अवस्था नै यस्तै छ, अहिले कोही चाहेर पनि घरबाहिर निस्किन सक्दैन । कोरोना भाइरसको जोखिमले हामी सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न बाध्य बनाएको छ । अझ त्यसमाथि सरकारकोे ‘लकडाउन’ ।
तर अहिले घरमै बसेर फुर्सदको समयलाई सिर्जनात्मक हिसाबले सदुुपयोग गरौँ भन्नेहरुका लागि पुस्तक र सिनेमा उपयुक्त विकल्प हो । त्यसैले हामी अहिले विभिन्न कलाकार र निर्देशकहरुसँग कुराकानी गर्दै पाठकसामु दिनहुँ नयाँ–नयाँ सिनेमाको सिफारिससहित उपस्थित भइरहेका छौं ।
यसअघि दीपकराज गिरी र दीपेन्द्र के. खनालले घरमै बसी–बसी इन्टरनेटबाट हेर्न मिल्ने सिनेमाको सूची हामीसँग बाँडेका थिए । आज चौथो दिन सिनेमा सिफारिसका लागि हामीले फिल्म निर्देशक विनोद पौडेलसँग कुराकानी गरेका छौं ।
टेम्पो चालक महिलाको कथामा ‘बुलबुल’ नामको सिनेमा बनाएर चर्चा बटुलेका निर्देशक हुन्, पौडेल । यसअघि उनले यौन मनोविज्ञानमा आधारित सिनेमा ‘साँघुरो’को पटकथा समेत लेखेका थिए । ‘बुलबुल’मार्फत उनले उत्कृष्ट निर्देशकका रूपमा नेसनल अवार्ड नै हात पारे ।
ओस्कार इन्टरनेशनल कलेज अफ फिल्म स्टडिजका प्रमुख समेत रहेका उनी ‘लकडाउन’को समय नयाँ सिनेमाको तयारी गर्दै र फिल्म हेरेरै बिताइरहेका छन् । ‘त्यति धेरै मोबाइल पनि चलाइरहेको छैन, घरमा रिल्याक्स समय बिताइरहेको छु,’ उनले भने ।
पौडेल बजारबाट निर्देशित भएर सिनेमा बनाउने निर्देशकको सूचीमा अट्दैनन् । ‘जे विषयले मलाई छुन्छ, त्यही विषय मैले दर्शक सामु भन्नुपर्छ भन्ने लाग्छ,’ सिनेमा साधना हो भन्ने परिभाषा दिँदै उनी भन्छन्, ‘मैले यसलाई कहिल्यै पनि व्यापारिक दृष्टिकोणबाट हेरिनँ । सिनेमा निर्माणमा यदि पैसाको गन्ध मिसियो भने ढुक्क हुनुस्, त्यो सिनेमा बिग्रिन्छ ।’
आजका लागि उनले यस्तै दुई विदेशी सिनेमा सिफारिस गरेका छन्, जुन हृदयदेखि बनाइएका थिए, पैसाका लागि होइन, कलाकै लागि बनाइएका थिए ।
ती सिनेमा र जानकारी उनकै शब्दमा :
एन्ड लाइफ गोज अन (१९९२)
इरानी निर्देशक अब्बास किरुस्तामीले निर्देशन गरेको सिनेमा हो यो । यसको पटकथा पनि किरुस्तामीले नै तयार पारेका हुन् । यसमा एकजना निर्देशक छन्, जो आफ्नो अघिल्लो सिनेमामा आफ्नो छोरासँग अभिनय गरेका कलाकारलाई भेट्न जाँदैछन् । यतिबेला इरानमा महा–भूकम्पका कारण ५० हजार बढी मान्छेले ज्यान गुमाएका हुन्छन् । त्यो गाउँ, जहाँ धेरै मान्छेको मृत्यु भएको छ, त्यहीँ बस्छन्, ती बालकलाकार । तिनै बालकलाकारको खबर लिन गइरहेका निर्देशक र उनको छोराको यात्राको कथा हो यो सिनेमा । त्यस यात्रामा ठोक्किने अनेक पात्रहरूको दृष्टिकोणलाई निर्देशकले जस्ताको तस्तै सिनेमामा देखाएका छन् ।
भूकम्पले हजारौँको ज्यान लिएको छ । हजारौँ घरबारविहीन भएका छन् । तैपनि जीवन चलिरहेकै छ अर्थात् लाइफ गोज् अन । जीवनका अनेक पाटाहरू सकिएका छैनन् । मान्छेहरूको जीवन रोकिएको छैन । भूकम्पलाई लिएर सबैको आ–आफ्नै दृष्टिकोण छ । विभिन्न कोणहरूबाट पात्रहरू आफ्नो जीवनको खोजी गरिरहेका छन् ।
यो सिनेमामा निर्देशकले पात्रहरूको संवेदनालाई कहीँकतै तोडमोड गरेका छैनन् । फिक्सन र ननफिक्सनको बीचमा बसेर उनले यो फिल्मको न्यारेटिभ डिजाइन गरेका छन् ।
अहिले जसरी कोरोनाले संसार हल्लाइरहेको छ, यो समय मलाई यो सिनेमा हेर्नु सान्दर्भिक हो जस्तो लाग्छ । जीवन जोखिममा छ तैपनि चलिरहेकै छ । आखिर कोरोना प्रभावित देशका जनताहरूको जीवन पनि त अहिले सायद यही मोडमा छ ।
अ साइलेन्ट लाइट (२००७)
मेक्सिकन निर्देशक कार्लाेस रेगाडार्सले निर्देशन गरेको सिनेमा हो यो । कार्लोस मेरा आदर्श निर्देशक पनि हुन् । यो सिनेमामा ५० वर्ष कटेको एउटा पुरुष पात्र छ, जसले आफ्नो पत्नीलाई आफूअर्कै महिलासँग प्रेममा परेको कुरा बताएर उनलाई मन्जुर गराउछन् । सिनेमाको मुख्य प्लट यहीँबाट सुरु भएको छ । एकदमै कवितात्मक र दृष्टिगत छ यो सिनेमाको न्यारेटिभ ।
सिनेमामा कुनै चल्तीका कलाकारलाई लिइएको छैन, ‘र’ एक्टरहरू लिएर काम गरिएको छ । सिनेमामा संवादले होइन दृश्यले, लाइटले, साउन्डले, क्यामेराले धेरै कुरा बोल्छन् । लामा–लामा ‘सट’ छन्, तिनै ‘सट’भित्र धेरै कुराहरूको तह हेर्न सकिन्छ । सिनेमाको अन्त्य ‘सर्रियल’ अर्थात् ‘अतियथार्थ’ छ । हुन त यसको शीर्षक आफैँमा सर्रियल छ ।
मलाई यो सिनेमाको स्टोरीभन्दा पनि जसरी यसलाई भनिएको छ, त्यसले एकदमै छोएको हो । त्यसैले मलाई मनपर्ने सिनेमाको चर्चा गर्दा नछुुट्ने नाम हो । यसमा सम्बन्धको एउटा आयामलाई यति गज्जबले भनिएको छ कि अहिलेको समयमा एक्लै घरमा बसेर हेर्दा ‘मेडिटेसन’ गरेको अनुभव हुनसक्छ ।