैन

माधव वाग्ले, निर्माता

निर्देशक र निर्माता पहिले साथीजस्तो हुन्छन् । दुवै जना मिलेर धेरै सपना देख्छन् । बढी सपना देखाउने काम निर्देशकले गर्छ । अझ निर्माता नयाँ भयो भने त आकाशको तारा नै टिपेर ल्याइदिन्छु सम्म भन्छ । फिल्मका लागि ३ करोड खर्च हुँदैछ भने उसले १ करोडमा सकाइदिन्छु भन्छ । तर, जब २५ लाख लगानी भइसक्छ, त्यसपछि त्यो निर्मातालाई थाहा हुन्छ, अब ३ करोड सकिँदैछ । तर, २५ लाखको मायाले गर्दा ऊ ३ करोड हाल्न पनि तयार हुन्छ । र, यसरी ऊ डुब्छ ।

म आठवटा फिल्मको एक्लो मालिक हुँ । को निर्देशक कति पानीमा छ सबै थाहा छ । त्यत्रो पैसा हाल्ने निर्माताको कहीँ प्रचार हुँदैन । रिभ्यु लेख्दा फिल्म निर्देशकको खुब वाहवाही हुन्छ तर निर्माताको हुन्न । म निर्माता भएर काम गर्दा मिडियाले मेरो कामको मूल्यांकन गरेन, त्यसैले म अहिले आफैं निर्देशक बन्दैछु । हामीकहाँ कोचाहिँ डिरेक्टर पढेर आएको छ ? सबै हाम्रै चिज बिगारी–बिगारी डिरेक्टर बन्ने हो । त्यसैले मचाहिँ मेरो फिल्म गर्दा हावी हुन्छु । मैले कसैलाई पनि बाँकी राखेको छैन । मैले भनेको चिज भएन भने म मान्दिनँ । 

खर्च बढेपछि विवाद

निश्चल बस्नेत, निर्देशक

कुनै पनि निर्मातालाई पैसा बढी खर्च भइदियो भने तनाव हुने हो । सुरुमा निर्माता–निर्देशकसँग बसेरै अनुमानित बजेट तयार गरेको हुन्छ । तर, त्यो बजेटभन्दा बढी खर्च हुन थालेपछि मनमुटाव सुरु हुने हो । कति केसमा कुनै सिनलाई लिएर सामग्रीहरूको माग अलि बढी हुन जान्छ । त्यसले पनि निर्माताको टाउको दुख्छ ।

यो द्वन्द्व भनेको निर्माताले के उद्देश्यले फिल्म बनाइरहेको छ भन्नेमा पनि निर्भर हुन्छ । राम्रो फिल्म बनाउने उद्देश्य हो कि व्यापारमात्रै भनेर हेरिएको हो, त्यसले अर्थ राख्छ । हामीकहाँ ‘क्रिएटिभ साइड’बाट त्यति धेरै द्वन्द्व हुँदैन । त्यतिखेर मात्रै हुन्छ जब पैसाको कुरा उठ्छ । हुन त जुनसुकै बिजनेसमा सोचेको भन्दा बढी खर्च भयो भने टाउको दुख्नु स्वाभाविक पनि हो ।

निर्देशकले पनि निर्माताको लगानी बालुवामा पानी हुँदैछ या सुरक्षित हुने अवस्था पनि छ, त्यो ख्यालचाहिँ गर्नुपर्छ । हामीकहाँ समस्या के छ भने निर्माताले फलानो डिरेक्टरसँग काम गर्दैछु भनेपछि जति पनि पैसा खर्च गर्न तयार हुन्छ, अनि निर्देशक जति पनि खर्च गराइदिन्छ ।

निर्माता चाहन्छ एउटा, निर्देशकले बनाइदिन्छ अर्कै

हेमराज बीसी, फिल्म निर्देशक

कति निर्माताहरू सुटिङको सेड्युल बढ्यो भने बुझ्दैनन् । एकोहोरो रिसाउँछन् । नचाहँदा–नचाहँदै सेड्युल बढिदिन्छ कहिलेकाहीँ । कतिपय ठाउमा निर्देशककै कमी–कमजोरीकै कारण पनि बढिरहेको हुन्छ । निर्माता–निर्देशकबीच हुने रचनात्मक मतभिन्नताका कारण पनि विवाद हुने हो । कहिलेकाहीँ निर्माताले एउटा कुरा बनाउन आएको हुन्छ तर निर्देशकले अरू नै केही बनाइदियो भने पनि द्वन्द्व हुन्छ ।

प्रकाशित :चैत्र ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×