साप्ताहिक संवाददाता
सिनेमा मनोरञ्जन उद्योगअन्र्तगत पर्ने भएकाले यो हाम्रो प्राथमिक आवश्कताभित्र पर्दैन । सरकारले पनि यसलाई कहिल्यै प्राथमिकतामा राख्दैन । त्यसैले हामीलाई सामान्य अवस्थामा फर्किन नै समय लाग्छ ।
अझ सिनेमाको व्यवसाय त भिडसाग जोडिएको हुन्छ । जे काम पनि भिडमै भइरहेको हुन्छ । सुटिङदे खि प्रमोसन या हलमा प्रदर्शन नै किन नहोस्, सबैमा भीड हुन्छ । त्यसैले कोरोना जोखिम कम भएपनि हाम्रो उद्योग सामान्य हुन समय लाग्छ । अझ त्यसमाथि विश्व स्वास्थ्य संगठनले पनि २०२२ सम्म भिडभाडमा नजानु भनेको अवस्था छ ।
त्यसैले कोरोनापछि ठ्याक्कै यस्तै होला भनेर अहिल्यै भन्न सकिन्न । हलमा दर्शक ल्याउनु अबको सबैभन्दा ठूलो चुनौती हो । बाँकी त उस्तै हुन्छ जस्तो लाग्छ । अरु बेला पनि वर्षमा एक सय फिल्म बन्दा ५ वटा फिल्मले मात्रै राम्रो व्यापार गरेको तथ्यांक थाहा हुँदाहुँदै सिनेमा निर्माण भइरहेकै थियो, त्यसैले फिल्मको प्रोडक्सनमा खासै परिवर्तन होला भन्नेचाँही लाग्दैन । फ्लोरमा जान लागेको फिल्म पनि पक्कै रोकिदैन ।
अहिले फिल्ममेकरबाट अब कलाकारले पारिश्रमिक घटाइदिनुपर्छ भन्ने आवाज सुनिरहेकी छु । यो विषयमा मेरो धारणा त पहिल्यैदेखि स्पष्ट छ । महामारी आउँदा मात्रै होइन सधैँ पारिश्रमिकका मामिलामा हामी उदार हुनुपर्ने अवस्था हो । यहाँ एउटा सिनेमाको बजेटको आधा पैसा पारिश्रमिक लिइरहेको चर्चा पनि सुनिन्छ । म त हिजो पनि यसको पक्षमा थिइनँ । महामारीपछि पनि पारिश्रमिकलाई लिएर कलाकारको दृष्टिकोण परिवर्तन होला भन्ने मलाई लाग्दैन ।
यदाकदा कोरोनापछि फिल्ममा अन्तरंग दृश्य कम हुनेछन् भन्ने टिप्पणी पनि सुनिरहेको छु । तर, म यसमा खासै सहमत छैन । किनभने अन्तरंग दृश्य कम हुने भए त फिल्मको सुटिङ नै हुँदैन होला । सामाजिक दूरीको कुरा छायांकनको बेला सम्भव नहोला । सिनेमा निर्माण हुने हो भने यस्तो कुरामा सचेतता बढी अपनाइएला ।
यो कोरोनाले केही समय साँच्चै मारमा पर्नेचाँही फिल्म प्राविधिक हुन् । त्यसैले मेरो विचार मा बरु फिल्ममेकरहरुले कोरोनापछि प्राविधिकको पारिश्रमिकचाँही बढाइदिनुपर्छ । यति भनिरहँदा फुलटाइम कलाकारिता नै गरिरहेकालाई पनि पक्कै अब केही समय सहज हुने अवस्थाचाँही छैन । फिल्ममा काम नपाउँदा उनीहरुलाई पनि गाह्रो हुने अवस्थाचाँही हुन्छ ।
यो सब परिस्थितीका बाबजुद यदि कोरोनाको औषधी पत्ता लाग्यो भने भनेचाहिँ मनोरञ्जन उद्योग बौरिन धेरै समय लाग्दैन । किनभने लकडाउनले बोर भएका मानिसहरुलाई अन्तत: मनोरञ्जनको आवश्यकता त पर्छ नै ।
यो पनि पढ्नुहोला ।