साप्ताहिक संवाददाता
कोरोनापछि जनजीवन सामान्य अवस्थामा फर्किन त केही समय लाग्छ भने फिल्म निर्माण र प्रदर्शन त झन भीडमा हुने कुरा भयो । अझ हामीले त त्यसका लागि केही तयारी पनि गरेको अवस्था छैन । नेपाली सिनेमाको अर्थतन्त्र त डामाडोल नै हुने अवस्था देख्छु । हलमा दर्शक आउने अवस्था सिर्जना हुन कम्तीमा ७–८ महिना त लाग्ला ।
यसबेला धेरैखाले कुराहरू उठिरहेका छन् । कतिपयले कलाकारको पारिश्रमिक समायोजनको कुरा गरिरहेका छन् । यसै पनि हामीकहाँ ०७५ सालको तुलनामा ०७६ सालमा कम सिनेमा बनेको अवस्था हो । त्यसमाथि धेरै सिनेमाका रिलिज रोकिएका छन्, सुटिङ स्थगित भएका छन् । त्यसैले जबसम्म हलमा दर्शक आउने स्थिति सिर्जना हुँदैन, तबसम्म नेपाली सिनेमाको अवस्था डरलाग्दै हुन्छ होला । योभन्दा अघि पनि एक किसिमको संकटकाल नै थियो, अब झन् हुने नै भयो ।
महामारीपछि सिनेमामात्रै होइन, सारा संसार नै परिवर्तन हुन्छ । सरसफाइ र सुरक्षाका कुरामा बढी नै सजग हुने अवस्था आउँछ । करिब एक–डेढ वर्ष आर्थिक मन्दीका कारण सिनेमाको निर्माण पनि धेरै कम हुनेछ ।
फिल्म निर्माणमा कमी आउने भएपछि कलाकारले काम नपाउने भय त छँदैछ । मेरो हकमा भन्नुपर्दा सहकार्यमा नयाँ प्रोजेक्ट गर्ने तयारी थियो । निर्माताका हिसाबले मैले आफैं केही गर्ने सोचचाहिँ बनाइरहेको छु ।
पछिल्लो समय बलिउडदेखि यहाँसम्म कलाकारले आफ्नो पारिश्रमिक घटाइदिनुपर्छ भन्ने फिल्ममेकरको माग सुनिँदैछ । यदि खबरमा आएजस्तै हामीकहाँ कलाकारले २० देखि ५० लाखसम्म पारिश्रमिक लिइरहेको अवस्था हो भने त्यसमा पक्कै पनि समायोजन हुनुपर्छ । कोरोनापछि जति नै कम बजेटमा हामीले सिनेमा बनाउन सक्यौं, त्यति नै लगानी उठाउन सक्ने सम्भावना धेरै हुन्छ ।
अहिले ५५ फिल्म बन्दा बढीमा ५ वटा फिल्म चलेको अवस्था छ । त्यसैले यो अवस्थामा कलाकारले पनि पक्कै पारिश्रमिक समायोजनका विषयमा सोच्नैपर्छ । तर, यो बेला मेकरहरूले पनि बढी महत्वाकांक्षी भएर सिनेमा नबनाए हुन्छ । अहिले हामीले कम बजेटमा बन्न सक्ने नयाँ र रमाइला कन्टेन्ट समावेश भएका सिनेमा बनाउनतिर जोड दिनुपर्छ ।
बलिउडका केही फिल्म समीक्षक र निर्देशकहरू कोरोनापछि केहीसमय फिल्ममा अन्तरंग दृश्य कम हुने टिप्पणी गरिरहेका छन् । योचाहिँ अलि मूर्खतापूर्ण टिप्पणी जस्तो लाग्यो मलाई । अहिले त अन्तरंग दृश्यमात्रै होइन, सामाजिक दूरी नै कायम हुनुपर्छ भन्ने कुरा हो । बलिउडमा त झन् दुई–तीन सयजना क्रुको बीचमा काम हुने कुरा हो । अन्तरंग दृश्य त दोस्रो कुरा भयो । सिनेमा सुटिङ गर्नकै लागि सम्पूर्ण सुरक्षा उपाय अपनाउन जरुरी हुन्छ ।
यो पनि पढ्नुहोला ।