साप्ताहिक संवाददाता
चीनमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा कन्सर्टको सिलसिलामा म लन्डनमा थिएँ । मेरो म्युजिकल टुर जारी नै थियो । लन्डनबाट नेपाल फर्किएको भोलिपल्टैदेखि म कन्सर्टमा व्यस्त भए । पोखरा, दिक्तेल, ताप्लेजुुङ हुँदै धरानसम्म कार्यक्रम गर्न भ्याएँ ।
धरानपछि बेलबारी, भद्रपुुर, पर्सालगायत थुप्रै स्थानमा मेरो कन्सर्ट तय भएको थियो । तर, नेपालमा कोरोनाको उच्च जोखिम देखिएपछि सरकारले निर्णय नै गरेर मेला महोत्सवहरू केही नगर्न आदेश जारी गर्यो । त्यसपछि तय भएका सबै कन्सर्ट क्यान्सिल भए ।
म काठमाडौं फर्किए । तैपनि काम गर्न छाडेको थिइनँ । थाती रहेका गीत रेकर्डिङको काम भ्याइरहेको थिएँ । अचानक सरकारले लकडाउनको घोषणा गर्यो । आखिर स्वास्थ्यभन्दा ठूलो धन त हैन भन्ने सोचेरै म घर भित्रै बस्न थाले ।
लकडाउन भनेको के हो ? सरकारले घोषणा गरिरहँदा मलाई खासै जानकारी थिएन । तर, जब गुुगल गरेँ, त्यसपछि थाहा भयो– यसको अर्थ घरमै बस्नु, बाहिर ननिस्कनु रहेछ । लकडाउनमात्रै होइन क्वारेन्टाइन, आइसोलेसन सबै पहिलोपल्ट नै सुनेको हुँ । र, ६ दिन भयो म घरमै सेल्फ क्वारेन्टाइनमा छु ।
लकडाउनको पहिलो दिन म निकै अलमलमा परेँ । के गर्ने, कता जाने भइरहेको थियो । धेरैजसो कोरोनासम्बन्धी समाचारहरूमै मेरो ध्यान गयो । त्यसबाहेक मनोचिकित्सासम्बन्धी सामग्रीहरू गुुगल र युट्युुबमा खोजी–खोजी हेरे र पढेँ ।
पहिलो दिन पढेका समाचारबाट विश्वको भयावह अवस्थाबारे मलाई जानकारी भयो । त्यही जानकारीसहित म दोस्रो दिन फेसबुक लाइभ आएँ । हामीकहाँ कतिपयले लकडाउनको नियम पालना नगरेको, घरबाट बाहिर ननिस्किएको खबर आइरहेको थिए । सडकमा देखिएको अवस्था पनि थियो ।
फेरि यो भाइरस एकदमै छिटो सर्ने रहेछ । एउटालाई लाग्यो भने त्यसले धेरैमा फैलाउने सम्भावना प्रवल हुने रहेछ । यो सब थाहा पाएपछि म लाइभमा आउन बाध्य भएँ, मेरा प्रिय श्रोता, दर्शक एवम् शुुभचिन्तकका लागि ।
कोरोनाबारे आफूले अध्ययन गरेको ज्ञान मैले लाइभमार्फत मेरा फ्यानलाई सेयर गरेँ । यसको संक्रमणबाट कसरी बच्न सकिन्छ, ती टिप्सहरू पनि बाँडे । र, यसरी दोस्रो दिन धेरैको उत्साहजनक सहभागिताले मलाई मेरो समय बितेको पत्तै भएन ।
दोश्रोझैं तेश्रो दिन पनि म लाइभमा आएँ । तर, यसपल्टको ध्येय कोरोनासम्बन्धी जानकारीभन्दा पनि लकडाउनका कारण बोर भएका दर्शकलाई मनोरञ्जन दिलाउनु थियो । स्टेजमा उत्रिन नपाउँदा म आफंैलाई खल्लो महसुस भएकै थियो । त्यसैले सोेचेँ– म पनि घरबाटै गाउँछु, दर्शकलाई पनि घरमै नचाउँछुु ।
एउटा तितो यथार्थ के हो भने कलाकार भइसकेपछि सांगितिक व्यस्तताका कारण आफन्त र नजिकका इष्टमित्रलाई खासै समय दिन भ्याइरहेको थिइनँ । धेरैले माया मारिस् भनेर चित्त दुखाउँथे । यद्यपि यो मेरो रहर थिएन, बाध्यता थियो । र अहिले म ती सबै मेरा नजिकका आफन्त र इष्टमित्रसँग घरबाटै सम्पर्क गरिरहेको छु । एकहिसाबले भन्दा सम्बन्धलाई पुनः प्रगाढ बनाउने प्रयत्नमा छु ।
यो कोरोना र लकडाउनले मलाई सिकाइरहेको एउटा गतिलो पाठ पनि यही हो– ‘जतिसुुकै व्यस्त भएपनि आफ्नाहरूसँग नटाढिनू । संकटका बेला चाहिने उनीहरू नै हुुन् ।’
घरमा बढी बसेपछि घर पनि बढी नै फोहोर हुने रहेछ । सामाजिक दूरी बढाउनुुपर्ने यो बेला कोरोनाले हामी सबैलाई आफ्नो काम आफैँ गर्न प्रेरित पनि गरिरहेको छ । हो, धक नमानी भन्दा मलाई कोरोनाले सरसफाइ गर्न पनि सिकाइरहेको छ ।
लकडाउनका बेला मैले जीवनकै फरक अनुुभव लिएको ‘कुुकिङ’को हो । मलाई खाना पकाउनमा कहिल्यै रूची जागेन । न केही पकाउन नै आउँथ्यो । तर, लकडाउनको चौथो दिन मैले मेरो किचनमा पस्ने आँट गरेँ ।
यसअघि कुुकिङमा सधैं मलाई मेरा सहयोगी भाइहरूले सघाउँथे । तर, त्यो दिन म आफैँले किराती तरकारी ‘किनिमा’ पकाएँ । बोर मानिरहेका मेरा फ्यानहरुले पनि इन्जोय गरून् भनेर पकाइरहेको मुमेन्ट फेसबुकमा लाइभसमेत गरेको थिएँ ।
आफैँले पकाएर हो कि खोइ कुन्नी, त्यो दिन साँच्चै खाना साह्रै मिठो भयो ।
काममा व्यस्त भइरहने मान्छेलाई घरमा थुनिएर बसिरहनु पर्दा छटपटी हुनुु स्वाभाविक नै हो । तैपनि यो संकटका बेला घरमै बस्नु आफ्ना लागि मात्रै नभएर देशकै लागि ठूलो योगदान हुने बुुझेको छु । त्यसैले अल्छी लाग्दा घरी संगीतमा रमाउँछु, घरी सामाजिक संजालमा घोत्लिन्छु, घरी भान्सातिर खुुट्टा लम्काउँछु, घरी सिनेमा हेर्छु, घरी आफन्तहरूसँग गफगाफ । समग्रमा मेरो लकडाउन दिनहरू यसै गरी बितिरहेको छ ।
(अनिल यादवसंग राजेशपायल राईले गरेको कुराकानीमा आधारित)