करिब चार महिनादेखि निर्माता तथा अभिनेता दीपकराज गिरी ‘छक्कापन्जा ४’ को स्क्रिप्ट लेखिरहेका थिए । तर, एक साताअघि मात्रै उनले त्यो स्क्रिप्ट पूरा नहुँदै थन्काइदिएका छन् । कारण, यो वर्ष उनी र उनको टिम यो सिनेमा नबनाउने निष्कर्षमा पुगेको छ । यसअघि दीपकको टिमले सिनेमा दसैंमा रिलिज गर्ने घोषणै गरिसकेको थियो । तर, कोरोना भाइरसले निम्त्याएको संकटका कारण यो साल प्रदर्शनको माहोल राम्रो नहुुने देखेर दीपकराजको समूह निर्माणबाट पछि हटेको हो ।
०००
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम नदेखिँदै हलमा रिलिज भएको हो– ‘आमा’ । हलमा उत्साहजनक व्यापार गरिरहेको यो सिनेमा रिलिज भएको केही सातापछि कोरोना भाइरसको डरले हलमा दर्शकको चहलपहल घटेको थियो । यसले व्यापारमा त प्रभाव पर्यो नै, त्योभन्दा ठूलो प्रभाव ओभरसिज रिलिजमा पार्यो । विदेशमा देखाउन नपाई कोरोना संकट आइपर्यो । निर्देशक दीपेन्द्र के. खनालका अनुसार करिब ३०–३५ लाख नाफा हुने त देखिएको छ तर यो संकटका कारण अहिलेसम्म हलबाट एक हजार रुपैयाँ पनि उठाएको छैन । अब हलले कहिले पैसा दिने हो र नयाँको तयारीमा लाग्ने ? खनालको निर्माण समूह पनि अन्योलमै छ ।
०००
करिब ४ करोड लगानी दाबी गरिएको ‘प्रेमगीत–३’ गत चैत–२८ गते रिलिजको तयारीमा थियो । व्यापारिक हिसाबले निर्माता र हल व्यवसायी सबैले आशा गरेको यो सिनेमा कोरोना संक्रमणको जोखिमपछि स्थगित भयो । निर्माता सन्तोष सेनको दाबीअनुसार यही कारण उनलाई करिब ३० लाख घाटा भइसक्यो । अहिले उनलाई त्यत्रो लगानी गरेर बनाएको सिनेमा रिलिज गर्ने माहोल कहिले बन्ला भन्ने चिन्ताले सताएको छ ।
०००
लकडाउनको १२ दिनअघिसम्म कास्कीको घाचोकमा दीपेन्द्र लामा निर्देशनमा ‘दुुई नम्बरी’को धमाधम सुटिङ भइरहेको थियो । तर, कोरोनाको जोखिम बढेसँगै दयाहाङ राई, पल शाह, वर्षा राउत र भुुटानी अभिनेत्री उगेन छोदेनको अभिनय रहने यो सिनेमाको छायांकन १० दिन नकट्दै रोकियो । काठमाडौं आएकी भुटानी अभिनेत्री छोदेन लकडाउनका कारण यतै अड्किइन् । चाटर्ड फ्लाइटमार्फत उनी घर त फर्किइन् तर ७५ प्रतिशत छायांकन बाँकी रहेको यो सिनेमा फेरि फ्लोरमा कसरी फर्किएला, अन्योल यथावत् नै छ ।
०००
अहिले देशभरका करिब दुुई सय हल बन्द छन् । हल सञ्चालक तथा वितरकहरूको संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुुसूदन प्रधानका अनुसार देशभरिका करिब दुुई सय हल बन्द हुुँदा यो क्षेत्रले दिनहुँ करोडका हिसाबले अहिलेसम्म अर्बाैंको घाटा बेहोरिसकेको छ । हल कहिलेदेखि खुल्ने हो, कहिलेदेखि चल्ने हो र दर्शक कहिलेदेखि आउन थाल्ने हो, टुंगो लाग्न सकेको छैन । यो क्षेत्रले घाटाको श्रृंखला लामो समयसम्म बेहोर्ने पक्का देखिन्छ ।
०००
कोभिड–१९ संकटका कारण नेपाली सिनेमाको निर्माणदेखि प्रदर्शनसम्मको कार्य कसरी प्रभावित हुँदैछन्, माथिका दृष्टान्त यसका प्रतिनिधि उदाहरण मात्रै हुन् ।
‘प्रेमगीत–३’, ‘चपलीहाइट–३’, ‘म यस्तो गीत गाउँछुु २’ लगायत बिग बजेटमा बनेका सिनेमाका सिरिज यही बेला रिलिज हुुँदै थिए । पछिल्लो महिना सुुस्ताएको बजार उठाउन यी सिनेमाले भूमिका खेल्छन् भन्ने निर्माता र हल व्यवसायी सबैको अपेक्षा थियो ।
तर, कोरोनाका कारण करोडौं बजेटमा बनेका र चैत–वैशाखमा रिलिज तय भएका दर्जन बढीका मिति स्थगित भएसँगै सुस्ताएको यो क्षेत्र उठ्नु त परेको कुरा, झन् थला परेको छ । कोरोनाका कारण मारमा पर्ने सबै निर्माताको अहिले साझा धारणा छ– ‘अब स्थिति सामान्य भएपछि मात्रै रिलिज गर्छौं ।’
कोरोनाकै कारण बीचमै सुुटिङ रोकिएका ‘परदेशी २’, ‘ए मेरो हजुर ४’, ‘२ नम्बरी’ लगायत आधादर्जन बढी सिनेमा पनि सामान्य स्थितिकै प्रतीक्षामा छन् ।
तर, उनीहरूले भनेजस्तै स्थिति सामान्यचाहिँ कहिले हुने हो ? यसको जवाफ न सरकारसँग छ, न सिनेमाकर्मीसँग । ‘कोरोना आउनुुअघिदेखि नै नेपाली सिनेमाकर्मीसामु समस्या र चुनौतीका पहाड थिए,’ कलाकार तथा निर्माता दीपकराज गिरी भन्छन्, ‘हलिउड–बलिउडको स्तर र हलमा उनीहरूसँग जुुध्नुुपर्ने चुनौती । गुणस्तरलाई सुधार्नुपर्ने चुुनौती । वर्षमा सय सिनेमा बन्दा मुस्किलले जम्मा दुइटाले नाफा कमाउने स्थितिबाट माथि उठ्नुपर्ने चुनौती । घाटैघाटाको व्यापार भइरहेको बेला कोरोना भाइरस आउनु भनेको यो क्षेत्रका लागि झन् ठूलो संकट हो । यो संकटबाट बलिउड र हलिउड त चाँडै ब्युँतिएलान् तर नेपाली सिनेमालाई धेरै गाह्रो छ ।’
कोरोना नियन्त्रणका लागि अहिले सरकारले लागू गरेको लकडाउन खुले पनि एकै पटक सबैतिर खुला हुन अवस्था उनी देख्दैनन् । उनलाई लाग्छ– आंशिकमात्रै खुल्छ र मान्छे देखेर मान्छे डराउने अवस्था तत्काल सामान्य हुँदैन । यस्तो बेला छायांकनका लागि लोकेसन हेर्न जाँदा पनि समस्या हुनसक्छ । हल खुले पनि केही महिनासम्म दर्शक मानसिक रूपमा भीडभाड बढी हुने सिनेमा हलमा जान मानसिक रूपमा तयार हुँदैनन् । त्यसैले ‘छक्कापन्जा’ टिमले यो साल सिनेमा निर्माण नगर्ने निष्कर्ष निकालेको दीपकको भनाइ छ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको मत पनि दीपकको जस्तै छ । कोरोना सन्त्रास सकिएपछि पनि नेपाली सिनेमा उद्योगलाई सामान्य अवस्थामा आउन कम्तीमा ८ महिनादेखि १ वर्षसम्म लाग्ने उनको अनुमान छ । ‘०७२ सालको भूूकम्पका बेला हामीलाई सामान्य अवस्थामा आउन करिब एक वर्ष लाग्यो । झन् यो प्रकोपले त सारा संसार मारमा छ,’ उनले भने, ‘हामीकहाँ विदेश गएका नेपालीले पठाएको रकमबाट हलमा सिनेमा हेर्न आउने जमात ठूलो छ । अब उनीहरूसँग पनि आर्थिक अभाव हुनेछ । हलमा सिनेमा हेर्न आउने अवस्था नहुन सक्छ । त्यसैले दर्शक बढ्न त धेरै समय लाग्छ ।’
सिनेमा निर्माणमा ह्रास
०७५ सालमा करिब १ सयको हाराहारीमा नेपाली सिनेमा बनेका थिए । ०७६ सालमा यो संख्या घटेर ५५ मा झरेको थियो । कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकट र सिनेमा बजारको अवस्था हेर्दा अब यो साल निर्माणको संख्या झन् घट्ने देखिन्छ ।
एउटा मान्छेले अर्को मान्छेलाई विश्वास गर्न नसक्ने यो अवस्थामा भीडभाड गरेर निर्माण गर्न सकिने अवस्था पनि देखिँदैन । त्यसैले पछिल्लो समय ‘बक्सअफिस किङ’ का रूपमा चिनिएका दीपकराजको समूहलाई नै पछ्याउँदै यो वर्ष रिलिजको पूर्व–घोषणा गरेका केही सिनेमाको निर्माण स्थगित हुनसक्ने अनुमान सिनेमा वृत्तमा भइरहेको छ ।
सिनेमा निर्देशक दीपेन्द्र के. खनाल केही नियमित सिनेमा मेकरबाहेक नयाँ लगानीकर्ताले यो साल निर्माण गर्ने सम्भावना नै देख्दैनन् । ‘यो हाम्रा लागि संकटकै साल हुनेछ,’ उनी भन्छन्, ‘फ्याट्ट कोरोनाको औषधि पत्ता लागिहाल्यो भने भन्न सकिन्न नत्र यो क्षेत्रलाई सामान्य अवस्थामा आउन कम्तीमा एक वर्ष लाग्छ । विदेशबाट आउने लगानी र ओभरसिज प्रदर्शन यसपालि ठप्पजस्तै होला । मेरो विचारमा यस वर्ष मुस्किलले १०–१२ वटा बन्लान् ।’
निर्माता दीपकराज गिरी यस वर्ष ‘मुुर्गा निर्माताहरू’ फिल्टर हुने सम्भावना देख्छन् । ‘हामीकहाँ करिब ५० प्रतिशत मुुर्गा निर्माताहरू प्रवेश गर्थेे,’ उनी भन्छन्, ‘मुुर्गा भन्नाले कृत्रिम अन्डा दिने । त्यस्ता कृत्रिम निर्माताहरूले यसवर्ष सिनेमा बनाउनेवाला छैनन् । तर, हामीले प्राकृतिक अन्डा दिने निर्मातालाई बचाउनचाहिँ जरुरी छ । यद्यपि यो पटक निर्माणको संख्या भने धेरै कम हुने पक्का छ ।’
दीपकलाई लाग्छ, बाहिरको कथा चोरेर बन्ने ‘कपिक्याट’ र अगतिला सिनेमा नबनेकै जाती । भन्छन्, ‘कम बनुुन् तर स्तरीय । अहिलेको अवस्थामा २० वटा भए हाम्रा लागि काफी हो ।’
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि यो वर्ष निर्माणमा कमी आउने मतमा सहमत छन् । ‘बनाउनु ठूलो कुरा होइन तर बनाइसकेपछि लगानी फिर्ताको जोखिम कसले लिने ?’, उनी भन्छन्, ‘त्यसैले निर्माणमा कमी त पक्का हुन्छ । विशेष गरी विदेशबाट पैसा उठाएर बनाउनेहरू हामीकहाँ धेरै थिए । त्यो संख्या अब ह्वात्तै घट्छ ।’
उनलाई लाग्छ, सिनेमा र यसको बजारलाई नबुझिकन हचुवा ताल र गलत स्वार्थका कारण भइरहेका लगानी त घटेकै जाती । ‘यो वर्ष नियमित सिनेमामेकरको सक्रियतामा कम्तीमा ३० वटा सिनेमा त बन्लान् । र, यो हाम्रा लागि पर्याप्त पनि हो,’ उनले भने ।
एउटा नेपाली सिनेमा निर्माणका लागि अहिले कम्तीमा एक करोड लगानी भइरहेको अवस्था छ । यो क्षेत्र बौरिन कम्तीमा एक वर्ष लाग्छ भन्ने अनुुमान भइरहेको यो अवस्थामा कोही किन जोखिम मोलेर सिनेमा बनाउँछ ? सिनेमावृत्तमा अहिले यो प्रश्न उठिरहेकै छ ।
शिर उठाउने कसरी ?
अहिले विश्वका अरू क्षेत्रजस्तै सिनेमा पनि कोरोनाविरुद्ध लडिरहेको छ । तर, अवस्था जब सामान्य हुन्छ, त्यसपछि सारा सिनेमामेकरबीच राम्रो रिलिज मितिका लागि लडाइँ हुने अवस्था देखिन्छ ।कारण, अहिले स्थगित भएर बसेका सबै सिनेमाहरू रिलिजका लागि उपयुक्त समयको पर्खाइमा छन् । त्यसैले जब बजार बौरिन थाल्छ, त्यसपछि सिनेमाकर्मीबीच रिलिज मितिलाई लिएर विश्वभर नै लडाइँ हुने अनुमान स्वाभाविक हो ।
निर्माता गिरी यो साल रिलिज स्थगन भएका र फ्लोरमा गइसकेका सिनेमालाई सुरक्षित गर्न सबै नेपाली सिनेमाकर्मी एक हुनुपर्ने बताउँछन् । ‘अनिमात्र हाम्रो निहुुरिएको शिर उठ्न सक्छ,’ उनी भन्छन्, ‘रिलिज डेटका लागि लडाइँ हुन्छ भनेर पनि मैले योपटक सिनेमा नबनाउने निर्णय गरेको हुँ । अहिले इन्डस्ट्रिका लागि सोच्नुुपर्छ । त्यसकारण रिलिजको तयारीमा रहेका र फ्लोरमा गइरहेका सिनेमालाई सहज प्रदर्शनको अवस्था सिर्जना गरिदिनुुपर्छ । ठूलो ब्यानरकाले स्टारडमको आडमा अरूलाई पेल्न खोज्नुको अहिले अर्थ हुँदैन ।’
अहिले विश्वकै सिनेमा उद्योग समस्यामा छ । हलिउड र बलिउडका ठूला सिनेमा पनि रिलिज रोकिएको अवस्था छ । जब सामान्य अवस्था आउँछ, त्यसले आशाको सञ्चार पनि विश्वभर नै हुनेछ । नेपाली सिनेमा पहिल्यैदेखि हलिउड र बलिउडका कारण दबिएको अवस्था छ । यस्तो अवस्थामा फेरि तिनैले नेपाली सिनेमालाई विस्थापित गर्ने खतरा छ । यस्तो अवस्थामा नेपाली सिनेमाकर्मी एक हुुनुको अर्को विकल्प देख्दैनन् गिरी ।
हाम्रासामु कोरोनाको संकट नआइदिएको भए गत चैत २८ मा ‘प्रेमगीत ३’ र ‘चपलीहाइट ३’ एकैदिन जुुधिरहेका हुन्थे । तर, अब यसरी जुुधेर कोही पनि निर्माता नउक्सने निर्माता गिरीको विश्लेषण छ । ‘कम्तीमा एक वर्ष सबै निर्माताको सहमतिमा रिलिज क्यालेन्डर नै जारी हुनुपर्छ, यो कोरोनाले हामी सिनेमाकर्मीलाई दिएको हामी एक हुनुुपर्छ, जुुध्नुुहुँदैन भन्ने बलियो सन्देश पनि हो,’ गिरीले भने । ‘पशुपति प्रसाद’का निर्देशक खनाल पनि गिरीको यो विचारसँग सहमत देखिए । ‘नेपाली सिनेमामेकरले यो वर्ष राउन्ड टेबलमार्फत सहकार्य गरेर सिनेमा रिलिज गर्नुपर्ने देखिन्छ । एकअर्कासँग जुुधाउनुु हाम्रै लागि हानिकारक हुुन्छ,’ उनले भने ।
राहतमा निर्भर सिनेमा
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी महामारीपछि नेपाली सिनेमाको निर्माण र प्रदर्शन अवस्था सरकारले दिने राहतमै निर्भर हुने बताउँछन् । ‘दर्शक जति आए पनि हामी रिस्क लिएर रिलिज गर्न तयारी हुन्छौं तर सरकारसँग एउटा सर्त हुनेछ,’ उनले भने, ‘कम्तीमा एक वर्षसम्म सरकारले सिनेमाबाट कुनै पनि कर लिनुुभएन । ग्रस कलेक्सनको पूरा रकम हल र निर्माताबीच मात्रै बाँडफाँड हुुने अवस्था सिर्जना हुुनुपर्यो । त्यसो भयो भने हल र निर्माता दुवैलाई राहत हुुन्छ ।’
सम्पूर्ण निर्मातामा संकटपछि पनि प्रदर्शन गर्ने हिम्मत बढाउनका लागि कर मिनाहा आवश्यक रहेको उनको तर्क थियो । नेपाल चलचित्र संघका अध्यक्ष मधुुसूदन प्रधानले आफूहरूको पनि सरकारसँग त्यस्तै माग रहेको बताए । यस्तो अवस्थामा बैंकबाट लिएको ऋणको ब्याज पनि सके मिनाहा, नसके एकदमै कम गर्नुपर्ने सिनेमासँग सम्बन्धित दुवै संस्थाको माग छ ।
चिन्तामा कलाकार र प्राविधिक
कोरोना भाइरसका कारण अनमोल केसी र सुहाना थापा अभिनित र झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ को सुटिङसमेत स्थगित भएको छ । र, यही सिनेमाको सुटिङमा स्पटब्वाईका रूपमा काम गरेका राजु फुँयाल अहिले यही कारण फुर्सदिलो भएका छन् ।
लकडाउन अवधि बढेसँगै उनमा कामलाई लिएर चिन्ता पनि बढिरहेको छ । ‘के गर्नुु सानैदेखि यही काममा लागियो, अब अहिले आएर यस्तो समस्या आयो, ’दुुई दशक बढी नेपाली सिनेमामा स्पटब्वाईका रूपमा काम गरिरहेका उनी गुुनासो पोखिरहेका थिए, ‘पैसा पनि सकिसक्यो । यो लकडाउन लम्बिरहने हो भने बाँच्नै गाह्रो हुने भयो ।’
नेपाली सिनेमा क्षेत्रमा अहिले एक हजारभन्दा बढी प्राविधिक कार्यरत छन् । त्यसैले यो साल निर्माणको संख्या घट्यो भने धेरै प्राविधिक बेरोजगार हुने अवस्था देख्छन्, चलचित्र प्राविधिक संघका अध्यक्ष पुुष्कर लामा । स्पटब्वाई राजुको पनि चिन्ता यही थियो, ‘सिनेमा बनेन भने के काम गर्ने, कसरी खाने ? ’
निर्माणमा कमी हुँदा यसको प्रभाव प्राविधिकलाई मात्रै होइन, कलाकारलाई पनि पर्छ । त्यसैले संकटपछि धेरै कलाकारमा काम नपाउने भय उत्पन्न भएको बताउँछन् अभिनेता दयाहाङ राई । ‘कोरोनापछि सिनेमा कम बन्यो भने कलाकारिता गरेरै जीविकोपार्जन गर्ने कलाकारहरूमा पनि आर्थिक संकट सिर्जना हुने अवस्था छ । यस्तो भयो भने उनीहरूले यो क्षेत्र छाडेर अर्को विकल्प खोज्ने खतरा पनि उत्तिकै हुन्छ ।’
बढ्दै सिनेमा साक्षरता
यी सबै संकटका बाबजुद निर्देशक दीपेन्द्र के. खनालले कालो बादलमा चाँदीको घेरा पनि देखिरहेका छन् । उनका अनुसार कहिल्यै सिनेमा नहेर्ने उनका केही आफन्तले अहिले यो लकडाउनका बेला दिनहुुँ घरमै बसीबसी दिनहुँ दुुई–तीनवटा सिनेमा हेरिरहेका छन् । यो त उनको परिवारभित्रको कुरा हो ।
तर, यो सिलसिला अहिले देशैभर चलिरहेको छ । पारखीहरू विश्वभरका सिनेमा खोजीखोजी हेरिरहेका छन् । कहिल्यै सिनेमा नहेर्नेहरू पनि समय कटाउन सिनेमा नै हेरिरहेका छन् । ‘योचाहिँ यो संकटको सकारात्मक पक्ष हो,’ निर्देशक खनाल भन्छन्, ‘एकातिर हाम्रा दर्शक बढीरहेका छन्, अर्कोतिर सिनेमा साक्षरता बढिरहेको छ । दर्शकमा मात्रै होइन सिनेमामेकरमा पनि यो साक्षरता बढिरहेको छ । मलाई विश्वास छ, यो समयले सिनेमामेकरमा पनि सिनेमाप्रतिको बुुझाइमा परिवर्तन ल्याइरहेको होला ।’
तर, योसँगै चुनौती पनि थपिएको उनी महसुस गर्छन् । भन्छन्, ‘म आफंैले अहिले विश्वका कुुना–कुुनाका सिनेमा हेर्दा हाम्रो कमजोरी खासगरी प्रोडक्सनमा देखिरहेको छु । हाम्रो प्रोडक्सन डिजाइन एकदमै कमजोर छ, जसकारण सिनेमाको दृश्यभाषा निर्माणमा समस्या उत्पन्न भइरहेको छ । र, अहिले विश्वका सिनेमा हेरिरहेका दर्शकले पक्कै यो बुुझिरहेका छन् । त्यसैले अब झारा टार्ने हिसाबले बनाउनेहरूलाई दर्शकले पाखा लगाउने सम्भावना पनि प्रवल छ ।’
कोरोनापछि कस्तो सिनेमा ?
कोभिड–१९ को संकटबाट बाहिरएर हल सुचारु भइसकेपछि हलमा कस्तो सिनेमा प्रदर्शन गर्दा ठीक होला ? कोरोनापछि दर्शकको मनोविज्ञान कस्तो होला ? उनीहरू कस्तो सिनेमा हेर्न खोज्लान् ?
सिनेमाकर्मी अहिले यसको जवाफ खोजिरहेका छन् । सिनेमा निर्देशक मनोज पण्डित आफ्नो नयाँ सिनेमा ‘एक’को ट्रेलर गत चैतमा रिलिज गर्ने तयारीमा थिए । तर, कोरोनाका कारण यो सब रोकियो । अब कम्तीमा ६ महिना उनी सिनेमाको प्रचार सामग्री रिलिज गर्ने मनस्थितिमा छैनन् ।
‘मेरो सिनेमा राजनीतिक विषयमा केन्द्रित छ र अहिले दर्शक यस्तो हेर्न रुचाउँछन् जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘अहिले कोरोनाले मान्छेको मनोविज्ञानमा जुन किसिमको त्रास सिर्जना गरेको छ, त्यस्तो अवस्थामा राजनीतिक मुद्दा बोकेको सिनेमा रुचिकर नहुुनसक्छ । त्यसैले दर्शकको मनोविज्ञानमा सन्तुुलन नआएसम्म मैले कुुर्नुुपर्ने अवस्था छ ।’
निर्देशक निश्चल बस्नेत संकटपछि रिलिज हुने सिनेमा निराशावादीभन्दा मनोरञ्जनात्मक र हास्यप्रधान हुनुपर्ने बताउँछन् । ‘मान्छे भर्खरै संकट र पीडाबाट बाहिरिएको हुन्छ र फेरि सिनेमामा त्यस्तै संकट र पीडा हेर्न चाहँदैन, पक्कै हास्न चाहन्छ, खुसी हुन चाहन्छ । त्यसैले हामीले संकटपछि रिलिज गर्ने सिनेमामा पनि ध्यान पुुर्याउन जरुरी छ । जसकारण हलमा आउने दर्शक नबिच्किउन् ।’
आवरण स्टोरीसंग सम्बन्धित लेखहरु
रूपान्तरण गर्ने अवसर - मनोज पण्डित, निर्देशक
कोरोना–घुम्तीमा नेपाली सिनेमा - सङ्गीत
महामारीले हामीलाई आत्मसमीक्षा गर्ने मौका दिएको छ- दयाहाङ राई
कम बजेटमा रमाइला सिनेमा - ऋचा शर्मा, अभिनेत्री/निर्मात्री
सिनेमा उद्योग छिट्टै बौरिन्छ - स्वस्तिमा खड्का, अभिनेत्री