सिनेमाको भाषामा भन्दा कोरोना भाइरस (कोभिड १९) यतिखेर विश्वसामु एउटा खतरनाक खलपात्रका रुपमा देखापरेको छ । पुरा विश्व अहिले यसविरुद्ध लडिरहेको छ । मानव संघर्ष दिन दुगुणा रात चौगुणा बढिरहेको छ । तर, भाइरसको आक्रमण रोकिएको छैन । संघर्ष पनि जारी नै छ । सारा विश्व अहिले सुखद क्लाइमेक्सकै प्रतिक्षामा छ ।
चार वर्षअघि निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘पशुपतिप्रसाद’ यस्तै संकटका कारण जन्मिएको पात्रको कथा थियो । ०७२ सालको भूकम्पले यो पात्रको घरमात्रै लिएर गएको थिएन, सँगै बाआमाको ज्यान समेत लिएको थियो ।
पशुपतिप्रसाद खकुरेल त्यसपछि टुहुरोमात्रै भएका थिएनन्, साहुको ५० हजार ऋण पनि उनकै काँधमा आइपरेको थियो । साहुको ऋण नितिरी मर्ने मान्छेलाई स्वर्गको ढोका पनि खोलिदैन भनेपछि पशुपतिप्रसाद एउटा मनछुने संवाद बोल्छन्, ‘गरिब भनेर नहेप, तिम्रो ऋण नतिरी मेरा बाउआमाको अस्तु पनि सेलाउन्न ।’
त्यसपछि ५० हजार कमाउने लक्ष्य बाकेर गाउँदेखि शहर अर्थात् पशुपतिनाथकै परिसरबाट सुरु हुन्छ, पशुपतिप्रसादको संघर्ष । पैसा कमाउन अनेक संघर्ष गर्छ । घरी आर्यघाटमा लास जलाएर बचेको मुढा ओसार्ने काम गर्छ, घरी मरेका मान्छेको कपडा नयाँ बनाएर बेच्ने । घरी ठेलामा समोसा पसल, घरी खोलामा खरखजानाको खोजी ।
आर्यघाटमा संघर्ष गर्न आइपुगेको यो पात्रको संघर्ष अन्त्यमा आर्यघाटमै पुगेर टुंगिन्छ । र, आर्यघाटमा त्यतिबेला एउटा जीवनको मात्रै अन्त्य हुँदैन, उसँगै एउटा गरिब सपनाको पनि नमिठो अन्त्य हुन्छ ।
यही मनछुने प्रस्तुतिका कारण नेपाली फिल्म क्षेत्रमा फरक पहिचान बनाएका निर्देशक हुन्, खनाल । त्यसो त नेपालको पहिलो थ्रिडी फिल्म ‘भिजिलान्ते’, यौन मनोविज्ञानमा आधारित ‘चपली हाइट’ आदि फिल्म निर्देशन गरेका कारण पनि नेपाली फिल्म क्षेत्रमा प्रयोगवादी निर्देशकको रुपमा फरक पहिचान छ । ‘आमा’ उनी निर्देशित पछिल्लो फिल्म ।
खनाल अहिले कोरोना भाइरसको जोखिमका कारण आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’मा छन् । मंगलबारबाट सरकारको सात दिने ‘लकडाउन’ सुरु भइसकेको छ । र, सिनेमामा झैं यो ‘लकडाउन’को समय पनि उनी नयाँ ढंगबाट सदुपयोग गर्ने प्रयत्नमा छन् ।
पहिलो दिन मंगलबार उनले घरमै फूल बिरुवा गोडमेल गरे । केहीसमय माटोसँग खेलेर मन खुशी बनाए । त्यसपछि गाडीको इन्टेरियर सफा गरे । अनि साँझ परेपछि आफ्नै कर्म अर्थात् नयाँ फिल्मका लागि स्क्रिप्टमै घोत्लिरहे ।
यसैगरी लकडाउनको दोश्रो दिन बुधबार उनको दिनचर्या मंगलबारभन्दा केही फरक भयो । बिहान घरको इन्टेरियर सफा गरे । त्यसपछि पुराना फोटो एल्बम पल्टाएर पुराना दिनहरुको तीता मिठा सम्झनामा रमाउँदै परिवारसँग दिन बिताए । ‘अब फेरि आफ्नो कर्ममा एकछिन घोत्लिनुपर्ला,’ साप्ताहिकसँगको कुराकानीमा उनी भन्दै थिए, ‘हरेक दिन केही नयाँ गर्छु भन्ने सोचमा छु । घरको कुना काप्चा खोतल्दैछु, कँहीकतै केही नयाँ कथा पो भेटिन्छ कि भन्ने आशामा ।’
यतिखेर खनालमात्रै होइन सरकारको लकडाउन घोषणापछि आम नेपाली घरभित्रै थुनिएका छन् । यो फुर्सदको समयलाई सिर्जनशिल उपयोग गर्न कोही पुस्तक पढिरहेका छन्, कोही फिल्म हेरिरहेका ।
फिल्म पारखीहरूलाई कुन सिनेमा हेर्न सिफारिस गर्नुहुन्छ ? साप्ताहिकको जिज्ञासामा उनले आफ्नो सिनेमाको नाम लिएनन् । बरू चार विदेशी सिनेमा आफूलाई मनपर्नुको कारणसहित सुझाए :
१) लाइफ इज ब्युटीफुल
यो फिल्मले अप्ठ्यारो परिस्थितिमा पनि अभिभावकले आफ्नो सन्तानप्रति गर्ने त्याग र मायाको बारेमा मिठो अभिव्यक्ति दिएको छ ।
२) सन अफ सल
यो हंगेरियान फिल्मचाँही विशेषगरी निर्माणमा रूची राख्नेहरूलाई हेर्न अनुरोध गर्छु । यो फिल्म मेकिङदेखि सबै प्रोसेसको अध्ययन गर्ने हो भने आफ्नो कथा भन्ने शैली कसरी आफैंले निर्माण गर्न सकिन्छ भन्ने कुरा सिक्न सकिन्छ ।
३) आँखो देखि
यो फिल्मले जीवन जिउन र जीवनलाई फरक दृष्किोणबाट हेर्न सिकाउँछ ।
४) लेटर फ्रम इवो जीमा
यो फिल्म युद्धले दिने पीडा र देश प्रेमको सुन्दर प्रस्तुति हो । हेर्दा मन चसक्कै बनाउँछ ।